काटमाडौं । कोरोना भाइरसको जोखिम कम गर्न लगाइएको गत वर्षको पहिलो लकडाउनपछि विश्वका अन्य थिएटर जस्तै नेपाली रंगमञ्चले पनि आफुलाई पुनः उभ्याउने प्रयास गरिरहेको छ । तर नेपाली रंगमञ्चको यो प्रयासलाई फेरि कोरोनाको दोस्रो लहरमा गरिएको निषेधाज्ञाले थला पारिदियो ।
महामारी कहिले अन्त्य हुन्छ भन्ने अन्यौल छ । यसबीच आफूलाई कसरी जीवित बनाइराख्ने भन्ने चुनौतीकाबीच केही देशहरूले विकल्पको रूपमा भर्चुअल नाटक मञ्चनलाई आत्मसात गर्ने कोसिस गरिरहेका छन् ।
नेपाली नाटकघरहरूले पनि अघिल्लो लकडाउनदेखि नै यसलाई विकल्पको रूपमा आत्मसाथ गर्दै आएका छन् । यसैमा पनि शिल्पी थिएटरले केही फरक र नयाँ प्रयोगको प्रयास गरेको छ ।
मंगलबार शिल्पी थिएटरले आफ्नो आधिकारिक युट्युबक च्यानलमार्फत एकअर्कालाई नहेरी र एकअर्काको उपस्थितविना ‘भर्चुअल लाइभ’ नाटक प्रस्तुत गरेको छ ।
फ्रान्सेली नाटककार झाँ–पल सात्र्र को ‘नो एक्जिट’ को नेपाली अनुवाद ‘अनुपस्थित तीन’ लाई चार जना रंगकर्मीहरूले आ–आफनो घरको कोठामा बसेर लाइभ प्रस्तुति दिएका हुन् । उनीहरूले एकअर्काविना टाढा आ–आफ्नो घरको कोठालाई मञ्चको रूपमा प्रयोग गरेर नाटक मञ्चन गरे ।
हुन त पहिलो लकडाउन खुलेसँगै शिल्पीले प्रत्यक्ष दर्शकको उपस्थितिमा आफ्नै गोठालो नाटक घरमा यो नाटक मञ्चन गर्ने तयारी गरिरहेको थियो । यसका लागि रंगकर्मीहरू रिहर्सलमा पनि थिए । तर, फेरि दोस्रो लहरका कारण निषेधाज्ञा जारी गरिएपछि आफूहरूले पनि विश्वभर प्रयोगमा ल्याउन खोजिएको वैकल्पिक माध्यम (भर्चुअल) लाई आत्मसात गरेको शिल्पीका निर्देशक घिमिरे युवराज बताउछन् ।
“यो महामारीको समयमा विश्वभरी नै रंगमञ्चलाई कसरी भर्चुअलमा लग्ने भन्ने प्रयास भइरहेको छ र हामीले पनि यो अभ्यास गर्ने कोसिस गरेका छौँ । हुन त हामीले यो नाटकलाई थिएटरमा गर्न रिहसर्ल गरिरहेका थियौँ । तर, फेरि कोरोना भाइरसको दोस्रो लहरले हामीलाई घरभित्रै बस्न बाध्य बनायो र अर्को विकल्प खोल्न बाध्य भयौँ,” उनले भने ।
उनकाअनुसार ‘नो एक्जिट’ले अस्तित्ववादी सोचलाई संसारभर नै स्थापित गर्न ठूलो भुमिका खेलेको र यो संसारभर नै निकै चर्चित नाटक हो । समग्रमा रंगमञ्च, साहित्य र विचारलाई नै प्रभाव पार्न सफल यस नाटकलाई नेपाली समाजको सन्दर्भमा मञ्चन गर्ने प्रयास गरेको घिमिरेले उल्लेख गरे ।
अवतार पाठकले गरेको नेपाली अनुवादको यस नाटकको परिकल्पना तथा निर्देशन घिमिरे स्वयम्ले गरेका हुन् ।
कोठाको सेतो भित्तामा पिँजडा झुण्डाइएको छ । ती भित्तामा चित्रहरू कुदिएका छन् र तीनवटा कुर्सी राखिएको छ । नाटकका तीन मुख्य पात्रहरू इच्छा, अभिलाषा र आजाद यो कोठामा यसरी बन्द हुन्छन् कि उनीहरू चाहेर पनि यहाँबाट निस्कन पाँउदैनन् ।
यस अनौठो कोठामा पहिले प्रवेश गरेका आजाद त्यहाँको म्यानजेरलाई भन्छन्, “यो यस्तै अनौठो हास्यास्पद कोठा होला भनेर त मलाई लागेकै थिएन । ठिकै छ विस्तारै बानी बस्ला नि ।”
आजादले अब भन्ने वाक्यले भने दर्शकलाई यो कुन कोठा होला भन्ने अनुमान लगाउन थोरै मद्दत मिल्न सक्छ ।
“तपाईलाई थाहा छ हामीलाई तल के भनिन्छ ?,” अजादको यो प्रश्नको खिल्ली उडाउँदै त्यस ठाँउका म्यानेजर भन्छन्, “तपाईं पनि कस्तो बकम्फुसे गफमा विस्वास गर्नुहुन्छ नि सर ! उनीहरूले आ सम्म यो ठाउँमा पाइला राखेकै छैन ।”
नाटकका तीन पात्रहरू यही तलका मानिसहरू कहिल्यै पनि पाइला नटेकेको र एकपटक टेकिसकेपछि लाख कोसिस गरेर पनि फर्कन नपाउने ठाउँमा पुगेका हुन्छन् ।
जहाँ उनीहरूको कुनै अस्तित्व हुँदैन । जहाँ उनीहरूलाई त्यही भएकाहरूलेबाहेक कसैले पनि सुन्न सक्दैनन् । तर रोचक कुरा उनीहरूले भने सबैका कुरा सुन्न मात्र होइन देख्न पनि सक्छन् ।
उनीहरू कहाँ छन् र कसरी त्यस कहिले र किन नफर्किने ठाँउमा पुगे भन्ने कुरा थाहा पाउन भने थाहा पाउन भने नाटक नै हेर्नुपर्ने हुन्छ ।
कलाकार उषा रजकले इच्छा, सलिल सुवेदीले आजाद, पवित्रा खड्का अभिलाषा र मानाङ लावतिले म्यानेजरको भूमिका निभाएका छन् ।
रंगकर्मी सलील सुवेदी यो नयाँ प्रयोग गर्न पाउँदा खुसी लागेको बताउछन् । उनी भन्छन्, “अहिले मेरो अगाडि एउटा सानो क्यामेरा मात्रे छ, जुनबाट संसारलाई देखाइरहेका छौँ । यो एउटा कम्प्लेक्स नाटक नै हो । यसलाई हामीले कतिको न्याय दियौँ थाहा भएन । तर यो सधैँ निरन्तर होला नहोला थाहा छैन । तर यस्तो समयमा पनि कलाकारको हिसाबमा केही उपलब्धिमुलक काम गर्न पाएकोमा गर्व महसुस पनि भैरहेको छ ।”
सजिलो परिस्थितिमा जसले पनि काम गर्न सक्ने भएकाले यस्तो गाह्रो परिस्थितीमा शिल्पी थिएटरको प्रयास र यसमा आफूलाई मौका दिएकोमा उनले खुसी व्यक्त गरिन् । रंगकर्मी पवित्रा खड्काले पछिल्लो प्रयोगले गाह्रो परिस्थितीमा पनि नाटकलाई निरन्तरता दिन सकिन्छ भन्ने आशा पलाएको बताइन् ।
त्यस्तै ब्याक स्टेजमा, गिरीश सुवेदी, स्मारिका फुयाँल, किरण महर्जन, किशोर महर्जन, शोम मानन्धर र देव न्यौपाने छन् ।