काठमाडौं । नेकपा (माओवादी केन्द्र)को विस्तारित बैठकमा बोल्ने अधिकांश प्रदेश इन्चार्जले संगठन कमजोर हुँदा पार्टीले पराजय बेहोुर्नपरेको औँल्याएका छन् । सोमबारबाट पार्टी मुख्यालमा सुरू भएको विस्तारित बैठकमा चुनावी समीक्षा प्रस्तुत गर्दै केन्द्रमा संगठन ठूलो भए पनि आधारभूत तहसम्म विस्तार गर्न नसकिएको जिकिर गरेका थिए । आइतबारको बैठकमा प्रदेश नम्बर १ बाट सावित्रीकुमार काफ्ले ३ नम्बरबाट हितमान शाक्य, ४ नम्बरबाट देव गुरुङ र ५ नम्बर प्रदेशबाट वर्षमान पुनले बोलेका छन् ।
गुरुङले भने– निर्वाचन प्रणाली नै गलत
आइतबार बोल्ने अधिकांश वक्ताले कमजोर संगठनलाई हारको कारण औँल्याए पनि ४ नम्बर प्रदेश संयोजक देव गुरुङले भने निर्वाचन प्रणाली नै गलत भएको बताउँदै यस्तो निर्वाचन प्रणालीले परम्परावादी संसदीय शक्ति नै विजयी हुने निष्कर्ष निकाले । “स्थानीय निर्वाचन पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष निर्वाचन प्रणाली) राख्नै हुँदैनथ्यो । हामी त्यहीँ चुक्यौँ,” गुरुङलाई उद्धृत गर्दै स्रोतले भन्यो, “समानुपातिक प्रणाली नराख्दा हामीले हार बेहोर्यौँ ।”
त्यस्तै उनले पार्टी सिद्धान्ततः विजयी भए पनि प्राविधिक कुरा मिलाउन नसक्दा पछि परेको पनि निष्कर्ष निकाले । “प्रतिष्पर्धी पार्टीको तुलनामा हामीले आर्थीक परिचालनलाई पनि व्यवस्थित बनाउन सकेनौँ, परिणामतः पराजित भयौँ,” उनले बैठकमा भने । त्यस्तै पहिलो चरणको निर्वाचनमा पार्टीले सरकारको नेतृत्व गरेकाले तयारी गर्न नसकेको र दोस्रो चरणको निर्वाचनमा पनि सरकार फेरबदलतिर लागेकाले जनताको बीचमा जान ढिला भएको उनको आसय थियो ।
वर्षमान भन्छन्– वैचारिक, सांगठनिक दुवै धार भुत्ते
५ नम्बर प्रदेश इन्चार्ज तथा कार्यालय सदस्य वर्षमान पुनले पार्टीको वैचारिक, सांगठनिक दुवै धार भुत्ते भएको तर्फ औँल्याएका छन् । उनले आफ्ना एजेन्डा जनतासमक्ष पुर्याउन संगठनसमेत नभएको भन्दै हारको प्रमुख कारण सोही भएको धारणा राखेका थिए ।
बैठकको सुरुमै बोलेका अध्यक्ष पुष्पकमल दाहालले पार्टीले बोकेका मुद्दाहरूले जिते पनि त्यसलाई मतमा रूपान्तरण गर्न नसकिएको बताएका थिए । त्यस्तै पार्टी सामाजिकीकरणमा चुकेको र जनताको बीचमा गएर काम गर्ने परिपाटी कम हुँदै गएको भन्दै उनले चिन्ता व्यक्त गरेका थिए ।
त्यस्तै उनले पार्टीभित्र गुटबन्दी मौलाउँदै गएकोतर्फ सचेत गराउँदै कि गुटबन्दीको अन्त्य हुनुपर्ने कि खुलेरै गुटबन्दी गर्नुपर्ने बताएका थिए । “कि गुटबन्दी अन्त्य गरौँ, प्रचण्डलाई उद्धृत गर्दै स्रोतले भन्यो, “कि आजबाट सबैले खुलेरै गुटबन्दी गर्न थालौँ ।”
कार्यालय सदस्य एवम् काठमाडौँका इन्चार्ज लेखनाथ पौडेलका अनुसार आज सातै प्रदेशका इन्चार्जहरूले समीक्षात्मक मन्तव्य राखेका छन् । विस्तारित बैठक तीन दिनसम्म चल्नेछ । र बैठकमा हारका कारणहरू मिहीन ढंगबाट केलाइने बताइएको छ । बैठकमा ९९ जना सचिवालय सदस्य र ७५ जिल्लाका इन्चार्जहरूको सहभागिता छ ।