पोखरा । यो दृश्य देख्न पर्सिसम्म बाँच्नुपर्छ । भोलिको दिन कुर्नुपर्छ । पर्सि त त्यही दृश्य पक्कै देखिनेछ । र, बाँच्नेले देख्नेछन् । अक्सिजन लेभल ह्वात्तै घट्दा, अक्सिजन नपाएर रिक्सामा प्राणपखेरु उड्नेले नदेख्न सक्छन् ।
सामाजिक सञ्जाल अहिले सहयोग र याचनाले भरिएका छन् । अक्सिजन, अस्पतालमा बेड, आईसीयू, भेन्टिलेटर, प्लाज्मा, रेम्डिसिभर आदि चाहियो भन्दै सामाजिक सञ्जालमा सहयोग माग्नेको कमी छैन ।
सुनसान सहरमा एम्बुलेन्स साइरन बजाउँदै दौडिरहेका छन् । देशको राजधानी काठमाडौँका अस्पताल उहिल्यै भरिए ।
यसअघि देशका अन्य भागबाट काठमाडौँ बत्तिने एम्बुलेन्स अहिले काठमाडौँबाट बाहिरी जिल्लाका अस्पतालतर्फ बिरामी ओसारिरहेको छ । तर, अस्पतालमा बेड पाउने अवस्था छैन । शनिबार मात्रै राजधानी काठमाडौँका चार अस्पतालले बिरामी भर्ना गर्न सक्दैनौँ भनेर हात उठाए ।
आर्यघाटमा सामूहिक दाहसंस्कार भइरहेका छन् । राजधानी बाहिर चाहिँ कोरोना संक्रमितको शव आफन्त आफैले अन्त्येष्टि गर्छन् र आफै संक्रमित हुन्छन् । सरकार आफैले स्वास्थ्य संकट नियन्त्रणबाहिर गएको घोषणा गरेको छ ।
कोरोना संक्रमणले पछिल्लो साता निधन हुनेको संख्या दोहोरो अंकले बढेको छ भने संक्रमितको संख्या १०औँ हजार नजिक छ ।
छिमेकी मुलुक भारत पछिल्लो समय निकै प्रभावित मुलुक हो । तर, भूगोल र जनसंख्यामा नेपाल सानो भए पनि संक्रमण दर चाहिँ भारतभन्दा बढी छ ।
पछिल्लो महिनामा दिनहुँ रेकर्ड तोड्नेगरि संक्रमण बढिरहँदा प्रधानमन्त्री केपी ओलीले शनिबार मात्रै विदेशी मिडियासँगको अन्तर्वार्तामा नेपालको कोरोना संक्रमण नियन्त्रणमै रहेको बताएका छन् । जबकी उनी ओली नेतृत्वको सरकारले केही गर्न नसकिने भन्दै आत्मसमर्पण गरिसकेको छ ।
अर्कातर्फ भारतबाट ल्याउने भनेको खोप करोडौँ कमिसनका कारण अलपत्र परेको छ र नागरिकहरु जोखिममा परेका छन् ।
कांग्रेस नेता चन्द्र भण्डारीले शनिबार बिहान सामाजिक सञ्जालबाट आँखैसामु मृत्यु देख्नुपर्ने स्थिति आएको बताउँदै कुनै अस्पतालमा आइसियु भए जानकारी पाउँ भनेर लेखेका छन् ।
बालुवाटारमै क्वारेन्टाइन बनाएर प्रधानमन्त्री ओलीले विदेशी मिडियासामु सफेद झुट बोलिरहँदा उनकै सचिवालयका दुई जना व्यक्तिलाई शनिबार नै संक्रमण पुष्टि भएको छ ।
फ्रन्टलाइनमा खटिने चिकित्सक र नर्स तथा सुरक्षाकर्मीलाई जोखिम भत्ता दिने भनेर बिदा नबस्न उर्दी जारी गरिएको छ भने अवकाशप्राप्त स्वास्थ्यकर्मीलाई पनि काममा आउन आग्रह गरिएको स्थिति छ । स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले पोहोरकै जोखिम भत्ता अहिलेसम्म पनि पाउन सकेका छैनन् । तर, नयाँ प्रकृतिको कोरोना संक्रमणको दर भने निकै बढिरहेको छ ।
देशभरिका ४३ जिल्लामा पूर्णरुपमा निषेधाज्ञा जारी गरिएको छ । अघिल्लो वर्षको लकडाउनबाट नोक्सानी खेपेर भर्खरै सुरु भएका पर्यटन क्षेत्र फेरि शून्यमा पुगेका छन् ।
राज्यविहिनताको यो महामारीमा केही सहयोगी संस्था तथा समूहले भने आफ्नै तरिकाले कोरोना संक्रमितको उपचार गरिरहेका छन् । उनीहरुले स्वास्थ्य सामग्रीदेखि परामर्शहरु फोनमार्फत वा प्रत्यक्ष रुपमा दिने गरेका छन् ।
सरकारले चीनबाट २० हजार थान अक्सिजन सिलिण्डर ल्याउने भनेको छ तर, प्रक्रिया भने अगाडि बढाएको छैन । राष्ट्रिय आविष्कार केन्द्र जस्ता संस्थाले केही मात्रामा राहत दिएका छन् । स्वास्थ्य मन्त्रालयले आफ्नो स्विकृतिबिना अक्सिजनको विक्री वितरण नगर्न चेतावनी दिएको छ ।
कोरोना संक्रमणको दर बढिरहँदा र निषेधाज्ञा हुनुपूर्व प्रधानमन्त्री स्वयं धरहरादेखि राम सीताको मूर्ति तथा निर्माण नै नभएका विकासे योजनाको शिलन्यास र उद्घानमा मान्छेको भीड लिएर उपस्थित भए ।
कोरोना संकटको उत्कर्ष चलिरहँदा र नागरिकले राज्य विहिनताको महशुस गरिरहँदा नेताहरु भने पनि शक्ति संघर्षको अन्तिम लडाइँमा छन् । प्रधानमन्त्रीको पद रहने वा नरहने, सरकारको नेतृत्व फेरिने वा नफेरिने शक्ति संघर्षको निर्णायक मोडमा दलहरु पुगेका छन् ।
पुस ५ को प्रतिनिधि सभा विघटन, त्यसपछि सर्वोच्चको फैसलाले संसद पुनःस्थापना, सत्ताघटक तत्कालीन नेकपाको विभाजन पश्चात एमाले र माओवादी केन्द्र, एमालेभित्र पनि ओली पक्ष र ओली इतर ।
यी राजनीतिक उपक्रमले पनि सोमबार एउटा निर्णय लिनेछ । तर, यो नितान्त कुर्सीको लडाई हो । सुविधाजनक बहुमतप्राप्त दलको आन्तरिक किचलोका कारण निम्तिएको संघर्षले राजनीतिक अस्थिरता फेरि चुलिएको छ ।
सत्तारुढ दल एमाले आफ्नै किचलोमा फसेको छ । एमालेभित्रको माधव कुमार नेपाल पक्षधर सांसदले आइतबार सामूहिक राजीनामा दिने र ओली नेतृत्वको सरकार जसरी भए पनि ढलाउने टुंगोमा पुगेको छ ।
वैकल्पिक सरकारको नेतृत्व लिन कांग्रेस सभापति शेरबहादुर देउवाले अन्य दलसँग परामर्श गरिरहेका छन् । यसको छिनाफानो पनि सोमबार ओलीले विश्वासको मत नपाएपछिको स्थितिमा सुरु हुनेछ ।
प्रधानमन्त्री केपी शर्मा ओली आफैले विश्वासको मत लिन चाहेका थिए । त्यसै आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले बैठक आह्वान गरेकी हुन् ।
ओलीले आफ्नो शक्ति परीक्षणको लागि चलिरहेको अधिवेशन अन्त्य गरेर विशेष अधिवेशन आह्वान गर्न लगाएका हुन्, न कि कोरोना नियन्त्रणको लागि संसदबाट कुनै संकल्प गर्न ।
तर, राजनीतिक संक्रमणमा ओलीमात्र नभई अन्य दलको सहभागिता पनि उत्तिकै छ । संसदमा प्रतिनिधित्व गर्ने सबै दलले आ–आफ्नो लाभ खोजिरहेका छन् । विशेष अधिवेशनमा शक्ति संघर्ष मात्र हुनेछ, रिक्सामा मर्ने, आइसियु नपाउने, अस्पताल नपुग्दै मर्ने, अक्सिजन नपाएर मर्ने स्थिति किन आयो भनेर विश्लेषण गर्नको लागि होइन ।
जनताको मतले चुनाव जितेर जनप्रतिनिधि बनेकाहरु कोही आफै संक्रमित छन भने संक्रमण नलागेकाहरु पनि राजनीतिक संक्रमण बढाउन व्यस्त छन् ।
दिनहुँ पचासौँले अक्सिजन नपाएर मृत्युवरण गरिरहँदा उनीहरु सरकार जोगाउने वा गिराउने अंकगणितमा व्यस्त छन् । यो खेल केन्द्रमा मात्र होइन, प्रदेशमा पनि उस्तै छ ।
केन्द्र झैँ सोही दिन सोमबार गण्डकी प्रदेशमा पनि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावमाथि मतदान हुँदैछ ।
कोरोना संक्रमित सांसदलाई छुट्टै आएर मतदान गर्ने अधिकार पनि दिइएको छ । मुख्यमन्त्री गुरुङ आफै संक्रमित छन् ।
संक्रमित गुरुङ आफ्नो सरकार जोगाउनको लागि अविश्वास प्रस्तावको विपक्षमा मतदान गर्न आउने छन् ।
यहाँको प्रदेशसभा सचिवालयले संक्रमितलाई छुट्टै बस्ने र पीपीई लगाएर मतदान गर्ने व्यवस्था मिलाएको छ र प्रतिनिधि सभामा पनि संक्रमित सांसदलाई मतदानको लागि सचिवालयले छुट्टै व्यवस्थापन गर्दैछ ।
कल्पना गरौँ त, एकातिर कोरोना संक्रमणले निधन भएका शवलाई सेतो पीपीईमा राखेर अन्त्येष्टि गरिँदैछ, अर्कातर्फ सेतो पीपीई लगाएर नेताहरु सरकार ढाल्न वा जोगाउन आउने छन् ।
कस्तो दृश्य देखिएला त, कस्तो होला त्यो क्षण ? त्यसको लागि सोमबार सम्म कुरौँ ।