काठमाडाैं । कोरोना महामारीको पहिलो चरणमा धेरैजना आशावादी नै थिए । सुरुमा केही डराए पनि स्थिति छिटै समान्य हुने र आ–आफ्नो काममा फर्किन सक्नेमा हरेक क्षेत्र तथा पेसा–व्यवसायीहरु विश्वस्त थिए ।
तर, स्थिति सोचेजस्तो भएन । पहिलो चरणको लामो बन्दाबन्दीपछि चलमलाउन थालेका सबै क्षेत्रलाई दोस्रो चरणले फेरि थला पार्यो । यसबीच सबैभन्दा धेरै मारमा परेको कला क्षेत्र ‘रंगमञ्च’ पनि पहिलो केही समय मौन रहे पनि विस्तारै डिजिटल माध्यममा प्रवेश गरेर आफ्नो कर्ममा फर्किने लयमा समातिसकेको थियो ।
अनलाइनमार्फत प्रस्तुति दिनेदेखि रंगकर्मी सुनील पोखरेलको परिकल्पना र निर्देशनमा मण्डलामा मञ्चन भएको ‘अर्को अर्थ नलागेमा’ नाटकले रंगकर्मीदेखि दर्शकलाई पनि आशाको किरण देखाएको थियो ।
पहिलो शो देखि नै हाउसफुल भएको उक्त नाटकले रंगकर्मी र दर्शक दुबै प्रस्तुति दिन र हेर्न तत्पर र उत्साहित रहेको प्रमाणित गरेको रंगकर्मी राजन खतिवडाको भनाइ छ ।
तर, यति हुँदाहुँदै पनि कोरोनाको तेस्रो लहरको डर कायमै भएकाले समग्रमा रंगकर्मीहरु विकल्पमा लाग्ने कि यसैलाई अरु माध्यममार्फत अगाडि बढाउने भन्ने सोच्न र तयारीमा लाग्न थालेको रङ्गकर्मी प्रवीण खतिवडा बताउँछन् ।
गुरुकुलका रंगकर्मी खतिवडाका अनुसार रंगकर्मीहरुबीच विकल्प सोच्ने वा यही पेशालाई कसरी फरक ढंगले अगाडि बढाउने भन्ने छलफल हुन थालेको छ । “सबैजना आत्तिएको अवस्था छ । यही पेशामा अगाडि बढ्ने सोच भएका साथीहरु यसलाई कसरी फरक ढंगले प्रस्तुत गर्ने सोचमा हुनुहुन्छ । त्यस्तै यो अवस्थाबाट आत्तिएका साथीहरु भने अरु नै व्यवसाय गर्ने भन्ने सोच्न थालिसक्नु भएको छ ।”
यति लामो समय यही पेशामा लागेर यसैमा योगदान दिइरहँदा पछिल्लो समय राज्यले गरेको वेवास्ताका कारण उनी दुःखी छन् । महामारीले थला परेको यस व्यवसायलाई उठाउन आर्थिक रुपमा पनि निकै कठिन महसुस खतिवडाले गरेका छन् । आर्टलाई धितो राखेर बैंकबाट ऋण लिएर यो पेशालाई चलायमान बनाउन खोजे पनि बैंकले आफूहरुलाई नपत्याउने उनको दुखेसो छ । उनका अनुसार “यो त राज्यले सम्बोधन गर्ने पेशा भित्रैपर्दो रहनेछ भन्ने कुराले दुखी बनाएको छ । यति धेरै वर्ष यही क्षेत्रका लागि योगदान दिएँ तर राज्यद्वारा सम्बोधनमा कहिले पनि नपर्ने रहेछ । त्यस्तै यो पेसालाई समाजले हेर्ने दृष्टिकोणमा पनि कुनै बदलाव आएको छैन ।”
राज्यको प्राथमिकतामा नपरेको यो पेसालाई उठाउन र दीर्घकालीन रुपमा अगाडि बढाउन यसका सम्बन्धित निकायहरुले ध्यान दिनुपर्नेमा उनको जोड सुनियो । उनी मात्रै होइन अर्का रंगकर्मी राजन खतिवडा पनि नेपाली रंगमञ्च र रंगकर्मीहरुलाई यसैमा टिकाइराख्ने हो भने सरकारको पहल हुनुपर्नेमा जोड दिन्छन् ।
“अहिले रंगकर्मीहरु यही क्षेत्रका अन्य विधाहरु जस्तै, लेखन, क्रियसनदेखि डिजिटल मिडियम भिडियो, सर्ट फिल्ममा लागिरहेको देखिन्छ । क्षमता र खुबी हुनेहरु यतिकै बस्नु पर्ने अवस्था छैन,” उनले भने ।
तर, कालान्तरमा नेपाली रंगमञ्च र रंगकर्मीहरुलाई यही क्षेत्रमा टिकाइराख्ने हो भने राज्यतर्फबाट पहलको जरुरी उनले महसुस गरेका छन् ।
“अन्तर्राष्ट्रिय रुपमा रंगमञ्चलाई मर्न नदिन सरकारले प्याकेजको व्यवस्था गर्नेदेखि रंगकर्मीहरुलाई लेखन लगायत यसकै अन्य पाटोको ट्रेनिङ दिने र सीमित पारिश्रमिक दिने कामहरु सुरु भैसकेको छ,” खतिवडाले बताए ।
अग्रज रंगकर्मीहरुका अनुसार समय त्यति अन्यौलपूर्ण भैसकेको छ कि जुनियर रंगकर्मीहरुलाई यो गर है भनेर बाटो देखाउनसम्म पनि नसक्ने अवस्था रहेको उनको अनुभव छ ।
त्यसैले होला रंगमञ्चमै भविष्य बनाउने भनेर पछिल्लो ४÷५ वर्षदेखि रङ्गमञ्चमा फ्रिल्यान्सिङ गरिरहेका आयुष प्याकुरेले दोस्रो लहरपछि रंगमञ्चको बाटो नपर्खि आम्दानीका लागि जागिर गर्न थालेका छन् ।
रंगमञ्चलाई करिअरकै रुपमा अघि बढाउने सोचमा रहेका उनलाई महामारी अघि पनि यही पेशाले खान लाउन पुग्दैन थियो । तर पनि समय र अनुभवसँगै रंगमञ्च र यसकै अन्य पाटोमा प्रवेश गर्दै जाँदा पोख्त हुँदै गएपछि यसैमा ढुक्कले लाग्न सक्ने सोच थियो ।
तर, कोरोना महामारीको डेढवर्ष लामो समय र अझै कायम भएको अनिश्चितताले उनी जागिर गर्न थालेका हुन् । उनले अन्तिम पटक सन् २०१९ को मध्यतिर कौशी थिएटरको ‘प्राइभेट इज पोलिटिकल’ नाटकमा काम गरेका थिए ।
कोरोना महामारीले छलफलमा ल्याएको विषय ‘डिजिटल नाटक’ले कालान्तरमा स्वरुप लिन सक्ने राजनको विश्वास छ । तर, यति भनिरहँदा यदि हरेक रंगकर्मीदेखि जनताले कोरोनाविरुद्धको खोप पाउने हो भने चाँडै नै नेपाली रंगमञ्च पुरानै लयमा फर्किनेमा पनि उनी आशावादी छन् ।