काठमाडौं । कोरोना संक्रमणको त्रासका कारण १६ महिनादेखि शून्य अवस्थामा रहेको नेपाली चलचित्र क्षेत्रलाई अब कसरी पुरानै लयमा फर्काउने भन्ने चुनौती छ । त्रास सकिएर बजार खुलेको अवस्थामा चलचित्र क्षेत्रलाई कसरी सहज अवस्थामा फर्काउन सकिएला भन्ने अहिलेको मुख्य चुनौती हो ।
सर्भाइभलको चुनौती
थुप्रै चुनौतीबीच एउटा मुख्य चुनौती हो, अस्तित्त्व रक्षा (सर्भाइभल)को । नेपाली चलचित्र क्षेत्रमा आश्रित रहेका व्यक्तिको अस्तित्त्व रक्षा नै अहिलेको ठूलो चुनौती हो । धेरै कलाकार तथा प्राविधिकहरू अहिले बेरोजगार छन् । पाँच दर्जन चलचित्रमा निर्माताले गरेको लगानी ‘होल्ड’ भएको छ ।
चलचित्र विकास बोर्डका अनुसार ६४ वटा चलचित्र होल्ड भएका छन् । यी चलचित्रमा भएको लगानी सुरक्षित गर्दै निर्माताहरूलाई यही क्षेत्रमा टिकाइरहनु अहिलेको चुनौती हो ।
ठूलो संख्यामा रहेका कलाकार र प्राविधिकहरू कामविहीन भएका छन् । कतिपय प्राविधिकहरू रोजगारीका लागि विदेशिने अवस्थामा पुगिसकेका छन् । कतिपय कलाकारहरूले वैकल्पिक पेसा सुरु गरिसकेका छन् । त्यसैले चलचित्रकर्मीलाई यही क्षेत्रमा राखिराख्न सक्नु अहिले चलचित्र क्षेत्रका लागि चुनौती हो ।
निरन्तरताको चुनौती
नेपाली चलचित्र क्षेत्रमा वार्षिक ९६ वटासम्म चलचित्र निर्माण हुन थालिसकेका थिए । तर, अब पहिलाकै अवस्थामा नेपाली चलचित्र क्षेत्रले निरन्तरता पाउला भन्नेमा धेरैलाई शंका छ । निर्माताहरूका चलचित्र रिलिज हुन नसकेर रकम ‘फ्रिज’ भएर बसेको अवस्था र जोखिम मोलेर दर्शक हलसम्म जालान् भन्नेमा पनि शंका छ । त्यसैले अब पहिलाकै तुलना चलचित्र बन्छन् वा बन्दैनन् भन्ने अहिलेको अर्को प्रश्न हो ।
दर्शक हलमा जान डराएको अवस्थामा लगानी गुम्ने सम्भावना उच्च हुने हुँदा चलचित्रमा लगानी गर्न निर्माताहरू हतोत्साही हुने मेकरहरू नै बताउँछन् ।
लामो समय अगाडि निर्माण सम्पन्न भएर होल्ड गरिएका चलचित्रले राम्रो व्यापार गर्ने सम्भावना न्यून हुने निर्माता अर्जुनकुमार बताउँछन् । विषय र प्रस्तुति नै पुरानो भइसक्ने र दर्शकको ‘टेस्ट’ नै परिवर्तन भइसक्ने हुँदा राम्रो व्यापारको सम्भावना न्यून हुने उनको जिकिर छ । उनी स्वयंको चलचित्र ‘चपली हाइट–३’ कोरोना संक्रमणको त्रासका कारण होल्ड भएको छ ।
रूपान्तरणको चुनौती
नेपाली चलचित्र जगतको अबको अर्को चुनौती हो, रूपान्तरण । नेपालमा अबको बजार कस्तो हुने हो निश्चित छैन । संक्रमणको त्रासका कारण दर्शक डराइरहेका छन् । त्यसमा पनि नेपाली चलचित्र छुटाउनै नहुने गरी राम्रो नबन्ने हुँदा बजार चलायमान भइहाल्छ भन्ने छैन ।
त्यसैले स्वास्थ्यमा जोखिम मोलेर दर्शक हलसम्म जान्छन् भन्ने नरहेको भन्दै अब नेपाली चलचित्रमा रुपान्तरण रहेको मनोज बताउँछन् । पुरानै शैली र विषयमा अब नेपाली चलचित्र अगाडि बढ्न नहुने अन्यथा चलचित्र क्षेत्रमा आकर्षाण न्यून भएर जाने उनको भनाइ छ ।
“रूपान्तरण नेपाली चलचित्रको अहिलेको आवश्यकता हो । अब पनि नेपाली चलचित्र रूपान्तरण भएन भने केही दशक हामीले यो अपेक्षा नै नगरे पनि हुन्छ,” मनोज भन्छन्, “कोरोनाको पेन्डामिकमा डिजिटल प्लेटफर्मममा विश्वभरका चलचित्र हेरेर दर्शकमा सिनेमाको लिट्रेसी बढेको छ । मेकरहरूले पनि यो समय धेरै इन्टरनेसनल सिनेमा हेरेका छन् । त्यसैले समयसापेक्ष नेपाली चलचित्र रूपान्तरण हुने समय हो । यो नै हाम्रो चलचित्रको गुणस्तर उकास्ने उपयुक्त समय हो ।”
निर्देशक विनोद पौडेल अहिलेको नेपाली बजारलाई हेरेर मेकरहरू रूपान्तरण हुनुपर्नेमा जोड दिन्छन् । विश्व बजारमा नेपाली चलचित्रले ठूलो फड्को मारिसके पनि विश्व मानचित्रमा नेपाली चलचित्रको स्थान नरहेको भन्दै उनी अब यसमा ख्याल गरेर अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याउँछन् ।
आर्ट र कमर्सियलको फ्युजन
कमर्सियल र आर्ट दुवै फर्मलाई मिलाएर चलचित्र बनाउनुपर्ने र यसो गरे गुणस्तर र बक्स अफिस दुवैलाई समेटिने विनोद बताउँछन् । “अहिले बजारलाई पनि ध्यान दिँदै चलचित्र बनाउनुपर्नेछ । त्यसैले अब दर्शक इंगेज पनि हुने र समीक्षात्मक हिसाबले कलात्मक चलचित्र पनि बनाउनुपर्नेछ,” उनी भन्छन्, “यी दुईमध्ये कुनै एक पक्षलाई मात्रै समेटेर अगाडि बढ्नु हुँदैन । बजार मात्रैमा केन्द्रित हुँदा गुणस्तरमा सम्झौता गर्नुपर्ने हुनसक्छ । फेस्टिभलका लागि मात्रै लक्षित गर्दा लगानीको कुरा आउँछ । त्यसैले अब दुवै पक्षलाई ख्याल गर्दै चलचित्र बनाउनुपर्छ ।”
नेपाली विषयलाई उठान गर्दै आर्ट र कमर्सियल पक्ष फ्युजन गरेर चलचित्र बनाउनु नै अहिलेको आवश्यकता भएको अर्का निर्देशक प्रदीप भट्टराई बताउँछन् । अब नेपाली चलचित्र क्षेत्रमा टिक्न र बिक्न आर्ट र कमर्सियल पक्षको फ्युजन भएका चलचित्र निर्माण हुनुपर्ने उनको धारणा छ ।
“केही साथीहरू फेस्टिभल ओरियन्टेड चलचित्रमा मात्रै भन्नुहुन्छ । तर, अहिलेको समय भनेको दुवै पक्षलाई फ्युजन गरेर नेपाली दर्शकले हलमा पनि रुचाउने र बाहिरको बजारले पनि रुचाउने चलचित्र बनाउने हो,” प्रदीप भन्छन्, “तर, सुरुमा फेस्टिभल ओरियन्टेड चलचित्रले मात्रै नेपाली चलचित्रलाई माथि उठाउँछ भन्ने साथीहरू पनि अहिले आर्ट र कमर्सियलको फ्युजनसहितको चलचित्र नेपालको आवश्यकता हो भन्न थाल्नुभएको छ । यो सकारात्मक पक्ष हो ।”
समयको गतिसँगै अगाडि बढ्न नसके अझै पनि पछि परिने भन्दै यसमा समग्र नेपाली चलचित्रकर्मीले ध्यान दिनुपर्नेमा उनको जोड छ ।