काठमाडौं । पूर्व विश्व नम्बर एक टेनिस खेलाडी नोभाक जोकोभिकले युएस ओपन टेनिस गुमाउने भएका छन् । चोटका कारण सर्बियन जोकोभिकले युएस ओपन टेनिस नखेल्ने भएका हुन् ।
जोकोभिकले बिहिबार विहान फेसबुक भिडियोमार्फत आफ्नो चोटलाई मुक्त बनाउन कम्तिमा १८ महिना आराम गर्ने बताउँदै आफूले युएस ओपन समेत नखेल्ने बताएका हुन् । वर्षको चौथो तथा अन्तिम ग्राण्डस्लाम युएस ओपन आगामी अगस्ट २८ मा सुरु हुने छ । जोकोभिकले सन् २०११ र २०१५ मा युएस ओपनको उपाधि जितेका थिए ।
फेसबुक भिडियोबाट जोकोभिकले भने, “मलाई यो निर्णय लिन त्यति सहज छैन तर, म सकारात्मक नतिजाको लागि निर्णय लिँदैछु ।”
चौथो वरियतामा रहेका जोकोभिकले गत साता सम्पन्न विम्बल्डन टेनिसको दौरान चोट बोकेका थिए । विम्बल्डन टेनिसको क्वाटरफाइनलमा चेक रिपब्लिकका टोमस बर्डिचसँगको खेल दौरान जोकोभिकको दाहिने पाखुरामा चोट लागेको थियो । त्यसपछि जोकोभिकले बीचैमा खेल त्यागेका थिए ।
विम्बल्डनको दौरान चोट बोकेपछि डाक्टर जेडेन्को मिलिकोभिकले १२ पटकको ग्राण्डस्लाम विजेता जोकोभिकलाई चोटमुक्त हुन यो बर्ष प्रतियोगिता नखेल्न सुझाब दिएका थिए । यो सिजन टेनिस कोर्टमा देखा नपरे पनि जोकोभिकले अर्को बर्षसम्म भने आफु पूर्ण रुपमा खेलमा फर्कने विश्वास लिएका छन् । ३० वर्षीय जोकोभिकले फेसबुक भिडियोमा भनेका छन्, “चोटबाट मुक्त हुन यो सिजन नखेल्ने निर्णय गरेको हु तर, पुन खेलमा फर्कने छु । म व्यावसायिक टेनिस अझै धेरै वर्ष खेल्न चाहन्छु ।”