काठमाडौं । अधिकांश निर्माता तथा निर्देशकको भनाइमा विश्वास गर्ने हो भने नेपालमा निर्माण हुने अधिकांश चलचित्र कमर्सियल चलचित्र हुन् । कारण, ती चलचित्रमा लभ, रोमान्स, गीत, फाइट, प्रेम, बिछोड, मिलनका सिन हुन्छन् । स्पष्ट शब्दमा भन्ने हो भने बलिउड फर्मुलालाई मेकरले अवलम्बन गर्न खोजेका हुन्छन् । त्यसैले त उनीहरू भन्छन्– मेरो चलचित्र कमर्सियल हो ।
उनीहरूले भन्न खोजेको आर्टिस्टिक नभएर मसालेदार चलचित्र हो । व्यापारिक उद्देश्यले बनाइएको चलचित्र हो । व्यापार राम्रो गर्छ । ९९ प्रतिशत निर्माता तथा निर्देशकले गर्ने यो दाबीअनुसार वास्तवमा ती चलचित्रले आफ्नो उद्देश्य भेट्टाउन भने सकेका छैनन् । अर्थात, बर्सेनि ९५ प्रतिशत चलचित्रले लगानी उठाउन सक्दैनन् । यसको अर्थ कमर्सियल भनिएका चलचित्रहरूले नै व्यापारमा पूर्णतः असफल छन् ।
त्यसो भए कसरी कमर्सियल चलचित्र भए त ? यो तीतो सत्यलाई स्वीकार्छन् निर्देशक प्रदीप भट्टराई । कमर्सियल भनिएका चलचित्रहरू नै कमर्सियल नहुने समस्या रहेको उनी बताउँछन् ।
“बरु, फरक धारका भनिएका चलचित्रहरूले राम्रो व्यापार गरिरहेका छन् । कमर्सियल भनेर सुगा रटान लगाएका र लगानी सुरक्षित गर्नुपर्छ भनेर कमर्सियल भनेर बनाइएका चलचित्रहरू नै घाटामा गइरहेका छन्,” प्रदीप भन्छन्, “हाम्रोमा समाजमा रंगीचंगी चलचित्रलाई नै कमर्सियल चलचित्र भनिन्छ । खानासँग तुलना गर्ने हो भने गुुलियो, पिरो र अमिलो जिब्रोमा ट्वाक्क लाग्ने, लुगामा तुलना गर्ने हो भने रंगीचंगी बुट्टेदार कपडाजस्ता चलचित्र, अर्थात् सबैले मन पराउने । हाम्रो समाजमा कमर्सियल चलचित्रको परिभाषा नै फरक रुपमा चित्रित छ । जे–जस्तो बनाए पनि मान्छेले स्वीकार्छ भने त्यो चाहिँ वास्तवमा कमर्सियल चलचित्र हो ।”
प्रदीप नयाँ कुकको उदाहरण दिन्छन् । अनुभवी कुकले थोरै तेल र मसला लगाएर नै मिठो खाना बनाउँछ । तर, नयाँ कुकले मिठो बनाउने चुनौतीका नाममा धेरै तेल र मसला हालेर बनाउँछ । तर, त्यो खाना न मिठो हुन्छ न स्वास्थ्यका लागि लाभदायक नै, त्यो त भड्किलो स्वादको हुन्छ । “नेपाली चलचित्रमा पनि भएको त्यही हो, भड्किलो चलचित्र बनिरहेका छन्,” उनी भन्छन् ।
कमर्सियल चलचित्रको मुख्य पक्ष भनेको मनोरञ्जन रहेको प्रदीप बताउँछन् । जुन फिल्मले आफ्नो पूरै समय दर्शकलाई मनोरञ्जन दिन्छ, त्यही नै कमर्सियल फिल्मको मुख्य ‘एलिमेन्ट्स’ भएको उनको भनाइ छ ।
“मसँग दर्शकलाई रमाइलो गराउँदै हँसाउन सक्छु भन्ने लाग्छ भने त्यो फिल्ममा समावेश गर्नुपर्छ । होइन, दर्शकलाई सोच्न बाध्य बनाउँछु भन्ने विश्वास छ भने दर्शकको दिमागमा कहिल्यै नआएको र आए पनि त्यसलाई गम्भीर रूपमा नलिएको कुरालाई विचारको तवरबाट कथा भन्नुपर्छ,” प्रदीप भन्छन्, “दशर्कको मन चसस्क हुने गरी बनाउने हो भने रोनाधोनाका सिनहरू हुन सक्छन् । सबैले आ–आफ्नै तरिकाले चलचित्र बनाउनुहुन्छ ।”
प्रायः ठूला चलचित्र उद्योगमा चलचित्रले मिसन बोक्ने र त्यसलाई दर्शकसामु प्रमाणित गर्छु भन्ने मनोविज्ञानबाट निर्दिष्ट हुने गरेको उनको भनाइ छ । तर, नेपालमा हँसाएर र रुवाएर बाँकी रहेको समयमा क्यारेक्टरको जर्नी देखाउने गलत अभ्यास रहेको प्रदीप बताउँछन् ।
वास्तवमा सामान्य अर्थमा अहिले कमर्सियल भनेर जे बुझिएको छ, त्यसमा समस्या रहेको उनी बताउँछन् । नवीन सुब्बा, मनोज पण्डित, मीन भाम, दीपक रौनियारले बनाएका चलचित्र पनि कमर्सियल चलचित्र रहेको प्रदीप स्पष्ट पार्छन् । उनी भन्छन्, “चलचित्र भनेको के हो भन्ने अहिलेका आम नेपाली मेकरभन्दा माथिल्लो तहमा रहेर सोच्ने उहाँहरूले बनाएका चलचित्र कमर्सियल हुँदैनन् भन्ने नै हुँदैन । जुन सिनेमा हेर्दा दर्शकले इन्टरटेन गर्छ, त्यो चलचित्र नै कमर्सियल चलचित्र हो ।” तर, सोचअनुसार काम नभएको भने हुन सक्ने उनको धारणा छ ।
चलचित्र नचल्दैमा अथवा दर्शक हलसम्म नजाँदैमा त्यो चलचित्र कमर्सियल नै होइन भन्न चाहिँ नसकिने उनी स्पष्ट पार्छन् । चलचित्र नचल्नुका पछाडि धेरै कारण हुने उनको अनुभव छ ।
पब्लिसिटी, लक्षित दर्शकसम्म चलचित्र र चलचित्रसम्म दर्शकको पहुँच, चलचित्र बनेको समय र दर्शकको मनोविज्ञानले पनि असर गर्ने उनी सुनाउँछन् । “केही चलचित्र निर्माण भएको दशकौँपछि त्यसको उचित मूल्यांकन हुन्छ । जस्तै, गुरुदत्तका सिनेमा,” उनी भन्छन् ।
नेपाली चलचित्र उद्योगमा प्रायः अधिकांश प्रोडुसर कमर्सियल चलचित्रमै लगानी गर्न इच्छुक रहेको देखिन्छ । फरक धारका केही चलचित्र बनाउने निर्देशक जसले आफूलाई प्रमाणित गरिसकेका छन्, उनीहरूबाहेक नयाँ कोही मेकरले म यो विषयमा यस्तो आर्ट सिनेमा बनाउँछु भन्यो भने उसलाई निर्माताले विश्वास गरिहाल्ने अवस्था छैन । फिल्म कलेजबाट आएका धेरै व्यक्तिले लगानीकर्ता खोजिरहे पनि पाइरहेका छैनन् ।
आर्ट सिनेमाले राम्रो व्यापार गर्दैनन् भन्ने ‘भ्रम’ रहेको निर्देशक दीपेन्द्र के खनाल बताउँछन् । कमर्सियल सिनेमाप्रति वर्षौँदेखि नेपाली चलचित्रमा गलत धारणा ‘सेट’ भएको र यसलाई भत्काउन जरुरी रहेको उनी बताउँछन् । “यहाँ आर्टिस्टिक सिनेमाले व्यापार गर्ने ल्याकत राख्दैन भनिन्छ । तर, बक्स अफिसको रिपोर्ट हेर्ने हो भने यस्तै चलचित्रले कमर्सियल भनेर प्रचार गरिएका भन्दा राम्रो कलेक्सन गरेका छन्,” उनी भन्छन्, “जात्रा, कबड्डी र मेरै चलचित्र पनि कमर्सियलभन्दा पनि आर्टिस्टिक भनिएका चलचित्र हुन् । तर, यिनै फिल्म राम्रो व्यापार गरेका चलचित्र हुन् ।”
‘छक्का पञ्जा’ पनि कमर्सियल फर्मुलामा नबनेको उनी बताउँछन् । कमर्सियल फर्मुलामा ध्यान नदिएर आफ्नै माटोको कथा भनेकाले ‘छक्का पञ्जा’ रुचाइएको दीपेन्द्रको बुझाइ छ । “जुन चलचित्रले व्यापार गर्छ वा व्यापारमा योगदान दिन्छ, वास्तवमा त्यो नै व्यापारिक सिनेमा हो,” उनी भन्छन्, “बलिउडको धङधङी नेपालमा अझै मेटिएको छैन । चारवटा गीत, तीनवटा फाइट, लभ, रोमान्स सिन भएको, हिरो–हिरोइन आउँदा यसरी आउनुपर्छ भन्ने सूत्र बलिउडले बसाइदिएको छ,” उनी भन्छन्, “त्यही बलिउड सूत्रअनुसार हिरो लुक्स नभएको मुख्य पात्र भएको र गम्भीर विषय उठान गरेका चलचित्र मात्रै आर्टिस्टिक सिनेमा हुन् र यस्ता चलचित्र कमर्सियल हुँदैनन् भन्ने धारणा छ । यो भ्रम नेपाली चलचित्र क्षेत्रबाटै हटाउनुपर्छ ।”
कर्मसियल चलचित्र विषयगत रूपमा राम्रो हुँदैन र सूत्रमा मात्रै बनेको हुन्छ भनेर बुझ्न नहुनेमा उनको जोड छ । सबैलाई मनपर्ने चलचित्र नै कमर्सियल भएको भन्दै कमर्सियल चलचित्र नै बनाउँछु भन्नेहरूलाई पनि बलिउडमा सेट भएको सूत्रबाट माथि उठेर राम्रा चलचित्र बनाउन उनको सुझाव छ । सूत्रबाट बाहिर निस्किएर बनाउन थालेपछि अहिले भोग्नु परेको असफलताको ग्राफ घट्ने उनको विश्वास छ । “राम्रो चलचित्र बनाउनुपर्छ । बनाउने अथवा कथा भन्ने तरिका आ–आफ्नै हुन्छ । कसैले हास्यरसमा भन्ला, कसैले सिरयस तरिकाले भन्ला, कसैले यी दुईभन्दा फरक तरिकाले भन्ला । तर, चलचित्र राम्रो हुनुपर्यो र दर्शकले मन पराउनुपर्यो त्यो नै कमर्सियल हो । हामी मेकर नै सामान्य कुरा पनि नबुझेर अल्झिरहेका छौँ,” दीपेन्द्र भन्छन्, “गलत धारणामा विश्वास गरेर त्यसको पछि लाग्न हुँदैन, सत्य कुरा के हो त्यसलाई पहिल्याएर मेकर पहिला आफैँ स्पष्ट हुनुपर्छ ।”