पोखरा । गण्डकीमा नयाँ सरकारको गठजोड तीव्र भइरहँदा तीन दल कांग्रेस माओवादी केन्द्र र जनता समाजवादी पार्टीको बैठक अहिले बस्दै छ ।
सांसद विन्दुकुमार थापाको घरमा कांग्रेसले सुरुमा माओवादी संसदीय दलसङ्ग बैठक बस्ने एक सांसदले जानकारी दिए ।
माओवादी पछि कांग्रेसले सरकारमा सहभागी हुने अर्को दल जनता समाजवादी पार्टीका सांसदसँग भेट्नेछ ।
यी दुवै दलसँगको भेटघाटको कारण चाहिँ मन्त्रालय र अन्य राजनीतिक नियुक्तिको भागबन्डामा कसरी अगाडि बढ्नेमा केन्द्रित हुनेछ ।
मुख्यमन्त्री बाहेक यहाँ अहिलेको एमालेका पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारमा ६ वटा मन्त्रालय छन । यी मध्ये भौतिक पूर्वाधार विकास र आर्थिक मामिला मन्त्रालय मालदार मानिन्छन् ।
सत्ता साझेदार माओवादी भए पनि यी दुवै मन्त्रालय एमालेले लिएको थियो ।
माओवादीको भागमा भुमि व्यवस्था कृषि तथा सहकारी र आन्तरिक मामिला तथा कानुन मन्त्रालय परेका थिए । तर, चैत २५ गते माओवादीले मन्त्रीलाई फिर्ता बोलायो । त्यसपछि नयाँ सरकारको रस्साकस्सी सुरु भयो र बुधबार निर्णायक रुपमा रहेको तीनसिटे जनमोर्चाले ग्रीन सिग्नल दिएपछि गुरुङ सरकार ढल्ने निश्चित भएको हो ।
सोही नयाँ सरकारमा जनमोर्चा भने जाँदैन ।
कांग्रेस, माओवादी र जसपाको त्रिशंकु सरकार बन्नेछ । नयाँ बन्ने सरकारमा मुख्यमन्त्री काङ्ग्रेसका कृष्णचन्द्र नेपाली बन्ने निस्चित भएको छ । अन्य मन्त्रालय र मन्त्रीको भागबन्डा मिलेको हकमा बिहीबार नै अहिलेका मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव एमालेबाहेकका अन्य दलले प्रदेशसभा सचिवालयमा दर्ता गराउने तयारी छ ।
तर, भागबण्डा नमिल्दाको हकमा भने आज नै अविश्वासको प्रस्ताव आउन गाह्रो रहेको एक सांसदले बताए ।
नयाँ बन्ने सरकार र सत्ता समीकरणको अगुवाइ गर्दै कांग्रेसले बैठक बोलाएको हो । यी दुई दलबीचको बैठकपछि आज नै ११ बजे कांग्रेसको संसदीय दलको बैठक बस्ने संसदीय दलका सचिव ललितकला गुरुङले जानकारी दिइन् ।