site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
तिजलाई गक्षअनुसार मनाउन सुझाव

काठमाडौं । सामान्य अवस्था हुँदो हो त यो समय हिन्दु महिलामा छुट्टै रौनक र चहलपहल हुन्थ्यो । नेपाली अभिनेत्रीहरू पनि तिजबाट अछुतो हुने कुरै भएन । हरेक वर्ष अभिनेत्रीहरूले तिज मनाउँदै रातो पहिरनमा सजिएका तस्बिरहरू सामाजिक सञ्जालमा देख्न सकिन्थ्यो ।

कुनै समय आफ्नो सुख, दुःख पोख्न माइत जाने चलन रहेको तिज पछिल्लो समय भद्दा र देखासिकीमा परिणत भइसकेको छ । तिजको निहुँमा हप्तौँ अगाडिदेखि दर खाने कार्यक्रम र देखासिकीकै लागि गरगहना र पहिरनमा सजिने व्यवहारप्रति अभिनेत्रीहरू असन्तुष्टि पोख्छन् । उनीहरू तिजलगायत हरेक पर्व आफ्नो गक्षअनुसार मनदेखि मनाउनुपर्ने बताउँछन् । तिजमा श्रीमान्का लागि भनेर निराहार व्रत बस्ने कुरामा पनि परिवर्तन आवश्यक रहेकोमा उनीहरूको जोड छ ।

नेपाली चलचित्रका विवाहित अभिनेत्रीहरू यो वर्षको तिज कसरी मनाइरहेका छन् ? उनीहरूका कुरा पढौँ ।

प्रियंका कार्की 
अभिनेत्री प्रियंका कार्कीको विवाहपछि योपटक दोस्रो तिज हो । पहिलो तिज कोरोना महामारीका कारण उनले सोचेजसरी मनाउन पाइनन् । यो वर्षको तिजमा कुनै योजना छैन । प्रसूतिको समय नजिकिँदै गएकाले उनले यो वर्षको तिज यसरी नै मनाउँछु भनेर कुनै योजना बनाएकी छैनन् ।

“म केही भन्नै सक्दिनँ । किनभने, मेरो डेलिभरीको समय नजिकिँदै गरेकाले म यसमा केही भन्नै सक्दिनँ । यो मेरो गर्भावस्थाको अन्तिम महिना भएकाले अहिले नै यो वा त्यो गर्छु भन्न सक्ने अवस्था छैन । सम्भवतः म यो वर्षको तिज मनाउँदिनँ होला,” प्रियंकाले भनिन् ।

योपटक मात्रै होइन अरू बेला पनि तिजमा व्रत बसेर घरमै रहेर मनाएको उनलाई त्यति सम्झना छैन । कारण, आफ्नो कामले गर्दा ध्याउँदिनन् । तर, उनी पर्वलाई भने सम्मान गर्छिन् ।

तिजमा श्रीमान्का लागि भनेर निराहार व्रत बसेर मनाउने र यसलाई एउटा रमाइलोको रूपमा मात्रै मनाउने दुवैलाई उनी सम्मान गर्छिन् ।

स्वस्तिमा खड्का 
अभिनेत्री स्वस्तिमा खड्काको तिजको योजना अरू अभिनेत्रीहरूको भन्दा केही फरक छ । उनी तिजमा व्रत बसेर पूजा–आराधना गर्नेभन्दा पनि आफ्नो श्रीमान्सँग ‘क्वालिटी’ समय बिताउन रुचाउँछिन् ।

“व्रत बसेर तिज मनाउने कुरामा म त्यति विश्वास गर्दिनँ । तर, व्रत नबसे पनि म घरमै भएँ भने हामी (म र निश्चल) लन्चको लागि वा डिनरको लागि जाने गरिरहेका हुन्छौँ,” उनले भनिन् ।

यद्यपि, उनी धर्ममा आस्था राख्दै हरेक चाडपर्वलाई मनैदेखि आत्मसात् गर्छिन् । “पर्वको रूपमा मनाउनु ठिक हो । तर, श्रीमान्को लागि व्रत बस्ने, उसको दीघायुको लागि बस्ने भन्ने कुरामा त्यति विश्वास गर्दिनँ । फेरि, कोही दिदीबहिनीहरू मनैदेखि स्वइच्छाले बस्नुहुन्छ भने त्यसको म सम्मान गर्छु,” स्वस्तिमा भन्छिन् ।

तर, छोरी मान्छे भएकै नाताले व्रत बस्नैपर्छ भन्ने परम्परागत सोचको भने उनी विरोध गर्छिन् । समयसँगै हरेक कुरा परिवर्तन हुनुपर्छ भन्ने धेरैको धारणामा स्वस्तिमा पनि सहमति जनाउँछिन् ।

“समयअनुसार परिवर्तन हुनु ठिक हो, तर त्यो परिवर्तन सकारात्मक हो वा नकारात्मक भन्ने कुरामा ध्यान दिनुपर्छ । हाम्रो कल्चरमा पश्चिमी प्रभाव ल्याउनु ठिक होइन । तर, लैगिंक विभेदको कुराहरूमा परिवर्तन आउनु राम्रो हो । यद्यपि, आफ्नो संस्कृतिलाई बिर्सेर देखासिकी गर्ने, आफ्नो गक्षभन्दा माथि गएर मनाउनु ठिक पक्कै होइन ।”

पछिल्लो समय म्युजिक भिडियोमा धेरै देखिन थालेकी स्वस्तिमाको तिजको गीतमा अभिनय गर्ने चाहना छ । “आजसम्म तिजकै गीत भनेर अभिनय गरेको छैन । प्रकाश सपुतको (कुरो बुझनु पर्च) तिजको गीत भनिए पनि त्यो तिजको होइन, महिला सशक्तिकरणसँग सम्बन्धित हो । मैले तिजकै गीत गरेको छैन, तर राम्रो छ भने गर्न चाहन्छु ।”

ऋचा शर्मा
अभिनेत्री ऋचा शर्माको पनि यो वर्ष तिज विशेष कुनै योजना छैन । गत वर्ष विवाहपछिको पहिलो तिज भने उनले पूजा गरेर निराहार व्रत नबसी मनाइन् ।

“कल्चर भनेको समयसँगै परिवर्तन हुँदै जाने कुरा हो । पहिला नेपालमा बस्ने क्रिश्चियन धर्मावलम्बीहरूलाई भन्दा अरुलाई क्रिसमस भन्ने नै थाहा थिएन होला । तर, पछिल्लो समय सबैले मनाउनुहुन्छ । पश्चिमी संस्कृतिको केही प्रभाव परेकै हो,” उनी भन्छिन्, “तिज भनेको खासमा महिलालाई एउटा बहाना हो, आफ्नो व्यस्त समयबीच आफ्ना लागि एक दिन भए पनि समय निकाल्ने । तर, यसको नाममा महिनौँअघिदेखि दर खाने, साडी, गरगहनाहरू लगाउने विकृति हो जस्तो लाग्छ ।”

उनी तिज आफ्नै घरपरिवारका दिदीबहिनीसँग मनाउनुपर्छ भन्ने सोच राख्छिन् । तर, हरेकले आ–आफ्नो आस्थाअनुसार यसलाई मनाइने हुँदा उनी त्यसलाई पनि सम्मान गर्छिन् । उनी स्वयं भने धर्मको नाममा अन्धो भएर निराहार व्रत बस्ने कुरामा विश्वास गर्दिनन् ।

वर्षा राउत 
अभिनेत्री वर्षा राउत व्रत बसेर झकिझकाउ भएर हिँड्नेभन्दा पनि साधारण तरिकामा तिज मनाउन रुचाउँछिन् । तर, योपालि उनको परिवारमा जुठो परेको छ ।

वर्षाको नजरमा तिज विवाहित महिलाका लागि श्रीमान्सँग नजिकिने र अविवाहित महिलाका लागि आफ्नो प्रेमीसँग नजिकिने राम्रो मौका हो ।

“तिज भनेको श्रीमान्–श्रीमती र प्रेमी–प्रेमिकालाई केही नजिक ल्याउने चाडपर्व हो कि जस्तो मलाई लाग्छ,” उनी भन्छिन्, “पहिला–पहिला श्रीमान्को लामो आयुका लागि बसिन्छ भन्ने सुनेको थिएँ, जुन मलाई त्यति विश्वास लाग्दैन ।”

उनी फलफूललगायत खानेकुरा खाएर व्रत बस्ने गर्छिन् । उनलाई त्यति स्मरण त छैन, तर २०–२१ वर्षको हुँदादेखि आमा व्रत बसेको देखेर बस्न थालेकी हुन् । वर्षा पानीसम्म पनि नखाई व्रत नबस्न सुझाव दिन्छिन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, भदौ २३, २०७८  १५:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro