site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
इरफानको पुण्यतिथिमा नोस्टाल्जिक बने सुनील पोखरेल र निशा 
तस्बिर : विकास रौनियार

काठमाडाैं । पुरानो मित्र बलिउड अभिनेता इरफान खानको पहिलो पुण्यतिथिमा रंगकर्मी सुनील पोखरेल स्तब्ध बनेका छन् । बलिउडका अब्बल अभिनेता तथा पुरानो मित्र इरफानलाई सुनील यसरी सम्झिन्छन्, “म उहाँलाई सधैं सम्झिन्छु, उहाँ सधैं मेरो मनमा हुनुहुन्छ, यो वाहेक म सँग बोल्ने केही शब्दहरु नै छैनन्,” रंगकर्मी पोखरेल भावुक बने । 

इरफान र सुनीलबीचको मित्रताको डोरी सन् १९८४ मा कसिएको थियो । दिल्लीको नेसलन स्कुल अफ ड्रामा (एनएसडी) मा पढ्दा सुनील, इरफान र अरु दुई जनागरि उनीहरु चारजना एकदमै मिल्ने साथीहरु थिए ।
 
“इरफानको सेन्स अफ ह्युमर एकदमै राम्रो थियो । उहाँ थाहा नपाउने पारामा हसाउनुहुन्थ्यो” सुनील नोस्टाल्जिक बने ।
 
इरफान र सुनील मात्रै होइन निशा र सुतापाको पनि राम्रो चिनजान छ । यी दुई परिवार पारिवारिक मित्रहरु हुन् । मित्रता इरफान र सुनीलबाट सुरु भएपछि निशा खान परिवारसँग अझै नजिकिएकी थिइन् ।
 
“सुनीलको साथी भए पनि पछि इरफान भाइजान र सुतापा दिदीसँग म नै धेरै नजिकिएकी थिएँ,” निशा सुनाउँछिन्, “भाइजानकै निम्तोमा म बम्बे उहाँहरुकोमा डेढ महिना बसेर आएको थिएँ ।”

इरफान र सुतापा ०६७ मा ‘थिएटर फेस्टिबल’का लागि नेपाल आएका थिए । नेपालको तीन–चार दिनको बसाईमा इरफान पोखरा पनि घुमेका थिए । नेपाल बसाइको क्रममा इरफानले निशाको एउटा नाटक ‘अग्निको कथा’ हेरेका थिए र पछि ‘डल्स हाउस’ पनि हेर्ने वाचा गरेका थिए । तर, काम विशेषले उनले निशाको अर्को नाटक हेर्न पाएनन् ।
 
इरफान र उनकी पत्नी नेपाल आउँदा निशाले खासै समय दिन पाइनन् । निशा एकदमै व्यस्त भएको देखेर जाने बेला इरफानले निशालाई केही समय आफ्नो लागि विताउन बम्बे आएर बस्न निम्तो गरेका थिए । 

सोही निम्तोलाई स्विकारेर निशा बम्बे इरफानको घर गएकी थिइन् । उनलाई साल ठ्याक्कै स्मरण त छैन तर उनलाई यति यात्र छ कि यो त्यही साल थियो, जुन साल अभिनेता इरफानले चलचित्र ‘पान सिंह तोमर’ बाट ‘राष्ट्रिय फिल्म अवार्ड’मा उत्कृष्ट अभिनेताको उपाधि पाएका थिए ।

“दिदी(सुतापा)लाई नवरत्नको गहनाहरु निकै मन पर्ने भएकाले उहाँका लागि मैले यताबाट ती मालाहरु बनाएर लगेको थिएँ । एक महिनाका लागि मात्रै भनेर गएको थिएँ तर दिदी र छोराहरुले आउनै नदिएकाले म डेढ महिना नै बसेँ,”उनी ती दिनहरुमा डुबुल्की मार्दै थप्छिन्, “उहाँहरुका दुबै छोराहरुको म सँगै निकै लगाव थियो । अझ जेठो छोरा बबिल त म भनेपछि हुरुक्कै । मोसीमोसी भन्दै मेरै अघिपछि मात्रै लाग्थे ।”

निशालाई सम्झना छ इरफान विरामी भैसकेपछि नै एकदिन राति १०ः३० बजे फोन गरेर निशालाई सोधेका थिए, “निशा, सुनील विरामी हुँदा तिमीले के गर्छौ उसलाई निको पार्न ?” भन्दै सोधेको निशालाई आजै जस्तो लाग्छ ।
 
इरफान मुस्लिम, श्रीमती बंगाली अर्थात हिन्दु भएकाले इरफान भगवान, पूजापाठमा पनि विश्वास गर्ने गरेको निशाले सुनाइन् ।
 
“भाइजानले त्यो सोधेपछि मनमा कताकता चिसो पसको जस्तो भयो । उहाँ पूजापाठमा पनि विश्वास गर्ने भएकाले उहाँले कोही राम्रो गुरु छ भने भनिदेऊ न भन्नु भएकोले मैले भारतकै एकजना राम्रो गुरुसँग उहाँको कुरा पनि गराएँ,”उनले सम्झिइन् । त्यसपछि उनी लण्डनमा उपचार गरेर फर्किसकेपछि पनि पोखरेल र खान परिवार बीच कुराकानी भैरहन्थ्यो । विशेषगरि उनीहरु एकअर्काको सन्चो विसन्चो अनि पारिवारिक कुराहरु मात्रै गर्थे ।

सम्भवत त्यो नै खान परिवार र पोखरेल परिवारको अन्तिम कुराकानी थियो । त्यसपछि उनीहरुबीच कुराकानी खासै भएन । तर, सन् २०२० अप्रिल २९ मा इरफानको निधको खबरपछि भने निशाले सुतापालाई म्यासेज गरिन् । “उहाँको निधनबारे थाहा पाएको धेरै समयसम्म मैले फोन, म्यासेज गर्नै सकिनँ । तर, केही महिनापछि मैले दिदीलाई म्यासेज र फोन गरेको थिएँ, तर कुरा हुन पाएन,” निशाले दुखेसो पोखिन् ।

निशा, इरफानलाई यसरी सम्झिन्छन्, “उहाँ एकदम डाउनटुअर्थ मायालु र दयालु मान्छे हुनुहुन्थ्यो । उहाँमा कुनै घमण्ड थिएन । यसका साथै उहाँ निकै भावुक व्यक्तित्वका पनि हुनुहुन्थ्यो ।” 


बम्बेमा इरफानको घरमा हुँदाको एउटा क्षण सम्झिदै निशा सुनाउँछिन्, “म बम्बे हुँदा उहाँहरुको घरमा सधैं एउटा बिरालो आउथ्यो, एकदिन मैले त्यो बिरालोले चोरेको खाएको देखेँ र भाइजानलाई सुनाए । मेरो कुरा सुनेपछि उहाँले एउटा भावुक पल सुनाउँदै आँशु खसाल्नु भयो,” निशा थप्छिन्, “पहिला उहाँहरुको घरमा आउने एउटा बिरालोलाई चोरेर खाएकै निहुमा छिमेकीले तातो पानी खन्यादिएछ । त्यो पीडा सहन नसकेर बिरालोले भाइजानकै घरमा अन्तिम सास लिएको रहेछ । यो भनिरहँदा उहाँ निकै रुनु भएको थियो ।”

त्यो क्षणमा इरफानले भनेको एउटा वाक्य पनि निशाको मनमा आजसम्म पनि गडेर बसेको छ । “आखिर मानिसहरु किन यति धेरै निर्दयी हुन्छन् होला है निशा,” इरफानले यही भनेका थिए ।  

त्यही सम्झनामै निशा अर्को कुरा जोड्दै इरफानले घरभित्र हुँदा कहिल्यै पनि चप्पल नलगाउने गरेको बताउँछिन् । उनका अनुसार हामीले भुँई सधैं छुनुपर्छ भन्ने मान्यता इरफानको थियो । त्यो जमिनको महसुस गर्न इरफान घरभित्र कहिल्यै पनि चप्पल नलगउने निशाले बताइन् ।
 
यस्तै सुनील आज पनि इरफानसँग एनएएसडी बाहिरको चिया पसलमा चिया खादै गफिने दिनहरु सम्झिन्छन् । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, वैशाख १७, २०७८  ०६:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro