काठमाडौं । नेपाली चलचित्रले ५० वर्ष लामो इतिहास बोके पनि अपेक्षित सफलता हात पार्न सकेको छैन । भलै, हालसम्म जे–जति चलचित्र बने र अहिले जुन अवस्थामा नेपाली चलचित्र छ, त्यो पुराना नेपाली चलचित्रकर्मीले बसालेको जगकै कारण छ ।
आधा शताब्दी लामो इतिहास पल्टाउँदा पनि नेपाली चलचित्रमा अतुलनीय योगदान पुर्याउने व्यक्ति सम्झनुपर्दा सूची भने खासै लामो देखिँदैन । यद्यपि, केही व्यक्तिको नाम भने अगाडि आउँछ ।
राजा महेन्द्र
नेपाली चलचित्रको इतिहास खोतल्ने हो भने तत्कालीन राजा महेन्द्र शाहसँग गएर ठोकिन्छ । उनको प्रत्यक्ष निर्देशनमा नेपाली चलचित्रको विकास र विस्तार सुरु भएको हो ।
राजा महेन्द्रको आग्रहमा भारतबाट हिरासिंह खत्रीले नेपाल आएर चलचित्र ‘आमा’ निर्देशन गरेका थिए । नेपालमा स्रोत र साधनको स्पष्ट अभाव हुँदाहुँदै पनि तत्कालीन समयमा महेन्द्रले चलचित्र बनाउन लगाएका थिए ।
चलचित्रको धेरै भाग नेपालमा छायांकन गरिए पनि पोस्ट प्रोडक्सनका कामहरु भारतको कोलकाता लगेर गरिएको थियो । त्यसैले राजा महेन्द्रको योगदानलाई बिर्सन नहुने चलचित्रकर्मीहरु बताउँछन् ।
भलै, उनले तत्कालीन शासन व्यवस्था (पञ्चायत)लाई पक्षपोषण गर्न सिनेमालाई प्रयोग गरे पनि सिनेमाको जग भने महेन्द्रले नै बसाएकाले नेपाली चलचित्र उद्योगले उनको योगदानलाई नजरअन्दाज गर्न नहुने चलचित्रकर्मीहरु बताउँछन् ।
यादव खरेल
नेपाली सिनेमा क्षेत्रमा यादव खरेलको अतुलनीय योगदान छ । तत्कालीन शाही नेपाल चलचित्र संस्थानको नेतृत्वकर्ताका हिसाबले उनले नेपाली चलचित्रलाई ठूलो गुन लगाएका छन् । यादवले राजा महेन्द्रको आग्रहमा बीबीसी आएर संस्थानको नेतृत्त्व गरेका थिए ।
उनी आफैँले पनि चलचित्र निर्देशन गरेका छन् । उनले जति पनि चलचित्र निर्देशन गरेका छन्, अधिकांश चलचित्र फरक–फरक जानरामा रहेर बनाएका छन् ।
‘श्रीस्वस्थानी’, ‘प्रेमपिण्ड’, ‘चेलीबेटी’, ‘आँधीबेरी’, ‘भानुभक्त’ यादव खरेलले निर्देशन गरेका चलचित्र थिए । सरकारको लगानीमा चलचित्र बनेकाले स्वतन्त्रताका हिसाबले केही खुम्चिनुपरे पनि चलचित्र निर्माणलाई निरन्तरता दिन भने उनले नेतृत्त्व गरेको संस्थानको भूमिका छ ।
राज्यका तर्फबाट चलचित्रलाई संस्थागत गर्नमा उनको ठूलो हात छ । नीतिगत रुपमा संस्थानमा रहँदा र चलचित्र विकास बोर्डमा रहँदा यादव खरेलले चलचित्र क्षेत्रमा ठूलो योगदान गरेका छन् । उनले कोरेको मार्गचित्रमा नोपली चलचित्र नीतिगत रुपमा अगाडि बढिरहेको छ । तर, उनले तयार गरेको ढाँचा पनि पूरै लागु नहुँदा अझै चलचित्र क्षेत्रले सरकारबाट अपेक्षित सहयोग पाउन सकेको छैन ।
प्रकाश थापा, प्रताप सुब्बा, तुलसी घिमिरे
नेपाली चलचित्रको प्रारम्भिक कालखण्डका निर्देशक हुन्, प्रकाश थापा । उनको योगदानलाई पनि नेपाली चलचित्र क्षेत्रले भुल्न हुँदैन । भलै, उनका चलचित्र भारतीय फर्मुलाबाट गाइडेड हुन्थे । तर, उनले चलचित्र बनाएकै कारण चलचित्र निर्माणले नेपालमा निरन्तरता पाएको सत्यलाई भुल्न हुँदैन । त्यति बेला उनलाई ‘बाघ निर्देशक’ भनिन्थ्यो ।
तुलसी घिमिरे पनि नेपाली चलचित्र क्षेत्रले सम्झनैपर्ने नाम हो । हिट मुभी मेकरको परिचय बनाएका उनका चलचित्र पनि बम्बइया सूत्रमा अडेका हुन्थे । तर, नेपाली दर्शक आज पनि उनका चलचित्र बिर्सिँदैनन् ।
त्यस्तै, अर्को नाम हो, प्रताप सुब्बा । नेपालमा नेपालकै मौलिक कथाकृति ‘परालको आगो’माथि उनले चलचित्र निर्देशन गरेका थिए । व्यापार र आर्टलाई समीश्रण गरेर चलचित्र बनाउने उनले आर्टलाई प्राथमिकता दिन्थे । उनले भारतमा नेपाली भाषीलाई लक्षित गरेर बनाइएका नेपाली भाषाका चलचित्रको प्रभाव तत्कालीन नेपाली मेकरका लागि पनि प्रेरणादायी थिए । प्रारम्भिक नेपाली सिनेमाको निर्माणमै उनले बनाएका चलचित्रलाई केही हदसम्म गुणस्तर मेन्टेन गरिएका चलचित्रका रुपमा लिन सकिन्छ ।
भारतबाट आएका यी निर्देशकले नेपाली सिनेमाको जग बसाउन भूमिका निर्वाह गरेको नेपाली चलचित्रले बिर्सिन मिल्दैन ।
गोपाल भुटानी
नेपाली चलचित्रमा द्वन्द्व निर्देशनलाई संस्थागत गर्ने श्रेय गोपाल भुटानीलाई जान्छ । नेपाली चलचित्रमा जे–जति द्वन्द्वको काम भयो, त्यसको एकलौटी सुरुआती योगदान नै गोपाल भुटानीको हो ।
नेपालमा जति पनि द्वन्द्व निर्देशक भित्रिए, अधिकांश उनीबाटै द्वन्द्व निर्देशन सिकेका हुन् । उनकै असिस्टेन्ट हुन् । त्यसैले द्वन्द्व निर्देशनको पाटोमा नेपाली चलचित्र उद्योगमा गोपाल भुटानी द्वन्द्वकलाका गुरु हुन् ।
राजेश हमाल
नेपाली चलचित्र क्षेत्रलाई व्यावसायिक रुप दिन राजेश हमालको पनि योगदान छ । चलचित्रमा करिअर छ र ? भन्ने समयमा निरन्तर चलचित्रमै काम गरेर स्टारडम कायम गर्ने नायक हुन्, राजेश । भलै, उनले रोजेर चलचित्र खेल्न नसकेको र चलचित्र क्षेत्रलाई गाइड गर्न नसकेको आरोप लाग्दै आएको छ । तर पनि उनले नेपाली चलचित्रलाई व्यावसायिकताको बाटो देखाए ।
करुण थापा
नेपाली चलचित्र क्षेत्रले करुण थापाको पनि योगदान भुल्न सक्दैन । डिजिटल सम्पादनको काम सुरुमा गर्ने नै उनै हुन् । करुणले दर्जनौँ चलचित्रमा आफ्नो कुशलता देखाएका छन् । अहिलेका अधिकांश ऐडिटरहरुले करुणसँगै सिकेका हुन् । नेपाली चलचित्रको डिजिटलाइज संस्थागत गर्नुमा उनको ठूलो योगदान छ ।
डा. भोला रिजाल
डा. भोला रिजाल निर्माताको हिसाबले नेपाली चलचित्रले सम्मान गर्नुपर्ने नाम हो । पढे–लेखेका मान्छे नेपाली चलचित्रमा संलग्न नभइरहेको समयमा डा. रिजालले थुप्रै चलचित्र निर्माण गरे । निर्माण कम्पनी नै खोलेर उनले काम गरेपछि पढे–लेखेका व्यक्ति पनि चलचित्र क्षेत्रमा आउँदारहेछन् भन्ने राम्रो सन्देश पनि गएको थियो । त्योभन्दा अगाडि चलचित्र पढ्न–लेख्न नसक्नेहरु भेला हुने क्षेत्र भनेर आलोचना गरिन्थ्यो ।
नवीन सुब्बा/छिरिङ रितार शेर्पा
अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाली चलचित्र प्रतिनिधित्त्व गराउन प्रयास सुरु गर्ने निर्देशकहरु हुन्, नवीन सुब्बा र छिरिङ रितार शेर्पा । इन्टरनेसनल फिल्म फेष्टिभलमा नेपाली चलचित्र लैजाने सुरुआत गर्ने श्रेय छिरिङ र नवीनलाई जान्छ ।
बम्बइया शैलीका नेपाली चलचित्र बनिरहेको समय आफ्नै माटोको कथा आफ्नै शैलीले भनेर नवीन र छिरिङले अन्तर्राष्ट्रिय फिल्म फेष्टिभलमा लगेकाले उनीहरुको योगदान पनि नेपाली चलचित्रले भुल्ने छैन ।
नवीन नेपालमा वैकल्पिक धारको चलचित्रका लागि लामो समयदेखि वकालत गर्दै आएका निर्देशक हुन् । पत्रकारितामा रहँदादेखि निर्देशक भएर आजसम्म आउँदा पनि वैकल्पिक धारको वकालत गर्दै यसलाई स्थापित गर्नुपर्छ भनेर नथाकेका मेकर हुनु उनी ।
निश्चल बस्नेत
नेपाली चलचित्रमा निश्चल बस्नेत अर्को भुल्न नहुने नाम हो । समाजमा युवा पुस्ताले बोलिरहेको भाषालाई टपक्कै टिपेर ‘लुट’ बनाएपछि त्यसले नेपाली चलचित्रमा परिवर्तन ल्याइदियो । एउटै शैलीमा चलचित्र बनिरहेका बेला उनले बनाएको ‘लुट’ले ‘फरक धार’को चलचित्रको संज्ञा पायो । र, त्यसपछि बम्बइया शैलीमा बन्ने चलचित्रलाई मूल धार र उक्त सूत्रबाहिर रहेर बन्ने चलचित्रलाई ‘फरक धार’का चलचित्र भन्न थालियो । ‘लुट’पछि फरक धारका चलचित्र बन्ने क्रम बढेको र त्यस्ता चलचित्रले राम्रो समीक्षा पाउन थालेकाले निश्चल बस्नेत पनि नेपाली चलचित्र क्षेत्रले भुल्न नहुने नाम हो ।
दीपक रौनियार र मीन भाम
नेपाली चलचित्रमा विदेशी लगानी भित्र्याउन सुरु गर्ने र त्यसमा निरन्तर लागिरहने चलचित्रकर्मीहरु हुन्, दीपक रौनियार र मीन भाम । दीपकले ग्रान्ट पाएर ‘ह्वाइट सन्’ र मीनले ‘कालो पोथी’ निर्देशन गरेका थिए ।
उनीहरु अहिले पनि ग्रान्टको खोजी गरिरहेकै छन् । आफूसँग पर्याप्त लगानी नरहेको अवस्थामा विदेशी बजारबाट बजेट खोजेर पनि नेपाली चलचित्र बनाउन सकिन्छ भनेर बाटो देखाउने सिनेकर्मीका रुपमा उनीहरुलाई लिन सकिन्छ । अहिले उनीहरुको पदचाप पछ्याउँदै अरु नेपाली मेकरहरु पनि ग्रान्ट भित्र्याउन इन्टरनेसनल फिल्म मार्केटमा गएर स्टोरी पिच गर्न थालेका छन् ।
इन्टरनेसनल फिल्म फेष्टिभलका विभिन्न टाइटल जितेर दीपक र मीनले छिरिङ र नवीनले सुरु गरेको अभियानलाई मूर्तरुप दिए ।
मनोज पण्डित
नेपालमा राजनीतिक चलचित्र बनाउने प्रयास गर्ने निर्देशक हुन्, मनोज पण्डित । तत्कालीन नेकपा माओवादी शान्तिपूर्ण राजनीतिमा अवतरण गरेपछि केही राजनीतिक चलचित्र नबनेका होइनन्, तर तिनमा इमानदार प्रयास थिएन । कुनै एक व्यक्ति वा पार्टीको पक्षपोषण गर्ने उद्देश्य ती चलचित्रको थियो । तर, मनोजले भने राजनीतिक विषयमा पनि व्यावसायिक चलचित्र बनाउनुपर्छ भन्ने प्रयास गर्दै आएका छन् । ‘वधशाला’, ‘दासढुंगा’ उनले निर्देशन गरेका चलचित्र हुन् । ‘ग्रेटर नेपाल’लाई पनि चलचित्र मान्ने हो भने यो पनि राजनीतिक चलचित्र हो ।
उनले अर्को राजनीतिक चलचित्र ‘एक’ पनि निर्माण सम्पन्न गरिसकेका छन् । भलै, यो रिलिज भइसकेको छैन । माया–प्रेमकै सेरोफेरोमा नोपली चलचित्र अल्झिरहेका बेला राजनीतिक विषयमा पनि नोपली चलचित्र बन्नुपर्छ भनेर इमानदार प्रयास गर्ने मनोजलाई पनि नेपाली चलचित्र क्षेत्रले नजरअन्दाज गर्नु हुँदैन ।
छक्का पञ्जा समूह (दीपक–दीपा)
नेपालमा व्यावसायिक रुपमा सफल चलचित्र मेकर हो, ‘छक्का पञ्जा’ समूह । नेपालमा चलचित्रको ठूलो बजार छैन भनेर भनिएको बेला ‘छक्का पञ्जा’ समूहले निर्माण गरेको ‘छक्का पञ्जा’को सिरिजले नै करोडौँ रकम कमायो । १० करोडभन्दा माथि ग्रस कलेक्सन गर्न सफल यो समूहले मास अपिल गर्ने चलचित्र बनाउन सक्यो भने नेपाली बजारबाट पनि ठूलो रकम कलेक्सन गर्न सकिन्छ भन्ने प्रमाणित गरेको छ । त्यसैले व्यावसायिक चलचित्र मेकिङमा दीपकराज गिरी र दीपाश्री निरौला नेतृत्त्वको समूहलाई भुल्नु हुँदैन ।
क्यूएफएक्स चेन
चलचित्र क्षेत्र पनि कर्पोरेट हुनसक्छ भनेर प्रमाणित गर्ने काम नेपालमा क्यूएफएक्स चेनले गर्यो । नकिम उद्दिन, भाष्कर ढुंगानालगायत समूहले नेपाली चलचित्रलाई कर्पोरेट सेक्टरमा परिणत गरिदियो ।
सामान्य हल मात्रै रहेको अवस्थामा यो समूहले सुविधासम्पन्न हल निर्माण गर्यो । अक्सर मजदूर वर्ग मात्रै चलचित्र हेर्न गइरहेको समयमा क्यूएफएक्स चेनको स्थापनापछि आफूलाई सहरिया क्लासको मान्छे भन्न रुचाउनेहरु पनि परिवारसहित फिल्म हेर्न जान थाले । यसको श्रेय भने क्यूएफएक्स चेनले एकलौटी रुपमा लिन्छ ।
डीसीएन
नेपाली चलचित्र क्षेत्रमा डिजिटल प्रविधि भित्र्याउने कम्पनी डीसीएन हो । नेपाली चलचित्रलाई डिजिटलाइज गर्ने अभियानमा डीसीएनको ठूलो भूमिका छ ।
रिल बोेकेर हल–हलमा पुग्नुपर्ने अवस्थामा रहेको चलचित्र क्षेत्रलाई सर्भरबाट चलाउन मिल्ने अवस्थामा रूपान्तरण गर्न अशोक शर्माको डीसीएनले नेपालमै इन्कोड गर्ने प्रविधि पनि भित्र्याएको थियो । त्यसैले नेपाली चलचित्रमा डिजिटल युग भित्र्याउने योगदान अशोक शर्मालाई पनि जान्छ ।
रञ्जित गजमेर, अमर गुरुङ, गोपाल योञ्जन र शम्भुजित बास्कोटा
संगीतको क्षेत्रबाट नेपाली चलचित्रलाई योगदान दिने नाम हुन्, रञ्जित गजमेर, अमर गुरुङ, गोपाल योञ्जन र शम्भुजित बास्कोटा । सुरुआती कालखण्डमा रञ्जित गजमेर, अमर गुरुङ, गोपाल योञ्जनले नेपाली चलचित्रलाई संगीतमार्फत योगदान दिए । ५० को दशकको सेरोफेरोमा नेपाली चलचित्रको संगीतमा शम्भुजित बास्कोटाले टेवा पु¥याए । आम मानिसमाझ चलचित्रको संगीत पुर्याउने र चलचित्रको प्रचारका लागि शम्भुजितका गीत र संगीतको ठूलो भूमिका छ ।
एफटीआईआई
नेपाली चलचित्र क्षेत्रको विकासमा फिल्म एन्ड टेलिभिजन इन्स्टिच्युट अफ इन्डियाको पनि ठूलो योगदान छ । नेपालीलाई एफटीआईआईले छात्रवृत्तिमा सिनेमा पढ्ने सुविधा उपलब्ध गराउनु पनि वास्तवमा नेपाली चलचित्रका लागि योगदान थियो । एफटीआईआईमा पढेर आएका थुप्रैले नेपाली चलचित्रमा काम गरे । उनीहरुले नेपाली चलचित्रलाई मौलिकता दिन नसके पनि चलचित्र निर्माणको संरचना विकासमा भने योगदान गरेका छन् । त्यसैले कोलम्बो प्लानअन्तर्गत नेपाललाई एफटीटीआईले उक्त छात्रवृत्तिको मौका दिनु नै नेपाली चलचित्रका लागि योगदान थियो ।
सुनील पोखरेल/अनुप बराल
अभिनयको विधामा सुनील पोखरेल र अनुप बरालको पनि अप्रत्यक्ष रुपमा योगदान छ । विशेषगरी पछिल्लो दशक नेपाली चलचित्रमा रुचाइएका कलाकारमध्ये अधिकांश कुनै न कुनै रुपमा सुनील र अनुपबाट गाइडेड छन् ।
उनीहरुसँग अभिनय सिकेकाहरु नेपाली चलचित्रमा रुचाइने कलाकारका रुपमा छन् । दयाहाङ राई, सौगात मल्ल, विपीन कार्की, मेनुका प्रधानलगायत थुप्रै कलाकारले सुनील र अनुपसँग अभिनय कला सिकेका हुनाले उनीहरुको पनि अप्रत्यक्ष रुपमा चलचित्र क्षेत्रको वृत्ति विकासमा योगदान छ ।
पुस्कर श्रेष्ठ
पुस्कर श्रेष्ठ पनि नेपाली चलचित्रमा योगदान गर्ने व्यक्ति हुन् । कामना प्रकाशनमार्फत उनले चलचित्र क्षेत्रलाई गुन लगाएका छन् । ‘कामना’ नामक पत्रिका प्रकाशन गर्दै चलचित्रलाई केन्द्रित गरेर समाचार सामग्री निर्माण गरेकाले चलचित्र क्षेत्रको विकासका लागि उनको योगदान चलचित्रकर्मीले बिर्सिदैनन् । पत्रिकाहरुमा सामान्यतः फिल्मी समाचारले खासै स्थान नपाइरहेको अवस्थामा कामनाले चलचित्र क्षेत्रका समाचार खोजी–खोजी दिन सुरु गरेकाले पुस्करको योगदानलाई चलचित्र क्षेत्रले भुल्दैन ।
ओस्कार इन्टरनेसनल कलेज
फिल्म पढाउने केही इन्स्टिच्युट भए पनि ओस्कार इन्टरनेसनल कलेज विश्वविद्यालयबाट सम्बन्धन लिएर फिल्म पढाउने नेपालको पहिलो कलेज हो । फिल्म नै पढेर यसमै करिअर खोज्नेहरुका लागि अवसरको ढोका खोल्ने कलेज हो, ओस्कार इन्टरनेसनल कलेज । पछिल्लो समय यो कलेजमा पढेका थुप्रै विद्यार्थी मेकरका रुपमा आइरहेका छन् ।
मीन भाम, नरेशकुमार केसी, विनोद पौडेल, सुजित बिडारीलगायत थुप्रै निर्देशक ओस्कार कलेजका उत्पादन हुन् । त्यसैले यो कलेजको पनि चलचित्र विकास र विस्तारमा योगदान रहेको छ ।
कमल थापा
राजनीतिज्ञ कमल थापाको पनि नेपाली चलचित्रमा योगदान छ । चलचित्रमा रहेको कर छुट उनी सञ्चारमन्त्री भएका बेला भएको थियो । ठूलो लगानी गरेर चलचित्र निर्माण हुने तर व्यापार राम्रो नगर्ने चलचित्रलाई सरकारले गरिदिएको कर छुटले पनि मेकरलाई ठूलो राहत प्रदान गरेको थियो । त्यसैले उनको पनि चलचित्र क्षेत्रमा योगदान रहेको छ ।