पोखरा । स्वतन्त्र जितेका तर एमाले प्रवेश गरेको भनिएका सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेले प्रदेशसभा सचिवालयमा आफ्नो स्थान माग्दै निवेदन दर्ता गराएका छन् ।
गण्डकी प्रदेशसभामा सोमबारदेखि विशेष अधिवेशन सुरु भएको छ । सरकार परिवर्तनको एकमात्र एजेन्डा यो अधिवेशनको रहेको छ । सांसदहरु गणितको आधारमा विभक्त छन् ।
यही खेलमा दीपक मनाङेले आफू स्वतन्त्र नै रहेको दाबी गर्दै स्थान मागको निवेदन दर्ता गराएका हुन् ।
मनाङ ‘ख’ बाट स्वतन्त्र उमेदवार बनेर एमालेको समर्थनमा उनले चुनाव जितेका थिए । सोही आधारमा उनलाई एमालेले आफ्नो पक्षमा गणना गर्दै आएको थियो ।
सोमबार सत्तापक्ष एमालेको रो मा उभिएका मनाङेले बैठक नसकिँदै निवेदन सचिवको कार्यकक्षमा छाडेर बाहिरिएका हुन् ।
उनले लेखेको पत्रमा भनिएको छ, “उपरोक्त सम्बन्धमा म मनाङ निर्वाचन क्षेत्र नं. ख बाट प्रत्यक्ष स्वतन्त्र निर्वाचित सांसद भएकोले संसद भवनमा स्वतन्त्र सांसदको स्थान उपलब्ध गराइदिनुहुन विनम्र अनुरोध गर्दछु ।”
नेकपा कायमै रहँदा उनी पार्टी प्रवेश गरेको समेत भनिएको थियो ।
तर, मनाङेले चाहिँ आफू स्वतन्त्र नै रहेको दाबी गर्दै आएका छन् । आफूले कुनै दलको सदस्यता नलिएको उनको दाबी छ ।
नेकपाको नाममा आफ्नो परिश्रमिकबाट गएको लेबीसमेत माग गर्दै उनले केही महिनाअघि निवेदन दिएका थिए । उनको खाताबाट नेकपाको नाममा १ लाख ४ हजार रुपैयाँ लेबी काटिएको थियो ।
लगातार स्वतन्त्र सांसद रहेको दाबी गर्दै आएका मनाङेले हालसम्म मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वको एमाले सरकारलाई समर्थन गर्दै आएका छन् । तर, उनले सरकारलाई समर्थन गरेको भन्ने आधिकारिकता संसद सचिवालयलाई छैन ।
“उहाँको समर्थन कसलाई भन्ने जानकारी म समक्ष आइपुगेको छैन,” सभामुख नेत्रनाथ अधिकारीले भने ।
उनको समर्थनको आधिकारिता नहुँदा गण्डकी सरकार ३० सांसदसहित सञ्चालनमा छ । जुन संविधानतः अल्पमतमा हो ।
६० जना प्रदेशसभा सदस्य रहेको गण्डकी प्रदेशसभामा सरकार बनाउन ३१ सांसदको समर्थन आवश्यकता पर्दछ । तर, मनाङेको मौखिक समर्थन र राष्ट्रिय जनमोर्चाको समर्थनमा नै अहिले गण्डकीको सरकारको गणितीय बहुमत छ, तर लिखित रुपमा भने अल्पमतमा छ ।
सोही अल्पमतको सरकार विरुद्ध सोमबार अविश्वासको प्रस्ताव पेश भएको छ ।
विपक्षी कांग्रेसका १५, माओवादी केन्द्रका ११ र जनता समाजवादीका २ सहित २८ सांसदले संयुक्त रुपमा हस्ताक्षर सहित अविश्वासको प्रस्ताव वैशाख गते सचिवालयमा दर्ता गराएका थिए । विशेष अधिवेशन सुरु भएको पहिलो दिनमा नै अविश्वासको प्रस्ताव पेश भएको हो ।
बुधबार पनि सोही प्रस्तावमाथि छलफल हुने र मतदानको प्रक्रियामा लाग्ने कार्यसूची रहेको छ ।