काठमाडौं । तपाईंलाई के कुरा ‘बबाल’ लाग्छ ? के तपाईंले आफूलाई ‘बबाल’ लागेका कुराहरू जीवनको कुनै मोडमा टिपोट गर्न खोज्नुभएको छ वा गर्नुभएको छ ?
यदि छैन भने तपाईं आफूलाई बबाल लाग्ने कुराहरू के–के छन् सम्झिँदै गर्नुहोस् । हामी भने कथा घेराको कौसी थिएटरमा एक पात्रले तयार पारिसकेका लाखौँ ‘बबाल कुराहरू’ गर्दै छौँ ।
आइसक्रिम उनको बबाल कुराको सूचीको पहिलो नम्बरमा पर्छ । दुई– पानीमा भिज्नु । तीन– राति अबेर सम्म नसुतेर टीभी हेर्नु । चार– पहेँलो रङ । पात्रको उमेरसँगै उनको बबाल कुराको सूची पनि बढ्दै जान्छ ।
स्कुलपछि सधैँ आमाले लिन आउने उनलाई त्यो दिन बुवाले लिन आउनु भयो । त्यो पनि ढिला । स्कुलपछि बुवाले उनलाई घर होइन, अस्पतालको बाटो लग्नुभयो, अस्पतालमा भएकी आमालाई भेट्न । अस्पताल जाँदैगर्दा सात वर्षका उनले बुुवालाई हरेक कुरामा किन भन्दै प्रश्न गर्छन् ।
आमालाई भेट्न अस्पताल गएका सात वर्षीय बालकले अस्पतालको क्यािन्टनमा एक वृद्ध जोडीले दिएको चकलेट खाँदै संसारका हरेक बबाल कुराहरूको लिस्ट बनाउन सुरु गर्छन् । उनले यी बबाल कुराहरूको सूची आमालाई जीवन बाँच्नुको कारणहरू धेरै छन् भन्ने जानकारी दिनका लागि बनाउन थालेका हुन् ।
मञ्चका मुख्य पात्र मात्रै होइन, अगाडि नाटक हेरिरहेका दर्शक पनि कहिले मञ्चमा त कहिले आ–आफ्नो सिटमै बसेर नाटकको हिस्सा बनिरहेका हुन्छन् । अर्थात् नाटक अन्तरक्रियात्मक छ । नाटकघरभित्र उपस्थित हरेक व्यक्तिले नाटक हेरिरहेको नभएर आफैँ मञ्चन गरिरहेको महसुस गर्छन् ।
यो नाटकमा सुदाम सिके एक मात्रै पात्र हुन् । दर्शकदीर्घाको अगाडि एक्लै उभिएर करिब डेढ घण्टाको नाटकमा प्रस्तुति दिनु त्यति सजिलो कुरा होइन । किनभने, त्यो पूरा समयभरि सुदाम आकर्षणको केन्द्र हुन् । उनी दुई वर्षपछि नाटक गर्दै छन् ।
तर, सुदामका लागि योभन्दा पनि त्यहाँ भएका बबाल कुराका लाखौँ सूचीको नम्बर कण्ठ पार्नुपर्ने पाटो चुनौतीपूर्ण थियो । त्यसैले शुक्रबार भएको पहिलो मञ्चनमा सुदाम निकै सचेत थिए ।
पात्रको हरेक बबाल कुराको सूची सुनाइरहँदा सुदामका बबाल कुराहरू भने के–के होलान् जान्ने इच्छा भयो र उनका धेरैमध्ये शीर्ष तीन बबाल कुराहरू सोध्यौँ । जवाफमा उनी भन्छन्, “नम्बर १– नाटक सकिसकेपछिको आनन्द, त्यो एकदमै बबाल हो मेरो लागि । अनि अर्को भनेको आफूले गरेको काम आफैँलाई मन पर्नु । मलाई हत्त्तपत्त्त आफुले गरेका कामहरू मन पदैन । तेस्रो बबाल कुरा भन्नुपर्दा एक्लै भौँतारिनु, त्यो पनि विनाकुनै योजना र गन्तव्य एक्लै भौँतारिनु मलाई बबाल लाग्छ ।”
नाटकको पात्रसँग सुदाम आफूलाई पनि रिलेट गर्न सक्छन् । उनका अनुसार ठ्याक्कै नभए पनि केही कुराहरू उनको व्यक्तिगत जीवनसँग ठ्याक्कै मिल्ने खालको छ ।
तर, के एक छोराले आफ्नी आमालाई जीवन जिउने कारण दिन सफल हुन्छन् त ? के छोराको बबाल कुरा उनकी आमाको लागि पनि बबाल लाग्छ त ? यी प्रश्नलगायत पात्रको जीवनको अनेक पाटो थाहा पाउन नाटकघरमै जानुपर्ने हुन्छ ।
यो नाटक डन्केन मिकमेलनको ‘एभ्री ब्रिलियन्ट थिङ’लाई नेपालीमा आकांक्षा कार्की र क्षितिज पराजुलीले अनुवाद गरेका हुन् । निर्देशन स्वयंम कार्कीले गरेकी हुन् ।
यही भदौ २५ देखि सुरु भएको नाटक सीमित दर्शकबीच आउँदो असोज १ गतेसम्म मञ्चन हुनेछ ।