काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखका लागि पार्टी आवश्यक परे सडक संघर्ष गर्नसमेत तत्पर रहेको बताएका छन् । साउन २ देखि ५ गतेसम्म चलेको सेक्रेटरियट बैठक समापनका सन्दर्भमा पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा उनले स्थिर सरकारका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको वकालत गरेका हुन् ।
“पहिलो संविधानसभामा सबै दल प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखका लागि सहमत थिए । माओवादीले त्यसमा सबैलाई राजी गराएकै हो । दोस्रो संविधानसभामा माओवादी तेस्रो दलमा खुम्चिएकाले त्यो सम्भव भएन । विकास र राजनीतिक स्थायित्वका लागि प्रत्यक्ष प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखका आवश्यक छ,” उनको भनाइ थियो ।
२००७ देखि अहिलेसम्म पनि कुनै सरकार पाँच वर्ष टिक्न नसकेको भन्दै उनले राजनीतिक प्रणाली फेर्नपर्ने आवश्यकता औँल्याएका हुन् ।
निर्वाचन प्रणाली फेर्नुपर्छ
निर्वाचन प्रणालीकै कारणले माओवादी तेस्रोमा खुम्चन पुगेको उनको धारणा थियो । उनले कांग्रेस–एमालेले गाउँपालिका प्रमुख जित्न करोड भन्दा माथि खर्च गरेको प्रमाण आफूसँग भएको दाबी गर्दै प्रदेश प्रमुखमा चुनाव लड्न पाँच करोडमाथि खर्च गर्नुपर्ने समय आउन लागेको भन्दै चिन्ता प्रकट गरे । त्यसका लागि उनले निर्वाचन प्रणाली फेर्नुपर्ने प्रस्ताव गरे । सचिवालयको बैठकले पूर्ण समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्न सबै दलसँग छलफल अघि बढाउने निर्णय भएको उनको भनाइ थियो ।
“यस्तो पनि दिन आउन सक्छ, गरिब, निम्नवर्गले मात्रै होइन, मध्यमवर्गीय परिवारले पनि चुनाव लड्न नसक्ने परिस्थिति बन्न सक्छ,” पत्रकारबीच उनले भने, “निर्वाचन प्रणाली फेरिएन भने चुनाव लड्न धनीमान्छे खोज्दै हिँड्नुपर्ने हुनसक्छ ।”
दुःखीले मात्रै पत्याए
स्थानीय तहको दुई चरणको निर्वाचनमा सहर क्षेत्रबाट विश्वास जित्न नसकिएको प्रचण्डको गुनासो थियो । “हामीलाई दूरदराजका जनताले मात्रै पत्याए, गाउँबाटमात्रै भोट आयो,” उनले भने, “सहरमा लोडसेडिङ हटाएको, बाटो बढाएको केही काम लागेन । छुँदै छोएन । सहरमा पैसा खर्च गर्न नसकेर चुनाव नजितिएको पो कि लागेको छ हामीलाई ।”
जसले जिते पनि माओवादीकै काम गर्ने हो
गणतन्त्र, धर्मनिरपेक्षता, नयाँ संविधान, स्थानीय तहको निर्वाचन माओवादीकै एजेन्डा भएकाले जसले जिते पनि माओवादीले उठाएकै विषय कार्यान्वयन भएको प्रचण्डको भनाइ थियो । “पहिलो चरणको निर्वाचन हुँदा पनि मैले भनेको थिएँ,” उनले भने, “अहिले पनि भन्छु, कांग्रेस, एमाले जसले जिते पनि माओवादी केन्द्रकै एजेन्डा लागु गर्ने हो । माओवादीकै काम गर्ने हो ।”
पार्टी एकीकरण अपरिहार्य
माओवादी केन्द्र तेस्रोमा खुम्चनुको सहायक कारण पार्टी विभाजनलाई पनि औँल्याइएको प्रचण्डको भनाइ थियो । उनले पार्टी एकीकरण अभियानलाई अघि बढाइए पनि त्यसको प्रभाव निर्वाचन परिणाममा नदेखिएको उनले बताए ।
“यो बैठकले पार्टी एकता प्रक्रियालाई पूर्णता दिने कुराको आवश्यकता महसुस गरेको छ,” उनले भने, “मोहन वैद्य, बाबुराम भट्टराई, नेत्रविक्रम चन्द नेतृत्वका घटक र सम्पूर्ण कम्युनिष्ट क्रान्तिकारीहरूलाई अपिल गरेका छौँ,” उनले प्रष्ट्याए ।
तेस्रो होइन वैकल्पिक
आफ्ना तमाम राजनीतिक कमजोरीका बाबजूद जनताले पार्टीप्रति भरोसा व्यक्त गरेको प्रचण्डले बताए । उनले एमाले–कांग्रेसजस्तो यथास्थितिवादी पार्टीको माओवादी केन्द्र वैकल्पिक शक्ति बन्ने दाबी गरे । उनले कमीकमजोरी सच्याउँदै पार्टी जनताको बीचमा जाने पनि स्पष्ट पारे । “जनतासँगको सम्बन्ध सुदृढ तुल्याउँदै गाउँ टोलमा जाने निर्णय गरेका छौँ,” उनले थपे ।
पार्टीले स्थानीय तहमा निर्वाचित वडाध्यक्षदेखि गाउँ नगरपालिकाको प्रमुख उपप्रमुखसम्मको भेला आगामी २०, २१, २२ गते काठमाडौँमा गर्ने निर्णय गरेको प्रचण्डले जानकारी दिए ।