काठमाडौं । शरीर, शैली र भाषाको सुन्दर संयोजन गरेर पपुलर फेसको नक्कल गर्दै व्यंग्य गर्नु आफैँमा कठिन काम हो । त्यही कठिन काम सहजै गर्ने भएर त पपुलर छन्, मनोज गुजरेल ।
देशी पात्र हुन् वा विदेशी, उनले अधिकांश पपुलर फेसको हुबहु नक्कल गरिसकेका छन् । डोनाल्ड ट्रम्प हुन् वा नरेन्द्र मोदी र टेड्रोस अडानोम हुन् अथवा सी चिनफिङ, मनोजले गेटअपसहित नक्कल गरिसकेका छन् । र, दर्शकले औधी रुचाएका छन् ।
हरेक वर्ष फरक–फरक पात्र र प्रवृत्तिमाथि तिखो व्यंग्य कस्ने मनोज योपटक कसको सशरीर नक्कल गर्दै छन् ? केही देशी र केही विदेशी अनुहारलाई मनोज यो वर्ष आफ्नो अनुहारमा देखाउँदै छन् । उनले यो वर्ष रोजेका छन्, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन । पुटिन शक्ति राष्ट्र रुसका राष्ट्रपति हुन् । यो वर्ष मनोजले उनलाई रोज्नुको एउटा कारण हो, शक्तिशाली राष्ट्रपति । कोरोनाविरुद्धको दोस्रो खोप उत्पादन गर्ने राष्ट्रका प्रमुख व्यक्ति ।
कोरोनाभाइरस संसारभर फैलिएपछि सुरुमा कोरोनाविरुद्धको खोपको उत्पादनलाई लिएर राजनीति भयो । पछि यसलाई मान्यता दिने/नदिने भन्नेमा शक्ति राष्ट्रहरूबीच राजनीति भयो । त्यसपछि भयो यसको बिक्री, वितरण र सहयोगमा राजनीति । शक्ति राष्ट्रसँग पहुँच हुने र धनी राष्ट्रहरूले खोप सहयोगस्वरूप पनि पाए । किन्न पनि पाए । तर, नेपालजस्ता गरिब राष्ट्रहरू शक्ति राष्ट्रहरूको राजनीतिको कोपभाजनमा परे ।
यी घटनालाई नजिकबाट नियालिरहेका मनोजले यसैलाई बनाए यो वर्षको गाईजात्राको विषय । र, पात्र बनाए पुटिनलाई । कतै अफर दिएर नागरिकलाई कोेभिड–१९ विरुद्धको खोप लगाउन गरिएको आग्रह त कतै कहिले भ्याक्सिन आउला भनेर दिन गनेर बसेका नागरिकको पीडालाई उनले पुटिनसँग जोडे ।
० ० ०
पात्र रोज्न माहिर छन्, मनोज । त्यसलाई आम जनतासँग जोड्न झन् खप्पिस । बेलायतसँग नेपालको साइनो र सम्बन्ध नै नभएको त होइन । तर, बेलायतले नेपालको राजनीतिमा खासै चासो राख्दैन । त्यसैले बेलायती प्रधानमन्त्री बोरिस जोन्सनको आवरणमा मनोजले व्यंग्य गर्दा नेपाली नागरिक हाँस्लान् त ?
यसबारे अनविज्ञ कहाँ छन् र मनोज । त्यसैले त उनले देउवाले बेलायत पढेको भन्दै ‘गोरुबेचे साइनो’ लगाए । त्यति मात्रै होइन, देउवा र बोरिसको भिडियो कल गराएर संवाद गराउने चतुर्यार्ईं गर्दै छन् ।
यो भिडियो संवादमा विकसित देश बेलायतको प्रगति र नेपालको अवगति छ । देउवाको बेलायत अध्ययन, ब्रिटिस भर्तीलगायतलाई जोडेर मनोज जोन्सन बन्दै छन् ।
भाषा, संवादको सहजता र लबजको अवरोधका बाबजुद मनोज बेलायती प्रधानमन्त्री बन्दै छन् । पात्र विदेशी भए पनि कन्टेन्ट नेपाल र नेपालीसँग जोडिएको हुनेछ ।
आम जनजीवनमा परिचत मात्रै होइन, परिचित हुनुपर्ने पात्र पनि कहिलेकाहीँ छान्नुपर्ने मनोजको राय छ । चलेका पात्र मात्रै होइन, चल्नुपर्ने पात्र पनि खोज्नुपर्ने उनको तर्क छ ।
“तर, पुटिन भने खोजिएका पात्रमध्येकै हुन् । किनभने, मलाई पोहोर सालदेखि नै धेरै शक्तिशाली विदेशी पात्रको चरित्रमा व्यंग्य गरिसक्नुभयो अब पुटिनको पनि गर्नुपर्छ है भनेर कमेन्ट धेरैले गर्नुभएको थियो,” मनोज सुनाउँछन् ।
मनोज पात्र कसरी खोज्छन्, जुन पात्र अक्सर अधिकांशले रुचाउँछन् ?
कतिपय अवस्थामा पात्र रुचाइए होला । तर, धेरै त उनले गर्ने पोलिटिकल व्यंग्य रुचाएकै कारण पात्र मन पराइनुको मुख्य कारण हो । उनले हुलियासहित हुबहु लबजमा गर्ने नक्कल उनको व्यंग्यमा मन पराइएको अर्को कारण हो ।
त्यसैले यो वर्ष पनि पुटिन र बोरिसको नक्कलसहितको व्यंग्य मन पराइनेमा उनी विश्वस्त छन् ।
पात्र चयन कसरी ? उनी भन्छन्, “मलाई लाग्छ– कन्टेन्ट र पात्र चयन संकलन हो । वर्षभरि आएका विषयबाटै कन्टेन्ट र पात्र चयन हुने हो ।”
सामान्यतया मेरो व्यंग्य नगरिदियोस् भन्ने नै हुन्छ । किनकि, उसका कर्तुतहरू आमजनमानसमा पुग्छन् । जसले उसको सार्वजनिक व्यक्तित्त्वमाथि नै प्रश्नचिह्न खडा हुन्छ । आम नागरिकले हेर्ने दृष्टिकोण नकारात्मक हुने सम्भावना अधिक हुन्छ ।
तर, मनोजको सन्दर्भमा उल्टो हुन्छ । यो मनोज स्वयंले अनुभव गरेका छन् ।
कसरी ?
नेतादेखि मन्त्रीसम्म समाजसेवीदेखि लब्धप्रतिष्ठितसम्मले उनलाई भन्छन्, ‘लौन, त्यो फलानोको जस्तो मेरो पनि मै बनेर व्यंग्य गरिदिनुपर्यो ।’
को–को हुन् ती जसले यस्तो चाह प्रकट गरे ?
त्यो त मनोज भन्दैनन् । तर, यति भने भन्छन्, “तपाईं हामीले चिनेका, समाजका पपुलर फेस नै हुन् ।”
तर, यसरी हाकाहाकी आफैँ भन्नेभन्दा पनि कोही सचिवालयमार्फत त कोही आफन्तमार्फत भन्न लगाउने धेरै हुन्छन् ।
त्यो अफर स्वीकार्य हुन्छ मनोजलाई ?
आजसम्मचाहिँ गरेका छैनन् । कारण, कतिको अलि बेला भइसकेको हुँदैन, कतिको चाहिँ त्योभन्दा अर्को व्यक्ति चर्चामा आइदिन्छ ।
किन मनोजले आफैँलाई उडाइदियोस् भन्ने चाहना हुन्छ ?
कारण, मनोज गाली गर्दैनन्, व्यंग्य गर्छन् । उनले गरेको व्यंग्यले कति व्यक्ति त हिट नै हुन्छन् ।
जस्तै ?
गोकुल बास्कोटा । मनोजले उनीमाथि गरेको व्यंग्य यति हिट भयो, गोकुलले यही ‘हेप्नी’ भन्ने ‘ट्रेडमार्क’ले म आउँदो चुनाव जित्छु भने । ‘हेप्नी’ भन्ने थेगो मनोजले गोकुललाई सशरीर लबजसहित गरेको क्यारिकेचरपछि हिट भएको हो ।
मनोजले गरेको व्यंग्य सम्मान पनि हो भन्ने ट्रेडमार्कजस्तै बनिसकेको छ ।
यसै वर्ष मनोजले गर्न लागेको अर्को शारीरिक गेटअपसहितको व्यंग्य होे तत्कालीन शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको । विश्वविद्यालयको दीक्षान्त समारोहमा गएर प्रधानमन्त्री केपी शर्मा ओलीको तारिफसहितको श्रेष्ठको लामो भाषण धेरैले नोटिस गरेका थिए । त्यसलाई खुराक बनाएर आफ्ना दर्शकमाझ आउँदै छन् मनोज । मनाेजसँगै शैलेन्द्र शिंखडा, किरण केसी, सुमन कार्की, प्रभात लामा, सुबोध गौतमलगायत कलाकारले यो वर्ष गाईजात्रामा प्रहशन दिने छन् ।
उनको यो प्रस्तुति आउँदो भदौ १ गतेदेखि एपीवान टेलिभिजन र गजुरियल युट्युब च्यानलबाट प्रसारण हुनेछ ।
नेपाल र नेपालबाहिरका धेरै व्यक्तिको गेटअपसहित व्यंग्य गरिसकेका मनोजले आफ्नो यो शैलीलाई परिवर्तन गर्ने संकेत गरे । एउटै प्याटनको प्रस्तुतिले आफ्ना दर्शकमा ‘मोनोटोनस’ हुने र आफ्नो क्षमतामा सीमितता देखिने भएकाले अब आफैँमा परिवर्तनको खाँचो रहेको उनले औँल्याए । भलै, त्यो परिवर्तन यो वर्ष करिब–करिब सम्भव नरहेको उनी बताउँछन् । अब हुने परिवर्तन कस्तो हो, त्यो पनि उनी खुलाउन चाहदैनन् । तर, उनी यसमा ढुक्क सुनिए– अब मैले आफूलाई परिवर्तित स्वरूपमा आउनुपर्छ ।
मनोजलगायत थुप्रै कलाकारहरूले बर्सेनि समाज परिवर्तनका लागि भन्दै व्यंग्य गर्दै आएका छन् । नागरिक र सम्बन्धित नेतालाई अगाडि राखेर कमेडीका माध्यमबाट खबरदारी गरिरहेकै छन् । तर, के समाज रूपान्तरण भयो ?
समाज र सम्बन्धित व्यक्तिमा राजनीतिक चेतनाको विकास भएको र बोल्न थालेको मनोजको बुझाइ छ । समय परिवर्तन हुँदै जाँदा अब गाँस, बास र कपासकै लागि संघर्ष गरिरहेका, जीवनरक्षाका लागि लडिरहेका व्यक्ति तथा समाजका पक्षमा कलालाई माध्यम बनाएर आवाज उठाउनुपर्ने आवश्यकता रहेको उनी बताउँछन् ।
शक्तिशाली हुन्छ व्यंग्य ?
भाषाको अभावले अन्तर्राष्ट्रियस्तरमा नेपाली कमेडी पुग्न नसकेको बताउने मनोज आफूमा अंग्रेजी भाषाको शब्द भण्डार राम्रो भइदिएको भए ठूलो फड्को मारिसकेको हुने बताउँछन् । भाषा नै मुख्य अवरोधकका रूपमा रहेको भन्दै अब आउने पुस्ताले भाषामा पकड जमाउँदै उच्चस्तरको व्यंग्य गर्न सके भूगोल बाधक बन्दैन भन्ने निष्कर्षमा उनी पुगेका छन् ।
उनी भन्छन्, “म आफैँले भन्न सायद हुँदैन थियो । तर, जिज्ञासाको जवाफ दिनुपर्छ, मैले नेपालबाहिरका व्यक्तिका बारेमा गरिएका व्यंग्य अन्तर्राष्ट्रियजगतमा चर्चाको विषय हुनुपर्ने थियो । यसो हुन नसक्नुको कारण अंग्रेजी भाषामा मेरो पकड राम्रो नहुनु नै हो ।”
विषय र भाषा बलियो भए अब भूगोलको चिन्ता गर्ने दिन गयो भन्ने जिकिर गर्दै मनोज व्यंग्यमाथि लगानी गर्नुपर्नेमा जोड दिन्छन् । राम्रो कमेडीको कन्टेन्ट तयार गरेर लगानीका लागि आह्वान गर्नुपर्ने मनोजको धारणा छ । भलै, कमेडीप्रति लगानी गर्ने प्रचलन नेपालमा अझै बसिसकेको छैन ।