काठमाडौं । बुद्धि तामाङ अहिले ‘हैट’ शब्दसँगै जोडिएर आउने एउटा नाम हो । हुन त यसअघि पनि यो चल्तीको शब्द थियो । तर, चलचित्र ‘कबड्डी’मा कलाकार बुद्धि तामाङले आफ्नै शैलीमा हास्यास्पद पृष्ठभूमिसँगै भनेपछि भने यो शब्द अझ बढी चलनचल्तीमा रह्यो ।
“यो मैले नयाँ आविष्कार गरेर ल्याएको शब्द होइन । गाउँघरमा सुनिरहने शब्द नै हो । यसको अर्थभन्दा पनि यो हरेक किमिमको भावनासँग जोडिएको छ,” कलाकार बुद्धि तामाङ भन्छन्, “यो एउटा भावना व्यक्त गर्ने शब्द हो । खुसी हुँदा, दुःखी हुँदा आउने सुस्केराजस्तै शब्द हो ।”
स्क्रिप्टको रूपमा निर्देशक रामबाबु गुरुङले उनलाई यो शब्द दिएका थिए । त्यसअघि पनि कलाकार तामाङ आफैँलाई प्रोत्साहन गर्न यो शब्दको प्रयोग गरिरहन्थे ।
उनी भन्छन्, “हैट ! यसरी हुन्न, जुरुक्क उठेर काम गर्नुपर्छ बुद्धि उठ् भनेर आफैँलाई अनि इनर्जी क्रिउट गर्न पनि भनिरहन्थेँ नाटकहरू खेल्दा पनि । सबैले बोलिरहने भए पनि मेरो भाग्यको कुरा, यो शब्द बोल्नेबित्तिकै मेरो नाम पनि धमिलो रूपमै भए पनि दर्शकले सम्झिन्छन् ।”
क्यारेक्टर आर्टिस्ट
क्यारेक्टर आर्टिस्टहरूले धेरैजसो ‘कलर नछुट्टिने क्यारेक्टर’ गर्नुपर्ने बुद्धि बताउँछन् । “ह्वाइट, ब्लाक, रेडजस्तो छुट्टिनुपर्ने हो नि ! तर, हामी ग्रे–ग्रेजस्तो कलर हुनुपर्छ । हामी (सबक्यारेक्टर) डार्क भइदियौँ भने लिड क्यारेक्टरलाई वा भनौँ कथा नै भाँच्दिन सक्ने हुँदा त्यो ब्राउन्ड्री (परिधि)लाई पनि हामीले तोड्नु हुँदैन । फेरि अर्को कुरा, त्यो परिधिभित्र रहेर आफ्नो छाप पनि राख्नुपर्ने हुन्छ । कथाको आफू पनि महत्वपूर्ण पात्र हो भनेर रजिस्टर पनि गराउनुपर्ने हुन्छ,” उनी भन्छन् । यो दुई कुराको तालमेल मिलाएर क्यारेक्टर आर्टिस्टहरूले आफ्नो कला देखाउने उनको बुझाइ छ ।
आफूले दर्शकको रुचाएको चरित्रलाई प्राथमिकता दिने गरेको उनी बताउँछन् । “एक–दुईवटा चलचित्रमा म भिलेन पनि बनेको छु । तर, कोही पनि नडराउने रहेछ हिहिहि...,” लामो हाँसोसहित उनले भने ।
क्यारेक्टर आर्टिस्टको भूमिका निभाइरहँदा उनी खुसी छन् । उनी ‘सेन्ट्रल क्यारेक्टर’भन्दा पनि ‘सबक्यारेक्टर’ गर्ने कलाकारहरूको भविष्य उज्ज्वल देख्छन् । यति भनिरहँदा अरू कलाकारहरूलाई जस्तै उनलाई पनि चलचित्रको ‘हिरो’ बन्ने आकांक्षा भने नभएको होइन ।
दुई छाक भोक टार्न काठमाडौंमा अनेक काम गरेर अन्ततः अभिनयमा एक्कासि होमिएका उनको कलाकार बन्ने कुनै उद्देश्य थिएन । नाटक गरेको एक–दुई वर्षमा उनले अब अभिनयमा नै लाग्छु भन्ने निर्धारण गरेका हुन् ।
पैसा कमाउन काठमाडौं, अभिनयमा यसरी आए
एक दिन आफ्नै गाउँको साइनोले बाजे पर्ने एकजनाले ‘नाटक गर्छौँ ?’ भनेर सोधे । काठमाडौं आएर धेरै पेसामा आफ्नो भाग्य खोजिसकेका उनी त्यसपछि नाटकतिर लागे ।
उनले पुष्प गुरुङको डबली थिएटरबाट अभिनय यात्रा सुरु गरेका थिए । चार–पाँच सयजति सडकनाटक गरेपछि उनको भेट कलाकार दयाहाङ राई, नाजिर हुसेन, नम्रता श्रेष्ठलगायतसँग भयो ।
यति धेरै सडकनाटक गरिसक्दा पनि पहिलोपटक नाटकघरमै लाइटलगायत प्रोपससहित अभिनय गर्दा उनको आवाजले साथ दिएन । ‘भ्वाइस एन्ड स्पिच’ अलि प्रस्ट भएन भनेर पहिलोपटक रिजेक्ट हुँदा उनी भक्कानिए पनि ।
तर, यसैलाई अन्त्य मानेनन् । बरु, मञ्चमा नदेखिएर के भो त पर्दापछाडि क्यामेरा, लाइटको पाटोबाटै भए पनि यसैमा अघि बढ्छु भन्ने अठोटका साथ निरन्तर लागिरहे । फलस्वरुप, उनी आज चलचित्र क्षेत्रमा परिचित अनुहार भएका छन् ।
कोरोनाले चलचित्रको छायांकन ठप्प छ । तर पनि उनी केही म्युजिक भिडियो, मण्डला थिएटरको काम, चलचित्रको योजनाहरू बनाउनेलगायत कार्यमा व्यस्त नै छन् ।
कोरोनाले अहिले जति नै थलाए पनि कुनै दिन चलचित्र क्षेत्रले राम्रो फड्को मार्ला भन्ने अपेक्षा उनले गरेका छन् । तर, यसका लागि सबै मिलेर अघि बढ्नुपर्ने उनी बताउँछन् ।
हरेक अन्तर्वार्तामा ‘अर्को वर्ष वैवाहिक बन्धनमा बाँधिने पक्का हो’ भन्दै जवाफ दिने गरेका उनी समय नजुरेको मान्छन् ।