सप्तरी । सप्तरीको पश्चिमी क्षेत्र डाक्नेश्वरी–८ मा बुधबार दिउँसो केही बुद्धिजीवी निन्याउरो अनुहार लगाएर बसेका थिए ।
“खेतमा पानी भइदिएको भए, यी गोरुहरू कहाँ गोठमा हुन्थे र । यतिबेला जोतिरहेका हुन्थे,” शिक्षण पेसाबाट सेवानिवृत्त स्थानीय भुवनेश्वर यादवले टीठ लाग्दो अनुहार पारेर बताए ।
सिञ्चाइ सुविधा नहुँदा साउनको दोस्रो साता सुरु हुन आँटीसक्दासमेत आधाजसो खेतमा पनि रोपाईं हुन नसकेको पीडा पोखे उनले ।
डाक्नेश्वरीको अर्को समस्या हो, विद्युतको । वडा नम्बर आठमा दृष्टिविहीन परिवारका लागि घर बनाउन गएका भद्रगोलका कलाकारको टोलीको पहलमा बत्ती आयो भने अन्यत्रको समस्या उस्तै छ । “यहाँ गतिलो नेता छैनन्, उनीहरूलाई प्रतिशत छुट्टयाएन भने हाम्रो कुरै सुन्दैनन् । गाउँका लागि छुट्टयाएको बजेटमा उनै हात चल्छ । हाम्रो चल्दैन,” यादवले आक्रोश पोखे ।
उनले अगाडि भने, “पोल कुहिएर सामान्य हुरी चल्दा पनि भवितव्य आइलाग्ने हो कि भन्ने भय छ । अस्ती वडा नम्बर ५ मा दुईवटा भैँसी म¥यो । प्रशासनलाई भन्न गएको, पोलको नजिक किन बाँधेको त ? भन्दै हकार्यो,” उनले थपे ।
त्यतिमात्र होइन गाउँमा गतिलो विद्यालय छैन । डाक्नेश्वरीको स्थानीय विद्यालयमा कक्षा तीन र चारका विद्यार्थी एउटै कक्षा कोठमा पढ्न बाध्य छन् । “यहाँको बालबच्चा विद्यालय जाँदैनन् । विद्यालय पनि गतिलो छैन । शिक्षक पनि भनेको समयमा आउँदैनन् । विद्यार्थी नभएको भन्दै दुईवटा कक्षाका विद्यार्थी एकै ठाउँमा पठाउँछन्,” यादवले त्यहाँका शिक्षाको अवस्था चित्रित गर्ने प्रतिनिधि घटना सुनाए ।
“बाटोको समस्या उस्तै छ । वर्षा लागे पछि भररात जागै बस्नु पर्छ । कतिखेर बाढी आएर निल्ने हो यकिन छैन । चुनाव भइदिएको भए तराईले निकाश र विकास दुवै पाउँथ्यो । तर, नेताले चुनाव गराउने हुन् कि होइनन् ?,” खुइया काढे उनले ।
पटक–पटकको आन्दोलनले तराई जीर्ण बन्दै गइरहेको र अस्थिरताको भुँवरीमा फसेको अर्का स्थानीय नागेश्वर यादवले निराशा पोखे ।
“सबैतिर चुनाव हुने तर मधेसमाचाहिँ चुनाव सारिरहँदा हामीलाई पछि पारिएको हो कि भन्ने परको छ,” उनले भने ।
गाउँका लागि छुट्टयाइएको बजेट सीमित नेताको पोल्टामा परेको र तराईका भोका नांगा बस्ती सधैँ उस्तै रहेको टिप्पणी उनको थियो । तराईको समस्या बुझ्ना आउने राजमार्ग छेउछाउ घुमेर फर्कने तर भित्रि तराई पस्दै नपस्ने हुनाले मधेसका दीन–दुःखीका समस्या ज्युँका त्युँ रहेको उनको आसय थियो ।
उनले पनि यथाशीघ्र चुनाव भए मधेसले समस्याबाट मुक्ति पाउने विश्वास व्यक्त गरे ।
कांग्रेसका स्थानीय नेता मोहम्मद बसिरले पनि सरकारले चुनावको वातावरण बनाउनु पर्ने र दलहरूले त्यसमा सघाउनु पर्ने धारणा राखे । ६ वटा प्रदेशले आफ्ना प्रतिनिधि चुने । केही नभए पनि जनताले खबरदारी गर्न पाउँछन् । आफ्ना गुनासो राख्न पाउँछन् । हामी त्यसबाट बञ्चित भयौँ । चुनाव भएको भए आफ्नो समस्या राख्न त पाउँथ्यौं । स्थानीय तहमा कर्मचारी त छन्, तर उनीहरूलाई विकासको चासो छैन । आफ्नो जागिरको चिन्तामात्रै छ,” उनले भने ।
स्थानीय पत्रकार शिवहरि भट्टराईले पनि सप्तरीलगायत तराईका अधिकांश जिल्लामा चुनाव हुनेनहुने अन्यौलता हटिनसकेको बताए ।
“राष्ट्रिय जनता पार्टी स्वयम् चुनावमा भाग लिने नलिने द्विविधामा छ अरु पार्टीले पनि निर्वाचनको खासै तयारी थालेको देखिँदैन,” उनले भने ।
तराईमा अरु पार्टीको तुलनामा एमालेले उमेदवारको टुंगो लगाएर भित्रि तयारी गरिरहेको उनको भनाइ थियो ।