काठमाडौं । रेल्वे विभागले सरकारसमक्ष रेल किन्नका लागि प्रस्ताव गरेको छ । सन् २०१८ को अन्त्यसम्ममा रेल गुडाउने योजनाअनुसार रेल्वे विभागले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा रेल किन्नका लागि प्रस्ताव गरेको हो ।
“हामीले रेल किन्नका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा यो हप्ता प्रस्ताव गरेका छौं । सरकारले रेल किन्यो भने सन् २०१८ को अन्त्यसम्म नेपालमा कुदाउन सकिने छ,” रेल्वे विभागका प्रवक्ता प्रकाश उपाध्यायाले भने, “हाम्रोतर्फबाट सबै काम पूरा हुनेछ । मार्चसम्ममा सबै काम सकिन्छ ।”
सरकारले रेल किनेको खण्डमा बर्दिबास–जनकपुर–जयनगर खण्ड (४० किलोमिटर) मा २०१८ को डिसेम्बरसम्ममा रेल गुड्ने रेल्वे विभागको भनाइ छ । सुरुमा दुईटा मेसिन र कम्तिमा ब्रोड गेजको ६/६ वटा डिब्बा भएको रेल किन्नुपर्नेछ । प्रवक्ता उपाध्यायका अनुसार यसका लागि करिव ३ अर्ब रुपैयाँ लाग्नेछ ।
बर्दिबास–जनकपुर–जयनगर रेल्वे खण्डमा सिभिल इन्जिनियरिङको सबै काम सकिएको छ । “पुल, कल्भर्ट बनाएर माटो हालेर पुर्ने काम भइसकेको छ । अब बालास्ट (गिटी) र स्लिपर ल्याउनका लागि भन्सारको सबै काम सकिसकेको छ,” उपाध्यायले भने, “अब बाँकी लिक ल्याउने काम हो, त्यसको पनि काम भइरहेको छ । यी सबै काम हेर्दा मार्चसम्म सकिन्छ र रेल गुड्नका लागि रेल्वे तयार हुन्छ ।” बर्दिबास–जनकपुर–जयनगर रेल्वे खण्ड निर्माणको जिम्मेवारी भारतीय निर्माण कम्पनी ‘इरकोन’ ले पाएको छ ।जयनगर–जनकपुर रेल्वेको लिक ‘न्यारो गेज’ को भएकाले त्यसलाई भत्काएर नयाँ बनाइएको हो ।
९४५ किलो मिटरको पूर्व पश्चिम रेलमार्गको योजना बनाएको रेल विभागले सरकारले बजेट भने कम छुट्याउने गरेको गुनासो गर्दै आएको छ । चालु आर्थिक वर्षमा सरकारले जम्मा ४ अर्ब बजेट छुट्याएको छ । तर, यसमै मोनो रेल र मेट्रो रेलको बजेट पनि समावेश भएको छ । “यो बजेटमा हाम्रो भागमा आउने बजेट करिब २ अर्बमात्रै हो । यो बजेटले योजना अनुसार काम गर्न सकिँदैन,” प्रवक्ता उपाध्याय भन्छन्, “हामीले अर्थ मन्त्रालयसँग २० अर्ब बजेट माग गरेका छौँ ।”
चालु आर्थिक वर्षका लागि विनियोजित बजेटमा बर्दिबास–लालबन्दी (३० किलोमिटर) मा काम भइरहेको छ । यस क्षेत्रमा १० मिटरसम्म अग्ला ग्राभेलका संरचना निर्माण तथा कलभर्ट निर्माणको काम भइरहको प्रवक्ता उपाध्यायले बताए ।
तस्बिरः गुगल