पोखरा । गण्डकी प्रदेशको विशेष अधिवेशन वैशाख १३ गतेदेखि सुरु हुने भएको छ । प्रदेश प्रमुखको कार्यालय स्रोतकाअनुसार वैशाख १३ गते सोमबार दिउँसो २ बजेका लागि बैठक आह्वान गरिएको हो ।
गण्डकीमा अहिले नयाँ सरकार बनाउने रस्साकस्सी छ । अहिले यहाँ एमालेको ओलीपक्षका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ सरकार प्रमुख छन् ।
एमाले सरकारविरुद्ध काङ्ग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीको मोर्चाबन्दी बनेको छ । यो मोर्चालाई अर्को प्रतिपक्षी राष्ट्रिय जनमोर्चाले समेत सहयोग गर्ने पक्कापक्की भएपछि वैशाख २ गते गुरुङ सरकारविरुद्ध यी तीन दलका २८ जना सांसदको हस्ताक्षर सहित अविश्वासको प्रस्ताव दर्ता भएको छ ।
तर, आफ्नो सरकार ढल्ने सुइँको पाएपछि मुख्यमन्त्री गुरुङले अघिल्लो दिन वैशाख १ गते राति १२ बजेदेखि लागू हुनेगरी संसद अधिवेशन अन्त्य भएको निर्णय मन्त्रिपरिषदबाट गराए । सरकारको निर्णयअनुसार प्रदेश प्रमुख अमिक शेरचनले संसद अधिवेशन अन्त्य गरेका थिए ।
बिहीबार बिहान १०:३५ मा प्रदेश सभा सचिवालयमा अधिवेशन अन्त्य गरिएको प्रदेश प्रमुखको पत्र दर्ता भएको थियो ।
गुरुङ सरकारको उक्त कदमप्रति तीन दलले असहमति जनाउँदै सोही दिन नै अविश्वासको प्रस्ताव दर्ता गराएका थिए भने सत्ता साझेदार माओवादी केन्द्रले समर्थन पनि फिर्ता लिएको थियो । सोही दिन नै २८ सांसदले प्रदेश प्रमुखको कार्यालयमा विशेष अधिवेशनको समावेदन पनि दर्ता गराएका थिए ।
उक्त समावेदन पत्र दर्ता पछि प्रदेश प्रमुखले १३ गतेको लागि अधिवेशन आह्वान गर्ने भएका हुन् ।