काठमाडौं । कोरोना संक्रमणका कारण धमाधम सिनेमा हलहरु बन्द भइरहेका छन् । हालसम्म देशभरका २२ वटा सिनेमा हल बन्द भइसकेका छन् भने अरु ३०–४० वटा बन्द हुने अवस्थामा पुगेका छन् ।
स्वास्थ्य मन्त्रालयले तेस्रो र चौथो कोरोनाको लहर आउनसक्ने र यसले सबैभन्दा धेरै असर बालबालिकालाई पार्नसक्ने भन्दै अस्पतालहरुलाई सोही अनुसारको तयारी थाल्न निर्देशन दिइसकेको छ ।
यस्तो अवस्थामा पोस्ट कोभिड चलचित्रको बजार कस्तो हुन्छ ? चलचित्रकर्मी र सरोकारवाला पक्ष र आम सुवेक्षुक तथा सुशचिन्तकमा जिज्ञासा छ ।
हल खुलेपछि दर्शक हलसम्म जालान् ?
कोरोनाको पहिलो लहरपछि करिब १० महिना बन्द भएर खुलेका सिनेमा हलमा दर्शक गएका थिएनन् । सिट क्षमताको ५० प्रतिशत दर्शक राखेर हल खोल्न सरकारले अनुमति दिएको थियो । तर, उक्त समय कुनै पनि चलचित्रमा दर्शकको आकर्षण देखिएको थिएन । भलै उक्त समय ठूलो ब्यानरका अपेक्षित चलचित्र रिलिज भने भएका थिएनन् । मेकरहरुले दर्शक नआउने भयले निर्माण सम्पन्न गरेर तयारी अवस्थामा रहेका चलचित्र पनि रिलिज गरेका थिएनन् ।
कोरोना संक्रमणको त्रास पूर्णरुपमा नहटेसम्म हलमा चलचित्र रिलिज गरेर जोखिम नलिने भन्दै उनीहरु पछि हटेका थिए । पहिलो चरणको कोरोना संक्रमणको लहर नसकिँदै दोस्रो चरणको लहरले छोपेपछि पुनः निषेधाज्ञा छ । त्यसैले कहिले निषेधाज्ञा खुल्ने र सिनेमा रिलिजको वातावरण बन्ने निश्चित छैन ।
तर, हल खुलेको अवस्थामा चलचित्रको बजार कस्तो हुने र निर्माताको अवस्था कस्तो रहने भन्ने तनाव अहिलेदेखि नै निर्मातामा देखिन थालिसकेको छ । वर्षौंबाट चलचित्रमा करोडौं लगानी गरेर बसेका निर्मातालाई यो छटपटी हुनु स्वाभाविक हो ।
तर, हल बन्द हुने क्रम जारी रहने र चलचित्र प्रदर्शनको मिति पर सर्दै जाँदा लगानी थपिँदो छ, त्यसैले मेकरलाई छटपटी छ । त्यसमा पनि हलहरु बन्द हुने क्रम बढेपछि पोष्ट कोभिडसम्म पुग्दा कति सिनेमा हल रहन्छन् भन्ने चिन्ता थपिएको छ । लामोसमय देखि हलबन्द हुँदा खर्च धान्न नसक्ने अवस्था आउँदा काठमाडौं उपत्यकाकै सहित देशभरका २२ ओटा हल बन्द भइसकेका छन् । चलचित्र संघका महासचिव अशोक शर्मा थप ३० देखि ४० ओटा हल बन्द हुने क्रममा रहेको बताउँछन् । सरकारले चलचित्र उद्योगलाई नजरअन्दाज गर्दै जाने हो भने हलहरु बन्द हुने क्रम नरोकिने र चलचित्र क्षेत्र तत्काल उठ्नै नसक्नेगरि पछि पर्ने बताउँछन् । कोरोनाका कारण लकडाउन हुनु अगाडि नेपालमा १९३ ओटा सिनेमा हल थिए ।
निर्देशक तथा वितरक सरकारले अहिलेकै जस्तै चलचित्र क्षेत्रलाई व्यवाहार गर्दै जाने हो भने नेपाली चलचित्र क्षेत्र १५ वर्ष अगाडिकै अवस्थामा फर्किने बताउँछन् । जुनबेला नेपालमा मल्टिप्लेक्सहरु भर्खर बन्न सुरु गरेका थिए । जति पनि सिनेमा हल थिए, ति अधिकांश सिंगल थिएटर थिए ।
“अहिलेकै जस्तै अवस्था हुने हो भने २००७/२००८ को अवस्थामा नेपाली चलचित्र क्षेत्र पुग्छ । जुनसमय जयनेपाल, कुमारी, गोपीकृष्णजस्ता हलहरुमात्रै थिए,” वितरक तथा निर्देशक प्रचण्डमान भन्छन्, “सरकारले यो बीचमा हस्तक्षेत्र गरेर सहयोग, संरक्षण तथा पुनरउत्थानको नीति लिएर आयो भने अवस्था कमजोर नहोला अन्यथा हामी धेरै अगाडिको अवस्थामा फर्किने छौं ।”
उनी सरकारले चलचित्रको अनुत्पादक क्षेत्रमा लगानी गर्न बन्द गरेर आवश्यक क्षेत्रमा लगानी गर्दै अभिभावकत्त्व निर्वाह गर्नुपर्ने बताउँछन् । सरकारले काभ्रेमा स्टुडियो बनाउने, सातओटै प्रदेशमा छायांकनस्थल बनाउने, गणेश हिमाल क्षेत्रमा छायांकनस्थल बनाउन सम्भाव्यता अध्ययन गरेर काम सुरु गर्ने कार्यक्रम बजेटमार्फत अगाडि सारेको छ । यसलाई उनी सरकारको अनुत्पादक क्षेत्रको लगानी भन्छन् । यी कार्यक्रमको बजेट अहिले चलचित्र क्षेत्रलाई कसरी चलायमान बनाउन लगानी गर्नुपर्नेमा जोड दिन्छन् । नेपाली चलचित्र क्षेत्र आर्थिकरुपमा ठूलो नभएकाले सरकारले चाहेको खण्डमा तुरुन्तै पुनरउत्थान गर्न सक्ने उनी बताउँछन् ।
“निर्माता, वितरक, प्रदर्शक सबैको हकमा राज्यले लगानी गर्नुपर्छ । दुईवर्षदेखि करोडौं लगानी गरेर बसेका चलचित्र अझै कहिले प्रदर्शन हुने हो टुङ्गो छैन । नेपाली चलचित्र घाटामै त जाने हो रिलिज भएपनि भन्ने पनि सुनिएको छ,” प्रचण्डमान भन्छन्, “त्यसो भनेर हुँदैन । कतिपय चलचित्रले राम्रो व्यापार गर्दैनन् होला तर त्यसले चलचित्र क्षेत्रलाई चलायमान गराइरहको हुन्छ ।”
डेढ करोडमा बनेको चलचित्रले ५० लाख रुपैयाँ मात्रै कलेक्सन गर्दा एक करोड डुबे पनि त्यो पैसा नेपाली बजारमै चलायमान हुन्छ भन्दै उनी भन्छन्, “त्यसले कति प्राविधिक, कलाकार, प्रर्दशक, वितरकले रोजगारी पाइरहेका हुन्छन् भन्ने तथ्यलाई बिर्सिनु हुँदैन ।”
वर्सेनि चलचित्र बनाइरहेका निर्देशक दीपेन्द्र के खनाल पोष्ट कोभिड तत्काल चलचित्र प्रदर्शन गर्ने निर्मातालाई सहज नरहेको बताउँछन् । चलचित्र घरहरु बन्द हुँदै गएको र नागरिकले कोरोनाविरुद्धको खोप लगाउन नपाएको अवस्थामा चलचित्र क्षेत्रका लागि सहज नहुने उनको ठम्याइ छ ।
कोरोनाको तेस्रो लहर आउने भनेर सरकारले आवश्यक तयारी गर्न भनिरहेकाले यदि तत्काल बजार खुलेर सिनेमा रिलिजको अनुमति पाए पनि दर्शक हलमा जान्छन् कि जाँदैनन् भन्ने अन्योल रहेको भन्दै उनी खोप सबैले नलगाउँदासम्म दर्शक ढुक्कले सिनेमा हल जाने वातावरण नबन्ने बताउँछन् ।
हलहरु जति बन्द हुँदै जान्छन् त्यति नै मेकरहरुलाई घाटा थपिँदै जाने उनको भनाइ छ । काठमाडौंको मुटुमा रहेका ‘कुमारी’, ‘जयनेपाल’ र ‘गोपीकृष्ण’ हल बन्द हुनु मेकरका लागि ठूलो घाटा रहेको निर्देशक दीपेन्द्र बताउँछन् । यी हलका ठाउँमा अरु हल निर्माण नहुँदासम्म मेकेरले क्षति वेहोर्नुपर्ने उनको भनाइ छ ।
‘कुमारी’, ‘जयनेपाल’ र ‘गोपीकृष्ण’का ‘गोपी’, ‘कृष्ण’, ‘राधा’ र ‘मीरा’ हलका साथै बालाजुको गंगा हल बन्द भइसकेका छन् ।
दीपेन्द्रका अनुसार ‘कुमारी’, ‘जयनेपाल’मा शाही नेचरका दर्शक आउँथे । उनी भन्छन्, “यी हलमा आउने दर्शक अब कुन हलमा जान्छन् ।”
उनका अनुसार यी हलमा एक/डेढ महिना चलेका चलचित्रबाट औसतमा निर्माताको खल्तीमा ५०–६० लाख रुपैयाँ आउथ्यो । यी हलबन्द हुँदा रिलिज भएका चलचित्रका निर्माताले यो रकम गुमाउने छन् ।
वितरक, कलाकार तथा निर्देशकसमेत रहेका अशोक शर्मा काठमाडौं उपत्यकाबाट एक करोडसम्म निर्देशकलाई घाटा लाग्ने गरेको बताउँछन् ।
“चलचित्र छक्का पञ्जाबाट निर्मातालाई गोपीका बन्द भएका हलबाट करिब ५० लाख, कुमारीबाट २५ लाख र जय नेपाल हलबाट करिब २२ लाख रुपैयाँ गएको थियो,” अशोक भन्छन्, “यी हल बन्द हुनु भनेको ब्लक बस्टर चलचित्रका निर्मातालाई करिब एक करोड घाटा हुनु हो ।”
उनका अनुसार लगानी उठाएर सामान्य आम्दानी गर्ने चलचित्रका निर्मातालाई यी हलबाट २०–२२ लाख, कुमारीबाट १५–१६ लाख र जय नेपालबाट ५–६ लाख रुपैयाँ प्रदर्शक र वितरकको सेयरबाहेक निर्माताकोमा पुग्थ्यो ।
निर्देशक दिनेश राउत कोरोना संक्रमणपछि ठूलो हाइप भएका केही चलचित्र नआउँदासम्म बजार पुरानै अवस्थामा नफर्किने बताउँछन् । नेपाली होस् अथवा बलिउड वा हलिउड धेरैले पर्र्खिएको चलचित्र आउनुपर्नेमा उनको जोड छ । अन्यथा समय लाग्ने उनको भनाइ छ ।
ब्यापारको अंकगणित भने पहिला पनि सन्तोषजनक नरहेकाले अहिले पनि उस्तै रहने उनी बताउँछन् । “नेपालमा १० प्रतिशत चलचित्रले मात्रै मुस्किलले लगानी उठाउने हो । त्यसैले अहिले के होला भन्ने त्यति धेरै डराउनु पर्ने अवस्था छ भन्ने लाग्दैन,” उनी भन्छन्, “सुरुमा हलिउड र बलिउडका राम्रा चलचित्र आए भने दर्शक हलसम्म जालान् भन्ने लाग्छ ।”
सिनेमा क्षेत्रलाई खुला गरेपछि सिनेमा निर्माण भने पुरानै गतिमा हुने निर्देशक दिनेश बताउँछन् । “पहिलो चरणको लकडाउनपछि पनि पहिलाकै गतिमा चलचित्र फ्लोरमा गएका थिए । र, जाने तयारीमा मेकरहरु थिए । त्यसैले अब पनि मेकरहरु चलचित्र बनाउँछन् भन्ने लाग्छ,” उनी भन्छन्, “यद्यपि, अब केही न्यून लगानीमा कन्टेन्ट बेसमा चलचित्र बनाउनुपर्छ भन्ने निष्कर्षमा मेकरहरु पुग्नु भएको छ ।
कोरोनाको पहिलो लहरसँगै सिनेमा क्षेत्र करिब–करिब ठप्प छ । बीचमा केही सिनेमा छायांकनमा गए पनि सबै बीचमै अलपत्र परेका छन् । सिनेमा हल केही समय ५० प्रतिशत अकुपेन्सीमा खुले पनि १० प्रतिशत चलचित्र घरमात्रै सञ्चालनमा आएका थिए ।
कोरोना अगाडि निर्माण सम्पन्न भएर प्रदर्शनको तयारीमा रहेका र बीचमा प्रोडक्सनको काम सकेका गरि तीन दर्जन चलचित्र रिलिजका गर्न सकिने अवस्थामा छन् । यी चलचित्रमा रहेको ठूलो रकम फ्रिज भएर बसेको छ ।