काठमाडौं । कोरोना महामारीका कारण सन् २०२० पूरै लकडाउनमा बित्यो । लामो समय लकडाउन भएपछि हरेक क्षेत्रले विकल्प खोज्न थाले । फलस्वरुप, नेपाली नाटकघरहरु पहिलोपटक अनलाइन प्लेटफर्ममा भित्रिए ।
थिएटर मलले पहिलोपटक भर्चुअल रुपमा नाटक महोत्सवको आयोजना गर्यो । मण्डला नाटकघरका रंगकर्मी पनि भर्चुअल रुपमै लगभग दुई हप्ता लामो ‘प्लेब्याक थिएटर’मार्फत दर्शकसामु आए । यस्तै, अन्य थियटरहरु पनि अनलाइनमार्फत दर्शकसँग जोडिइरहने प्रयासमा रहे ।
सन् २०२१ सुरु भएसँगै महामारी केही स्थिर हुन थाल्यो र नाटकघरमा चलहपहल बढ्न थालिसकेको थियो । तर, फेरि कोभिड–१९ को दोस्रो लहरले पहिलेकै अवस्थामा फर्कायो ।
यस्तैमा केही हप्ताअगाडि मात्रै मण्डला नाटकघरका रंगकर्मीले युट्युबकेन्द्रित गरी ‘मितज्यू’नाटक तयार पारे र भर्चुअल रुपमा प्रसारण पनि गरे । यसले रंगमञ्चसँग सम्बन्धित व्यक्तिहरु र दर्शकबाट राम्रो प्रतिक्रिया पायो ।
अब नाटकघरले पनि विकल्पलाई आत्मसात् गर्दै अनलाइन प्लेटफर्ममा यसलाई लैजाने हो कि भन्ने राम्रो सम्भावना र छलफलको विषय पैदा गर्यो । ‘मितज्यू’ निर्देशन गरेका दयाहाङ राई आफैँले पनि डिजिटल माध्यमबाट पनि रंगमञ्चलाई निरन्तरता दिन सकिने बताए ।
“आज मितज्यू र यसअघिको लकडाउनमा थिएटर मलले गरेको अनलाइन नाटक महोत्सव हेरेपछि यसलाई यो माध्यममार्फत पनि अघि बढाउन सकिने रहेछ भन्ने मलाई लागेको छ,” कलाकार राई थप्छन्, “हरेक नाटकलाई सम्भव नहोला । तर, सकिनेचाहिँ रहेछ भन्ने लागेको छ ।”
यस्तै, लेखक/निर्देशक पुरु लम्सालले प्रविधिसँग अभ्यस्त भएर यसरी नै नाटक मञ्चनलाई निरन्तरता दिँदै जानुपर्नेमा जोड दिए । विपद्ले सम्भावनाको ढोका खोलिदिएको लम्सालको बुझाइ छ । “विपद्ले सम्भावनाको ढोका खोलिदिएको छ । तर, व्यावसायिक रुपमा कसरी अगाडि बढ्न सकिन्छ भन्नेचाँहि सोच्नुपर्नेछ ।”
नेपालको मात्रै नभई विश्वभरि नै रंगमञ्चबाट आर्थिक रिटर्न खोज्न गाह्रो अवस्था छ । नेपाल त अझ थिएटर कल्चर निर्माण गर्ने बाटोमा लम्किरहेको छ । यस्तोमा अनलाइन प्लेटफर्म नाटक देखाउनका लागि मात्रै भइरहेको अवस्था छ, आजसम्म । तर, अब स्थिति यस्तै भइरहे यस विषयमा सोच्नुपर्ने आवश्यकता रंगकर्मीहरुले महसुस गरेका छन् ।
तर, आर्थिक पाटोको विषयमा बहस चलाइरहँदा यसलाई यही विपद्मा र यस्तै परिस्थितिमा मात्रै सीमित राखिने हो कि भन्ने बुझाइ रंगकर्मी तथा निर्देशक केदार श्रेष्ठको छ ।
“रंगमञ्चको पहिलो धर्म भनेकै प्रत्यक्ष नाटक मञ्चन गर्नु हो । आज विपद्मा भएर यसरी गइरहेको छ । तर, सामान्य स्थितिमा पनि यसरी लग्यो भने रंगमञ्चको मूलमर्मलाई कसरी जोगाउने भन्ने बहस अब चलाउनुपर्ने भइसकेको छ,” उनले भने ।
यो अहिले विश्वभ्रिका रंगमञ्चहरुकै चिन्ताको विषय बनिसकेको छ । तर, कलाकार/निर्देशक राई भने अनलाइन प्लेटफर्ममार्फत धेरै अडियन्ससम्म पुग्न सकिने र त्यहीँबाट उनीहरुलाई नाटकघरसम्म डोहोर्याउन सकिने विश्वास व्यक्त गर्छन् ।
दर्शक भने यो माध्यमलाई राम्रो मान्छन् । कारण, काठमाडौंको कुनै एउटा नाटकघरमा नाटक मञ्चन हुँदा मोफसलका दर्शक अनि विदेशमा भएका नेपाली रंगमञ्चका दर्शकले हेर्न पाउँदैनन् । त्यस्तै, मोफसलमा हुँदा काठमाडौंका दर्शकले हेर्न पाउँदैनन् । यसैकारण दर्शक नाटक भर्चुअल र डिजिटल प्लेटफर्ममा आउनु राम्रो भएको बताइरहेका छन् ।