पोखरा । गण्डकीमा अब के हुन्छ ? यो प्रश्नले सत्तारुढ एमालेबाहेक अन्य दललाई अनिर्णयमा पुर्याएको छ । ३६ मिनेटको अन्तरमा एउटै सांसदको सरकारी र निजि ल्याबबाट आएको फरक–फरक कोरोना रिपोर्टले बुधबार राजनीति तरङ्गित बन्न पुग्यो ।
तय भएको कार्यसूचीअनुसार संसदको कारबाही अगाडि बढ्न सकेन र संसद बैठक अनिश्चितकालका लागि स्थगित भयो ।
यी सबै गतिविधी हुनुपुर्व संसद नियमित कार्यसूचीअनुसार अगाडि बढ्नेमा सांसदहरू विश्वस्त थिए ।
नेपाली कांग्रेसका १५, माओवादी केन्द्रका ११ र जनता समाजवादी पार्टीका २ गी २८ जना सांसदले गत वैशाख २ गते मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव र विशेष अधिवेशन माग गरेका थिए । सोही मागअनुसार १३ गतेदेखि विशेष अधिवेशन सुरु भएर अविश्वासको प्रस्तावमाथि छलफल सुरु भएको थियो । मंगलबार चाहिँ सत्तारुढ एमालेले नै सांसदको पीसीआर नभएसम्म बैठक अगाडि बढाउन नहुने अडान लिएपछि सोही दिनै सांसदहरूको पीसीआर लिने र बुधबार १ बजे बैठक आह्वान गर्ने विषयमा लिखित सहमति नै भएको थियो ।
स्वाब परीक्षण गर्दा तीन जना सांसद राजीब पहारी, प्रभा कोइराला र मनकुमारी गुरुङको रिपोर्ट पोजेटिभ आयो । जनस्वास्थ्य प्रयोगशालाले लिएको उक्त स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ आएको खण्डमा सांसदहरूलाई छुट्टै बस्ने व्यवस्था समेत प्रदेशसभा सचिवालयले गरेको थियो ।
दिनको १ बजे बोलाइएको बैठक आधा घण्टापछि सुरु भयो । छलफल सक्ने र अविश्वासको प्रस्ताव निर्णयाार्थ पेश गर्ने कार्यसूची अनुसार सभामुख नेत्रनाथ अधिकारीले कारबाही अगाडि बढाए ।
सत्तारुढ एमाले, विपक्षी कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी सबै दलको प्रतिनिधित्व थियो । तर, सबै सांसदहरू भने आएका थिएनन् । कोरोना संक्रमण पुष्टि भएकाबाहेक स्वतन्त्र निर्वाचित राजीब गुरुङ उर्फ दीपक मनाङे र राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही बैठकमा सहभागी थिएनन् ।
दुई सांसद नआएपछि हल्लीखल्ली नै मच्चियो । नयाँ सरकार बनाउन सक्रिय सांसदहरूले फोन घुमाउन थाले । विशेषगरी उनीहरूलाई जनमोर्चाको भर थियो, त्यसकारण उनीहरूले शाहीलाई महत्व दिएका थिए ।
अविश्वासको प्रस्तावमाथि सांसदहरू बोल्दै थिए, तर खोजी खिमविक्रम शाहीको थियो ।
जनमोर्चाको केन्द्रले नै गण्डकीमा गुरुङ सरकारविरुद्धको अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय लिएको थियो । जसरी गण्डकीमा सरकार बनाउन जनमोर्चा निर्णायक छ, त्यसरी नै अविश्वासको प्रस्ताव पास गराउन शाही निर्णायक थिए ।
जनमोर्चाका सांसद कृष्ण थापा भन्दै थिए, “बैठक सुरु हुने बेलामा मसँग कुराकानी भएको हो, मतदान आउँछु भन्नुभएको छ ।”
तरपनि सांसदहरूको फोन नउठेपछि नयाँ सरकार बनाउन सक्रिय कांग्रेस, माओवादी केन्द्रका सांसद सशंकित भए ।
फोन जाने तर नउठ्ने भएपछि अविश्वासको प्रस्ताव फेल हुने डर उनीहरूको अनुहारमा प्रष्टै देखिन्थ्यो ।
प्रदेशसभा बैठकमा जनमोर्चाकै सांसद पियारी थापाले सरकारविरुद्ध ल्याइएको अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्न कसरी आफूहरू बाध्य भइयो भन्ने बताउँदै थिइन् । यता, उनकै दलका सांसद शाही चाहिँ फोन नै उठाइरहेका थिएनन् । उनले बोलिसकेपछि आफ्नै दलका सांसद शाहीलाई फोन गरिन् । उनको फोन भने उठ्यो ।
फोन उठ्नासाथ कांग्रेसका सांसद मेखलाल श्रेष्ठ र पियारी थापा सांसद शाहीलाई लिन गए । तर, उनीहरू फर्केर आउँदा साथमा सांसद शाही थिएनन्, “मोबाइल नै अफ गरेर सम्पर्कविहीन भएको” जानकारी थियो ।
सांसद शाहीले मोबाइल अफ गरेपछि अविश्वासको प्रस्ताव फेल हुनेमा चारै दल कांग्रेस, माओवादी, राजमो र जसपाका सांसद ढुक्क भए । उनीहरू अब के गर्ने भनेर नयाँ रणनीति बनाउन लागे ।
तत्कालका लागि जसरी भएपछि संसद स्थगित गर्ने रणनीति बनेपछि, “प्रदेश सभा सदस्य श्री खिम विक्रम शाहीको अवस्था अज्ञात रहेकोले सदनमा उपस्थित हुन नसक्नु भएकोले उहाँको अवस्था सार्वजनिक गर्न, निजको जीवन रक्षा गर्न र निज सार्वजनिक नभएसम्म सदनको कारबाही नचलाइयोस् भन्न्े विनम्र अनुरोध गर्दछ” भनी सांसद पियारी थापाले सभामुखलाई निवेदन दिइन् ।
सोही निवेदनका आधारमा प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको सूचना टाँस भयो । सभामुख आफ्नो निवासतर्फ लागे । सत्तारुढ एमालेले चाहिँ, “तय भएको कार्यसूचीअनुसार बैठक अगाडि नबढाई सदन स्थगित गर्ने सभामुखले राजीनामा दिनुपर्ने” माग नै राख्यो ।
सदन स्थगित भएपछि सांसद शाही कोरोना संक्रमित भई चरक अस्पतालको ६१५ नम्बरको कोठामा रहेका खुलासा भयो ।
तत्कालै जनमोर्चाका प्रदेश अध्यक्ष शंकर बराल आफ्ना सांसदलाई भेट्न गए । तर, उनले भेट्न पाएनन् । भेट्न पनि नदिनुलाई उनले “षड्यन्त्रको गन्ध” रहेको बताएका छन । जनमोर्चाकै सांसद कृष्ण थापा पनि नभेटी फर्किए ।
मंगलबार साँझ अन्य सांसदसँगै स्वाब परीक्षण गराएका सांसद शाहीको कोरोना रिपोर्ट नेगेटिभ छ । जनस्वास्थ्य प्रयोगशालाले बुधबार बिहान ८ बजेर ६ मिनेटमा जारी गरेको पीसीआर सर्टिफिकेटअनुसार शाहीको कोरोना परीक्षण नेगेटिभ आएको छ ।
तर, चरकको स्विट रुममा रहेका शाहीलाई कोरोना पुष्टि भएको र उपचाररत रहेको जानकारी अस्पतालका निर्देशक कपिल पोखरेलले दिए ।
शाहीले लाइफ केयर डाइगोनस्टिक प्रयोगशालामा स्वाब परीक्षण गराएको र पीसीआर टेस्ट पोजेटिभ आएको अर्को सर्टिफिेकट समेत सार्वजनिक भएको छ । लाइफकेयरले शाहीलाई मंगलबार बिहान ७:३० बजे कोरोना पुष्टि भएको रिपोर्ट दिएको थियो । सरकारी ल्याबमा नेगेटिभ रिपोर्ट आउनुभन्दा ३६ मिनेट पहिले नै प्राइभेट ल्याबले कोरोना पोजेटिभ आएको रिपोर्ट दिएको थियो ।
सोही रिपोर्टका आधारमा उनी उपचारको लागि चरक अस्पताल गएका हुन् । अस्पताल पुगेपछि उनको मोबाइल अफ भएको थियो । सञ्चारमाध्यममा उनका भाई जुनविक्रम शाहीले कोरोना संक्रमण पुष्टि भएकाले उपचार गराइरहेको र बाहिर हल्ला भएजस्तो कसैले अपहरण नगरेको बताए ।
देशकै राजनीति तरङ्गित भएको, ढल्न लागेको सरकार जोगिएको र नयाँ सरकार बनाउने आशामा अविश्वास प्रस्ताव ल्याएका विपक्षी तीन दलको आशालाई निराशा बनाउने कारण चाहिँ यिनै दुईओटा फरक–फरक कोरोना रिपोर्ट आएका सांसद शाहीमै केन्द्रित रह्यो ।
अहिले सबै दल शान्त छन । शान्त भन्दापनि अब कसरी अगाडि बढ्ने भन्ने भेउ कसैलाई पनि छैन ।
सांसदलाई अब के हुन्छ भनेर प्रश्न गर्दा, “थाहा छैन ।” भन्ने जवाफ फर्काएका छन् । पार्टी केन्द्रको निर्णय कुर्ने र अगाडि बढ्ने रणनीति दलहरूको छ ।
अविश्वासको प्रस्ताव दर्ता गरीसकेपछि ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनैपर्ने संवैधानिक बाध्यता मुख्यमन्त्री गुरुङलाई रहन्छ । यसले गर्दा पनि विपक्षी दलहरू जेठ २ गतेभन्दा पछाडि संसद लम्ब्याउन सक्दैनन् ।
त्यसकारण सांसदहरू आफैले प्रतिप्रश्न गरिरहेका छन, “अब के हुन्छ ?”