काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा गीतको शब्द र त्यसको अर्थलाई लिएर समय–समयमा विवाद भइरहने गर्छ । यसको पछिल्लो शृंखला हो, दुर्गेश थापाको गीत ‘ख्यास्स पुतली’ ।
यो गीतको शब्दलाई लिएर लोक तथा दोहोरी गीत प्रतिष्ठानले असन्तुष्टि जनायो । अश्लील शब्द भएको भन्दै सच्च्याउन आग्रह गर्यो । तर, दुर्गेशले प्रतिष्ठानको आग्रहलाई बेवास्ता गर्दैै गीतको शब्द परिमार्जन नगरी जस्ताको तस्तै बजारमा ल्याए । त्यसपछि प्रतिष्ठानले उनलाई आफ्नो साधारण सदस्यबाट नै हटाउने निर्णय गर्यो ।
यही विषयलाई लिएर अहिले संगीतप्रेमीहरु पक्ष–विपक्षमा उभिएका छन् । दुर्गेशको पक्षमा उभिएकाहरु अभिव्यक्ति स्वतन्त्राताको हनन गर्ने अधिकार प्रतिष्ठानलाई कसले दियो भनिरहेका छन् । तर, अर्को पक्ष जसले ‘ख्यास्स पुतली’मा अश्लीलता देख्यो, उसले उक्त गीतले राम्रो सन्देश नदिएको भन्दै आपत्ति जनाइहेको छ ।
दुर्गेश स्वयंले भने प्रतिष्ठानलाई व्यंग्यात्मक रूपमा रक्षक नै भक्षक भएको टिप्पणी गरेका छन् । आफ्नो अभिव्यक्ति स्वतन्त्रता हनन गर्ने प्रयास भइरहेको उनले बताएका छन् । “म चाहन्छु, मेरो कारणले कसैको बाँच्न पाउने अधिकार नखोसियोस् । आज मेरो अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाइरहँदा प्रत्यक्ष दोहोरीका सुन्नै नसकिने छाडा गीतलाई स्वतन्त्र छोडिएको छ,” उनी भन्छन्, “मेरो गीत लोक पनि होइन र दोहोरी पनि होइन । नियोजित रूपमा जबर्जस्त शब्दलाई अश्लील परिभाषा गरेर प्रतिष्ठानले अर्को शब्दकोश निर्माण गरेको छ ।”
उनले प्रतिष्ठानले परिवर्तनलाई स्वीकार गर्न नसकेको टिप्पणी पनि गरेका छन् ।
गायक बद्री पंगेनीले ‘पीएन क्याम्पसमा...’ र ‘ससुरालीमा...’, प्रजापति पराजुलीले ‘लाल साडी मे...’ हिन्दी भाषामा, कोमल वलीले ‘पोइला जान पाम...’, कुमार बस्नेतको ‘छोरीभन्दा आमा तरुनी...’ जस्ता गीत गाएको र उनीहरुले प्रतिष्ठान सम्हालिसकेको भन्दै दुर्गेशले उनीहरुको गीतको शब्दमाथि पनि प्रश्न चिह्न उठाएका छन् ।
दुर्गेशले आफ्नो अभिव्यक्ति स्वतन्त्रा हनन गर्न खोजेको बताइरहँदा प्रतिष्ठानले भने सामाजिक मर्यादा नाघ्न नहुने तर्क अगाडि सारेको छ ।
कार्यसमितिका ५७ जनाले हस्ताक्षर गरेर दुर्गेशलाई बहिष्कार गर्ने र साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्ने माइन्युट गरिएको प्रतिष्ठानको विकृति न्यूनीकरण कार्यदल संयोजक शिव हमाल बताउँछन् । यही साउन १७ गते बसेको बैठकले कारबाहीको निर्णय गरे पनि विज्ञप्ति भने सार्वजनिक गरेको छैन ।
“मैले एकपटक भेटेर पनि दुर्गेशसँग कुरा गरेँ । पछि फोनमा पनि कुरा गरेँ । म्यासेन्जरमार्फत प्रतिष्ठानका अध्यक्ष रमेश बीजी र मेरो संयुक्त हस्ताक्षर गरेर पनि पत्र पठायौँ”, शिव भन्छन्, “पत्र पठाएपछि उहाँले मलाई मेरो तरिकाले चल्न दिनुस् भन्नुभयो ।”
प्रतिष्ठानको छैटौँ महाधिवेशनमा दुर्गेशले केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गरेका थिए । तर, उनी पराजित भए । अब उनले साधारण सदस्य नै गुमाइसकेपछि प्रतिष्ठानको कुनै पनि पदमा लड्न पाउने छैनन् ।
प्रतिष्ठानले उनलाई बहिष्कार गर्ने पनि जनाएको छ । उनलाई प्रतिष्ठानका कुनै पनि कार्यक्रममा बोलाइने छैन । “कारबाही गरिसकेपछि अब उहाँले माफी मागेर चित्तबुझ्दो स्पष्टीकरण नदिएसम्म संस्थामा रहनुहुने छैन,” हमाल भन्छन् ।
अभिव्यक्ति स्वतन्त्रता र सिर्जना फरक पाटो भएको भन्दै प्रतिष्ठानले उसको क्रिएसनले समाजमा कस्तो सन्देश दिन्छ भन्ने कुरा मुख्य भएको जनाएको छ । स्वतन्त्रताका नाममा समाज भड्काउने र अश्लीलता प्र्रदर्शन गर्ने छुट कसैलाई पनि नरहेको प्रतिष्ठानको जिकिर छ ।
“यो पहिलोपटक होइन, यसअघि पनि हामीले उहाँलाई सचेत गराएकै हो । गत वर्ष १३ वटा गीतलाई सचेत गराउँदा १२ वटा गीतले माफी मागे । दुर्गेशको गीत निर्माता कम्पनीले पनि अबदेखि यस्तो गल्ती गर्दैनौँ भनेर माफी मागेपछि छुट दिएका हौँ,” विकृति न्यूनीकरण कार्यदल संयोजक हमाल भन्छन्, “दुर्गेशले गाएको गीत तिज गीत हो । हिन्दु महिलाहरुको पवित्र पर्व तिजमा महिलालाई नै जोडेर अश्लील शब्द प्रयोग गरिनु हुँदैन । भिडियोको हाउभाउ पनि अश्लील नै छ । हाम्रो असन्तुष्टि यही हो ।”
प्रतिष्ठान गठन हुनुभन्दा अगाडिका गीतको विषयलाई लिएर केही पनि गर्न नसकिने प्रतिष्ठानले जनाएको छ । “त्यसमा पनि विकृति न्यूनीकरण कार्यदल बनेको एक वर्ष मात्रै भएको छ । त्यसैले अगाडिका गीतका विषयमा केही गर्न सकिएन,” हमाल भन्छन्, “अहिले के भइरहेको छ, त्यो कार्यदलले हेर्ने हो ।”
गीतकार दिनेश अधिकारी सर्जकले समाजलाई नजरअन्दाज गर्न नहुने धारणा राख्छन् । समाजको न्यूनतम सीमा र परिधिभित्र बसेर सर्जकले आफ्नो सिर्जना प्रस्तुत गर्नुपर्ने उनको भनाइ छ ।
“सर्जकले आफ्ना लागि जे पनि गाउन वा लेख्न पाउँछ । कोठाभित्र जस्तो गीत पनि लेख्न वा गाउन सक्छ । व्यक्तिगत स्वतन्त्रता छ भन्दै गर्दा सुशासन र सामाजिक जिम्मेवारीको पनि कुरा आउँछ,” गीतकार दिनेश भन्छन्, “मलाई दुर्गेशको गीतबारे त्यति धेरै जानकारी छैन । तर, समग्रमा जिम्मेवारीलाई बेवास्ता गरेर व्यक्तिगत स्वतन्त्रताको मात्रै कुरा गर्नुचाहिँ उपयुक्त हुँदैन ।” सामाजिक जिम्मेवारी हरेक स्रष्टा तथा कलाकारले लिनुपर्नेमा उनको जोड छ ।
कुनै पनि संस्थामा आबद्ध भएको व्यक्तिले आफ्नो संस्थाले तयार पारेको विधानभित्र भने बस्नुपर्ने गीतकार अधिकारी बताउँछन् ।
संगीतकार शम्भुजित बास्कोटा व्यक्ति स्वयंले यस्ता कुरामा ध्यान दिनुपर्नेमा जोड दिन्छन् । गीत–संगीतमा बेलाबेलामा विवाद आउने गरेको भन्दै उनी विवाद न्यूनीकरणका लागि कलाकार, सर्जक स्वयं सचेत हुनुपर्ने उनको धारणा छ ।
“म के–कस्तो काम गरेर आएको हुँ भन्नेबारे सर्जक आफैँले गम्भीर भएर सोच्नुपर्छ । समाजले मलाई के कारणले माया गरेको हो भनेर बुझेर सोहीअनुसार अगाडि बढ्नुपर्छ,” शम्भुजित भन्छन्, “के ठिक हो र के बेठिक हो भनेर आत्माबाट मूल्यांकन गर्ने हो भने दायित्व आफैँ बोध हुन्छ ।”
नेपाली कला, संस्कृति र संगीत सफा र सुन्दर रहनुपर्ने भन्दै उनी यसमा स्वतन्त्रतासँगै दायित्व सम्झिए मात्रै पुग्ने बताउँछन् ।
उनी संगीत विकास बोर्ड आवश्यक रहेकोमा जोड दिन्छन् । त्यस्तो संगीत विकास बोर्डमा अभिव्यक्ति स्वतन्त्रता नखुम्चिने गरी सेन्सर शाखा बनाएर काम गर्न सके गीत–संगीतमा देखिने गरेको विकृति कम हुने उनी बताउँछन् । शम्भुजितले लामो समयदेखि संगीत विकास बोर्ड स्थापनाका लागि ‘लबिङ’ गर्दै आएका छन् ।
तस्बिर : दुर्गेश थापाको फेसबुकबाट ।