site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
साँढे बन्न खोजेका गाईहरू !

काठमाडौं । ‘साँढे बन्न खोजेका गाईहरू’ यो भनाइ सिद्धार्थ आर्ट ग्यालरीमा भेटिएका कलाकार गोपाल कलाप्रेमी श्रेष्ठको हो । ‘सेरामिक’ माध्यमको प्रयोग गरेर यस ‘थिम’मा बनाइएका तीनवटा गाईहरू विभिन्न ‘पोज’मा छन् । उनीहरूको शरीरको केही भागले गाईको प्रतिबिम्ब गर्छ भने केही भागले साँढेको । त्यसैले त भनिएको छ, ‘साँढे बन्न खोजेका गाईहरू’ ।

कलाकार श्रेष्ठले ‘सेरामिक’को संरचनालाई बिम्बको रूपमा प्रस्तुत गरेका छन् । उनका यी कला नारीवादी महिलाहरूमाथि व्यंग्य हो भन्दा फरक नपर्ला ।


कलामार्फत उनले पुरुषसरह अधिकारका लागि आवाज उठाइरहेका नारीवादी महिलाहरूलाई उतार्न खोजेका छन् । त्यस्ता नारीवादी महिलाहरूको आवाज कति ठाउँ र समयमा असान्दर्भिक भएको महसुस गर्दै उनले त्यसलाई कलामा उतारेका हुन् । उनी महिलाहरू पुरुषभन्दा उँचो दर्जामा रहेको विश्वास गर्छन् ।

योसहित उनले बनाएका विभिन्न कन्टेम्पोररी ‘सेरामिक’ कला बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा प्रदर्शनका लागि राखिएको छ ।

आफ्नो वरिपरिका सामाजिक–राजनीतिक र समसामयिक विषयलाई ‘सेरामिक’ कलामा उतार्ने गरेका उनले जारी प्रदर्शनीमा विभिन्न थिममा महिलालाई केन्द्र बनाएर तयार पारेका कलाहरू राखेका छन् ।

त्यस्तै ‘जेनी’ अर्थात् ‘गधैनी’ सिरिजमा १२ वटा राशिलाई प्रतिनिधित्व गर्दै १२ वटा गधैनी राखिएका छन् । १२ वटै गधैनीहरूमाथि एक÷एकजना महिला विभिन्न आसनमा चढेको देख्न सकिन्छ । उनका अनुसार ती गधैनीहरू बुहारीको प्रतिबिम्ब हुन् भने त्यसमाथि बसेर ‘कन्ट्रोल’ गरिरहेकाहरू सासूका प्रतिबिम्ब हुन् ।


यी कलामार्फत उनले महिलालाई महिलाले नै दबाउँछ भन्ने देखाउन खोजेका छन् ।

नेपाली समाजमा पुरुषले महिलालाई दबाउँछ भन्ने गलत मान्यता रहेको उनको बुझाइ छ । “पुरुषले महिलालाई डोमिनेट गर्नै सक्दैन । गर्ने भनेको महिलाले महिलालाई नै हो । तपाईं घरमा हेर्नुस्, सासूले बुहारीलाई दबाउन खोज्छन् ।”

यी ‘सेरामिक’ कलामा जापान र चीनको संस्कृति र प्रविधिको झलक देख्न सकिन्छ । जापान र चीनको पुरानो संस्कार ‘ब्लुवेयर’देखि जापानको ४६० वर्ष पुरानो प्रविधि ‘राकु’को प्रयोग उनका यी मूर्तिकलामा देख्न सकिन्छ ।

उनले महिलाको शक्ति र उँचो दर्जालाई व्याख्या गर्न खोजेको सिरिजबाट तीनवटा कलालाई प्रदर्शनीमा राखेका छन् ।

उनले चेस खेलको घोडाको टाउकोमा महिलालाई विभिन्न पेसाअनुरूपको पहिरन लगाएर तयार पारेका कलाहरू पनि प्रदर्शनीमा राखेका छन् । चर्चित क्रान्तिकारी गीत ‘गाउँगाँउबाट उठ, बस्तीबस्तीबाट उठ...’ सिरिजमा बनाएका उनका कलाले महिलालाई अब जाग्नुपर्छ र अघि बढ्नुपर्छ भन्दै झकझकाइरहेको छ । 

यसका साथै विश्वलाई आक्रान्त बनाएको कोरोना महामारीबाट अछुतो रहन नसकेका उनले त्यो बेलाको उकुसमुकुस, ०७२ सालको विनाशकारी भूकम्पलाई पनि कलामा उतारेका छन् ।

गोपालको परिवार नै सेरामिक कलामा संलग्न छ । प्रदर्शनीमा उनकी श्रीमती तथा कलाकार यमुना श्रेष्ठ र छोरा सुशांकका कलाहरू पनि अवलोकन गर्न सकिन्छ । 

सुशांकले जुत्ताको आकारको सेरामिकमा जिब्रो, दाँत, आँखा बनाएर त्यसलाई अनुहारको स्वरूप दिएका छन् । सुशांकको कलामा भाइब्रेन्ट रङहरूको प्रयोग देख्न सकिन्छ । 

“ऊ धेरै सानो हुँदा बूढाहरूले चाइनिज सस्तो जुत्ता लगाउँथे । त्यो जुत्ताप्रति उसको आँखा थियो । बच्चैदेखि ऊ हजुरबुवाको त्यो जुत्ता लगाएर हिँड्थ्यो । अनि, त्यही जुत्ताको मोल्ड निकालेर त्यसमा खेल्यो । यो एक्सपेरिमेन्ट हो,” गोपालले भने ।

आँखा, मुख, दाँत र जिब्रो भएको जुत्तामा सुशांकले मास्क पहिर्‍याइदिएका छन् । 

पहिलो ‘लकडाउन’पछि र दोस्रो लकडाउनपछि पनि भौतिक रूपमा सञ्चालनमा आएको पहिलो ग्यालरी सिद्धार्थ आर्ट हो । ग्यालरीका सञ्चालक संगीता थापालाई दोस्रोपटक भौतिक प्रदर्शनी सुरु गर्न कलाकारलाई ‘कन्भिन्स’ गर्न अलि चुनौतीपूर्ण थियो ।

कतिजना कलाकारलाई पहल गर्दा पनि प्रदर्शनीजस्तो मात्रै हुन्छ कि भन्ने डरले कलाकारहरू प्रदर्शनीका लागि तयार थिएनन् । तर, उनी शिवाङ्गीनी राणालाई कन्भिन्स गर्न सफल भइन र दोस्रो लकडाउनपछि सिद्धार्थमा पहिलोपटक कलाकार शिवाङ्गीनीको कला प्रदर्शनी भयो ।

“आवश्यक सावधानी अपनाएर अघि बढ्नुपर्छ र बढ्न सकिन्छ नि त भन्ने प्रमाणित हामीले गरिरहेका छौँ । गत वर्ष नौ महिनाजति बन्द भयो, कलाकारहरूको कमाइ त ठप्पै भयो । जबकि, कलाकारहरू आफ्नो कला बिक्री गरेरै बाँच्ने हो । त्यसैले हामी सञ्चालनमा आउन जरुरी छ,” उनले भनिन् ।

सावधानी अपनाएर केही चुनौती भए पनि ग्यालरी सञ्चालनमा ल्याएको उनी बताउँछिन् । अवलोकनकर्ता आउँदैनन् कि भन्नेतर्फ पनि उनी सचेत छिन् । सिद्धार्थका सबै नियमित अवलोकनकर्ता नआए पनि कला बिक्री ठप्पै भने नभएको उनी बताउँछिन् ।

चित्रकलामा जस्तो रङहरू बजारमा किन्न नपाउने भएकाले सेरामिकका कलाकारहरूले रङहरू आफैँ बनाउने गरेको गोपाल बताउँछन् । आफैँले बनाएका रङमा कलाकारको आफ्नै पहिचान हुने उनको भनाइ छ ।

यही अगस्ट ४ देखि सुरु भएको श्रेष्ठ परिवारको यो सेरामिक कला प्रदर्शनी सेप्टेम्बर ३ तारिखसम्म जारी रहनेछ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, साउन २७, २०७८  १६:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro