काठमाडौं । कोरोना संक्रमणको त्रासका कारण ०७६ चैतबाट सिनेमा हल बन्द छन् । देशभर रहेका करिब १९३ हल सोही समयबाट बन्द छन् ।
बीचको केही समय ५० प्रतिशत अकुपेन्सीमा हल खोल्ने अनुमति पाए पनि धेरै सिनेमा हल खुलेनन् । केही खुलेका हल पनि लयमा फर्किन नपाउँदै बन्द भए । करिब १६ महिना सिनेमा हल बन्द हुँदा चलचित्र क्षेत्रले कति घाटा बेहोर्नुपर्यो ?
यकिन तथ्यांक त सरकारसँग पनि छैन । तर, बन्द भएका सिनेमा हलले बेहोरिरहेको घाटा, बन्द भएका २८ वटा सिनेमा हलमा भएको लगानी र यो क्षेत्रमा रहेका श्रमिकले रोजगारी गुमाउँदा १६ महिनामा करिब १७ अर्ब ७१ करोड रुपैयाँ घाटा बेहोर्नुपरेको छ ।
एक अर्बभन्दा धेरै लगानी ‘फ्रिज’ भएर बसेको छ भने सिनेमा हलमा रहेको १२ अर्ब लगानी जोखिममा छ । ‘लकडाउन’ र निषेधाज्ञा लम्बिँदै जाँदा बन्द हुने सिनेमा हलको संख्या पनि थपिँदै जानुले हलमा गरिएको लगानी उच्च जोखिममा रहेको पुष्टि हुन्छ ।
नेपालका १९३ सिनेमा हलका प्रतिशो ७२ हजार सिट बिक्रीका लागि खुला हुन्छन् । प्रतिसिट औसत २०० रुपैयाँ मूल्य हुँदा एक शोमा एक करोड ४४ लाखका टिकट बिक्रीका लागि खुला हुन्छन् ।
दिनको एक शोको मात्रै हिसाब गर्दा प्रतिमहिना ४३ करोड २० लाखका टिकट बिक्रीमा रहन्छन् । प्रतिमहिना ४३ करोड २० लाखका सिट बिक्री हुँदा १६ महिनामा ६ अर्ब ९१ करोड २० लाखका टिकट बिक्रीमा हुन्छन् ।
दिनको तीन शोका दरले चलचित्र चल्दा १६ महिनामा २० अर्ब ७३ करोड ६० लाखका टिकट बिक्रीमा रहन्थे । “तर, हल बन्द हुँदा यी सिट रन हुन पाएनन् । त्यसैले यसलाई घाटा भन्न सकिन्छ,” चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल भन्छन् ।
औसतमा दैनिक ५० प्रतिशत टिकट बिक्री हुने वितरक तथा निर्माता अशोक शर्मा बताउँछन् । “५० प्रतिशत अकुपेन्सी हुँदा यो १६ महिनामा करिब १० अर्ब ३६ करोड ८० लाखका टिकट बिक्री हुन्थ्यो,” शर्मा भन्छन् । चलचित्र संघका महासचिवसमेत रहेका शर्मा १६ महिनामा सवा १० अर्बभन्दा धेरै रकम चलचित्र क्षेत्रले टिकटबाट मात्रै गुमाएको बताउँछन् ।
प्रतिहल दैनिक खर्च औसतमा २५ हजार हुँदा १९३ वटा हल बन्द रहँदा हालसम्म दुई अर्ब ३१ करोड ६० लाख रुपैयाँ सिनेमा हलले थप गुमाउनु परेको छ ।
६४ वटा चलचित्र निर्माण सम्पन्न भएर बसेका छन् । यी चलचित्रको रकम फ्रिज भएको छ । अधिकांश चलचित्र कतै न कतैबाट ‘लोन’ लिएर बनेका हुँदा निर्माताहरुले ब्याज तिरेर बसिरहेका छन् । प्रतिचलचित्र औसतमा डेढ करोड रुपैयाँ लागत हुँदा ९६ करोड रुपैयाँका चलचित्र अलपत्र परेका छन् ।
यता, चलचित्र निर्माता संघले भने कोरोना संक्रमणको जोखिमका कारण चलचित्र रिलिज हुन नपाउँदा एक अर्ब ७५ करोड रुपैयाँ लगानी फ्रिज भएको दाबी गरेको छ ।
८२ वटा चलचित्रमा एक अर्ब ७५ करोड रुपैयाँ लगानी भएको संघका अध्यक्ष आकाश अधिकारीले बताएका छन् । उनका अनुसार ३५ वटा निर्माण सम्पन्न भइसकेका र पोष्ट प्रोडक्सनमा रहेका २२ तथा केही प्रतिशत छायांकन गर्दागर्दै रोकिएका २५ वटा चलचित्र गरी ८२ सिनेमामा लागानी भइसकेको छ ।
चलचित्र क्षेत्रमा रहेका १४ हजार श्रमिक १६ महिनादेखि बेरोजगार छन् । मासिक १५ हजार रुपैयाँ उनीहरुको तलब हुँदा तीन अर्ब ३६ करोड रुपैयाँ चलचित्र क्षेत्रका मजदुरले गुमाउनु परेको बोर्ड अध्यक्ष दाहाल बताउँछन् ।
चलचित्र संघका अनुसार औसतमा एउटा सिनेमा हल बनाउन ६ करोड रुपैयाँ लगानी लाग्छ । त्यसैले नेपालमा १९३ वटा हलमा ११ अर्ब ५८ करोड रुपैयाँ लगानी छ । १६ महिनादेखि यी हल बन्द हुँदा यो लगानी नै जोखिममा छ ।
चलचित्र संघका महासचिव शर्मा अनुसार हालसम्म यीमध्ये २८ वटा सिनेमा हल बन्द भइसकेका छन् । उनका अनुसार करिब एक अर्ब ६८ करोड रुपैयाँ लगानीका हल बन्द भइसकेका छन् ।
सिनेमा हल बन्द हुँदा चलचित्र विकास बोर्डको आम्दानी शून्यमा झरेको छ । विदेशी भाषाका चलचित्र रिलिजबाट आएको ‘ट्याक्स’को केही प्रतिशत रकम नै बोर्डको आम्दानीको मुख्य स्रोत हो ।
बोर्ड अध्यक्ष दाहालका अनुसार बोर्डले वार्षिक सातदेखि १४ करोड रुपैयाँ आम्दानी गर्दै आएको थियो । तर, लकडाउनयता बोर्डको आम्दानी शून्य छ ।
निर्देशक तथा वितरकसमेत रहेका शर्मा निर्माण सम्पन्न भएर डेढ–दुई वर्षदेखि थन्किएका चलचित्र अब रिलिज भए पनि दर्शकले मन पराउनेमा शंका व्यक्त गर्छन् । “निर्माण भइसकेका चलचित्र यसै पनि पुराना भइसके, अझै कति समय हल बन्द हुने हुन् र खुलेपछि पनि अवस्था सामान्य कहिले हुने हो भन्ने निश्चित छैन,” उनी भन्छन्, “त्यसैले अब यी चलचित्रको भविष्य छैन । यस कारण यी चलचित्रमा भएको लगानी घाटा नै हो ।”