site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
6g4t7T_wCkk


काठमाडौं । गत वर्ष चलचित्र ‘लुट–२’ को ‘ठमेल बजार...’ गीत गाएर एकाएक चर्चामा आइन् गायिका मीना पोखरेल । चलचित्र ‘पर्व’ का लागि गाएको ‘काले दाइ’ सम्म आइपुग्दा उनको चर्चा चुलिएन मात्रै, आफूलाई प्लेब्याक सिङगिङका लागि अब्बल दर्जाको गायिकाका रुपमा पनि उभ्याइन् । त्यो भन्दा पनि ठूलो उनले हात पारिन् सांगीत विधाकै प्रतिष्ठित छिन्नतला पुरस्कार । 

उनै गायिका मीना अहिले तिज गीत लिएर नेपाली सांगीतिक बजारमा आइपुगेकी छन् । २७ वर्षअघि चलचित्र कन्यादानका लागि ‘तिजको रहर आयो बरिलै...’ बोलको गीत लेखेका संस्कृतिकर्मी चेतन कार्कीको संकलनमा मीनाले गीत गाएकी हुन् । उक्त गीत अहिले पनि उत्तिकै चर्चामा छ । 

कार्कीले मीनाका लागि ‘वर्ष दिनको तिजमा बाबा लिन आएका...’ संकलन गरिदिएको गीतमा संगीत संयोजन संगीतकार शिलाबहादुर मोक्तानले गरेका छन् । 
समन अधिकारीले निर्देशन गरेको भिडियोमा अभिनेत्री मिथिला शर्मा र दिया मास्केले अभिनय गरेका छन् । 
 

प्लेब्याक सिंगिङमा जमेकी मीनामात्रै होइन, यो तिजमा अरुका गीतमा खासै नगाउने दोहोरी गायक पशुपति शर्मालाई पनि देख्न पाइने भएको छ । तिज आउन अझै तीन साता बाँकी छ । तर, पशुपति शर्मा दुई महिना अगाडिदेखि नै व्यस्त छन् । 

गत वर्ष गायिका कोमल वलीका लागि गीत तयार पारिदिएका उनले यो वर्ष कोमललाई मात्रै होइन, अरु पनि थुप्रै गायिकालाई तिजका गीत तयार पारिदिए । त्यसो त उनले आफैं पनि अरुका गीतमा पुरुष भोकल दिएका छन् ।  

‘मेयरनीको पोइ...’ उनको अहिले नै चर्चामा आइसकेको तिज गीत हो । जानकी तारमी मगरको उक्त गीतमा पशुपति शर्माले गाएनन्मात्रै, खुलेरै अभिनय पनि गरे । टिपिकल शब्द र लय प्रयोग गर्नमा माहिर मानिने पशुपतिले नै ‘मेयरनीको पोइ...’ मा शब्द लेखेका हुन् । 

 

आफ्ना गीतमा मात्रै गीत गाएर ‘रिजर्भ’मा बस्दै आएका पशुपतिले अन्य पनि थुप्रै तिजका गीत गाए । गत वर्षजस्तै उनले यो वर्ष पनि कोमल ओलीलाई गीत तयार पारिदिए । साथै मेल भोकलमा पनि उनैले साथ दिए । ‘ओइ शिव चाहिएन पोइ...’ बोलको गीत कोमल वलीसँग उनी आफैं गायनमा उत्रिएका छन् । शब्द तथा संगीत पनि पशुपतिकै रहको गीतको म्युजिक भिडियोमा पनि उनैले अभिनय गरेका छन् । 

तिजका गीतमार्फत वलीको चर्को टिप्पणी हुँदै आएकोमा त्यही घानमा मिसिन आइपुगे पशुपति पनि । त्यसो त स्थानीय बोलीचालीका भाषा जस्ताको तस्तै गीतमा प्रयोग गर्ने पशुपति स्वयंको गीत पनि प्रतिबन्धमा परिसकेको छ । 


पशुपति शर्माले यही वर्ष तिजमा मञ्जु विकसँग पनि सहकार्य गरे । कमेडी तिज गीत भन्दै मञ्जु र पशुपतिले ‘भविष्यवाणी...’ बोलको गीत गाएका छन् । ‘भविष्यवाणी’ मा पशुपति नै हाबी भएका छन् । शब्द तथा संगीतमात्रै होइन, स्वर पनि उनकै छ । गीतको भिडियोमा उनी गेरु वस्त्र धारण गरेर हात हेर्न बस्छन् । 

पछिल्ला केही वर्षयता सधंै चलचित्रमा व्यस्त छु भन्ने तर चलचित्र प्रदर्शनमा कहिले पनि नआउने नायिका सुस्मा कार्कीलाई रातो सारीमा नचाउँदै यो वर्ष तिज गीत लिएर आएकी छन् सौरभी गदाल । सुरिलो स्वरमा ‘लरक्क सारी...’ बोलको गीत लिएर उनी तिज गीतको भीडमा मिसिन आइपुगेकी हुन् । उनको गीतको शब्द तथा संगीत एकनारायण भण्डारीले तयार गरेका छन् ।

 

यता तिजका गीत मार्फत स्वदेशसँगै विदेशमा स्टेज कार्यक्रमको बाक्लै अवसर पाइरहेकी सुनिता दुलालले पनि आजै आफ्नो तिज गीत ‘दर खाने दिन...’ सार्वजनिक गरिसकेकी छन् ।  
लाउन रातो लाए पनि हेर्दा छुट्टा छुट्टा
कोइको देख्न सादा सादा कोइको बुट्टा बुट्टा
कतै राता जामा कुर्था कतै राता सारी 
नाच्न गाउन तयारीमा बसेका छन् नारी 
हे ... नाच्न पर्छ, नाच्न पर्छ छम्म छम्म छम्म 
दर खानी दिनदेखी पञ्चमीसम्म

बीबी अनुरागीको संगीत तथा गीतकार तथा गायक कुमार विवाहितको शब्दमा सुनिताले गीत सार्वजनिक गरेकी हुन् ।

 


 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन ९, २०७४  १७:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro