site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
पढ्नुहोस् रवि लामिछानेसँग समितिले लिएको बयानको पूर्णपाठ
SkywellSkywell

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेसँग संसदीय विशेष समितिले लिएको बयानसहितको प्रतिवेदन सार्वजनिक भएको छ ।

संसदीय समितिले केहीबेरअघि सार्वजनिक गरेको प्रतिवेदनमा लामिछानेसँगको सवालजवाफ यस्तो रहेको छ ।

समितिले लामिछानेलाई ‘सहकारी समस्यामा परेपछि पोखरा महानगरपालिकाबाट भएको छानबिन प्रतिवेदनको वित्तीय विश्लेषणअनुसार सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थ लिमिटेड, पोखरामा मिति २०७७ चैत ३० मा गोर्खा मिडिया नेटवर्क प्रालिको नाममा सूर्यदर्शन व्यावसायिक कर्जा शीर्षकमा १ करोडको ऋण कर्जा स्वीकृत गरी रु ९७ लाख ९५ हजार ग्लोबल आईएमई बैंकको अकाउन्टपेयी चेक नम्बर ३६२९१४७८ मार्फत भुक्तानी दिएको देखिन्छ । उक्त रकम गोरखा मिडिया नेटवर्क प्रालिमा के कुन आधारमा के कुन प्रयोजनका लागि लिनुभएको थियो ? सहकारी संस्थाबाट निजी कम्पनीले त्यसरी कर्जा लिन मिल्छ ?”

Dabur Nepal
NIC Asia

हेर्नुहोस् पूर्णपाठ

संघीय संसद, प्रतिनिधि सभा, सहकारी संस्था बचत रकम दुरूपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समिति समक्ष गोरखा मिडिया नेटवर्क प्रा. लि. का पूर्वसञ्चालक तथा प्रबन्ध निर्देशक श्री रवि लामिछानेसँग भएको सोधपुछः

आफ्नो नाम सहित तीन पुस्ता र परिवारका सदस्यहरूको विवरण खुलाउनुहोस्। परिवारका सदस्य हाल को कहाँ हुनुहुन्छ ? खुलाइदिनुहोस् ।
मेरो नाम रवि लामिछाने हो । मरो बाजेको नाम चन्द्रकान्त लामिछाने, बुबा लालचन्द्र लामिछाने आमा नन्द कुमारी लामिछाने, श्रीमती निकिता पौडेल लामिछाने हो । मेरा एक छोरा र दुई छोरी हाल अमेरिकामा बस्छन् । मेरो स्थायी ठेगाना जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका वडा नं. ०६ बौद्ध महांकाल हो । म हाल बुढालनिलकण्ठ नगरपालिका वडा नं. ०५ हात्तीगौडा स्थित सीजी हिल्समा बस्छु । म वर्ष ४८ को भएँ। मेरो ना.प्र.प.नं. १८२२२ / काठमाडौं र मोबाईल नं. ९८०३८८९७१६ हो ।

तपाइको शारीरिक अवस्था कस्तो छ ? सोधिएका प्रश्नको उत्तर दिन सक्नुहुन्छ ?
मेरो शारीरिक तथा मानसिक अवस्था ठिक छ । सोधिएका प्रश्नको जवाफ दिन सक्छु ।

तपाईं आबद्ध रहेका र सञ्चालकको भूमिकामा रहेको सहकारी संस्थाहरूको नाम, ठेगाना र अन्य कुनै विवरण भए सो समेत खुलाउनुहोस् । सम्बद्ध कुनै कागजात भए पेस गर्नुहोस्।

म कुनै सहकारी संस्थामा सञ्चालक, शेयर सदस्य वा कुनै रूपमा आबद्ध छैन । 

तपाईंले सहकारी संस्थामा आबद्ध छैन भन्नुभयो, तर सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लि. पोखराको मेम्बर आइ डि नं. 001-087156 र सुप्रिम बचत तथा ऋण सहकारी संस्था लि.. बुटवलको मेम्बर आइ डि नं. 001-058506 मा तपाईंको नामसहितको KYM (Know Your Member) रहेको देखिन्छ । के हो ? खुलाइदिनुहोस् ।
उल्लिखित सहकारी संस्थाहरूमा मेरो कुनै खाता छैन । खाताको लागि कुनै आवेदन दिएको छैन । मरो संलग्नता छैन र म ति दुईवटै सहकारी संस्थाको सदस्य पनि होईन।

पछिल्लो पाँच वर्षयताको तपाईंको पेशा वा व्यवसाय के हुन् ? खुलाइदिनुहोस् ।
पछल्लो ५ वर्षमा म सञ्चारकर्मी र राजनीतिकर्मी रहेको छु । यिनै दुई वटा मेरा पेसा र व्यवसाय रहेका छन् ।

तपाई गोरखा मिडिया नेटवर्क प्रा.लि.मा के-कुन मितिदेखि के कुन मितिसम्म के कुन भूमिका र जिम्मेवारीमा रहनु भएको थियो ? खुलाइदिनुहोस् ।
म गोरखा मिडिया नेटवर्क प्रा.लि. मा २०७७/१०/०१ देखि २०७९/०३/०१ सम्म आबद्ध रहें। उक्त प्रा.लि. मा कार्यक्रम सञ्चालक र प्रबन्धक निर्देशकको भूमिकामा थिएँ।

तपाईं प्रबन्ध निर्देशक हुँदा कार्यालयको के-कुन प्रशासनिक काममा संलग्न रहने गर्नु भएको थियो ? खुलाइदिनुहोस् ।
मेरो मुल परिचय सञ्चारकर्मी रहेको हुनाले त्यहाँ मेरो प्रमुख भूमिका समाचार प्रसारण र कार्यक्रम निर्माणमा केन्द्रित थियो । प्रबन्ध निर्देशकको नाताले आन्तरिक प्रशासनतर्फ पनि केही भूमिका थियो ।

गोरखा मिडिया नेटवर्क प्रा. लि. का के कुन व्यवसाय रहेका छन् ? उक्त प्रा.लि.द्वारा सञ्चालित Galaxy 4K हाल चलिरहेको छ, छैन ? खुलाइदिनुहोस् ।

गोरखा मिडिया नेटवर्क प्रा.लि ले टेलिभिजन, रेडियो र अनलाइनमार्फत कार्यक्रम प्रसारण गर्ने गर्दथ्यो। उक्त प्रा.लि को Galaxy 4k Television हाल सञ्चालनमा रहेको छैन भन्ने सुनेको छु ।

गितेन्द्रबाबु राईसँग तपाईंको के कसरी चिनजान भएको हो? व्यावसायिक साझेदारीमा के-कसरी प्रवेश गर्नु भयो? खुलाइदिनुहोस् ।
गितेन्द्रबाबु राईसँग चिनजान हुँदाका बखत म News 24 Television मा सञ्चारकर्मी थिएँ । एउटा राम्रो टेलिभिजन सञ्चालन गर्ने भन्दै छबिलाल जोशी मार्फत गितेन्द्रबाबु राई मलाई खोज्दै आउनु भएको थियो । नेपालकै नम्बर १ र विश्वस्तरीय टेलिभिजन सञ्चालन गरौं, भन्दै प्रस्ताव लिएर आउनुभयो । आकर्षक तलब सुविधा र शेयर समेत दिने प्रस्ताव गर्नुभयो । मैले उक्त प्रस्ताव उचित ठानी Galaxy 4k Television मा काम गर्ने निधो गरेपछि व्यावसायिक साझेदारीमा प्रवेश गरेका थियौं ।

सहकारी संस्थाका सदस्य बाहेक व्यक्तिको बचत जम्मा गर्न वा त्यस्ता व्यक्तिलाई ऋण वा कर्जा प्रवाह गर्न वा ऋण वा कर्जा लिन पाइन्छ, पाइदैंन ? तपाईलाई के थाहा छ ? खुलाइदिनुहोस् ।
लाई जानकारी भएसम्म सहाकारी संस्थाले शेयर सदस्य बाहेकका व्यक्तिसँग कुनै पनि कारोबार गर्न पाउदैन र सक्दैन। सहकारी ऐन र प्रचलित कानूनले कुनै पनि सहकारीलाई त्यस्तो कार्य गर्न अनुमती दिदैन भन्ने बुझेको छु ।

सहकारी समस्यामा परेपछि लुम्बिनी प्रदेश सहकारी दर्ता अधिकारीको कार्यालयबाट गराइएको लेखापरीक्षण अनुसार सुप्रिम बचत तथा ऋण सहकारी संस्था लि. बुटवलमा मिति २०७७।१२।१८ मा तपाईंको नाममा २ करोडको ऋण खडा गरी गोरखा मिडिया नेटवर्क प्रा.लि. को नाममा ग्लोबल आइएमई बैङ्कमा रहेको खातामा सोही मिति (३१ मार्च २०२१) मा उक्त रकममध्ये १ करोड ९६ लाख रकम Roshani Gurung को नामबाट जम्मा भएको बैंक स्टेटमेण्टबाट देखिन्छ, उक्त व्यहोरा के कसो के हो ? यसरी व्यक्तिको नाममा लिएको ऋण कम्पनीमा पठाउन मिल्छ ?
जिबी राईले म लगायत सयौं व्यक्तिहरूका नाममा लिएको ऋण नक्कली खाता हो भनेर प्रमाण नै जुटाइसकिएको बुझेको छु । ऋण लिदा पूरा गर्नु पर्ने कुनैपनि प्रक्रियाहरू पुरा नभएको पनि बुझेको छु । रोशनी गुरूङ स्वयमंले आफ्नो बयानमा कसैले भनेका कारण उक्त रकम जम्मा गरेको भनेको विवरण सार्वजनिक भएको नै छ। उनका बयानहरूले स्पस्ट पारेका छन् भन्ने मलाई लागेको छ । उक्त ऋण खाता खोल्दा नागरिकता, ऋण माग गरिएको फाराम, तिनपुस्ते विवरण लगायत ल्याप्चे हस्ताक्षर समेत नभई खोलिएको भनेर अनुसन्धानले बताएको जानकारी पाएको छु । रोशनी गुरूङको बयान अनुसार सहकारीको व्यावस्थापक सागर के.सी. ले जम्मा गर्नेको नाम रवि लामिछाने पनि राख्नु भनेको पाएको छु । उक्त ऋण लिने व्यक्ति म नभएकोले कम्पनीमा गएको ऋणको जिम्मेवारी सम्बन्धित व्यक्तिलेनै लिनु पर्छ ।

तपाईले मिति २०७७ । १२ । १८ मै गोरखा मिडिया नेटवर्क प्रा.लि. को १,८०,००० कित्ता शेयर लिएको देखिन्छ। उक्त रकम सोही प्रयोजनका लागि लिनुभएको त होइन ?
मैले सहकारीबाट रकम लिएको छैन भनेपछि यो प्रश्न सान्दर्भिक नहोला । नक्कली खाता खोली ऋण लिएको तथ्यहरू प्रमाणित भइसकेकोले त्यसको जिम्मेवारी म लिन सक्दिन ।

तपाईंले गोरखा मिडिया नेटवर्क प्रा. लि. मा मिति २०७७।१२।१८ मा रु.१ करोड ८० लाखको शेयर लगानी गर्नुभएको देखिन्छ । उक्त शेयर रकम कम्पनीलाई कसरी के कुन  माध्यमबाट के-कुन स्वरूपमा चुक्ता गर्नु भएको थियो ?
मेरो शेयरलाई Sweat Equity (स्वेट इक्विटी) भनिन्छ । त्यसमा मलाई १५ प्रतिशत अफर गरिएको हो। उक्त रकम बारे मैले सार्वजनिक रूपमा पनि आफ्नो कार्यक्रमको पहिलो श्रृङ्खलामा जानकारी गराएको पनि छु । प्रचलित कानूनमा स्वेट शेयरको प्रबन्ध नभएको हुनाले त्यो व्यवस्थापन गर्ने जिम्मा जि.बि. राईले लिनु भयो। मेरो काम कार्यक्रम र समाचारमा केन्द्रित थियो, त्यसैमा केन्द्रित भएँ । बाँकी वित्तीय विषयहरू मिलाउने जिम्मा जिबी राईले लिनुभयो । पारिश्रमिक वापत मैले मासिक ५ लाख लिएको थिएँ र मैले एड्भान्स ७५ लाख पनि लिएको स्वेट इक्विटीको प्रक्रियाका लागि गोरखा मिडिया नेटवर्क प्रा. लि. मै डिपोजिट गरिदिएको थिएँ । मेरो खातामा कुनै सहकारीबाट रकम आएको छैन ।

सवाल १४ गोरखा मिडिया नेटवर्क प्रा.लि. को २०७७/१२/०५ को बैठकमा तपाई आमन्त्रितको रूपमा उपस्थित भई सहीछाप गर्नुभएको देखिन्छ । उक्त बैठकको निर्णयमा तपाईले लिने बराबरको  शेयर रकम समेत कम्पनीमा भुक्तानी गर्न ल्याएको भन्ने समेतको व्यहोरा उल्लेख छ। उक्त  व्यहोरा के हो त ?
मैले माथि खुलाए झै यसको प्रक्रियागत विषय जिबी राईले पुरा गर्ने भनिएको थियो । उल्लिखित विवरण सोही अनुसार लेखिएको होला ।

तपाईले गोरखा मिडिया नेटवर्क प्रा. लि. को बैंक स्टेटमेण्ट अनुसार उक्त प्रा. लि. को नाममा ग्लोबल आइएमई बैंक लि. मा रहेको खातामा २०७७ माघ ८ ( 22 January 2021 ) मा ७५ लाख जम्मा गर्नुभएको देखिन्छ। तपाई समेतले प्रमाणित गर्नु भएको गोरखा मिडिया नेटवर्क प्रा. लि. को लेखापरीक्षण प्रतिवेदनमा उक्त रकम Equity Share Capital मा जनिएको देखिन्छ । उक्त रकम के-कुन प्रयोजनका लागि जम्मा गर्नुभएको हो ? खुलाइदिनुहोस् ।

उक्त रकम जिबी राईबाट मेरो स्वेट ईक्विटीको लागि लिइएको हो र एक दुई दिनमा गोरखा मिडिया नेटवर्क प्रा.लि. मै जम्मा गरेको हुँ । मैले सहकारीबाट एक रूपैया लिएको छैन र मैले कम्पनि छोडेर जाँदा एक पैसा लगेको छैन। मैले सहकारी संस्थालाई हानि नोक्सानी पुर्याउने कुनै काम गरेको छैन, मेरो पेटमा सहकारीको एक रूपैया परेको पनि छैन । त्यतीन्जेल सम्म मलाई जिबी राईको कुनै सहकारी छ भन्ने कुनै जानकारी समेत थिएन। जिबी राई विभिन्न कम्पनी चलाएका व्यक्ति हुन्, उनका नेचर हर्ब्स, नेचर नेष्ट जस्ता बहुराष्ट्रिय कम्पनीहरू छन् भन्ने बुझें, उनको आर्थिक हैसियत अत्यन्त सबल रहेको बुझें । त्यतिबेलासम्म कुनै किसिमको विवादमा पनि परेको मैले पाईन। कम्पनी म आउनु अगाडि नै छबिलाल जोशी र जिबी राईले स्थापना गरेर सञ्चालन गरिसक्नु भएको थियो। मलाई उक्त कम्पनीको पक्षबाट १५ प्रतिशत शेयर दिइएको थियो ।

सुप्रिम बचत तथा ऋण सहकारी संस्था लि. बुटवलमा मिति २०७८ । ०३ । २२ मा कुमार रम्तेलको नाममा १ करोड ९० लाखको ऋण खडा गरी गोरखा मिडिया नेटवर्क प्रा.लि. को नाममा ग्लोबल आइएमई बैङ्कमा भएको खातामा १ करोड ३ लाख ३६ हजार जम्मा गरी बाँकी रकम तपाईंको नाममा रहेको ऋण शीर्षक १०५-२२४ मा ७,००,०००।- र अन्य पुरानो ऋणहरू कुमार रम्तेल १०५-५० मा ५९,९३,४२०।-, छविलाल जोशी १०५-२११ मा १५,८०,०००।- जम्सा गरी उक्त ऋणहरू फस्यौंट देखाई निज कुमार रम्तेलकै नाममा ऋण कायम गरेको देखिन्छ, यस्तो किन गरिएको हो ? तपाईंको नामको ऋण कुमार रम्तेलको नाममा लिइएको कर्जाको अंशबाट कसरी फस्यौंट हुन गएको हो ? खुलाइदिनुहोस् ।
सुप्रिम बचत तथा ऋण सहकारी संस्थामा भएका कुनै आर्थिक क्रियाकलापमा मेरो कुनै संलग्नता छैन र मेरो जानकारीमा पनि छैन । म लगायत धेरै व्यक्तिहरूको नाममा नक्कली खाता बनाई कारोबार गरेको अनुसन्धानले नै प्रमाणित गरेको देखिएको हुँदा उक्त कार्य गर्ने व्यक्ति नै जिम्मेवार हुनु पर्छ । म संलग्न नभएको विषयमा मैले जिम्मेवारी कसरी लिने?

सुप्रिम बचत तथा ऋण सहकारी संस्था लि. बुटवलमा भूपेन्द्र बाबु राईको नाममा ऋण खडा गरी गोरखा मिडिया नेटवर्क प्रा. लि. को नाममा सिद्धार्थ बैङ्कमा भएको खातामा मिति २०७७ । ०६ । ११ मा १ करोड, गोरखा मिडिया नेटवर्क प्रा.लि. के ग्लोबल आइएमई बैङ्कमा भएको खातामा मिति २०७८ ।०१।०५ मा १ करोड, २०७८ ।०१।०९ मा ३० लाख र मिति २०७८ ०३ | ०४ मा १ करोड गरी जम्मा ३ करोड ३० लाख जम्मा भएको देखिन्छ, उक्त व्यहोरा के कसो हो ? यसरी व्यक्तिको नाममा ऋण खडा गरी कम्पनीमा रकम पठाउन मिल्छ ? उक्त रकम गोरखा मिडिया नेटवर्क प्रा.लि. मा के-कुन आधारमा के-कुन प्रयोजनका लागि लिनुभएको थियो ?
गोरखा मिडिया नेटवर्क प्रा.लि. अन्तर्गतको Galaxy 4k Television लाई सञ्चालन गर्ने मेरो मूल जिम्मेवारी हो। दैनिक आर्थिक गतिबिधी, डिपोजिट हुने रकमको विवरण जस्तो दिनानुदिन हुने क्रियाकलाप हेर्ने व्यक्तिहरू तोकिएका हुन्छन् । त्यसैले लगानीकर्ताले कम्पनीका लागि आवश्यक पर्ने रकम कोमार्फत डिपोजिट गराए भन्ने कुरा मेरो दैनिकीको विषय हुने कुरा नै भएन त्यो हेर्ने जिम्मेवारी कम्पनीको सहायक तहको एकाउन्टेन्टहरूको हुन्छ । गोरखा मिडिया नेटवर्क प्रा.लिको नियमावली को परिच्छेद ५ अन्तर्गतको नियम ४१ को उपनियम ५ ले पनि लेखापरीक्षकले शेयरधनीलाई वार्षिक प्रतिवेदन दिने भनेको छ। जिबी राई स्वयं लगानीकर्ता र कार्यकारी अध्यक्ष भएको हुनाले अरूले दैनिक हुने क्रियाकलापको जानकारी लिनुपर्ने देखिदैन । नियमावलीले म १५ प्रतिशत शेयर भएको सदस्यले बैठक बोलाउने सम्मको अधिकार छैन । कम्पनी सम्बन्धी सबै अधिकार स्पष्ट रूपमा कार्यकारी अध्यक्षलाई दिएको छ । यस अर्थमा मैले एकमुस्टरूपमा लेखापरीक्षण प्रतिवेदन (Audit Report) मात्रै हेर्ने हो । उक्त प्रतिवेदनमा कैफियत देखिए त्यसमा जानकारी लिने हो । लेखापरीक्षण प्रतिवेदनमा कार्यकारी अध्यक्षले "डाइरेक्टर लोन" भनेर छोटो अवधिका लागि निर्व्याजी ऋण (Short Term Loan) जिबी राईबाट २२ करोड ७८ लाख ८० हजार ३५६.६७ पैसा र जिबी ग्रुप अफ कम्पनीबाट ८३, ६२५ रकम २०७८ असार मसान्तको दिन दिएको प्रमाणित गरेको देखिन्छ । उक्त प्रतिवेदनमा सहकारीबाट पैसा आएको कुनै विवरण छैन । उक्त छोटो समयावधिको ऋण लेखा परिक्षकले प्रमाणित पनि गरेका छन्। कम्पनी रजिष्ट्रारको कार्यालयलाई गोरखा मिडिया नेटवर्क प्रा.लि. ले बुझाएको दफा ५१ बमोजिमको विवरणमा पनि कुनै सहकारी वा वित्तीय संस्थाबाट ऋण लिएको उल्लेख छैन । संस्थामा कार्यकारी अध्यक्ष हुँदा हुँदै उनै कार्यकारी अध्यक्षले निर्व्याजी ऋण दिएको प्रमाणित कागजात हुँदा हुँदै र आफ्नो मूल कार्य आर्थिक नभई कार्यक्रम र समाचारमा केन्द्रित भएको हुँदा दैनिक आर्थिक विवरणको जानकारी ममा नहुने स्पष्ट पार्न चाहन्छु ।

म गोरखा मिडिया नेटवर्क प्रा. लि. को सञ्चालक समितिमा रहँदा सञ्चालक समितिको कुनै बैठकले सहकारीबाट ऋण लिने विषयमा निर्णय गरेको थिएन । कुनै सहकारीसँग सम्झैता गरेर आर्थिक कारोबार गर्ने निर्णय पनि भएको थिएन । त्यसकारण कम्पनीका कार्यकारी सञ्चालकका रूपमा जिबी राई रही कम्पनीको प्रमुख भई काम गर्नुभएको र उहाँकै अन्तर्गत नै वित्तीय लगायतका सबै विभागहरू रहने हुँदा म प्रमुख भई काम गर्ने व्यक्ति थिईन। आफूसँग काम गर्ने अर्को व्यावसायिक साझेदारले गोरखा मिडियामा ल्याएको लगानीको आयश्रोत हेर्ने अधिकार मेरो हुँदैन र हेर्न मिल्दैन। सहकारीसँग यस अर्थमा पनि मेरो नाता कहिँ कतै थिएन / छैन ।

सुप्रिम बचत तथा ऋण सहकारी संस्था लि. बुटवलमा मिति २०७७।१०।२९ मा छबिलाल जोशीको नाममा २ करोड ५० लाखको ऋण खडा गरी गोरखा मिडिया नेटवर्क प्रा.लि. को नाममा ग्लोबल आइएमई बैङ्कमा भएको खातामा २ करोड ४५ लाख जम्मा भएको देखिन्छ, उक्त व्यहोरा के-कसो हो ? यसरी व्यक्तिको नाममा ऋण खडा गरी कम्पनीमा रकम पठाउन मिल्छ ? उक्त रकम गोरखा मिडिया नेटवर्क प्रा. लि. मा के-कुन आधारमा के-कुन प्रयोजनका लागि लिनुभएको थियो ?
यस प्रत्र को जवाफ अघिल्लो प्रश्नको जवाफमा नै आएको छ ।

सुप्रिम बचत तथा ऋण सहकारी संस्था लि. बुटवलमा विपिनकुमार आचार्यको नाममा मिति २०७८।०९।१२ मा १ करोड ५६ लाख १५ हजारको ऋण खडा गरी गोरखा मिडिया नेटवर्क प्रा.लि.को नाममा ग्लोबल आइएमई बैङ्कमा भएको खातामा सोही मितिमा १ करोड ५० लाख रकम जम्मा भएको देखिन्छ, उक्त व्यहोरा के कसो हो ? यसरी व्यक्तिको नाममा ऋण खडा गरी कम्पनीमा रकम पठाउन मिल्छ ? उक्त रकम गोरखा मिडिया नेटवर्क प्रा.लि. मा के-कुन आधारमा के-कुन प्रयोजनका लागि लिनुभएको थियो ?
यहाँ व्यक्तिको नाम फरक भएता पनि प्रक्रियाहरू उस्तै देखिएका छन् । यसमा मेरो सहभागिता, संलग्नता, र जानकारी पनि छैन। अरुको विषयमा मैले बोल्न कसरी मिल्ला ?

भूपेन्द्रबाबु राईको नाममा २०७७।०६।११, २०७८।०१।०५ र २०७८।०३।०४ मा ऋण खडा गरी गोरखा मिडिया नेटवर्क प्रा.लि.मा पठाइएको ३ करोड ३० लाख २०७८।०३।३१ मा फस्यौंट देखाई सोही रकमको नयाँ ऋण खडा गरी पुनः मिति २०७८।०६।१३ मा ५० लाख र २०७९ ।०२।०४ मा ३० लाख गरी जम्मा ८० लाख पेश्की रकम गोरखा मिडिया नेटवर्क प्रा.लि. मा लिएको देखिन्छ । उक्त रकम गोरखा मिडिया नेटवर्क प्रा.लि.मा के-कुन आधारमा के-कुन प्रयोजनका लागि लिनुभएको थियो ?
यस अगाडिको जवाफमा व्यक्तिको नाममात्र फरक भएको देखिन्छ । सोही प्रश्नको उत्तर नै मेरो जवाफ हो । यसबारे मलाई जानकारी छैन।

उक्त समयमा तपाई शेयरधनी सहित प्रबन्ध निर्देशक समेत हुनु हुन्थ्यो । प्रबन्ध निर्देशकको हैसियतमा संस्थामा प्राप्त भएको रकमको कानूनी वैधता सम्बन्धमा जिम्मेवारी लिनुपर्छ कि पर्दैन् ? साथै सुप्रिम सहकारी संस्थाबाट गोरखा मिडिया नेटवर्क प्रा. लि. को तोकिएका बैंकहरूका खातामा जम्मा भएको रकमबारे तपाईलाई कसरी जानकारी भएन ?
बैंक स्टेटमेण्टमा देखिने रकम दैनिक रूपमा डिपोजिट हुने रकम हो । उक्त रकमहरू प्रक्रिया पुगेर आएको होला भन्ने ठान्नु पर्दछ । दैनिक रूपमा बैंक स्टेटमेण्ट हेरी रहन सकिदैन। आफ्नो मूल जिम्मेवारी भनेको समाचार र कार्यक्रम प्रसारण भएको र अन्य कामको जिम्मेवारी कार्यकारी अध्यक्षको हो। कुनै पनि समस्याको जानकारीमा नआएसम्म तहकिकात गर्ने कार्य हुदैन । उक्त रकम पठाएको प्रक्रिया खोजीको विषय होला । जसको जिम्मेवारी दुबै संस्थाका कार्यकारी भूमिकामा रहेका व्यक्तिहरूले लिनुपर्छ । गोरखा मिडियाका हकमा त्यो जिम्मेवारी जिबि राईको हो। मैले हेर्ने भनेको अडिट रिपोर्ट हो, अडिट रिपोर्टमा समस्या नदेखेकोले मलाई जानकारी भएन । म गोरखा मिडिया नेटवर्क प्रा.लि. मा कार्यक्रम सञ्चालनको मूल जिम्मेवारी सहित गएको हुँ । म यस वियषमा संलग्न छैन, उक्त रकम ल्याएको देखिएको भए उक्त प्रक्रियामा मेरो सहभागिता, संलग्नता र जानकारी छैन ।

सुप्रिम बचत तथा ऋण सहकारी संस्था लि. बुटवलमा पुष्पराज गिरीको नाममा पेश्की जनाई मिति २०७८।०६।२४ मा २५ लाख रूपैंया गोरखा मिडिया नेटवर्क प्रा.लि.को नाममा ग्लोबल आइएमई बैङ्कमा रहेको खातामा जम्मा गरेको देखिन्छ ? उक्त पेश्की रकम गोरखा मिडिया नेटवर्क प्रा.लि.मा के-कुन आधारमा के-कुन प्रयोजनका लागि लिनुभएको थियो ? निज गिरीको व्यक्तिगत विवरण के हो? खुलाइदिनुहोस् ।
क-कसका नाममा ऋण खाता खडा गरियो भन्ने बारे मलाई जानकारी भएन । पुष्पराज गिरी गोरखा मिडिया नेटवर्क प्रा. लि. मा अपरेसन हेडको रूपमा आउनुभएको थियो ।

सुप्रिम बचत तथा ऋण सहकारी संस्था लि. बुटवलमा गोरखा मिडिया नेटवर्क प्रा.लि.को नाममा पेश्की जनाई २०७७।०६।११ मा १ करोड रूपैंया गोरखा मिडिया नेटवर्क प्रा.लि.को नाममा सिद्धार्थ बैङ्कमा रहेको खातामा, मिति २०७८ ।०१।०५ मा १ करोड र मिति २०७८।०१।०९ मा ३० लाख रूपैंया गोरखा मिडिया नेटवर्क प्रा. लि. को नाममा ग्लोबल आइएमई बैङ्कमा रहेको खातामा जम्मा गरेको देखिन्छ ? उक्त पेश्की रकम गोरखा मिडिया नेटवर्क प्रा.लि.मा के-कुन आधारमा के-कुन प्रयोजनका लागि लिनुभएको थियो ? सहकारी संस्थाबाट निजी कम्पनीले तयसरी पेश्की लिन मिल्छ ?
यसै प्रकृतिको प्रश्नको जवाफ दिइसकेको हुनाले सोही व्यहोरा खुलाउन चाहान्छु । सो सम्बन्धमा थप मलाई जानकारी छैन ।

सहकारी समस्यामा परेपछि पोखरा महानगरपालिकाबाट भएको छानबिन प्रतिवेदनको वित्तीय विश्लेषण अनुसार सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लि., पोखरामा मिति २०७७।१२।३० मा गोर्खा मिडिया नेटवर्क प्रा. लि. को नाममा सूर्यदर्शन व्यावसायिक कर्जा शीर्षकमा १ करोडको ऋण कर्जा स्वीकृत गरी रू. ९७ लाख ९५ हजार ग्लोवल आईएमई बैङ्कको एकाउण्टपेयी चेक नं. ३६२९१४७८ मार्फत भुक्तानी दिइएको देखिन्छ । उक्त रकम गोरखा मिडिया नेटवर्क प्रा.लि.मा के-कुन आधारमा के-कुन प्रयोजनका लागि लिनुभएको थियो ? सहकारी संस्थाबाट निजी कम्पनीले त्यसरी कर्जा लिन मिल्छ ?
यसमा संलग्न जो हो, उसैले जिम्मेवारी लिने कुरा हो । उक्त सहकारीमा म शेयरसदस्य कहिल्यै थिएन / छैन । उक्त ऋणका बारेमा मेरो संलग्नता छैन र मेरो जानकारीमा छैन। अधिकार प्राप्त निकायको अनुसन्धानले मेरो संलग्नता नरहेको प्रमाणित गरिसकेका छन् ।

सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लि., पोखरामा मिति २०७८।०७।०५ मा शेरवहादुर ठकुल्लाको नाममा कर्जा नं. ११६-४५७७ मा रू ५० लाख कर्जा देखाई निजकै वचत खाता नं. ४९ ०१०५९ मा जम्मा गरी उक्त रकम मेगा वैङ्कको चेक नं. २९२९०९४६ मार्फत गोरखा मिडिया नेटवर्क प्रा.लि.को नाममा भुक्तानी प्राप्त भएको देखिन्छ । उक्त रकम गोरखा मिडिया नेटवर्क प्रा.लि.मा के-कुन आधारमा के-कुन प्रयोजनका लागि लिनुभएको थियो ? सहकारी संस्थाबाट निजी कम्पनीले त्यसरी कर्जा लिन मिल्छ ?
नाम मात्र फरक परेको हो र कर्जाको प्रकृति एउटै भएकोले यस विषयमा मलाई जानकारी छैन । शेरवहादुर ठकुल्लालाई म चिन्दिन ।

सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लि., पोखरामा मिति २०७८।०९।०६ मा विपिन कुमार आचार्यको कर्जा खाता नं. ११६-४६१६ मा रु १ करोड कर्जा देखाई वचत खाता नं. ४९-०१२५० मा जम्मा गरिएको र उक्त कर्जाको सेवा शुल्क एवं अन्य शुल्कहरू गितेन्द्र बावु राईको वचत खाता नं. ३१-१४४५३ बाट रकमान्तर गरी कट्टा गरिएको कम्प्युटर लेखा प्रणालीबाट देखिन्छ । उक्त वचत खाता नं. ४९-०१२५० बाट रू. १ करोड सहकारीकै गोर्खा फाइनान्सको चेक नं. १०००८५१५२८ मार्फत गोर्खा मिडिया नेटवर्क प्रा. लि. लाई भुक्तानी भएको देखिन्छ । उक्त रकम गोरखा मिडिया नेटवर्क प्रा.लि.मा के-कुन आधारमा के-कुन प्रयोजनका लागि लिनुभएको थियो ? निज विपिनकुमार आचार्य को कुन व्यक्ति हुन् ? 'निजले गोरखा मिडिया नेटवर्क प्रा.लि. मा रकम तिर्नु पर्ने दायित्त्व वा कुनै कारोबार छ ?
कार्यकारी अध्यक्षसँग भएको कारोबार हुनाले यसबारे मलाई जानकारी भएन । विपिनकुमार आचार्य गोरखा मिडिया नेटवर्कका क्रियटिभ डाईरेक्टर थिए। तर उनको सहकारीसँगको कारोबारबारे
मलाई जानकारी भएन ।

सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लि., पोखरामा गोरखा मिडिया नेटवर्क प्रा.लि.को नाममा पेश्की जनाई २०७८ ।०२।०३ मा ५० लाख मेगा बैङ्कको एकाउण्टपेयी चेक नं. २०२७२२१०८५ मार्फत र मिति २०७८ ।०३।०९ मा ५० लाख मेगा बैङ्गको एकाउण्टपेयी चेक नं. २०२७२२१०९९ मार्फत गोर्खा मिडिया नेटवर्क प्रा.लि.को नाममा प्रवाह भएको देखिन्छ ? उक्त पेश्की रकम गोरखा मिडिया नेटवर्क प्रा.लि.मा के-कुन आधारमा के-कुन प्रयोजनका लागि लिनुभएको थियो ? सहकारी संस्थाबाट निजी कम्पनीले त्यसरी पेश्की लिन मिल्छ ?
यो रकम आएको भए उक्त कार्यमा प्रत्यक्ष संलग्न व्यक्तिले जिम्मा लिनुपर्छ । यसमा मेरो संलग्नता, सहभागिता छैन।
सवाल २८ उपरोक्त पेश्की रकम मिति २०७८।०३। ३१ मा तपाईंको नाममा सूर्यदर्शन व्यावसायिक कर्जा शीर्षकमा कर्जा नं ११६ ४४५६ मा रकमान्तर गरी कर्जा खडा गरी पेश्की सेटल गरेको देखिन्छ ।

तपाईं सहकारीको शेयर सदस्य नै नभएको व्यक्तिले उक्त कंर्जा कसरी लिनु भयो ? उक्त कर्जाका लागि के-कुन धितो दिनुभएको थियो ?
म उक्त संस्थाको शेयर सदस्य छैन, ऋण पनि लिएको होइन । कस्ले कुन प्रयोजनले यो खाता खोल्यो, कर्जा लियो, कर्जा तिर्यो खोजी गर्नु पर्ला । यसमा मेरो सहभागिता छैन र यस सम्बन्धमा जानकारी पनि छैन ।

सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लि., पोखरामा तपाईंको नाममा रहेको कर्जा नं. ११६ ४४५६ को ऋण रकम रू. १ करोडको १४.७५% व्याजदरमा पहिलो वर्षको ब्याज १४,७५,००० र दोश्रो वर्षको ब्याज रू. १६,१३,७३० समेत गरी जम्मा रू. १ करोड ३० लाख ८९ हजार मिति २०८०।०३।१३ मा गोर्खा मिडिया नेटवर्क प्रा. लि. को नाममा नयाँ कर्जा खाता नं. ११६-४८०१ खडा गरी १ करोड ३० लाख ८९ हजार ऋण कायम भएको देखिन्छ ।तपाईंको व्यक्तिगत कर्जा चुक्ता नगरी तपाईंले मिति २०७९।०३।०२ मै छाडिसकेको गोरखा मिडिया नेटवर्क प्रा.लि. को नाममा ऋण कायम के कुन आधारमा गराउनु भएको हो ? खुलाइदिनुहोस्।
जवाफ २९ म उक्त संस्थाको शेयर सदस्य होइन, ऋण मागेको पनि छैन, ऋण लिएको पनि छैन । यसमा मेरो संलग्नता छैन। मलाई जानकारी छैन ।

सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लि.मा रहेको गोरखा मिडिया नेटवर्क प्रा. लि. को रू.. २ करोड पेश्की रकम मिति २०७८ । ०३३१ मा फस्र्योट भई सोही दिन तपाईं प्रबन्ध निर्देशक रहेको गोरखा मिडिया नेटवर्क प्रा.लि. का सञ्चालक छविलाल जोशीका नाममा सोही रकमको ऋण लेखाइन भएको देखिन्छ । साझेदारी कम्पनीको ऋण एक जनामात्र सञ्चालकको नाममा किन कायम गर्नु गराउनु भएको हो? खुलाइदिनुहोस् । यसबारे मलाई जानकारी छैन।

मिति २०७१।०३।०२ मा गोरखा मिडिया नेटवर्क प्रा. लि. मा रहेको तपाईंको नामको १८०००० कित्ता शेयर गितेन्द्रबाबु राईलाई बिक्री गर्दा प्रति शेयर मूल्य कति निर्धारण गरेर बिक्री गर्नु भयो ? उक्त रकम के-कुन माध्यमबाट प्राप्त गर्नु भयो ? खुलाइदिनुहोस् ।
कम्पनी छोड्दा प्रक्रिया पुर्याउने कार्यमात्र भएको हो । मैले कम्पनीमा कुनै लगानि नगरी स्वेट शेयर लिएको थिएँ र कम्पनी छोड्दा मैले एक पैसा पनि लिएको छैन । मेरो नामको शेयर कागजी रूपमा आयो र कागजी रूपमै गयो । मैले आफ्नो तलब सुविधा बाहेक कुनै रकम लिएको छैन जुन मेरो बैंक खाताको कारोबार विवरणमा स्पष्ट देखिन्छ ।

Nobody Production Pvt. Ltd. के कुन कम्पनी हो ? गोरखा मिडिया नेटवर्क प्रा.लि.सँग यसको के-कुन प्रकारको कारोबार रहेको थियो ? उक्त कम्पनीलाई आर्थिक वर्ष ७७/७८ मा संस्थाले आम्दानी हुने गरी कुनै काम सुरु नगरेकै अवस्थामा रू ५ करोड ३५ लाख बराबरको पेश्की किन दिइएको हो ? सुप्रिम सहकारीबाट उक्त कम्पनीमा २०७७।०७।०६ मा गएको रकम गोरखा मिडियाको अभिलेखमा देखिन्छ, देखिदैन ?
Nobody Production Pvt. Ltd. ले ३ वटा महत्वपूर्ण अन्तराष्ट्रिय फ्रेन्चाईज कार्यक्रमहरू (को बन्छ करोडपति, सारेगमप लिटल च्याम्स र क्राईम पेट्रोल) सञ्चालन गर्ने सम्झौता गरेको थियो । त्यसै सम्झौता बमोजिम पेश्की लिएको हो । सुप्रिम सहकारीबाट Nobody Production Pvt. Ltd को खातामा गएको रकमबारे मलाई जानकारी भएन ।

Gopi Krishna Movie Pvt. Ltd. के कुन कम्पनी हो ? गोरखा मिडिया नेटवर्क प्रा.लि.सँग यसको प्रकारको कारोबार रहेको थियो ? उक्त कम्पनीलाई आर्थिक वर्ष ७७/७८ मा २५ लाख पेश्की किन दिइएको हो ?
Gopi Krishna Movies Pvt. Ltd. अन्तर्गत Gopi Krishna FM लाई galaxy FM बनाउने सहमती भएको थियो । उक्त रेडियो प्राप्त गर्नको लागि दिइएको पेश्की रकम हो । कल साईन परिवर्तन भएको प्रतिवेदन म यस समिति समक्ष पेस गर्छु । रेडियो Galaxy प्रसारणमा आइसकेको थियो ।  सम्पूर्ण उपकरण गोरखा मिडिया नेटवर्कमै छ ।

आर्थिक वर्ष ७७/७८ मा Green Tea Development लाई ४५ लाख र आर्थिक वर्ष ७८/७९ . मा १० लाख थप गरी रू ५५ लाख रकम र लक्ष्मी प्रसाद पौडेललाई पेश्की रू ४९ लाख ९९ हजार के-कुन प्रयोजनको लागि दिइएको हो ? खुलाइदिनुहोस् ।
लक्ष्मी प्रसाद पौडेल गोरखा मिडिया नेटवर्क प्रा.लि. मा म कम्पनीमा आउनु भन्दा पहिले प्रबन्ध निर्देशक हुनु हुन्थ्यो। उहाँकै पालामा Galaxy 4K Television सञ्चालन हुने भाडामा रहेको घर
मर्मतको लागि Green Tea Development लाइ पेश्कीको रूपमा रकम दिइएको हुनसक्छ, मलाई - यकिन / याद भएन ।

शम्भु गुरागाईं गोरखा मिडिया नेटवर्क प्रा.लि.मा कहिलेदेखि कहिलेसम्म कार्यरत हुनुहुन्थ्यो ? कर्मचारी पेश्की शीर्षकमा आर्थिक वर्ष २०७७/०७८ दिइएको रु. ८१ लाख ३ हजार आर्थिक वर्ष २०७८ / ०७९ मा समेत कायमै देखिन्छ । आर्थिक वर्षको अन्त्यसम्ममा पनि किन फस्यौंट नगर्नु, नगराउनु भएको हो ?
शम्भु गुरागाईंले सुरूवात गरेको मिति मलाई हाल याद भएन तर उनी नेपाली मिडिया मार्केटमा भएकामध्ये निक्कै अब्बल मार्केटिङ हेडका रूपमा चिनिन्थे । त्यसकारणले उनको क्षमता र मागलाई मध्यनजर राख्दै उनलाई दिइने १ वा २ वर्षको तलब, पेश्कीको रूपमा दिएर ल्याइएको थियो तर उँहालाई बिचमै हटाईएको थियो । उँहाको दायित्व बाँकी भएको हुनुपर्छ ।

गोरखा मिडिया नेटवर्क प्रा.लि. बाट आर्थिक वर्ष २०७७/०७८ व्याजवापत १ करोड ५५ लाख भुक्तानी गरेको देखिन्छ। उक्त रकम कसलाई र कुन ऋणवापत दिनुभएको हो ?
मलाई यसबारे जानकारी भएन । यस विषयमा आवश्यक परे मैले लेखापरीक्षकलाई बुझेर समितिलाई जानकारी गराउनु पर्ने हुन्छ ।

विदेशी कम्पनी उल्लेख गरिएको Lao Asia Pacific Satellite Co. Limited बाट १४ जुन २०२२ मा गोरखा मिडिया नेटवर्क प्रा.लि.ले रू. ५५ लाख १७ हजार ७२३ ऋण लिएको देखिन्छ । उक्त ऋण के कुन प्रयोजनका लागि लिनुभएको हो ? उक्त ऋण कानूनसम्मत छ त ? Lao Asia Pacific Satellite Co. Limited एउटा Satellite कम्पनी हो । उक्त कम्पनीसँग सम्झौता गरेर वार्षिक रकम तिर्नु पर्ने हुन्छ । यसै कम्पनीमार्फत Galaxy 4k Television प्रसारण हुने गर्दथ्यो । यस विषयमा मलाई भएको जानकारी यतिनै हो ।

तापई प्रबन्ध निर्देशक रहेकै समयमा चुक्ता पुँजी १२ करोड रहेको कम्पनी १६ करोडको नोक्सानमा रहेको देखिन्छ । उक्त समयका मुख्य खर्च निकासा हेर्दा तपाईं. गितेन्द्रबाबु राई, शम्भु गुरागाईं र विपिन कुमार आचार्यको तलबलगायत देखिन्छ । त्यस अतिरिक्त विपिन कुमार आचार्य सञ्चालक रहेको कम्पनीमा अत्याधिक सञ्चालन खर्च निकाशा हुने गरेको देखिन्छ । कम्पनी नोक्सानमा रहँदा रहँदै संस्थाबाट भएको खर्चको औचित्य कसरी पुष्टी गर्नु हुन्छ ?
त्यस समयमा यो भर्खरै सुरुवाती चरणमा रहेको कम्पनी थियो। लगानीको चरणमा रहेको कम्पनी  भएको हुँदा उक्त रकम घाटा होइन, लगानीको रकम हो । लगानीसँगै कम्पनीले यथेस्ट आम्दानी  पनि गरेको छ । म रहदा मात्रै १० करोड आम्दानी गरी सकेको थियो। तीन करोड त मेरै कार्यक्रम "सिधाकुरा" ले कमाइसकेको थियो ।

मिति ३१ मार्च २०२१ देखि १५ जुन २०२२ सम्म तपाई प्रबन्ध निर्देशक रहेको अवधिमा सहकारीहरूले गोरखा मिडिया नेटवर्क प्रा.लि. लाई दिएको ऋण रकम र गोरखा मिडियामा दाखिला भएको ऋणको औचित्य कसरी पुष्टि गर्नुहुन्छ ?
मेरो बुझाईमा व्यक्ति र संस्थाबाट आएको सम्पूर्ण रकम जिवी राईले ल्याएको रकम हो । यी सम्पूर्ण रकमहरू तत् तत् संस्थाहरूबाट ल्याउँदा आवश्यक प्रक्रिया पूरा गरेको बुझ्नुपर्छ । जिबी राई स्वयं उल्लिखित संस्थाहरूमा संलग्न रहेको र गोरखा मिडिया नेटवर्क प्रा.लि.को पनि कार्यकारी अध्यक्ष भएको हुँदा र कम्पनीको सम्पूर्ण कारोबार निजले नै हेर्ने भएको हुँदा यस विषयमा मलाई जानकारी छैन। म र छबिलाल जोशी नेपाल बैंक लि. न्यूरोड शाखामा ऋण लिने प्रक्रियामा जाँदा नेपाल बैंक लि.ले करिब २५ करोड ऋण दिन सहमत भयो तर उक्त ऋण लिनको लागि कार्यकारी अध्यक्ष जिबी राईको उपस्थिति अनिवार्य छ भनेर बैंकले भनेपछि उहाँलाई टेलिफोन गरियो। उहाँले हामीलाई "यति थोरै ऋण लिनको लागि म बैंकमा जानु पर्ने मान्छे होइन, एक पैसा ऋण नलिई पनि पाँच वर्ष ढुक्ककासाथ टेलिभिजन चलाउन सक्छु । तपाईंहरू चिन्ता नलिई टलिभिजन राम्रो बनाउनुस्” भन्नु भएको थियो । त्यहीक्रममा छविलाल जोशीले आफ्नो घर राखी ऋण लिने भन्दा उहाँको परिवारले मान्नुभएन भन्ने सुनेको थिएँ ।

गोरखा मिडिया नेटवर्क प्रा.लि.बाट कर्मचारी पेश्की शीर्षकमा आर्थिक वर्ष २०७७/०७९ मा ६ लाख ४५ हजार र आर्थिक वर्ष २०७८ / ०७९ मा १७ लाख रकम पेश्की लिनुभएको देखिन्छ । उक्त रक्कम के कुन प्रयोजनका लागि लिनु भएको थियो ? आर्थिक वर्षको अन्त्यसम्ममा पनि किन फस्यौंट नगर्नु भएको हो ?
मलाई लाग्छ यो लिनुपर्ने कुनै विषयको रकम होला केही कारणबस पेश्कीमा राखिएको हुनुपर्छ मैले कम्पनी छोड्दा केही दायित्व बाँकी नराखी हिसाब फरफारक गरी निस्किएको थिएँ । कुनै दायित्व रहेको/भएको व्यहोर्नै पर्छ ।

तपाईंले गोरखा मिडिया प्रा.लि.को शेयर खरिद गरी सञ्चालक एवं प्रबन्ध निर्देशकको जिम्मेवारी लिदाँका बखत कम्तीमा पाँच वर्षका लागि साथै रहने र संस्था चलाउने प्रतिबद्धता जनाउनुभएको थियो । तर आठ महिनामै आफ्नो प्रतिवद्धताबाट पछाडि हटेका कारण गोरखा मिडिया नेटवर्क प्रा.लि.द्वारा सञ्चालित Galaxy 4k Television सङ्कटमा परेको हो, यसको जिम्मेवारी निज रवि लामिछानेको हो भन्ने समेतको व्यहोरा यस उक्त कम्पनीका हालका सञ्चालकहरूले यस समितिमा अभिलेखबद्ध गराउनु भएको छ ? यसमा तपाईंको भनाई के छ ? हालको खासगरी गितेन्द्रबाबु राई समूहद्वारा सञ्चालित सहकारीहरूमा आजको सङ्कट देखिनुमा र त्यस सङ्कटको समाधानमा तपाईंको जिम्मेवारी के हुन्छ ? खुलाइदिनुहोस् ।
म कार्यकारी अध्यक्ष जिबी राईसँगको सल्लाह र सहमतिमा कम्पनीबाट विदावारी भएको हुँ । मेरो बिदाई कार्यक्रम विशेष ढङ्गले गरिएको थियो । मेरो आगामी जिवनको सफलताको कामना गर्दै अत्यन्त सौहार्दपूर्ण ढंगले बिना कुनै वादविवाद, हासीखुसी, राजीखुसी सार्वजानिक अभिव्यक्ति सहित म बिदा भएको थिएँ। कार्यकारी अध्यक्ष जिबी राई, हालका सञ्चालक कुमार रम्तेल लगायत सम्पूर्ण टिमको उपस्थितिमा मलाई बिदाई गरिएको थियो । म राजनीतिमा रहँदा पनि टेलिभिजनमा आफ्नो सहभागितालाई निरन्तरता दिन सक्छु तपाईलाई मेरो निरन्तरता आवश्यक छ? भनि प्रश्न गर्दा उहाँले, "म आफु अझ सक्रिय हुन्छु, तपाईको आगामी राजनीतिक जिवन सुखमय होस" भन्नु भएको थियो । उक्त सुखद बिदाई कार्यक्रमको Galaxy Television मा समाचार नै बनेको थियो ।

सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लि., पोखरा र सुप्रिम वचत तथा ऋण सहकारी संस्था लि., बुटवलबाट रवि लामिछानेको नाममा प्रवाह भएको कर्जा तथा पेश्की रकमहरू तपाईं पूर्व उपप्रधानमन्त्री र गृहमन्त्री एवं प्रतिनिधि सभाको माननीय सदस्य रवि लामिछानेकै नाममा जारी भएको हो र सहकारीमा कायम भएको सदस्यता समेत तपाईकै भएको भनी भविश्वर अर्याल, रोशनी गुरूङ्ग, कुमार रम्तेल समेतले खुलाउनुभएको देखिन्छ । तपाईंको नाममा कर्जा खडा भई गोरखा मिडिया नेटवर्क प्रा.लि.मा रकम गएको देखिन्छ । गोरखा मिडियामा तपाई बाहेक अर्को रवि लामिछाने पनि रहेको देखिदैन । तपाईले अस्वीकार गर्न मिल्छ ?
उक्त सहकारीबाट ऋण लिने मान्छे म भएको भए ऋण लिएको र ऋण लिनलाई निवेदन दिएको प्रमाण होला । मैले उक्त सहकारीबाट ऋण लिएको पनि छैन र म यस संस्थाको शेयर सदस्य पनि होइन । मैले ऋण लिनलाई निवेदन पेस गरेको पनि छैन। रोशनी गुरुङ्ग र सागर के.सी.लाई म चिन्दिन ।

तपाईं उपप्रधानमन्त्री र गृहमन्त्री भएपछि आफुविरूद्धको जाहेरीमा छानबिन प्रक्रियालाई प्रभावित गरेको विषय संसदमा करिव ३ महिनासम्म निरन्तर उठेर सदन अवरूद्ध भएको थियो। खास के गर्नु भएको थियो? खुलाइदिनुहोस् ।
२०८० साल श्रावणतिर उठेको विषय हो । म २०८० फागुन २४ गते उपप्रधानमन्त्री तथा गृहमन्त्री भएको थिएँ। मैले मुद्दा कसरी प्रभावित पार्न सक्छु? कुनै हस्तक्षप नगर्ने मेरो कार्यकाल आफ्नो ३० वर्षे जागिरकै सचिवले सार्वजनिक अभिव्यक्ति नै दिनु भएको छ ।

२०८०/१०/२२ गते कृष्णप्रसाद जैशी समेतका २६ जनाले जिल्ला प्रहरी कार्यालय कास्कीमा दिएको पूरक जाहेरी अनुरूप कसूरको अनुसन्धान अगाडि बढाउने क्रममा अनुसन्धानलाई प्रभावित बनाएको कुरा छ। उक्त विषयमा के-कसो भएको हो?
उक्त विषयमा राज्य व्यवस्था तथा सुशासन समितिमा कुरा उठेर म सहित प्रहरी अधिकारीहरूबाट स्पष्ट पारिएको थियो। संयोगबस त्यतिबेला यस समितिका माननीय सदस्य दिलेन्द्र प्रसाद बडुले मलाई प्रश्न गर्नु भएको थियो । त्यस विषयमा प्रहरी महानिरीक्षकबाट पनि स्पष्ट पारिएको थियो । यसबारेमा तथ्य र प्रमाणहरू सम्बन्धित निकायसँगै बुझी तत्कालिन प्रधानमन्त्रीले सदनलाई समेत जानकारी गराउनु भएको थियो ।

तपाईलाई गोरखा मिडिया नेटवर्क प्रा. लि. मा के के काम गर्ने भनेर कार्यविवरण (Job Description) दिइएको थियो? त्यो पेश गर्न सक्नुहुन्छ ?
मेरो जिम्मेवारी ग्यालेक्सी टेलिभिजनलाई देशको सबैभन्दा राम्रो समाचार र कार्यक्रम प्रस्तुत टेलिभिजन बनाउने थियो । मेरो बिज्ञता र परिचय सञ्चारकर्मीको भएको हुनाले मेरो जिम्मेवारी मेरो बिज्ञतासँग जोडिएको थियो। कार्यविवरण (Job Description) लिखित रूपमा दिईएको थिएन ।

तपाईं माननीय उपप्रधानमन्त्री र गृहमन्त्री पदमा रहेको समयमा प्रतिनिधि सभाको बैठकमा सम्बोधनका क्रममा सहकारीको बचत रकम अपचलनका अभियुक्त गितेन्द्रबाबु राई रहेको स्थानको नजिकसम्मको सूचना सरकारले प्राप्त गरीसकेको र मलेसिया सरकारका समकक्षीसँग संवाद समेत गरेको भनी जानकारी गराउनु भएको थियो। तर निज पक्राउ पर्न सक्नु भएन, किन ? तत्सम्बन्धमा तपाईंलाई प्राप्त भएको सूचना र सरकारी प्रयासका सम्बन्धमा खुलाउन मिल्ने कुरा खुलाइदिनुहोस् ।
जिबी राई मलेसियामा रहेको कुरा म गृहमन्त्री हुनुपूर्व नै सार्वजनिक भइसकेको थियो। तर मलेसियासँग नेपालको सपुर्दगी सन्धि नभएकाले यसलाई कुटनितिक तहबाट समाधान गर्नु पर्ने थियो। जसका लागि मैले मलेसियाका गृहमन्त्री सैफुदिन नासुसिन स्माईलसँग २०८१ बैशाख १८ मा पहिलो सम्वाद गरेको थिएँ । उहाँले जिबी राई मलेसियाको "माइ सेकेण्ड होम स्किम" मा बसिरहेको हुँदा उक्त हैसियत रद्द गर्न त्यहाँका महान्यायाधिवक्तासँग कुरा गर्छु भन्नुभयो । इन्टरपोलले पनि साथसाथै काम गरिरहेको थियो र उनीहरूले जिबी राईको पासपोर्ट रद्द गर्ने भए फिर्ता पठाउन सकिन्छ भन्ने जानकारी दिएपश्चात नेपाल सरकारले उनको पासपोर्ट रद्द गर्न कास्की जिल्ला अदालतमा निवेदन दियो र राहदानी विभागलाई पनि पत्राचार गर्यो। तर वित्तीय अपराध भएका कारणले यी दुबै निकायबाट अनुमति प्राप्त हुन सकेन । त्यसपछि मलेसियाका गृहमन्त्रीसँग जेष्ठ ३१, २०८० मा दोस्रो सम्वाद गरें । सम्वादका क्रममा जिबी राई मलेसियामा कुनै आपराधिक क्रियाकलापमा संलग्न नभएकोले उक्त स्किम रद्द गर्न नमिल्ने कुरा मैले जानकारी पाएँ । त्यसपछि नेपाल प्रहरीका अधिकारीहरूलाई नै मलेसिया पठाउने र थप पहल प्रधानमन्त्रीस्तरबाट समेत गर्ने तयारी हुँदै गर्दा सरकार परिवर्तन भयो । अहिले के भइरहेको छ मलाई जानकारी छैन ।

तपाईले गृह मन्त्रालयको समेत नेतृत्व सम्हालिसक्नु भएको छ । मन्त्रालयको अभिलेखमा गितेन्द्रबाबु राई उपर के-कुन अभियोग भएको देखिन्छ?
प्रहरीको अभिलेख अनुसार उन विभिन्न सहकारीहरूमा बचतकर्ताको बचत रकम अपचलन गरेको अभियोगमा पक्राउ पूर्जी जारी भएका फरार अभियुक्त हुन् ।

तपाई गृहमन्त्री हुनु अगाडि तापाई गोरखा मिडिया नेटवर्क प्रा.लि.मा कार्यकारी अध्यक्ष र प्रबन्ध निर्देशक रहदा जिबी राई सहकारीहरूको सञ्चालक रहेको जानकारी थियो / थिएन । त्यस समयमा मलाई जानकारी थिएन। म राजनीतिमा आई दोस्रो पटक चुनाव जितेर पूनः सांसद भइसकेपछि सहकारीको यो विषय पत्रपत्रिकामा आउन थालेपछि थाहा भएको हो ।

जिबी राईले सहकारीबाट रकम अपचलन गरेको भन्ने विषय अब तपाईको जानकारी आएपछि उनले अपचलन गरेको रकम फिर्ता गर्न तपाईंको के भूमिका हुन्छ ?
सहकारीबाट अपचलन भएको रकम गोरखा मिडिया नेटवर्क प्रा.लि.मा आएको विषयमा सम्मानित अदालतमा अपचलन गरेका व्यक्तिहरूलाई प्रतिवादी बनाएर बिगो मागदाबी सहित मुद्दा चलिरहेको  मुद्दा चलेको छ ।
छ। उक्त मुद्दामा विभिन्न सहकारीबाट गोरखा मिडिया नेटवर्क प्रा.लि. लगायतमा रकम पठाउने व्यक्ति पहिचान भई बिगो मागदावी सहित गोरखा मिडियामा आएको रकम विगो मागदाबी गरेकोभन्दा अलग पैसा होइन । सम्पूर्ण अपचलन भएको रकम बिगोमा समावेस भएको छ भन्ने बुझेको छु । जो जुन व्यक्ति यस अपचलनमा संलग्न छन् तिनको व्यक्तिगत सम्पत्ति जायजेथाबाट भएपनि असुल उपर गर्ने गरी पिडितको बचत फिर्ता गर्नु पर्छ भन्ने कुरामा म स्पष्ट छु । यो प्रक्रियामा एक जिम्मेवार नागरिकका रूपमा म आफ्नो सम्पूर्ण प्रयत्न लगाउने छु ।

जिबी राई संलग्न भएका र निजको समूहद्वारा सञ्चालित सहकारीका समस्या निजको अनुपस्थितिमा समाधान हुन सक्ने देखिएन । के कसरी जिबी राईलाई संलग्न गराई समस्या समाधान गर्न सकिएला ? समाधानको आगामी बाटो के होला ? विद्यमान अवस्थामा गोरखा मिडिया नेटवर्क प्रा.लि. र सहकारी संस्थाहरूको समस्या समाधान गर्न के गर्नु पर्ला ? तपाईंका के सुझाव छन् ?
जिबी राई मात्र होइन, सहकारीको रकम अपचकन गर्ने सम्पूर्ण फरार रहेका व्यक्तिहरुलाई आफ्नो दायित्व तिर्ने अवसर दिने गरी निश्चित समयका लागि नभाग्ने सुनिश्चितताका साथ विशेष व्यवस्था गरि फिर्ता आउने अबसरको आह्वान गर्नु पर्छ । त्यससँगै विशेष व्यवस्था गरी ५ लाख मुनिका साना वचतकर्ताहरुको रकम फिर्ता गर्ने सुनिश्चितता गर्नु पर्छ। राष्ट्र बैंक सक्रिय भयो, सरकारले सक्रियता देखायो र Second Tier Institution (STI) खडा गरेर काम थाल्ने हो भने धेरै समस्या समाधान हुन सुरु हुन्छ । यस्तो आहवान सुने भने जिबी राई लगायतका फरारहरु पनि प्राप्त अवरसको सदुपयोग गर्न जहाँ भए पनि फर्किन्छन् भन्ने मलाई लाग्छ । धेरै फरार सहकारी सञ्चालकहरुको दायित्वको तुलनामा सम्पत्ति, अधिक रहेको भन्ने मैले सुनेको छु । मान्छे थुनेर मात्रै समस्याको समाधान हुदैन । यसको बृहद् योजना म गृहमन्त्री हुँदा नै तत्कालिन भूमी व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रीको नेतृत्व र म सहितको सक्रिय संलग्नतामा बनिसकेको छ । जसलाई तत्कालिन मन्त्रिपरिषदबाट कार्यान्वयन गर्ने निर्णय समेत भएको थियो ।

अन्त्यमा, तपाईंको भन्न बाँकी केही छ ?
मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई एकदमै धेरै जटिल बनाइयो। जबकि मेरो संलग्नता ग्यालेक्सी टेलिभिजनबाट सुरु भएर ग्यालेक्सी टेलिभिजनबाटै सकिन्छ, तर यसलाई राजनीतिक विषय बनाइँदा सहकारी प्रति नै मानिसको विश्वास उड्यो जसले अर्थतन्त्रलाई निकै ठूलो धक्का दियो । सहकारी पिडितलाई न्याय दिन खर्च गर्नु पर्ने समय मलाई दोषी देखाउन खर्च गरियो । यो विषय फौजदारी कसूरको विषय हो। यसलाई अनुसन्धान गर्ने निश्चित निकायहरु विद्यमान छन्। र ती निकायहरूले आफ्नो सम्पूर्ण क्षमता लगाएर अनुसन्धान गरेका पनि हुन् । सहकारीको बचत रकम अपचलन गर्नेहरू अनुसन्धानको दायरामा छन् । प्रमाणले भ्याएकाहरू कोही छुटेका छैनन् । कुनै पनि व्यक्तिलाई अनुसन्धानको दायरामा ल्याउन सानो भन्दा सानो आधार पनि पर्याप्त हुन्छ। मेरो संलग्नताको खोजी गर्न सरकारले कुनै कसूर बाँकी राखेन । जिबी राईले मेरा नाममा र म लगायत सयौं व्यक्तिहरुको नाममा लिएको ऋण फर्जी हो भनेर प्रमाण जुटाई मुद्दा चलाइसक्दा पनि र उक्त ऋण लिदा पूरा गर्नु पर्ने कुनै पनि प्रक्रिया पूरा नगरी करोडौं रुपैंयाको अपचलन भएको प्रमाण जुटाइसक्दा पनि राज्य म माथि नै केन्द्रित भयो, मिडिया म माथि नै खनियो तर सहकारीको समस्या समाधान गर्नेतर्फ केन्द्रित हुन सकेन । यसले पीडितले न्याय पाउने कुरा निकै पर धकेलियो। यो विषय यति जटिल हुने नै थिएन । यदि मैले कुनै सहकारीबाट ऋण लिएको भए प्रमाण हुन्थ्यो । प्रमाण भएको भए म ऋणी हुन्थे । ऋणी भएको भए ऋण तिर्ने दायित्व हुन्थ्यो। तर ऋणी कसरी ठग हुन सक्छ? त्यसमाथि सिंगो राज्य लागेर गरेको अनुसन्धानमा यत्रो प्रचार गरिएको अपचलनमा एक त्यान्द्रो पनि प्रमाण भेटिएन किनकी मैले सहकारीको पैसा अपचलन गरेको थिइन/छैन । मिडियाले जे-जे भन्यो राज्य र विपक्षी दलहरू त्यसैमा विश्वास गर्ने तिर लागे। संसदमा मैले ऋण लिन निवेदन दिएको प्रमाण छ भनियो। मैले त्यो प्रमाण दिनुस, राजनीति छोडिदिन्छु भनेर चुनौती दिएँ। त्यस्तो प्रमाण छ भनिएको आज १०६ दिन भयो त्यो एउटा प्रमाण मैले पाउन सकिन । गोरखा मिडियामा रकम आएको हो भने ल्याउने मानिस पनि देखिएकै होला । कुनै पनि कम्पनीको कुनै पनि जिम्मेवारीमा रहनु भनेको आफुले गर्दै नगरेको तर अरू साझेदारले गरेको गल्तिको भारी बोक्नु हो र ? त्यसमाथि सम्पूर्ण दायित्व बुझाएर, आफ्नो शेयर आधिकारीक रुपमा फिर्ता गरी उक्त शेयरको दायित्वबाट मुक्त भईलगतकट्टा समेत सम्पन भएको अवस्थामा बाहिरीएको शेयर सदस्यको कुनै जिम्मेवारी हुन्छ र? कम्पनी छोडेको डेढ वर्षपछि सार्वजनिक भएको विषयमा मैले कसरी के आधारमा जानकारी पाउन सक्थे ? मैले सहकारीबाट एक रुपैया लिएको छैन, गोरखा मिडियामा रहँदा आफ्नो विज्ञताको जिम्मेवारी बाहेक अन्य कार्यमा मेरो संलग्नता छैन । सहकारी त परको कुरा गोरखा मिडियाभित्रैको पनि अन्य कसैले गरेको बदमासीको जिम्मेवारी मैले लिनुपर्ने कुनै आधार म देख्दिन । मेरो पेटमा सहकारीको एक रुपैया परेको छैन। मैले ऋण लिएको प्रमाण पनि छैन र ऋण लिएको पनि छैन, मेरो बैंक खातामा कुनै सहकारीबाट रकम जम्मा भएको छैन, मैले उल्लिखित सहकारीहरूमा म ऋण माग गरेको छैन, अभियोग पत्रहरूमा मैले ऋण लिएको पुष्टि भएको छैन, गैरकानूनी ऋण प्रवाहमा मेरो कतै संलग्नता छैन । म निर्दोष छु । आफ्नाबारे उठेका कुराहरुलाई स्पष्ट पार्ने अवसर दिनु भएकोमा यस सम्मानित समितिका माननिय सभापती लगायत सम्पूर्ण माननीय सदस्यहरु र कर्मचारीहरू प्रति आभारी छु ।

 

Rabi-min-1726818734.jpeg

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज ४, २०८१  १३:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu