site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रदीपको त्यो ‘साला जिन्दगी’
SkywellSkywell

काठमाडौं । हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठसँग काम गरेको एक दशक नाघिसकेको थियो । महजोडीसँग काम गर्न त रमाइलै थियो । तर, अब यहाँ मात्रै सीमित हुनु हुँदैन भन्ने मनमा खड्किरहेको थियो । टेलिशृंखला र सचेतनामूलक भिडियोको चौघेरामा मात्रै सीमित हुनु हुँदैन भन्ने भएपछि प्रदीप भट्टराईको दिमागमा आयो फिचर फिल्म । 

तर, कस्तो ?

हाँस्ने र हँसाउने काम त उनले धेरै गरेका थिए । त्यसैले अब दर्शकलाई हँसाउँदै केही गम्भीर कुरा पनि गर्नुपर्छ भन्ने उनको मनमा वर्षौँदेखि गढेर बसेको थियो । त्यसैले उनले थाले सिनेमाको कथा लेख्न ।

KFC Island Ad
NIC Asia

तर, कसरी लेख्ने ? उनीसँग ‘आइडिया’ थिएन । कारण, उनले त्यसअघि चलचित्रको कथा लेखेकै थिएनन् । कथा त लेखे, तर उनलाई स्क्रिप्ट लेखनको ‘आइडिया’ थिएन । त्यसैले उनले रोजे शिवम अधिकारीलाई । शिवम तत्कालीन समयका उम्दा फिल्म लेखक । प्रदीपलाई आफ्नो कथालाई बलियो स्क्रिप्टमा ढाल्नु थियो, त्यसैले बलियो स्क्रिप्ट लेखक चाहिएको थियो ।

उनीहरू प्रत्येक हप्ता स्क्रिप्टमा घोत्लिन्थे । स्क्रिप्ट थप्दै जान्थे । गुह्वेश्वरीको खोला किनारमा घण्टौँसम्म विषय र डाइलगमा मन्थन गर्थे । अर्को हप्ता त्यसलाई स्क्रिप्टमा रूपान्तरण गरेर शिवमले ल्याउँथे । हरेक हप्ता लामो लिस्ट बोकेर गुह्वेश्वरीको किनारमा पुग्थे प्रदीप । पछिपछि हेर्दै जाँदा उनी आफैँलाई स्क्रिप्ट लेखनको आइडिया भयो । लेख्न पनि थाले । यो क्रम चल्यो डेढ वर्ष । डेढ वर्षमा स्क्रिप्ट लक गरे । 

Royal Enfield Island Ad

अब चाहियो लगानीकर्ता । त्यसको पनि बन्दोबस्त गरिसकेका थिए प्रदीपले ।

राजेन्द्र थापासँग उनको राम्रो चिनजान थियो । महजोडीसँग वर्षौँदेखि काम गरेकाले राजेन्द्रले प्रदीपलाई विश्वास गरेका थिए । सायद, उनको काम नजिकबाट हेरेकाले प्रदीपमाथि उनको भरोसा थियो । त्यही भरोसाका कारण उनले प्रदीपको चलचित्रमा लगानी गर्ने वचन दिएका थिए ।

अब समस्या थियो, कसरी महजोडीलाई म चलचित्र बनाउँदै छु भनेर भन्ने ? मनको एउटा कुनामा उनलाई डर थियो, कतै हरिवंश र मदनकृष्णले यहाँ काम गर्दागर्दै किन फिल्म बनाउन लागेको भन्ने पो हुन् कि । अब केटोको ‘प्वाँख’ पलाएछ भन्ने सोच्ने पो हुन् कि ।

प्रदीपलाई म नयाँ काम गर्दै छु भनेर मनाउनु वा अनुमति माग्नु मात्रै थिएन, त्योभन्दा ठूलो पक्ष त उनले उनीहरूलाई नै आफ्नो चलचित्रमा खेलाउन खोज्दै थिए । त्यसका लागि स्वीकृति पनि लिनु थियो ।

प्रदीपले मनमा शंकोच राखेरै भए पनि आँट गरेर सुनाए आफ्नो योजना । के भन्लान् भन्ने डर र आफ्नो चलचित्रमा खेल्न राजी होलान्/नहोलान् दोधारमा रहेका उनले हौसला पाए । महजोडीको हौसलाले उनमा थप ऊर्जा भर्यो ।

समय बलिउड सूत्रका फिल्मको थियो । चार/पाँचवटा त गीत चाहियो नै । एउटा गीत दयाराम पाण्डेको लिए । अर्को कृष्णहरि बरालसँग किने । एउटा त आफैँ लेखे । अञ्जु पन्त, दीपक लिम्बूलगायत गायक/गायिकाले गाए । गीत चित्तबुझ्दो भयो ।

कलाकारमा हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठ छँदै थिए । हिरो लिए कोसिस क्षेत्रीलाई । हिरोइनमा नीता ढुंगानालाई अनुबन्ध गराए ।

वर्कसप सुरु गरे । प्रि–प्रोडक्सनमा पर्याप्त तयारी गरे । कारण, सकेसम्म कम खर्चमा चलचित्र बनोस् भन्ने थियो । “वर्कसपको भिडियो अहिले पनि मसँग छ । पोस्ट प्रोडक्सनमा सहयोग होस् भनेर भिडियो खिचेर राखेका थियौँ,” प्रदीप भन्छन् ।

चाहियो लोकेसन । दोलखा पुगे । दोलखाका गाउँगाउँ घुमेर पात्रानुसारका घर खोजे । झोलुंगे पुल, बगर र जंगल हेरे । फर्किएर फोटो स्क्रिप्ट तयार पारे । प्राविधिक खोजे । आवश्यक सम्पूर्ण सामग्री किनेर निर्माण पक्ष छायांकनका लागि ‘मुभ’ हुन तयार भयो । “सायद पहिलो चलचित्र भएर पनि हुनसक्छ, त्यो बेला यति धेरै उत्साह थियो । त्यो लोभलाग्दो उत्साह सम्झिँदा अहिले पनि डाहा हुन्छ,” प्रदीप भन्छन्, “यसको अर्थ अहिले त्यो इच्छाशक्ति छैन भन्ने होइन । तर, त्यो बेला बेग्लै इनर्जी थियोजस्तो लाग्छ ।”

छायांकनमा जाने डेट फाइनल भयो । पहिलो फिल्म फ्लोरको प्रतीक्षा थियो । प्रोड्युसर बिरामी थिए । प्रदीप उनको स्वास्थ्य अवस्था बुझ्न अस्पताल गइरहन्थे । चाबहिलस्थित मेडिकेयरमा भर्ना भएका उनको स्वास्थ्यमा सुधार भइरहेको थियो ।

कस्तो थियो स्वास्थ्य अवस्था ?

चाबहिलस्थित मेडिकेयरमा भर्ना भएका उनको स्वास्थ्यमा सुधार भइरहेको थियो । उनी भन्थे, ‘अहिले धेरै ठिक भइसक्यो । एउटा सिनेमा नबनाई त मर्दिनँ ।’

छायांकन हुन एक हप्ता बाँकी थियो । खबर आयो, ‘राजेन्द्र दाइ अब हामीबीच रहनु भएन ।’

एक दशकपछि राजेन्द्रको त्यो खबर सुनाउँदा प्रदीपको अनुहारमा आज पनि उस्तै दुःख प्रष्टै देखिइरहेको थियो ।

राजेन्द्र आफ्नो सपना अधुरै छोडेर गएपछि फिल्मको त के कुरा रह्यो र ? 

“हो, राजेन्द्र दाइको निधनपछि प्रोजेक्ट अलपत्र पर्यो । मान्छे नै नरहेपछि चलचित्र पूरा हुन पाएन भनेर बिस्मात मान्ने कुरा पनि भएन,” प्रदीप भन्छन् ।

तर, केही समयपछि नै कामले पुनः गति लिने संकेत आयो । राजेन्द्रका भाइ शम्भु थापा र उनका दाइले भने, “हामी हाम्रो दाइ/भाइले देखेको सपना पूरा गरिदिन्छौँ । ताकी उसको आत्माले पनि शान्ति पाओस् ।” प्रदीपमा पनि आशाको सञ्चार भयो । तर, सधैँ चाहेको जस्तो कहाँ भाग्य सरल रेखामा हिँड्थ्यो र ? जसरी अचानक निरन्तरता दिने कुरा भएको त्यो ऊर्जा फ्लोरमा जानै नपाई सेलायो ।

पहिलोपटक निर्देशक हुन लागेका प्रदीपको सपना पनि धुलिसात भयो । भलै, व्यक्ति नै नरहेकाले यसमा त्यति धेरै खेद रहेन उनको । “सायद त्यो बेला मेरो जिन्दगी नै यही हो, यही नै मेरो वर्तमान र भविष्य हो, त्यसैले यो काम भएन भने मेरो जिन्दगी नै रोकिन्छ भन्ने सोचेको भए म डिप्रेस नै हुन्थेँ होला,” प्रदीप विगतको पाना पल्टाउँछन्, “तर, मैले त्यही चलचित्र नै मेरो भाग्य निर्माता हो र त्यसको विकल्प छैन भनेर नसोचेर जिन्दगीको बाटोमा फेरि एकपटक ठेस लाग्यो भन्ने मात्रै सोचेर त्यसबाट बाहिर निस्किएँ ।”

करिब तीन वर्षअगाडि केशव भट्टराईले एक दिन फोन गरेर भने, “प्रदीपजी तपाईंले लेखेको एउटा गज्जबको कथा मैले फेला पारेँ, यसमा काम गर्नुपर्यो ।”

अग्रज दाइ, चलचित्र विकास बोर्डको अध्यक्षसमेत रहेका केशवलाई सिधै गर्दिनँ भन्न पनि भएन । प्रदीपले भने, “हुन्छ नि दाइ, गरौँ न ।”

तर, उनले केही सर्त भने राखे । कारण, त्यो ०६७/०७८ सालका लागि त्यही कथा ठिक थियो होला । तर, अहिले समय धेरै अगाडि बढिसकेको थियो । त्यसैले त्यसको कथामा केही परिवर्तनको खाँचो हुन्थ्यो । त्यसपछि अरू चलचित्र बनाइसकेका प्रदीपले त्यो समय र अहिले चलचित्रप्रतिको बुझाइमा आकाश–जमिनको परिवर्तन आइसकेको थियो । त्यसैले उनले सर्त राखेका थिए– ‘थिम’ मर्न नदिएर त्यही ‘आइडिया’मा काम गर्न सकिन्छ, तर हुबहु त्यही स्टोरीमा चाहिँ काम गर्न सकिन्न ।

विडम्बना ! एक दिन अचानक केशव भट्टराईले पनि यो संसार छोडेको खबर अप्रत्याशित रूपमा आयो । कुरा धेरै अगाडि नबढ्दै फेरि एकपटक पूर्णविराम लाग्यो ।

त्यही स्टोरी पुगेको रहेछ, छविराज ओझाकोमा पनि । उनले पनि त्यही प्रस्ताव राखे प्रदीपसँग । तर, उनका सर्त तिनै थिए, जुन केशवसँग राखेका थिए ।

डेढ वर्ष लगाएर तयार भएको स्क्रिप्ट भएकाले केही दिलचस्पी त अझै छ त्यो कथामा, तर त्यो चलचित्र बनेको भए अहिले नेपाली चलचिको कुन बाटोमा हुने थिए प्रदीप ? उनी आफैँले आफैँलाई बारम्बर गरिरहने प्रश्न हो यो । कारण, त्यो बलिउड सूत्रमा बनेको स्क्रिप्ट थियो ।

के थियो कथा ?

गाउँको एक गरिब परिवारको छोरो चिकित्सक बनेर गाउँ फर्किने कथा थियो । एसएलसीमा बोर्डफस्ट भएपछि सहरको टप कलेजले उल्टै पैसा तिरेर उसले रोजेको विषय चाहेसम्म पढाउने सर्तमा हेलिकोप्टर लिएर गाउँ गएर सहर ल्याउँछ । डाक्टर भएर सहरबाट गाउँ फर्किएपछि उसलाई गाउँलेले हेर्ने नजर र त्यसभित्रको तिकडम उनको चलचित्रको मुख्य कथा थियो । प्रदीप र शिवंले चलचित्रको टाइटल राखेका थिए– साला जिन्दगी !

पछि गम्भीर विषयवस्तुमा बन्ने चलचित्रको नाम सस्तो हुने भयो भन्ने आकलन गर्दै परिवर्तन गरे– घेराबन्दी । घेराबन्दीमा परेर ज्यान गुमाउने उक्त चिकित्सकको कथाजस्तै घेराबन्दीमा परेर त चलचित्र नबनेको होइन, तर जे होस् विविध कारणले सिनेमा बनेन । जसले मिहिनेत गर्न र हरेस खान हुँदैन भन्ने पाठ भने सिकायो । त्यसैले प्रदीपले यसलाई सिकाइकै रूपमा ग्रहण गरे ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ ५, २०७८  ०८:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro