नेपालमा सिनेमा के हो भनेर गहिराइमा बुझेका मेकरमा नवीन सुब्बा, मनोज पण्डित, दीपक रौनियार, मीन भाम, छिरिङ रितार शेर्पाको नाम आउँछ । तर, उनीहरूले बनाएका चलचित्रले बक्स अफिसमा ठूलो व्यापार गरेको देखिँदैन ।
त्यसो भए उनीहरूले बनाएका चलचित्र कमर्सियल होइनन् ? जवाफमा निर्देशक प्रदीप भट्टराई भन्छन्– हुन् । नवीन, मनोज, मीन, छिरिङ र दीपकले चलचित्रलाई आम मेकरले भन्दा राम्रोसँग बुझेको उनी बताउँछन् । “हामी जुन लेभलमा सोच्छौँ, जुन धरातलमा बसेर सिनेमा यो हो, यस्तो हो भनेर सोच्छौँ, अडियन्स यसरी यस्तो चलचित्रमा आउँनुहुन्छ भनेर सोच्छौँ, त्योभन्दा माथिल्लो स्टेपबाट सोच्ने मेकरहरू हो उहाँहरू,” प्रदीप भन्छन् ।
तर, प्रदीपले भनेजस्तो उनीहरूलाई चलचित्रका थिंक ट्यांक नै मान्ने हो भने त्यहीअनुसारको रिजल्ट उनीहरूका चलचित्रले दिएका छन् ? प्रश्न उठ्नु स्वाभाविक हो ।
समीक्षात्मक रूपमा राम्रो तारिफ उनीहरूका चलचित्रले पाए पनि बक्स अफिस कलेक्सनमा पछि छन् । नाम जति छ त्यति उनीहरूका चलचित्रले बक्स अफिस कलेक्सन गरेका छैनन् । संख्यात्मक हिसाबले पनि उनीहरूका चलचित्र न्यून संख्यामा छन् ।
“स्ट्रक्चर कस्तो हुनुपर्छ, क्राफ्टवाइज के गर्नुपर्छ, न्यारेटिभ कसरी गर्ने, केमा भ्याकुम छ ? सबै कुराहरू उहाँहरूलाई थाहा छ । तर, फिल्डमा उहाँहरू आइरहनुभएको छैन,” प्रदीप भन्छन् ।
किन ? प्रदीपसँग पनि यसको ठोष जवाफ छैन । तर, उनी यति भन्न सक्छन्, “राम्रा चलचित्र पनि चलेका छैनन् ।” यसका पछाडि थुप्रै कारण रहेको उनको भनाइ छ ।
जस्तै ?
१. बनाएको चलचित्रको मार्केटिङ राम्रो भएन होला ।
२. बनाएको चलचित्र लक्षित समुदायससम्म पुगेन होला ।
३. समयभन्दा अगाडि नै चलचित्र बनेकाले दर्शकको साथ पाएनन् कि !
“कति चलचित्रले बनेको दशकौँपछि मात्रै त्यसको उचित मूल्यांकन भएको छ । यसको उदाहरणका रूपमा गुरुदत्तका सिनेमालाई लिन सकिन्छ । उनका सिनेमा बनाएको धेरै समयपछि हिट भएका छन् । यस्ता कारणहरू पनि हुन सक्छन्,” उनी भन्छन् ।
व्यक्तिभन्दा विचार हाबी भयो भने पनि विचारले कन्ट्रोल गर्ने र त्यसकै प्रभावका कारण चलचित्र नबनाउने गरेको प्रदीपको बुझाइ छ । “मैले बनाउने सिनेमाको धरातल एउटा छ । तर, मेरो विचार त्योभन्दा विशिष्ट छ भने विचारले अहिले नआइज भनेर रोकिराख्छ,” उनी भन्छन् ।
अर्को पक्ष, निर्माताको अभाव पनि हुनसक्छ । कारण, निर्माताले सधैँ रिटर्न्स छोज्छ । तर, निर्देशक कलात्मक पक्षमा सम्झौता गर्न चाहँदैन भने त्यसले पनि मेकर रोकिन सक्छ । “सन्तान जन्माउने मान्छेले पनि भोलि बुढेसकालमा मलाई छोराछोरीले पाल्छन् भन्ने अपेक्षा अर्थात् फाइदा सोचिरहेको हुन्छ भने व्यापारमा त रिटर्न्स खोजिन्छ नै,” उनी भन्छन्, “चलचित्र व्यापार पनि भएकाले प्रोडुसर सधैँ जसका सिनेमा कमर्सियल रूपमा सफल छन्, उसैको पछि लाग्छन् । यसले पनि केही हदसम्म असर गर्छ ।”
यद्यपि, नीवन सुब्बा, छिरिङ रितार शेर्पा, मीन भाम, दीपक रौनियार, मनोज पण्डितको नाम नै चलचित्र क्षेत्रमा पावरफुल रहेकाले उनीहरूलाई निर्माताको खाँचो नहुने उनको दाबी छ । धेरै काम गरेर प्रशस्त पैसा कमाइसकेका व्यक्ति जो धेरै रिटर्न्स खोज्दैनन्, त्यस्ता आर्ट लभरहरूले लगानी गर्ने उनको भनाइ छ ।
“तर, धेरै आर्टलभर जो दुईचार करोड रुपैयाँ राम्रो सिनेमामा खर्च गर्न तयार हुनुहुन्छ, उहाँहरू गलत व्यक्तिको संगतमा पुगिरहनुभएको छ,” उनी भन्छन्, “मैले कति एनआरएनहरूलाई भेटेको छु, उहाँहरूको खासै केही स्वार्थ नै छैन चलचित्रमा लगानी गर्नुमा । नेपालको आर्ट क्षेत्रलाई उकास्न आफ्नो केही योगदान होस् भन्ने मात्रै उहाँहरूको चाहना हुन्छ । तर, उहाँहरू नै गलत व्यक्तिको साथमा पुगिरहनुभएको छ ।”
नेपालबाहिर लामो समय बसेकाले आफ्ना सन्तानले नेपाली भाषा तथा कला–संस्कृति नै बिर्सिने गरेकाले चलचित्रमार्फत नै उनीहरूलाई आफ्नो देशको संस्कृति र भाषाप्रति जानकार हुन् भन्ने चाहनाले एनआरएनले लगानी गरिरहेको प्रदीपको अनुभव छ । “तर, आफ्नो सन्तानलाई नेपाल र नेपाली भाषा–संस्कृतिलाई माया गर्ने बनाउन गरेको लगानी गलत व्यक्तिमा भइरहेको छ,” उनी भन्छन्, “यसरी गरिरहेको लगानी समय र चलचित्रको ज्ञानको अभावका कारण गलत व्यक्तिमा परिरहेको छ । यसरी गरिने लगानी सही व्यक्ति र चलचित्रमा परेको खण्डमा दुवै पक्षलाई फाइदा हुन्छ ।”
विचार निर्देशित मात्रै नभएर आँट पनि गर्नुपर्नेमा उनको जोड छ । गरेका काम सबै सफल हुनैपर्छ भन्ने धारणा हटाएको खण्डमा पनि चलचित्र निर्माण गर्न सकिने प्रदीप बताउँछन् । “कसले के भन्ला भनेर भन्दा पनि इमानदार भएर काम गर्ने हो । काम हो, कहिले सफल हुन्छ कहिले असफल । सबैभन्दा पहिला त डरबाट मुक्त हुनुपर्छ,” उनी भन्छन्, “काम गर्दा गल्ती–कमजोरी हुन्छ । कामको रिजल्ट सधैँ राम्रो हुन्छ भन्ने छैन । सधैँ काम गर्दै जाने हो, सिक्दै जाने हो । हामी सबै नमरुन्जेलका विद्यार्थी हौँ ।”
जति धेरै जानकारी भयो त्यति धेरै डर पैदा हुने भन्दै उनी डरलाई थिचेर बाहिर आउन सक्नुपर्ने धारणा राख्छन् । “हामीले जसको नाम लियौँ, उहाँहरू स्क्रिप्टको डक्टर हो । डक्टरलाई नै रोगबाट सबैभन्दा धेरै डर लाग्छ, कारण उहाँहरूलाई के भयो भने के हुन्छ र के हुँदा उपचार सम्भव हुँदैन भन्ने जानकारी हुन्छ,” प्रदीप भन्छन्, “त्यस्तै, उहाँहरूलाई पनि के भएन भने चलचित्र बिग्रिन्छ भन्ने जानकारी भएकाले उहाँहरू डराइरहनुभएको छ । तर, यो डरबाट मुक्त हुनुपर्छ ।”
त्यो नै अनुभवी सिकारी हो, जसले यहाँभन्दा अगाडि के गर्यो भन्दा पनि अहिले सिकार गर्यो कि गरेन र के गर्यो भन्ने कुराले ऊ कस्तो सिकारी हो भन्ने कुराको निर्धारण गर्छ ।
नवीन, छिरिङ, मनोज, दीपक, मीन त्यस्ता निर्देशक हुन्, जसका कुरा धेरै मेकरले सुन्छन् । तर, उनीहरूका चलचित्र त्यति धेरै आउँदैनन् । भलै, यसमध्ये मनोज भने तुलनात्मक रूपमा बाक्लै रूपमा दर्शकमाझ आइरहेका छन् । नवीन, छिरिङ, दीपक र मीनले लामो समयदेखि चलचित्र निर्माण गरेका छैनन् । यद्यपि, उनीहरूको प्रोजेक्ट पाइपलाइनमा भने छन् ।