काठमाडौं । “यसको लागि त फर्केर २०१५ मा जानुपर्ने हुन्छ । त्यो बेला यस्ता महिला हिंसाका समाचारहरू दैनिकजसो आइरहेका थिए । यी घटनाहरूले अरुको जस्तै मेरो पनि मन पोलिरहेको थियो । ती रिस र असन्तुष्टि पोख्ने माध्यम मैले कविता पाएँ...,” अभिनेत्री केकी अधिकारी हालै रिलिज गरिएको आफ्नो कविता ‘ए पुरुष’को बारेमा बेलीबिस्तार लगाउँदै थिइन ।
तिजलक्षित गरेर हरेक वर्ष करोडौँ लगानीमा गीत र म्युजिक भिडियोहरू बजारमा आउने गर्छन् । तर, यो वर्षको तिजलक्षित गरी केकीले केही फरक भिडियो ल्याइन् । उनले आफ्नै नाममा रहेको युट्युब च्यानलमार्फत आफूले ६ वर्षअघि लेखेको कविता ‘ए पुरुष’ वाचन गर्दै गरेको भिडियो सार्वजनिक गरिन् ।
तिजमा गीतमार्फत मात्रै वेदना पोख्नुभन्दा पनि यसरी कविता पनि माध्यम हो भन्ने उनले देखाउन खोजेकी छन् । जसलाई उनी एउटा एक्सपेरिमेन्टको संज्ञा दिन रुचाउँछिन् ।
आफ्नो कविताले एकजनाको भए पनि सोच परिवर्तन गर्न सकिन्छ कि वा न्यायको लागि भौँतारिरहेका पीडित र पीडित परिवारलाई आफ्नो पक्षमा बोलिदिने आवाज पनि छ है भन्ने महसुस होस् भन्ने हेतुले उनले यो कविता लेखेकी हुन् ।
भिडियो : हरिशजंग क्षेत्री
६ वर्षपछि यसलाई भिडियोमार्फत व्यक्त गर्ने चाँजोपाँजो लकडाउनले जुराइदिएको हो । केही वर्षअघि युट्यब च्यानल खोले पनि त्यति सक्रिय हुने समय मिलेन । तर, महामारीले सबै ठप्प हुँदा उनले यता समय दिन भ्याइन् ।
आज पनि यो कविता उत्तिकै सान्दर्भिक भएको केकी महसुस गर्छिन् । “समय परिवर्तन भएको छैन । अझ यो महामारीको समयले घरेलु हिंसा र महिला हिंसाका घटनाहरू बढेको छ । अन्यायको विरुद्ध न्यायको खोजीमा आज पनि कति पीडित महिला दिदीबहिनीहरू र उहाँहरूका परिवारहरू लडिरहनुभएको छ । त्यो हिसाबले त्यसमा कुनै परिवर्तन जरुरी नठानेर जस्ताको त्यस्तै भिडियोमा ल्याएका हौँ,” उनले भनिन् ।
अघिल्लो भिडियोहरूबाट राम्रो प्रतिक्रिया पाएरै उनले यो कविता पनि भिडियोमार्फत ल्याएकी हुन् । तर, यस कविताले सकारात्मक र नकारात्मक दुवै खालको प्रतिक्रिया पाइरहेको छ ।
कतिपयले कविताको शीर्षक मात्रै पढेर नकारात्मक प्रतिक्रिया दिइरहेको केकी बताउँछिन् । “कविताले भन्दा पनि शीर्षकले नै विरोधाभास सिर्जना गरियो,” उनी भन्छिन्, “समग्र पुरुषलाई एउटै नजरबाट हेरियो भन्ने खालका जजमेन्टहरू आएका थिए । तर, कविता पढिसकेपश्चात् पहिला नकारात्मक प्रतिक्रिया दिनेहरूको प्रतिक्रियामा परिवर्तन आयो ।” सबै पुरुषलाई एउटै तराजुमा राखेर जोख्न कदापि नमिल्ने केकी बताउँछिन् ।
नेपाली चलचित्रमा लैंगिक विभेद
महिला सशक्तिकरण र लैंगिक समानताको पक्षमा आवाज उठाइराख्ने केकी मानिसलाई आफ्नै घरबाट सुरु हुने कतिपय लैंगिक भेदभाव सामान्य र पाच्य भइसकेको बताउँछिन् । महिला भएकै नाताले पाउने आरक्षण पनि एक हिसाबले लैंगिक भेदभावमै गनिने उनको भनाइ छ ।
विगत एक दशकभन्दा लामो समयदेखि उनी नेपाली चलचित्र क्षेत्रमा सक्रिय छिन् । चलचित्र जगतमा पनि लैंगिक भेदभावको महसुस उनले गरेकी छन् ।
बलिउडमा अभिनेत्री करिना कपुर खान र दीपिका पादुकोणले धेरै पारिश्रमिक माग गरेकै कारण चलचित्र गुमाउनुपरेको भन्ने समाचारहरू आइरहँदा नेपालमा पनि यो समस्या रहेको उनी बताउँछिन् ।
“करिब १२–१५ वर्षदेखि म (अभिनेत्री) यो क्षेत्रमा छु भने पनि कुनै नयाँ आएको अभिनेताले मेरोभन्दा बढी पारिश्रमिक पाइरहेको हुन्छ । तर, यो गलत रीतिलाई हटाउन हामी त्यहाँबाट जुरुक्क उठेर मलाईं यो स्वीकार्य छैन र म यो चलचित्र गर्दिनँ भन्न सक्ने अवस्था छैन । तर, विस्तारै परिवर्तन हुँदै छ । समय लाग्छ,” उनी आशावादी सुनिइन् ।
अभिनेत्रीहरूको युट्युबमा सक्रियता
केकी अधिकारीजस्तै पछिल्लो समय नेपाली अभिनेत्रीहरू कोही कुकिङ शो त कोही पर्सनल भ्लगको साथ युट्युब र सामाजिक सञ्जालहरूमा सक्रिय छन् । कुनै समय अभिनेत्रीहरूको बारेमा थाहा पाउन मिडियामा नै उनीहरूको अन्तर्वार्ता आउनुपर्थ्यो । त्यसमा पनि उनीहरूको व्यक्तिगतभन्दा पनि व्यावसायिक पाटोलाई धेरै जोड दिइन्थ्यो ।
तर, अहिले सामाजिक सञ्जालमार्फत आफ्नो निजी जीवनका अनेकन पाटाहरू उनीहरूले दर्शकसामु प्रस्तुत गरिरहेका छन् । दर्शक र कलाकारबीच निकटता ल्याउन यो राम्रो माध्यम भएको उनी मान्छिन् । तर, आफूले गर्ने पोस्टमा विचार भने पुर्याउनुपर्नेमा उनको जोड छ ।
कपाल मुण्डन गरेकै कारण काम गुमाउनुपर्यो
निलो टिसर्टमा सेता धर्का, निलो जिन्स पाइन्ट, कालो स्पोर्ट्स सुज र हल्का बढिसकेको कालो (ब्वाइज कट) कपालसहित कालो फ्रेमको गोलो चस्मा अनि आँखामा कालो गाजल र रानी रङको लिस्टिकमा निकै सुहाएकी केकीले हालै महारानी डायनाको लुकमा पनि मेकओभर गर्दै गरेको भिडियो अपलोड गरेकी छन् । यो मेकओभर गर्नु र त्यसलाई भिडियोमा कैद गर्दै सेयर गर्नुको कारण उनी महिला भएपछि लामो कपाल हुनैपर्छ भन्ने धारणालाई तोड्न तयार पारेको बताउँछिन् ।
रिलिज हुन बाँकी चलचित्र ‘बोक्सीको घर’का लागि कपाल मुण्डन गराएकी उनले महिलाले पनि कपाल मुण्डन गराउन सक्छन् र यो सामान्य हो भन्ने धारणाको विकास गराउन चाहन्छिन् ।
“मेरो घरछेउमा यो लकडाउनमा एउटी सानी नानी जन्मिइन् । त्यो नानीले आज पनि मलाई देख्दा दादा भनेर बोलाउँछिन् । भनेपछि यो हामीले नै सिकाएको होइन त लामो कपाल भएकोलाई दिदी र छोटो कपाल भएकालाई दादा भन्नु भनेर ?” उनी भन्छिन्, “यही कुरालाई गलत प्रमाणित गर्न पनि मैले डायनाको मेकओभर गराएकी हुँ ।”
कपाल मुण्डन गरिसकेपछि उनले केही म्युजिक भिडियोमा काम गर्ने मौका पाइन् भने त्योभन्दा बढी गुमाइन् । खेलेका भिडियोमा पनि विक लगाउन बाध्य भइन ।
“अझै पनि हाम्रो सेन्ट्रल महिला पात्रलाई यस्तो लुकमा लेखिएकै छैन । त्यसैले मैले कपाल मुण्डन गरेकै कारण धेरै प्रोजेक्ट गुमाउनुपर्यो,” उनी बेलीबिस्तार लगाउँछिन्, “कतिपटक कामको लागि सबै कुरा ओके भइसकेर पनि पछि मेरो कपाल छैन भनेर थाहा भएपछि के–के बहाना बनाएर प्रोजेक्टबाट हटाइएको छ ।”
दर्शकलाई हलसम्म ल्याउने उपाय
करोड क्लबमा बामे सरिरहेको नेपाली चलचित्र क्षेत्र कोरोनाले थला परेपछि अब फेरि कसरी अघि बढ्ला भन्ने चासोको विषय बनेको छ । अभिनेत्री केकी पनि अब पुरानै लयमा फर्किन केही समय पक्कै लाग्ने अनुमान गर्छिन् ।
हलहरू गत सातादेखि खुलिसकेका छन् । तर, रिलिज गर्न कुनै चलचित्र छैन् । नेपाली निर्माताहरू अहिले नै चलचित्र रिलिज गरेर रिस्क लिन तयार भइसकेका छैनन् । यस्तो समयमा विदेशी चलचित्र रिलिज गरेर दर्शकलाई फेरि हल आउने बानी बसाउनुपर्ने उनी सुझाव दिन्छिन् ।
केकी भन्छिन्, “हामीले आफ्नो रिस्क लिनेभन्दा पनि हिन्दी, साउथ इन्डियन वा हलिउड चलचित्रलाई स्थान दिएर दर्शकलाई हलमा आउने फेरि बानी बसाउने हो कि !”
नेपाली मौलिक कमेडी शो ‘कमेडी च्याम्पियन’मार्फत देश तथा विदेशमा रहेका नेपालीलाई मनोरञ्जन प्रदान गर्दै आइरहेका केकीसहितले दर्शकको राम्रो माया पाइरहेका छन् । यसैले हौसला मिलेको र सिजन–२ ले विजेता पाउने दिन नजिकिरहँदा सिजन–३ पनि आउने उनले घोषणा गरिसकेकी छन् ।
व्यक्तिगत पाटो
अहिलेसम्म केकी अधिकारीको प्रेम प्रसंगबारे मिडियामा त्यति कुरा उठेको छैन । तर, उनी कसैको प्रेममा अवश्य परेको उनी स्वयंमले स्वीकारिन् ।
“संसारमा प्रेममा नै नपर्ने व्यक्ति को होला र ! तर, यही व्यक्तिसँग विवाह नै गर्छु र अहिले तपाईंहरूलाई भनिहाल्ने खालको प्रेममा भने परेको छैन,” उनले भनिन् ।
एक दशक लामो अभिनयको यात्रामा उनले दुई दर्जन बढी चलचित्रहरूमा काम गरिसकेकी छन् । तीमध्ये कति चलचित्रहरू छन्, जुन उनलाई आज आएर नगरेको भए हुन्थ्यो भन्ने लाग्छ । तर पनि ती चलचित्रबाट उनले धेरै कुरा सिक्ने मौका पाइन् । त्यसैले ती चलचित्र नगरेको भए हुन्थ्यो कि भन्ने भन्दा पनि ती चलचित्रबाट अब कस्तो चलचित्र नगर्ने भन्ने निर्णय लिन सजिलो महसुस उनले गरेकी छन् ।
केकीका अनुसार जिन्दगी पखाई हो । “जिन्दगी भनेको पर्खाइ हो । केही न केही चिजको पर्खाइ । कि खुसीको पर्खाइ, कि सफलताको पर्खाइ, कि अब के होला भन्ने पर्खाइ, कोरोना कहिले सकिएलाजस्तो पर्खाइ,” उनी भन्छिन्, “जिन्दगी भनेको धैर्यता र पर्खाइ नै हो जस्तो लाग्छ ।”
नेपाली अभिनेत्रीहरूबीच बौद्धिक मानिने केकी पुरुषमा पनि त्यस्तै क्वालिटी खोज्छिन् । आफ्नो कमजोरी र बलियो पाटो एउटै भएको उनी बताउँछिन् ।
“म कुनै पनि कुरामा छिटो प्रतिक्रिया दिइहाल्छु । अनि फेरि सोच्दै नसोची योजना नै नबनाई त्यसलाई कार्यान्वयन गर्नतिर लागिहाल्छु । यो नै मेरो बलियो पाटो पनि हो र कमजोर पाटो पनि हो,” उनले भनिन् ।