काठमाडौं । कलाकार मदनकृष्ण श्रेष्ठको अवस्था स्थिर रहेको छ । गएको शुक्रबार राति अचानक मुटुमा समस्या देखिएपछि उनलाई १ बजे राति गंगालाल अस्पताल लगिएको थियो ।
शुक्रबार राति ११ बजेदेखि नै मुटु धेरै दुख्यो भनेपछि अस्पताल लगिएको उनकी छोरी सरानाले जानकारी दिइन् । “मुटुमा रगत प्रवाह हुने नसा ९९ प्रतिशतले ब्ल्केज भएको रहेछ । १०० प्रतिशत नै भएको भए त हृदयाघात हुनेरहेछ । धन्न, हामीले समयमा नै अस्पताल लग्यौँ,” सरानाले भनिन् ।
शुक्रबार बेलुका अस्पताल लगिएको उनको शनिबार बिहान एन्जियोप्लास्टि गरेर स्टेन्ट (धातुको ट्युब) हालियो । उक्त शल्यक्रियामार्फत नाडी वा ग्रुइनमा धमनीमा ट्युब घुसाइन्छ । त्यसपछि मुटुको वरिपरि प्रभावित धमनीमा ट्युब थ्रेड गरिन्छ तथा बेलुन वा स्टेन्ट (धातुको ट्युब) घुसाइन्छ, जसले रोकिरहेको धमनी खुल्छ र रगत प्रवाह सामान्य गतिले हुन्छ ।
सरानाका अनुसार एन्जियोप्लास्टि गरेर स्टेन्ट हालेको यो दोस्रोपटक हो । यसअघि, सन् २०१९ को अक्टोबरमा पनि यो शल्यक्रिया गरिएको थियो ।
कोरोना पुष्टि भएपछि पहिलोपटक आठ दिन र दोस्रो पटक १४ दिन अस्पताल बसेर मदनकृष्ण यही जेठको दोस्रो साता घर फर्किएका थिए । तर, घर फर्किए पनि उनको कोरोना रिपोर्ट भने पोजिटिभ नै थियो ।
यसैकारण उनी घर फर्किएर पनि आरामले बस्न नपाएको सरानाले बताइन् । “ड्याडीलाई यो सबै पोस्ट कोभिडकै कारण भइरहेको हो । दोस्रोपटक अस्पतालबाट घर फर्केर पनि उहाँ आरामले बस्न पाउनुभएको थिएन,” उनी भन्छिन्, “एक छिन सन्चो भएको जस्तो भयो भने भोलिपल्टै फेरि गाह्रो हुन्थ्यो । उहाँको ब्लडप्रेसर स्थिर नै थिएन । तलमाथि भइरहेको थियो । यसैले पनि मुटुमा समस्या देखिएको हो ।”
एक साधारण निरोगी व्यक्तिले कोरोना र पोस्ट कोभिडलाई सजिलै हराउन सके पनि पहिले नै विभिन्न रोगले जकडेकै कारण मदनकृष्णलाई एकपछि अर्को समस्या देखिरहेको सरानाको बुझाइ छ । पार्केसन, छातीको समस्या, कन्स्टीपेसन, प्रोस्टेट, प्रेसर आदिले पहिलेदेखि नै मदनकृष्ण ग्रसित छन् ।
सरानाका अनुसार आज डिस्चार्ज गर्ने कुरा भए पनि अझै केही कमजोरी भइरहेकोले भोलि (बुधबार) अस्पतालबाट डिस्चार्ज गरिने चिकित्सकको भनाइ छ । केही कमजोरीबाहेक मदनकृष्णको स्वास्थ्य अवस्था सुधारोन्मुख छ र अहिले उनलाई अक्सिजनको सहायतामा राखिएको बताइएको छ ।
गएको वैशाख ६ गते परिवारका सदस्यसहित मदनकृष्णमा पनि कोरोना संक्रमण देखिएको थियो । यद्यपि, छोरा यमन, छोरी सराना र बुहारी रिंकुको रिपोर्ट नेगेटिभ आइसकेको छ । मदनकृष्णको रिपोर्टमा भने अझै कोरोना पोजिटिभ नै देखिएको छ ।