काठमाडौं । नेपाली चलचित्र क्षेत्र १६ महिनादेखि शून्य प्रायः अवस्थामा छ । शून्यमा रहेको चलचित्र क्षेत्र चलायमान कहिले हुन्छ अन्योल छ । कारण, प्रायः अधिकांश क्षेत्र खुलिसक्दा पनि सिनेमा हललगायत केही क्षेत्र अझै बन्द नै छन् । कोरोना संक्रमणको दर पुनः बढ्दै गएको अवस्थामा सिनेमा हल खुल्ने समय थप लम्बिँदै जाने निश्चित छ ।
यो संकेत देखिइसकेको चलचित्र विकास बोर्डले जनाएको छ । कोरोनाको त्रास सर्वत्र रहेका बेला सिनेमा हल खोल भन्नु जायज नहुने बोर्ड अध्यक्ष दायाराम दाहाल बताउँछन् । “यस्तो जोखिमको समयमा सिनेमा हल खोल भनेर दबाब दिन पनि सकिँदैन । खोले पनि दर्शक आउने सम्भावना छैन,” उनी भन्छन्, “भारतका केही प्रदेशमा हल खोले पनि १० प्रतिशत पनि अकुपेन्सी छैन । यस्तो परिस्थितिमा सिनेमा हल खुलाए पनि त्यसको औचित्य छैन ।”
सिनेमा हल खुलेको अवस्थामा पनि कसरी यो क्षेत्रलाई चलायमान बनाउने अन्योल कायम छ । भलै, बोर्डले पहिलो लकडाउनअगाडि नै रिलिज डेट लिएर प्रचारमा आइसकेका करिब आधा दर्जन चलचित्रलाई नगद रकम नै सहयोग गर्ने तयारी गरेको छ । यसरी गरिने सहयोग १० देखि १५ लाख रुपैयाँसम्म हुने बताइएको छ । तर, यसको औपचारिक निर्णय हुन भने बाँकी नै छ ।
यसबाहेक पब्लिसिटी, हल चार्जलगायत केही रकम सहयोग गर्ने यसअघि नै बोर्डले घोषणा गरिसकेको छ ।
ठूलो ब्यानरका चलचित्र सुरुमा रिलिज हुन तयार नहुने र सानो ब्यानरका न्यून अपेक्षित चलचित्रले दर्शकलाई हलसम्म तान्न नसक्ने यसअघि नै देखिइसकेको छ । त्यसैले अब सिनेमा हल खुल्नेबित्तिकै चलचित्र क्षेत्र चलायमान भइहाल्ने सम्भावना न्यून प्रायः छ ।
पहिलो र दोस्रो लहरको लकडाउनअगाडि पनि केही समय सिनेमा हल ५० प्रतिशत अकुपेन्सीमा खुले पनि निर्माताहरू आफ्नो चलचित्र प्रदर्शन गर्न तयार भएका थिएनन् । त्यस्तै अवस्था अहिले पनि दोहोरिने चलचित्र संघका महासचिव अशोक शर्मा बताउँछन् । “यसअघि पनि हल खुलेकै हुन् । तर, सामान्य समयमा मल्टिप्लेक्समा ठाउँ नपाउने चलचित्रहरू रिलिज भएका हुन् । त्यसैले दर्शक आएनन् । अबको अवस्था पनि त्यस्तै नै हुने हो,” उनी भन्छन्, “करोड लगानी गरेका चलचित्र हतारिएर रिलिज कसैले गर्दैन ।”
लामो समय शून्यमा रहेको चलचित्र क्षेत्रलाई चलायमान बनाउन ठूलो ब्यानरका चलचित्र सुरुमै रिलिज हुनुपर्ने अवस्था छ । मास अपिलिङ गर्ने निर्देशकका चलचित्र सुरुमा रिलिज हुन सके दर्शक हलसम्म पुग्ने र समग्र चलचित्र क्षेत्र नै चलायमान हुनसक्छ । यस्ता निर्देशक को–को हुनसक्छन् जसका चलचित्रको पर्खाइमा दर्शक हुन्छन् ?
दीपक–दीपाका चलचित्र
दीपकराज गिरी र दीपाश्री निरौलाका चलचित्रले चलचित्र क्षेत्रलाई चलायमान बनाउन सक्छन् । कारण, उनीहरूका चलचित्रले मास अपिल गर्छन् । उनीहरूका चलचित्र बच्चादेखि वृद्धवृद्धासम्मले हेर्छन् । नेपालमा हालसम्म सबैभन्दा धेरै बक्स अफिस कलेक्सन गर्ने चलचित्र पनि उनीहरूकै हुन् ।
तर, अहिले उनीहरूसँग चलचित्र छैन । ‘छक्का पञ्जा–४’ को स्क्रिप्ट लेख्दालेख्दै लकडाउन भएपछि उनीहरू यसलाई थाती राखेर अन्यत्रै मोडिएका छन् । दीपक–दीपा अहिले सिनेमा हल निर्माणमा व्यस्त छन् । नयाँ बानेश्वरमा निर्माण भइरहेको उनीहरूको सिनेमा हल आउँदो नयाँ वर्षदेखि फिल्म रिलिजका लागि तयार हुने दीपकले बताएका छन् । उनले सिनेमा बनाउन अहिले हतार नगर्ने बताइसकेका छन् । त्यसैले सिनेमा हल खुलेको अवस्थामा सुरुकै समयमा उनीहरूको चलचित्र दर्शकले हेर्न पाउने छैनन् ।
रामबाबु गुरुङका चलचित्र
निर्देशक रामबाबु गुरुङका चलचित्र पनि दर्शकले पर्खिएर बस्ने चलचित्र हुन् । ‘कबड्डी’ सिरिजबाट उनले आफूलाई प्रमाणित गरिसकेका छन् । उनले पहिलो र दोस्रो लहरको बीचमा केही समय कोरोना संक्रमणको त्रास कम भएका बेला कबड्डीको अन्तिम सिरिज घोषणा गरेका थिए । शुभमुहूर्त समेत गरिसकेका थिए । तर, बनाउन पाएका छैनन् । त्यसैले आम दर्शकलाई हलसम्म तान्न सक्ने क्षमता राख्ने रामबाबुका चलचित्र पनि अवस्था सहज भएर हल खुल्नेबित्तिकै रिलिज हुने छैन ।
निश्चल बस्नेतका चलचित्र
निश्चल बस्नेत निर्देशक भएर पनि अभिनेतासरह स्टारडम भएका व्यक्ति हुन् । ‘लुट’मार्फत आफूलाई स्थापित गरेका उनले पनि पहिलो र दोस्रो लहरका बीचमा सिनेमा छायांकनको तयारी गरेका थिए । उनी लोकेसन छनोटका लागि कर्णाली पुगिसकेका थिए । तर, कोरोना संक्रमण बढेपछि पछि हटे । साहित्यकार बुद्धिसागरले लेखेको कथामा उनले चलचित्र निर्माण गर्दै थिए ।
कोरोनाकै कारण छायांकन रोकिँदा निश्चलको चलचित्र पनि बजार खुल्नेबित्तिकै आउने छैन ।
प्रदीप भट्टराईका चलचित्र
नेपाली बक्स अफिसमा प्रदीप भट्टराई सफल चलचित्र दिने निर्देशक हुन् । ‘शत्रुगते’ले राम्रो समीक्षा नपाए पनि बक्स अफिस कलेक्सन राम्रो गरेको थियो । उनले निर्देशन गरेका बाँकी दुई चलचित्र ‘जात्रा’ र ‘जात्रैजात्रा’ समीक्षात्मक रूपमा पनि सफल चलचित्र हुन् । त्यसैले शून्यमा रहेको बजारलाई चलायमान बनाउन सक्ने निर्देशक प्रदीप पनि हुन् ।
तर, उनलाई पनि लकडाउनले नै प्रभावित बनायो । सोसल ड्रामा चलचित्र बनाउने अन्तिम तयारीमा रहेका उनी पनि फ्लोरमा जान पाएनन् । कलाकारसमेत छनोट गरिसकेका उनी अवस्था सहज हुनेबित्तिकै छायांकनमा जाने तयारीमा छन् । त्यसैले सिनेमा हल खुलेपछि पनि सुरुका महिनामा उनको चलचित्र आउने छैन ।
दीपेन्द्र के खनालका चलचित्र
दीपेन्द्र के खनाल पनि रुचाइएका निर्देशक हुन् । ‘पशुपतिप्रसाद’, ‘आमा’लगायत उनले निर्देशन गरेका चलचित्र हुन् । यी दुवै चलचित्र दर्शकले मन पराएका चलचित्र हुन् । समाजकै विषयवस्तुलाई मुख्य कथा बनाएर चलचित्र बनाउने दीपेन्द्रले भने पहिलो र दोस्रो लकडाउनको बीचमा नयाँ चलचित्र छायांकन गरे । ‘चिसो मान्छे’ उनको चलचित्रको नाम हो । अहिले उनी पोस्ट प्रोडक्सनको काम गरिरहेका छन् ।
सिनेमा हल खुल्दा उनको चलचित्र करिब–करिब तयार भइसक्नेछ । तर, उनी सुरुमै रिलिज गर्छन्÷गर्दैनन् निश्चित छैन । गत वर्ष चलचित्र ‘आमा’ रिलिज भइरहेकै बेला लकडाउन हुँदा उनले त्यसको मार बेहोर्नुपरेको थियो ।
खगेन्द्र लामिछानेको चलचित्र
खगेन्द्र लामिछाने आम दर्शकले रुचाएका अभिनेता हुन् । ‘पशुपतिप्रसाद’मार्फत उनले दर्शकको मन जिते । यो चलचित्रमा अभिनय मात्रै होइन, अरू थुप्रै विधामा उनको ‘इनपुट’ देखिन्छ ।
उनै खगेन्द्रको चलचित्र ‘पानीफोटो’ तयार छ । अघिल्लो लकडाउनअगाडि नै उनको चलचित्रको काम अन्तिम चरणमा थियो । अहिले यो चलचित्रको काम सकिइसकेको छ । हल टेस्टसमेत गरिसकेका उनले सिनेमा हल खुल्नेबित्तिकै चलचित्र रिलिज गर्न चाहे भने सक्छन् । तर, उनले हतार नगर्ने बताइसकेका छन् । यही चलचित्रमार्फत उनले निर्देशनमा पनि डेब्यु गरेका छन् । उनको चलचित्र पनि दर्शकले अपेक्षा गरेको चलचित्र हो ।
विनोद पौडेलका चलचित्र
‘बुलबुल’मार्फत चौतर्फी तारिफ पाएका निर्देशक हुन्, विनोद पौडेल । समीक्षा राम्रो पाएको यो चलचित्रले लगानी उठाए पनि उत्कृष्ट बक्स अफिस कलेक्सन त गरेन, तर निर्देशकबाट दर्शकले भने अपेक्षा गरे । उनको दोस्रो चलचित्र कस्तो आउने हो प्रतीक्षा छ । तर, विनोदसँग अहिले कुनै पनि चलचित्र छैन ।
उनले नेपाल छोडेर तेस्रो मुुलुक पुनर्वास भएका भुटानी शरणार्थीको कथामा चलचित्र बनाउने घोषणा गरिसकेका छन् । त्यसबाहेक चारवटा सोसल ड्रामामा उनले क्यारेक्टर निर्माण गरेर स्क्रिप्ट तयार गरिसकेका छन् । र, यी चलचित्र पनि निर्माण गर्ने घोषणा गरिसकेका छन् । तर, तत्काललाई भने रिलिजका लागि विनोदसँग पनि चलचित्र छैन ।
दिनेश राउतका चलचित्र
दिनेश राउतका चलचित्रमा पनि दर्शकको प्रतीक्षा रहन्छ । ‘नोभेम्बर रेन’, ‘क्लासिक’, ‘प्रसाद’लगायत उनले निर्देशन गरेका चलचित्र हुन् । उनको पछिल्लो चलचित्र ‘प्रसाद’ले बक्स अफिस कलेक्सन सन्तोषजनक नै गरेको थियो । अहिले दिनेशको चलचित्र ‘प्रकाश’ पोस्ट प्रोडक्सनमा छ ।
सिनेमा हल खुल्नेबित्तिकै चलचित्र रिलिज गर्ने सोचले काम गरे पनि पोस्टको काम सकिन्छ । तर, उनले अहिले धीमा गतिमा काम गरिरहेका छन् । उनले पनि रिलिजमा हतार नगर्ने बताइसकेका छन् ।
सन्तोष सेनका चलचित्र
मेकिङमा खर्च गर्न नडराउने निर्माता हुन्, सन्तोष सेन । ठूलो बजेटमा चलचित्र बनाएर युवा पुस्ताका दर्शकलाई हलसम्म तान्न हमेसा प्रयास गर्ने सन्तोषको चलचित्र ‘प्रेम गीत–३’ रिलिजका लागि तयार भएको पहिलो लकडाउनअगाडि नै हो । त्यही समय रिलिज डेट लिएर प्रचारप्रसारमा समेत जुटिसकेका उनले यही चलचित्रमार्फत निर्देशनमा पनि डेब्यु गरेका छन् ।
उनको यो चलचित्र पनि शून्यमा रहेको बजारलाई चलायमान बनाउन सहयोगी भूमिका निर्वाह गर्न सक्छ । तर, उनले यसअघि नै चलचित्र रिलिजका लागि सर्त राखिसकेका छन् । उनले नगद रकम सहयोगदेखि अन्य केही सर्त राखेका छन् ।
विकास आचार्यका चलचित्र
विकास आचार्य ‘नाईं नभन्नू ल’ सिरिज निर्माण गरेर दर्शकमाझ निरन्तर आइरहेका निर्देशक हुन् । उनका चलचित्र पनि दर्शकले रुचाउने गरेका छन् । तर, विकाससँग पनि अहिले तयारी अवस्थामा चलचित्र छैन ।
बजारमा दर्शकको प्रतीक्षा रहने अधिकांश निर्देशकहरूसँग चलचित्र छैनन् । चलचित्र भएका केही निर्देशक पनि ‘पर्ख र हेर’को अवस्थामा छन् । बलिउडबाट ठूला चलचित्र आएर दर्शक निर्धक्क हलमा जान थालेको आभास नभएसम्म ठूला ब्यानरका चलचित्र रिलिज नहुने वितरक गोपालकाजी कायस्थ बताउँछन् । करिब दुई वर्ष लगानी फ्रिज भएकाले अझै केही समय कुर्ने मनस्थितिमा निर्देशक तथा निर्माता रहेको उनको भनाइ छ ।