site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चर्चाको लोभले तिज गीत ‘उत्ताउला’ भए 

काठमाडौं । कलाकारहरूले तिजका गीतमा विकृति भित्रिरहेको बताएका छन् । बजारलाई प्राथमिकतामा राख्दा तिजको मर्ममाथि नै प्रहार भइरहेको उनीहरूको भनाइ छ । यस्तै अवस्थाले निरन्तरता पाए भोलिका दिनमा तिजको वास्तविक पहिचानमाथि संकट देखा पर्ने भन्दै बेलैमा सचेत हुनुपर्ने कलाकारहरूको निष्कर्ष छ ।

लोकगायिका हरिदेवी कोइराला तिजका गीतमा विकृति रहेको बताउँछिन् । असारे गीत गाउने समयभन्दा अगाडिदेखि नै तिज गीत रेकर्ड हुनु विकृति भएको उनको बुझाइ छ । जबसम्म संस्कृति कसरी बचाउने भन्ने चेतना र मोह हुँदैन, त्यो समयसम्म संस्कृतिमाथिको अतिक्रमण नरोकिने उनी बताउँछिन् ।

“तिज गीतका नाममा व्यापारले प्राथमिकता पाउनु, तीन महिना अगाडिबाट तिजका गीत बजारमा आउनु, मर्म र लयको ख्याल नगरिनु संस्कृतिमाथिको प्रहार हो । अप्रत्यक्ष रूपमा यसले हाम्रो संस्कृतिलाई निलिरहेको छ । त्यसैले यसमा राज्य चनाखो हुनुपर्छ,” हरिदेवी भन्छिन्, “वास्तविक भाकाको खोजी, संरक्षण तथा सम्वद्र्धन गर्दै नयाँ पुस्तामा तिज गीत हस्तान्तरण हुनुपर्छ ।”

यसका लागि राज्यसँगै कलाकारको पनि बराबर भूमिका हुने उनको बुझाइ छ । समाजका रहेक व्यक्तिको प्रयास र सहयोगमा मात्रै संस्कृति जीवित रहने अन्यथा त्यो हराएर जाने उनको भनाइ छ ।

सांस्कृतिक गीतमा यसको परम्परालाई केन्द्रमा राखेर गीत गाइनुपर्नेमा अहिले चल्ने र चलाउने नाममा तिजका गीत भड्किला बनेको हरिदेवीको बुझाइ छ । गीतमा मसला हाल्ने काम भइरहेको र त्यसले तिज गीतमाथि अतिक्रमण गरेको उनी बताउँछिन् ।

“परम्परागत शब्द, भाका र मर्म तिज गीतले बोक्नुपर्छ । तर, यसो गरिए स्रोताको मन छुँदैन भन्ने गरेको मैले धेरैपटक सुनेको छु । यस्तै समस्या र विचलनले नै हामीले हाम्रो संस्कृति निरन्तर गुमाइरहेका छौँ,” उनी भन्छिन्, “माटो, संस्कृति र मनोविज्ञानसँग जोडिएका कुराहरू हामी गुमाउँदै छौँ । सांस्कृतिक तथा ऐतिहासिक पक्षलाई जोगाउँदै आउँदो पुस्तालाई हस्तान्तरण गर्नु हाम्रो दायित्त्व हो ।” दायित्त्व, जिम्मेवारी र नैतिकता भुल्दै गए पहिचान नै गुम्छ भन्ने तथ्यलाई हेक्का राख्न उनको सुझाव छ ।

व्यक्ति स्वयंमा चेतना नभएसम्म देखिएका विकृति र विसंगतिहरू न्यूनीकरण गर्न नसकिने राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष रमेश बिजी बताउँछन् । हरेक वर्ष यस्ता तिज गीतका नाममा संस्कृतिमाथि नै धावा बोल्ने गीतहरू आइरहेको भन्दै यसले राम्रो संकेत नगरेको उनको भनाइ छ । प्रतिष्ठानले विज्ञप्ति निकालेर नै संस्कृतिमाथि प्रहार गर्ने गीत ननिकाल्न आग्रह गर्दै आएको छ ।

“संस्कृतिको संरक्षण कसैले भनेर वा आग्रह गरेर भन्दा पनि सबैभन्दा पहिला कलाकार आफैँ नैतिक रूपमा सचेत हुनुपर्छ,” उनी भन्छन् । आग्रहलाई कोही कलाकारले नजरअन्दाज गर्छ भने प्रतिष्ठानले उसलाई हेर्ने नजर फरक हुने प्रतिष्ठानले जनाएको छ ।

अरू गीतमा जे–जस्तो भए पनि पर्व गीतमा कलाकारले संयमता अपनाउन रमेश आग्रह गर्छन् । लोक तथा दोहोरी गीत प्रतिष्ठानले द्विअर्थी शब्द प्रयोग गरेर तिज गीत नगाउन आग्रह गरेको थियो । तिज गीतका नाममा विकृति भित्रिरहेको भन्दै अश्लील गीत र भिडियो नबनाउन उनको आग्रह छ ।

तिजका सबै गीत भड्किला र नराम्रा नभए पनि केही गीत भने निकै उत्ताउला भएको गीतकार एकनारायण भण्डारी बताउँछन् । समयानुसार परिर्वतन स्वाभाविक भए पनि परिमार्जन र गतिशिलताका नाममा समाजले पचाउन नसक्ने र संस्कृतिलाई नै धक्का दिन गीतको पक्षमा भने उभिन नसकिने उनको धारणा छ ।

“परिवर्तनशील सबै हुनुपर्छ र समयानुसारका गीत लेखिनु र गाइनु पनि पर्छ । किनकि, आजको कुरा नै भोेलिका इतिहास हुन् र त्यही नै भोलिका लागि संस्कृति पनि हो,” गीतकार एकनारायण भन्छन्, “तर, समयभन्दा अगाडि बढ्न सकिँदैन । समयलाई नै चुनौती दिने गीतलाई पर्व गीत मान्न सकिँदैन । यो विकृतिलाई न्यूनीकरण गर्न आवश्यक छ ।” 

तिज गीतका लयका सन्दर्भमा भने उनको फरक मत छ । गण्डकी प्रदेशमा गाइएका तिज गीतका भाकालाई नै तिज गीतको भाका भन्ने गरिए पनि प्रदेशानुसारका भाका हुने उनको दाबी छ ।

जसरी हुन्छ चर्चा कमाउने लोभले पनि तिज गीत भड्किला हुँदै गएको गायक पशुपति शर्मा बताउँछन् । व्यापार र चर्चाको भोक नै तिज गीत भड्किलो हुनाको मुख्य कारण भएको उनको बुझाइ छ ।

“व्यापार नै मुख्य कारण हो । भ्युज र चर्चा कसरी कमाउने भन्नेमा ध्यान छ । यहाँ इज्जतभन्दा पनि चर्चाको लोभ छ, चाहे त्यो नकारात्मक नै किन नहोस् । कसरी पैसा कमाइएला भन्ने सोचबाट निर्देशित हुँदाको परिणाम हो यो,” पशुपति भन्छन्, “हिजो हामी दसैँमा टीका लगाएर प्लास्टिकमा रोटी बोकेर हिँड्थ्यौँ, आज चकलेट दिन थालियो । तर, समयको परिवर्तनका नाममा आफ्नो धरातलचाहिँ बिर्सिनु हुँदैन । कला र संस्कृति भुल्नु हुँदैन । आधार नै छोडेर परिवर्तन हुन खोज्यौँ भने संस्कृति बिग्रिन्छ ।”

तिजको महत्त्व र यसको विशेषता के हो भन्ने हेक्का नराखे आउँदो पुस्ताले भड्किलो तिजलाई परम्परागत तिजका रूपमा ग्रहण गर्ने समय आउने उनको गुनासो छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ २४, २०७८  १४:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
प्रतिगमनको दिवास्वप्न नदेख !
प्रतिगमनको दिवास्वप्न नदेख !
Hamro patroHamro patro