
काठमाडौं । कथा र कविताका कृति एकसाथ प्रकाशनमा ल्याएकी कथाकार राधादेवी राजवंशीको दुवै पुस्तकमाथि परिचर्चा छलफल भएको छ ।
मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा कृतिमाथि साहित्यकारहरू दीपक लोहनी र धु्रवराज थापाले समीक्षात्मक टिप्पणी गरेका हुन् । दुवैले कथाकृतिमाथि चर्चा गर्दै त्यसभित्रका कमिकमजोरीबारे बोलेका थिए ।
साहित्यकार समालोचक डा. शैलेन्दुप्रकाश नेपालले कविताकृतिमाथि चर्चा गर्दै बिरामी हुँदाहुँदै पनि दुई कृति लेख्नु र प्रकाशित गरेर लेखक राजवंशीले हिम्मतको काम गरेको बताए । उनले साहित्यमा कलात्मकता हुनुपर्नेमा जोड दिए ।
प्रमुख अतिथि प्रा.डा. गार्गी शर्माले ४१ वर्षसम्म शिक्षण पेसामा समर्पित राधादेवीले अवकासपछि साहित्य सिर्जनामा बिताएको समय खेर नजाने भन्दै अझै लेख्दै जान हौस्याइन् ।
काभ्रेकी लेखक राजवंशीले पुस्तक लेखनबारे जानकारी गराउँदै आफूले एसएलसी दिनासाथ स्कुलमा पढाउन थालेको प्रसंग स्मरण गरिन् । उनले शिक्षक जहिल्यै डुंगा तार्ने माझी भएको बताइन् ।