काठमाडौं । उदयपुरकी कोपिला राई सानैदेखि पेन्सिलले कापीमा केही न केही कोरिरहने गर्थिन् । घरबाट भने आर्ट फिल्डमा भविष्य छैन, यसमा लाग्नु हुन्न भन्ने थियो । तर, उनले यही विषय पढेर यसमै भविष्य बनाउने सपना बुनिसकेकी थिइन् । त्यसैले उनी घरमा केही नभनी यही विषय पढ्न भनेर काठमाडौं आइन् ।
तर, परिवारकै प्रेसरले उनले सुरुको एक वर्ष मानविकी लिएर पढिन् । उक्त विषयले उनलाई त्यति तानेन । कक्षामा सरले पढाइरहँदा कोपिला कापीभरि स्केचहरु कोरिरहन्थिन् । एक दिन उनलाई पढाउने सरले नै कोपिलालाई ललितकलामा भर्ना हुन सुझाए ।
त्यसपछि उनी मानविकीलाई बीचमै छोडेर ललितकला क्याम्पसमा भर्ना भइन् । अहिले उनी स्नातक तेस्रो वर्षमा अध्ययनरत् छिन् । “दोस्रोपटक मैले घरमा कन्भिन्स गर्न सफल भएँ । मैले यो विषय पढेर सक्दिन होला, मलाई यो विषयमा रुचि नै छैन भनेपछि ममीले पनि मान्नुभयो । त्यसपछि मैले लिटरेचर बीचमै छोडेर ललितकलामा आएँ,” राई भन्छिन् । कोपिला आर्टमै करियर बनाउनछु भनेर लागिरहेकी छिन् ।
त्यस्तै, सिर्जना कलेज अफ फाइन आर्ट्सबाट हालै स्नातक सकाएकी मञ्जरी दत्त पनि अरु विषयबाट आर्टमा छिरेकी हुन् । उनलाई सानैदेखि पेन्टिङ गर्न रुचि थियो । तर, आमा–बुवाले कक्षा–१२ सम्मको पढाइ विज्ञान संकायमा गरेर मात्रै यो विषय रोज्न सुझाव दिए । त्यसपछि उनले ११ र १२ विज्ञान विषय लिएर पढिन् र स्नातक सिर्जना कलेज अफ फाइन आर्ट्समा आफ्नै रोजाइको विषयमा भर्ना भइन् । दत्त भन्छिन्, “मलाई चित्रकोर्न मनपर्छ । म यसैमा रमाउँछु । त्यसैले आफूनो रुचिलाई किन करियरको रुपमा नछान्ने भनेर मैले यो विषय रोजेँ ।”
पछिल्लो समय यो विषय पढ्ने र यसैलाई करियरको रुपमा लैजाने सोचसहित धेरै युवा यस विषय लिएर पढिरहेका छन् । हुन त उनीहरु यो विषय र पेसामा संघर्ष छ भन्ने जानकार नभएका होइनन । तर, उनीहरुले गरिरहेको संघर्ष उनीहरुका अघिल्ला पुस्ता गरेको भन्दा केही सहज भइसकेको छ भन्ने कुराको हेक्का पनि उनीहरुलाई छ ।
“हाम्रा शिक्षक, प्रशिक्षकहरुको कुरा सुन्दा त अहिले हामीलाई धेरै सजिलो छ । संघर्ष त पक्कै गर्नैपर्छ तर, उहाँहरुको भन्दा हाम्रो संघर्ष कम छ । आज उहाँहरुले नै मौका र अवसर दिइराख्नुभएको छ । त्यसैले हामीलाई सजिलो भएको छ,” दत्त बताउँछिन् ।
परिवारबाट टाढा र परिवारको राजीबिना यो विषय चुनेकी कोपिलालाई कहिलेकाहीँ परिवारकै कुरा मानेर अरु विषय पढेको भए अहिले रेगुलर पारिश्रमिक आउने काम गर्न पाउथेँ भन्ने सोच नआउने होइन । तर, फेरि ब्रस र कलर लिएर क्यानभास रंगाउन थालेसँगै उनले ती सबै तनाव बिर्सिन्छिन् । “मलाई चित्रकोर्न मनपर्छ । त्यसैले आफूनो रुचिलाई नै करियरको रुपमा रोजेँ,” उनले भनिन् ।
पोट्रेटमा प्यासन भएका विशाल मानन्धर अहिले मिडिया, सामाजिक सञ्जालले आफूजस्ता कलामा करियर बनाउन अघि बढिरहेका विद्यार्थी र नयाँ पुस्तलाई धेरै सहयोग पुगेको बताउँछन् । “तपाईंहरुजस्तो मिडिया र सामाजिक सञ्जालहरुले हाम्रो काम देखाउन र आफूलाई चिनाउन सजिलो भएको छ । समाजिक सञ्जालमा केही राखेपछि पूरै भाइरल भइहाल्छ । तर, यति भनिरहँदा जस्तोपायो त्यस्तो काम गर्नु पनि भएन । आफूले पनि अर्थपूर्ण अनि राम्रो काम देखाउन जान्नुपर्छ,” मानन्धरले भने ।
उनीहरुका अनुसार अहिले यसमा पनि राम्रो स्कोप छ । किनभने, अहिले आर्टलाई चित्रकला र मूर्तिकलामा मात्रै सीमित नराखी एनिमेसन, वाल पेन्टिङ, इलुस्ट्रेसनलगायत धेरै विधामा स्कोप छ । यसभित्र पनि विशाल र कोपिला अहिलेदेखि नै वाल पेन्टिङ गरेर आफ्नो लागि रङ र क्यानभास किन्न पैसा जुटाइरहेका छन् ।
अहिले त उनीहरु आफ्नो नाम बनाउन संघर्ष गरिरहेका छन् । “कला भनेको भावना हो । अरु चिजमा पैसा हुन्छ, भावना हुँदैन । त्यसैले अहिले हामीले यसमै मिहिनेत र लगन देखाउने बेला हो । पछि रिवार्डस पाइहाल्छ नि,” मञ्जरी आशावादी सुनिइन् ।
उनीहरु जानकार छन कि यसमा स्थापित हुन अरु पेसामा भन्दा समय धेरै लाग्छ । पछिल्लो समय यो विषय रोज्नेहरु धेरै छन् । तर पनि उनीहरु यसले प्रतिस्पर्धी भावना नआउने उल्टै प्रोत्साहन मिल्ने बताउँछन ।
यसलाई सोख मात्रभन्दा पनि प्रोफेसनको रुपमा लिने सुमन राई सुनाउँछन् । “कला भनेको त्यस्तो फिल्ड हो, जहाँ स्थापित हुन निकै लामो समय लाग्छ । यसका साथै त्यो कन्सेप्ट, क्रियटिभिटी चाहिन्छ,” उनले भने ।