काठमाडौं । नेपाली चलचित्रलाई सधैं लाग्ने एउटा आरोप हो– नेपाली चलचित्र भारतीय सिनेमाको डुप्लिकेशसन हुन् । अर्थात नेपाली चलचित्र हुबहु भारतीय चलचित्रजस्तै हुन्छन् । सुरुका वर्षदेखि नै यो आरोप नेपाली चलचित्र क्षेत्रले सामना गर्दै आएको छ ।
पहिलो नेपाली भाषाको चलचित्र ‘सत्यहरिशचन्द्र’ नै हिन्दी चलचित्रको अनुवाद थियो । ‘आमा’ केही भारतीय कलाकारसहित भारतीय निर्देशकले निर्माण गरे । त्यसपछि भारतबाट आएका नेपालीभाषीले नेपालमा लगातार चलचित्र निर्देशन गरे । पछि भारतको फिल्म एन्ड टेलिभिजन इन्स्टीच्युट अफ इन्डिया (एफटीआईआई)मा पढेर आएकाहरुले नेपाली चलचित्र बनाउन थाले । ५० को दशकमा नेपालीभाषी भारतीय निर्देशक र भारतमा पढेर आएका निर्देशकहरुका एडीले निर्देशन गर्दा बम्बइया सूत्रबाट नेपाली चलचित्र अलग हुन सकेन ।
त्यसपछि वर्ल्ड सिनेमा हेरेर र सिनेमा स्कुुल पढेर निर्देशनमा आएको पुस्ताले बम्बइया सूत्रबाट त आफूलाई अलग गर्यो । तर, के यो पुस्ताले नेपाली चलचित्रलाई मौलिकता दिन सक्यो ?
केही सक्यो भन्छन् त केही सकेन । तर, सत्य के हो भने मुम्बइबाट नेपाली चलचित्र अलि पर सरेर इरान, कोरिया, युरोप र हलिउडसम्म पुग्यो । जसरी मुम्बइका चलचित्र नक्कल गर्ने प्रयास भयो त्यही प्रयास इरान, युरोप, अमेरिका र कोरियाका चलचित्र हेरेर त्यस्तै खालका सिनेमा बनाउने प्रयास भइरहेको छ । अहिले आफूलाई इन्डिपेन्डेन्ट मेकर भन्नेहरु मुम्बइबाट अलि पर जान प्रयासरत छन् ।
मौलिक भनेर प्रचार गरिएका चलचित्र वास्तवमा मौलिक होइन बलिउड सूत्रमा मात्रै नबनेर अरु कुनै चलचित्र उद्योगबाट प्रभावितमात्रै होइन कतिपय अवस्थामा कपी समेत भइरहेको निखिल उप्रेती बताउँछन् ।
“नयाँ धार भन्नेहरुले अलि परको चलचित्र उद्योग कोरियन चलचित्र उद्योगलाई प्रयोग गरे । ढाका टोपी र अस्कोट लगाएर कोरियन चलचित्रबाट प्रभावित भएपछि नयाँ धार हुँदोरहेछ यहाँ,” निखिल भन्छन्, “कहिले कहीँ आफ्नो पन भनेर अरुको चलचित्रबाट प्रभावित भएको देखिएको छ । मौलिक भनेर बनाइएको चलचित्रले अन्तर्राष्ट्रिय अवार्ड पाएर आएपछि चलचित्र विदेशी चलचित्रको कपी भएको सबैले देखेकै हो ।”
आफ्नो पन बोकेका चलचित्र बन्नुपर्ने तर अलि कमको आँखा परेको उद्योगबाट ल्याएर त्यसैलाई यही नै मौलिक नेपाली चलचित्र हो भन्न नहुने उनी बताउँछन् ।
इरानमा बाल मनोविज्ञानसँग सम्बन्धित थुप्रै चलचित्र बन्छन् । बाल मनोविज्ञानमा अब्बल चलचित्रको खोजी गर्दा इरान पुगिन्छ । त्यसैले यसको प्रभाव पछिल्लो समय नेपालमा पनि पर्न थालेको देखिन्छ । चलचित्र ‘डाइङ क्यान्डल’मा केही हदसम्म इरानी चलचित्रको प्रभाव देखिन्छ । चाइल्ड साइकोलोजीमा बनेको यो चलचित्रले भाइले दिदीलाई गर्ने माया देखाउन खोजिएको छ ।
“आर्ट अहिले पनि सतप्रतिसत निष्पक्ष र पूर्ण मौलिक हुँदैन भनिन्छ । त्यसैले कतै न कतै कसैको प्रभाव पर्छ नै । शशशचाइल्ड साइकोलोजीमा बनेकाले कहीँ कतै इरानी फे्लेबर डाइङ क्यान्डलमा पनि देखिन सक्छ होला,” निर्देशक नरेश भन्छन्, “तर, इरानी चलचित्रकै कपी भन्न चाहिँ मिल्दैन । विषय र प्रस्तुतिको केही अंश मिल्दैमा कपी हुँदैन । तर, केही चलचित्र त्यस्ता पनि होलान् ।” उनी बलिउड सूत्रमा लामो समय नेपाली चलचित्र बनेको बताउँछन् ।
केही नेपाली चलचित्र भने हुबहु छन्, जसले कोरियन चलचित्रको नक्कल गर्ने प्रयास गरे । ‘समर लभ’ कोरियन चलचित्रबाट धेरै हदसम्म प्रभावित चलचित्र हो ।
‘मेरो एउटा साथी छ’ र ‘सानो संसार’ पनि कोरियन चलचित्रको सूत्रमा छन् । ‘मेरो एउटा साथी छ’ कोरियन मिलेनियर फष्ट लभ’ र ‘सानो संसार’ कोरियन ‘माइडेजी गर्ल’ हेर्दा त्यहाँबाट कति कपी छन् भन्ने स्पष्ट हुन्छ ।
नेपाली चलचित्रमा ठूलो छाप छोडेका ‘सेतो सूर्य’ले युरोपियन र ‘कालोपोथी’ले इरानी चलचित्रको झल्को दिने एक निर्देशकको भनाइ छ । ‘लुट’ हलिउडको झल्को दिने चलचित्र भएको ति निर्देशक बताउँछन् ।
“यद्यपि लुट, सेतो सूर्य र कालोपोथीलाई हुबहु भन्न मिल्दैन । उताको फ्ेलेबर आउने मात्रै हो,” ति निर्देशक भन्छन्, “हलिउडमा पनि बालमनोविज्ञानमा आधारित चलचित्र बन्छन्, तर त्यहाँ इरानको जस्तो पूर्णतया आर्ट हुँदैन । बाल मनोविज्ञानमा बनेका चलचित्रमा पनि कमर्सियल भ्यालुसिहत राखेर बनाइन्छ ।”
५० को दशकसम्म बलिउडको कुनै एक अथवा दुईतीनओटा चलचित्रको हुबहु अनुवाद गरेर बनाइन्थ्यो । कथामात्रै होइन पात्र, अभिनयको तरिका र बिम्बसमेत हुबहु हुन्थ्यो ।
केही समय यता बलिउडबाट हुबहु अनुबाद त हुन छोड्यो तर केही मेकहरु अरु चलचित्र उद्योगबाट चलचित्रको कथा र शैली लिइरहेका छन् । यसको उदाहरणका रुपमा ‘मञ्जरी’ र ‘लभ स्टेशन’लाई लिन सकिन्छ । ‘लभ स्टेशन’ टर्किस फिल्मको कपी थियो भने ‘मञ्जरी’ बंगाली फिल्मसँग हुबहु मिलेको थियो ।
समीक्षक तथा निर्देशक दीपेन्द्र लामा बलिउडकै तहमा अहिले अन्य चलचित्र उद्योगबाट कपी हुने तथा प्रभावित हुने नगरे पनि आफ्नै मौलिक शैली निर्माण भने नेपाली मेकरले गर्न नसकेको बताउँछन् ।
“अनमोल केसी, प्रदीप खड्का, पल शाहलगायतका चलचित्र हेर्दा अहिले पनि नेपाली चलचित्रको झल्को आउँदैन । प्रस्तुति मात्रै होइन कथा पनि उस्तै छन्,” दीपेन्द्र भन्छन्, “हिरोनीको किड्नी फेल भएर हिरोले आफ्नो किड्नी उसलाई दिएको र क्यान्सर वा मुटुको रोग लागेको कथा नै मेकरहरु भनिरहेका छन्,” दीपेन्द्र भन्छन् ।
तुलनात्मक रुपमा सौगात मल्ल, दयाहाङ राई, विपिन कार्कीहरुले भने यस्ता कथामा काम गरेका छैनन् । भलै उनीहरुका चलचित्रमा पनि नेपाली जनजीवन बोल्ने मौलिक कथा र शैली भने अझै विकास हुन सकेको छैन ।
नेपाली चलचित्रको आफ्नै सिनेम्याटिक ल्याङग्वेज हुन नसक्नुको मुख्य कारण मेकरमा क्रिएटिभिटीको अभाव हो । “मेकरमा कि सामथ्र्य छैन अथवा आफूमा क्षमता भएर पनि आफ्नो कामप्रति विश्वास छैन,” दीपेन्द्र भन्छन्, “यिनै कारणले हो अझै पनि नेपालको आफ्नै मौलिक सिनेम्याटिक ल्याङग्वेज विकास हुन नसक्नुको कारण । त्यसैले पहिला बलिउडको फिल्म कपी गर्ने स्केलमा अहिले अरु चलचित्र उद्योगबाट कपी नभए पनि केहीले कपी गरिरहेका छन् ।”
निर्देशक तथा समीक्षक मनोज पण्डित नेपाली चलचित्र नवकोलोनाइजतर्फ उन्मुख रहेको बताउँछन् । संघर्ष कोलोनाइजेशनबाट उन्मुक्तिका लागि भए पनि पछिल्लो समय पुनः नेपाली चलचित्र नवकोलोनाइजेशनतर्फ अगाडि कढेको उनको ठम्याई छ ।
“नेपाली चलचित्रमा जतिसुकै आफ्नो पनको कुरा गरे पनि वास्तवमा यसको देहान्त भइसकेको अवस्था हो । नेपाली चलचित्र कोलोनाइज हुने प्रक्रियाबाट मुक्तिका लागि क्रान्ती नै गर्नुपर्छ,” मनोज भन्छन्, “यसबाट मुक्तिका लागि नयाँ चेतनाको विकास आवश्यक छ । मेकरमा जबसम्म राजनीतिक चेतना र सुझबुझ हुँदैन, यसबाट मुक्ति हुँदैन । तर, नेपाली मेकरहरु राजनीति भन्नबित्तिकै भाग्छन् । भाग्ने होइन यसलाई बुझेमात्रै अगाडि बढ्न सकिन्छ ।”
अहिलेको यथार्थ र चुनौति भनेकै नवकोलोनाइजेशनबाट मुक्ति रहेको उनी बताउँछन् ।
चलचित्रमा विदेशी लगानी भित्र्याउँदा विदेशीको प्रभाव अझै धेरै पर्ने एक निर्देशक बताउँछन् । ग्रान्टको खोजी गर्दा त्यससँगै विदेशी चलचित्रको पन नेपाली चलचित्रमा स्पष्ट देखिने ति निर्देशक बताउँछन् ।
“लगानीकर्ताले आफू अनुकूल चलचित्र बनाउने हो । त्यसैले आफूले लगानी गरेको चलचित्र यस्तो हुनुपर्छ भनेर उसले हस्तक्षेप गर्नु स्वाभाविक हो,” ति निर्देशक भन्छन्, “त्यसैले सकेसम्म ग्रान्ट होइन आफ्नै लगानीमा काम गर्ने क्रिएटिभ मेकरले मात्रै आफ्नै मौलिक चलचित्र बनाउन सक्छ ।”
नेपालमा ग्रान्ट धेरै नभित्रिए पनि वल्ल्र्ड सिनेमा हेरेका र फिल्म कलेज पढेका मेकरहरुले ग्रान्टका लागि प्रयास गर्दै आएका छन् ।