site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पशुपतिमा यसरी व्यवस्थापन गरिँदै छ संक्रमित शव

काठमाडौं । कोरोना संक्रमितको मृत्युदर बढ्दै गएसँगै पशुपतिमा संक्रमितको शव व्यवस्थापनमा चुनौती थपिँदै गएको छ । पशुपतिस्थित विद्युतीय शवदाहगृहका दुईवटा मेसिनले धान्न नसकेपछि वाग्मती नदी किनारामा शव जलाइँदै छ ।

काठमाडौंमा कोरोना संक्रमणका कारण मृत्यु भएकाको शव विद्युतीय शवदाहगृहमा मात्र जलाइन्थ्यो । तर, मृत्यु हुनेको संख्या धेरै भएपछि वाग्मती किनारामा ३० वटा चिता बनाएर शव जलाउन थालिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

कोषका अनुसार विद्युतीय शवदाहगृहको एउटा मेसिन बिग्रिएर मर्मतको क्रममा रहेको छ । शवदाहगृहका प्रमुख सुवास कार्कीले अहिले पनि निःशुल्क रुपमा संक्रमित शव जलाउने गरिएको बताए । ‘‘दैनिक ७५ देखि ८० शव आउँछ । शव धेरै आएपछि मेसिनले धान्दैन,” उनले भने, ‘‘एउटा शव जलाउन करिब डेढ घण्टा लाग्छ । शव एकैचोटि पाँचदेखि १५ वटासम्म ल्याइन्छ ।” शव व्यवस्थापन गर्न थप अस्थायी घाट विस्तार गरिरहेको उनले जानकारी दिए ।

शवदाहगृहका अनुसार यहाँ सोमबार ८२ वटा र मंगलबार ७५ वटा शव ल्याइएका थिए । आज पनि करिब ८० वटा शवका लागि खबर आइसकेको शवदाहगृहले जनाएको छ । दैनिक शवको संख्या बढ्दै जाँदा मेसिनले मात्रै धान्न नसक्ने भएकाले अस्थायी घाट विस्तार गर्नुपरेको उनले बताए ।

कार्कीले उच्च सावधानी अपनाएर संक्रमित शव जलाउने गरिएको बताए । ‘‘हामीले अस्थायी घाट, दाउरा र शवदाहगृहमा स्वास्थ्य मापदण्ड अपनाएर शव व्यवस्थापन गरिरहेका छौँ । अहिलेसम्म पशुपतिमा आएकाजति सबै शवलाई जलाएर व्यवस्थापन गरिसकेका छौँ,” उनले भने  ।

उनका अनुसार संक्रमितको शव दाहसंस्कारमा आवश्यक सामग्री शवदाहगृहले उपलब्ध गराउँदै आएको छ । शवदाहगृहले अहिलेसम्म कसैबाट पनि रकम नलिएको कार्कीको भनाइ छ । कोरोना संक्रमणका कारण मृत्यु भएकाबाहेकका शव दाहसंस्कारका लागि भने खर्च लाग्ने उनले जानकारी दिए ।

‘‘त्यसको सबै व्यवस्थापन शवदाहगृहले नै गरिहेको छ । नेपाली सेना र शवदाहगृह मिलेर शव व्यवस्थापनको काम भइरहेको छ,” उनले बाह्रखरीसँग भने, ‘‘संक्रमितको शव जलाउनेदखि सबै व्यवस्थापनको काम नेपाली सेना र कोषको साझेदारीमा भइरहेको छ । सेनाले शव ल्याएर चितासम्म राख्ने काम गर्छन् । हामीलाई जनशक्ति चाहियो भने सेनाको सहयोग छ । शवदाहगृहको जनशक्तिले भ्याएन भने सेनाले सघाइदिन्छन् ।”

पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा. प्रदीप ढकालले संक्रमितको शव व्यवस्थापन गर्न ३५ जना जनशक्ति खटिएको बताए । ढकालका अनुसार पशुपति आर्यघाटमा दैनिक २०० वटा शव जलाउन सकिने क्षमता छ ।

‘‘हामीले मेसिनले धान्न नसक्ने हुँदा दाउरालाई नै प्राथमिकता दिएका छौँ । बाहिर संक्रमण नहुने गरी शव व्यवस्थापन गरिरहेका छौँ,” ढकालले भने, ‘‘संक्रमितको शव र अन्य शव खुला ठाउँमा जलाउँदा पर्यावरणमा उत्तिकै असर पर्छ । मुख्य कुरा शव व्यवस्थापन रोकिनु भएन । जलाइसकेको शवको धुवाँ र खरानीले संक्रमण हुँदैन । तर, बाहिरबाटै प्लास्टिकले राम्रोसँग बेरिएर व्यवस्थित रुपमा शव आउनुपर्‍यो । अझै पनि हामीले शव बढ्दै जाने क्रमलाई मध्यनजर गर्दै वाग्मतीको किनारामा घाट विस्तार गरिरहेका छौँ ।”

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, वैशाख २९, २०७८  १६:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro