site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
किन गरे भरतमणिले पारसको क्यारिकेचर ?
SkywellSkywell

काठमाडौं । कमेडी त नसा–नसामा बगिरहेकै थियो, मात्रै खाँचो थियो ठूलो प्लेटफर्मको । घर–गाउँ र एफएमको सानो परिधिमा सीमित भइरहेका बेला स्ट्यान्टअप कमेडीको रियालिटी शो सुरु भयो । त्यसले आम दर्शकमाझ उनको प्रतिभा पुर्‍याइदियो । प्रसंगका पात्र हुन्, भरतमणि पौडेल र शो हो कमेडी च्याम्पियन ।

भरतमणि तिनै कमेडियन हुन्, जसले कमेडी च्याम्पियन सिजन–२ मा ‘लाफ्टर पफर्मेन्स’ दिइरहेका छन् । र, अक्सर ‘पफर्मर अफ द राउन्ड’ भएर सुरक्षित हुँदै आएका छन् । सायद कर्म र भाग्यको मिठो संयोग मिल्यो, गत हप्ता उनी पफर्मर अफ दल राउन्ड भएर सुरक्षित हुँदा फाइनलमा प्रवेश गरे ।

गत साताको पफर्मेन्सका लागि भरतमणिले दिएको प्रस्तुतिको छोटो क्लिप्स ट्रेलरका रूपमा केही दिन अगाडि सार्वजनिक गरियो । भरतमणि ट्रेलरमा जब देखिए, दर्शकलाई त्यसको पूर्ण प्रस्तुतिको अपेक्षा रह्यो । कारण, उनी छोटो क्लिप्समा पूर्वयुवराज पारस शाहको गेटअप र लबजमा हुबहु देखिएका थिए ।

KFC Island Ad
NIC Asia

त्यसले उनले यही शोमा यस अगाडि दिएको काठमाडौंका घरधनी र डेरावालको पफर्मेन्स र पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटाको क्यारिकेचर पनि फिका–फिका लागे । अहिले उनै भरतमणि कमेडीप्रेमीहरूमाझ चर्चाका पात्र बनेका छन् । र, धेरैले अनुमान लगाउन भ्याइसकेका छन्, यो वर्षको विनर उनै हुन् । भलै, भोट जसको धेरै आउँछ उही नै च्याम्पियन हुने हो । त्यसैले दर्शकको मर्जी !

कुनै पनि कन्टेन्ट त्यसै राम्रो बन्दैन, त्यसका लागि समय र श्रम चाहिन्छ । मिहिनेतमा भर पर्छ । भरतमणिको सन्दर्भमा पनि यो लागु हुनै नै भयो । म पूर्वराजपरिवारको नाता पर्ने मान्छे हुँ भनेर त अभिमानले पुक्क फुल्ने हाम्रो समाजमा स्वयं पूर्वयुवराज पारस भने बिनाअभिमान आम नागरिकसरह स्वतन्त्र विचरण गरिरहेका थिए । कहिले केटी साथीसँगको खुलेआम घुमघाम त कहिले राहत वितरण । अनि, कहिले ट्राफिक नियम उल्लघंन गर्दै आफ्नो महँगो बाइक लिएर सडकमा निस्किए । त्यसैले त उनी बेलाबेलामा विवादमा पनि आइरहन्छन् ।

Royal Enfield Island Ad

पारसले गल्ती गरे वा गरेनन्, त्यो अर्कैै पक्ष हो । तर, जे होस् भरतमणिलाई पारसको सरल स्वाभावले खिचिसकेको थियो । त्यसैले उनले पारसलाई फलो गरे । तस्बिर र भिडियोहरू हेरे । गेटअप र स्टाइल नियाले । कस्तो लुगा लगाउँछन् ? कसरी बोल्छन् ? हिँड्ने तरिका कस्तो छ ? उनले मिहिन अध्ययन गरिरहेका थिए ।

यही समय कोरोनाभाइरसले संसारभर फणा फिँजायो । विश्व लकडाउनमा प्रवेश गर्‍यो । नेपाल पनि अछुतो रहेन । नेपालमा पनि लकडाउन भयो । लकडाउनमा कसरी बस्ने ? बोर हुने भयो । सुमन कोइराला (दले दाइ)सँग उनको राम्रो चिनजान थियो । दाजु–भाइको सम्बोधन थियो । सुमनले भने, ‘मेरै कोठामा आऊ, केही कन्टेन्टमा होमवर्क गर्दै बसौँला, समय कटाउन पनि सजिलो हुन्छ ।”

“सुमन दाइकोमा आएपछि पनि मैले पारस शाहका बारेमा केही कुरा रिसर्च गरेँ । दाइले मलाई लुक्स पनि झन्डै–झन्डै मिल्छ, हाइट पनि मिल्छ क्यारिकेचर गरिहाल्नुहुन्छ, एकपटक ट्राई गर्नुस् त भन्नुभयो,” सुमनले आफूलाई पारसको क्यारिकेचर गर्न प्रेरित गरेको भरतमणि सुनाउँछन्, “सुमनले भनेपछि मैले ट्राई गरेँ । मलाई पनि हल्का–हल्का मिलेजस्तो लाग्यो । सुमन हाँसे पनि मलाई पनि हौसला भयो, राम्रै हुन्छ कि क्या हो भन्ने भएपछि यसलाई कुनै न कुनै दिन गर्छु भन्ने भयो ।”

त्यसपछि भरतमणि र सुमनले सल्लाह गरे, राम्रोसँग गर्‍यो र पूर्वयुवराजलाई सम्मान गर्दै कन्टेन्टमा खेल्न सक्यो भने राम्रै्र होला । त्यसपछि अठोट गरे– ल म पारसको क्यारिकेचर गर्छु । त्यसपछि थप सूक्ष्म अध्ययन गर्न थाले । र, कपाल पाल्न थाले ।

“म कहिले पनि कपाल पाल्दिन थिएँ । पूर्वयुवराजको क्यारिकेचर गर्न नै मैले डेढ वर्ष अगाडिदेखि कपाल पाल्न सुरु गरेको हो । मिहिनेत गरेर क्यारिकेचर गर्ने भएपछि नक्कली कपाल किन प्रयोग गर्नु भनेर पाल्न थालेको थिएँ,” नोस्टाल्जिक हुन्छन् भरतमणि, “कपाल लामो हुँदै गएपछि कालो चस्मा किनेर ल्याएँ र ऐना हेर्न थालेको थिएँ । अलि–अलि लुक्स मिल्न थालेपछि आफैँलाई पनि रमाइलो लाग्न थालेको थियो । त्यसपछि कालो कुर्ता पनि किनेँ ।”

गत वर्षको गाईजात्रामा मनोज गजुरेलसँग उनले यो क्यारिकेचरको प्रस्ताव पनि गरे । मनोजले स्ट्यान्डअप नै गर्न सुझाए । उनलाई सुझाव सिरोधार्य थियो ।

“त्यसपछि मलाई पनि लाग्यो– गाईजात्रा होइन, कुनै ठूलो प्लेटफर्ममा गएँ भने यो क्यारेक्टर गर्छु । यदि, कमेडी च्याम्पियन गएँ भने पनि त्यहीँ गर्छु । र, त्यो बेलादेखि साँचेर राखेँ यो क्यारेक्टर,” भरतमणि केही अगाडि फर्किएर आफ्ना कुरा सुनाउँछन् ।

सुमनले कमेडी च्याम्पियन जानुपर्छ भने । भरतमणिले नकारेनन् ।

कमेडी च्याम्पियनको मञ्चबाट कुन बेला को आउट हुन्छ थाहा थिएन । त्यसैले भरतमणिलाई पारसको क्यारिकेचर चाहिँ गरिहाल्नुपर्छ भन्ने लागेको थियो । तर, कहाँ पाउनु ! २४औँ शृंखलामा बेरोजगार र १५औँमा घरधनीको आफैँले रोजको विषयबाहेक निर्माण पक्षले दिएको विषयमा गर्नुपर्थ्यो । जब यी दुवै प्रस्तुति रुचाइए, भरतमणिलाई लाग्यो– आफैँले रोजेको विषयमा पनि राम्रै गर्न सक्छु कि क्या हो !

उत्कृष्ट पाँचमा जब आइपुगे, अब उनलाई विषयको बन्धन थिएन । विषय छनोटका हिसावले भरतमणि फुक्काफाल भए, पूर्वयुवराज पारसजस्तै । त्यसैले उनले रोजे पारसको क्यारेक्टर । त्यही क्यारेक्टरबाट उनले वाहवाही पाए ।

हुन त भरतमणि अहिले क्याम्पमा छन् । उनको चर्चा र लोकप्रियताको पारो कहाँनेर छ, उनलाई त्यति धेरै थाहा छैन । तर, मिडियाले जब उनलाई खोज्न थाले र सेटमै दर्शकको हाँसो निरन्तर गुन्जिरहेको देखे, त्यसबाट भने उनले आफूले अपार माया पाइरहेको थाहा पाएका छन् ।

“हुन त पपुलारिटी र आदर्श सन्देशका लागि प्रस्तुति दिनुपर्छ भनेर त्यसमा आफूलाई केन्द्रित गर्दिनँ । राम्रो कर्म गर्नुपर्छ, यदि राम्रो कर्म गर्‍यो भने दर्शकले रुचाउनुहुन्छ भन्ने लाग्छ,” उनी भन्छन्, “थाहा छैन भोलि कसले जित्छ । त्यो त कर्म र भोटको कुरा हो । तर, होस्टले तपाईंले जित्नुहुन्छ त भनेर अडिसनमा सोध्दा म जित्न आ’को जित्ने प्रयत्न गर्छु भनेको थिएँ ।”

रियालिटी शोलाई नजिकबाट नियाल्नेहरूले यो एकप्रकारको बिजनेस नै हो भनेर धेरैले भनेको भरतमणिले पटक–पटक सुनेका छन् । फाइनलमा पुगिसक्दा अब उनले नचाहेरै पनि फेस गर्नुपर्छ । “कसैको प्रतिभा उजागर गर्दै नाफा कमाउने उद्देश्यले रियालिटी शोहरू आएका छन् । आज म यही शोका कारण तपाईंसँग भलाकुसारी गरिरहेको छु, यसप्रति म कृतज्ञ छु र हुनैपर्छ,” उनी भन्छन्, “सेमिफाइनल आइपुग्दा अब पैसाको चलखेल हुनसक्छ । कारण, जसले धेरै भोट गराउन सक्यो उसैले जित्ने हो । त्यसैले म राम्रो प्रतिभालाई भोट गर्नुस् भन्छु ।”

शोको नियम भरतमणिले पनि फलो गर्नैपर्छ । त्यसैले त आर्थिक अवस्था कसको कस्तो छ, त्यसले प्रभाव पार्ने पो हो कि भन्ने कुराले बेलाबेलामा उनलाई झस्काइरहन्छ । उनी भन्छन्, “मलाई नै भोट गर्नुपर्छ भन्ने छैन, तुलनात्मक रूपमा जो प्रतिभावान् लाग्छ, उसलाई भोट गरेर प्रतिभाको समान्न गरिदिनुस् ।”

नेपाली कमेडीमा क्यारिकचेर मात्रै हाबी भयो, कन्टेन्टमा ध्यान दिइएन भन्ने टिप्पणी हुँदै आएको छ । “हो क्यारिकेचर मात्रै केही होइन, तर त्यही क्यारिकेचरभित्र कन्टेन्ट छ भने त्यसलाई के भन्ने ?,” उनी प्रतिप्रश्न गर्छन्, “मैले कसैको नक्कल गरेँ भने त्यो जिस्काएको वा अपमान गरेको पक्कै हो । तर, त्यो नक्कलमा मिठास छ र कन्टेन्ट छ भने त्यसमा आपत्ति जनाउनु पर्दैन । यसमा अग्रजहरूबाट बहस भने हुन जरुरी छ ।”

सायद यो आरोप भरतमणिले खेप्नु पर्दैन, कारण उनले क्यारिकेचर मात्रै गरेका छैनन् । कमेडीको सेटमा नै उनले बिनाक्यारिकेचरका प्रस्तुतिमा लाफ्टर प्रस्तुति दिएका छन् । पफर्मर अफ द राउन्ड भएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ १५, २०७८  १०:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro