काठमाडौं । वर्ष ०७७ कोभिड–१९का कारण उपलब्धिमूलक रहेन । चलचित्र उद्योग तुलनात्मक रुपमा अन्य क्षेत्रभन्दा बढी प्रभावित भयो । कोभिड–१९ ले सबैभन्दा धेरै प्रभावित बनेको होटेल तथा पर्यटन क्षेत्रलाई सरकारले विशेष आर्थिक सहयोग गरे पनि चलचित्र क्षेत्र भने सरकारी उपेक्षामा रह्यो ।
१० महिना बन्द भएर ५० प्रतिशत अकुपेन्सीमा पुसको अन्तिम हप्ता सिनेमा हल खुले पनि ठूला चलचित्र रिलिज नहुँदा चलचित्र क्षेत्र चलायमान हुन सकेन । तीन दर्जनभन्दा धेरै चलचित्र निर्माण सम्पन्न भएर बसेका छन् भने ठूलो संख्यामा निर्माणाधीन अवस्थामा छन् ।
कोरोनाले ०७८ मा पनि चलचित्र क्षेत्रलाई प्रभावित पार्ने संकेत देखिएको छ । कोरोनाको दोस्रो लहर फैलिएसँगै सिनेमा हल लयमा नफर्कँदै पुनः बन्द हुने अवस्थामा पुगेका छन् । कोभिड–१९ विरुद्धको खोप बजारमा आए पनि कोरोना संक्रमणको त्रास कम भएको छैन ।
कोभिड–१९ का कारण चलचित्रमा लगानी भएको करोडौँ रकम फ्रिज भएको छ । १२ अर्ब रुपैयाँभन्दा धेरै लगानी रहेका १९५ सिनेमा घर बन्द हुँदा हल सञ्चालक अप्ठ्यारोमा छन् ।
भलै, केही चलचित्र छायांकन भइसकेका छन् । केही छायांकनरत् छन् । केही छायांकनमा जाने तयारीमा छन् । अवस्था सहज होला र चलचित्र क्षेत्र पुरानै लयमा फर्किएला भन्ने अपेक्षासहित केही चलचित्र पोस्ट प्रोडक्सनमा छन् ।
सरकारको असहयोग, अस्वस्थ प्रतिस्पर्धा, ठूलो लगानी र उच्च जोखिमबीच लामो समयदेखि काम गरिरहेका मेकरहरु अहिले पनि सक्रिय नै छन् । चलचित्र क्षेत्रमा रहेको विकृति हटाउन र अपेक्षित वातावरण बनाउन यो वर्ष के गर्नुपर्छ ? के गर्यो भने नेपाली चलचित्र क्षेत्रले फड्को मार्छ ? तल उल्लेखित बुँदालाई सरकार, चलचित्र क्षेत्र तथा सरोकारवाला पक्षले कार्यान्वयन गर्ने हो भने यो वर्षबाटै चलचित्र क्षेत्रमा ठूलो परिवर्तन आउने छ ।
१. निर्माण सम्पन्न भएर पनि कोरोनाका कारण थन्किएका तीन दर्जनभन्दा धेरै चलचित्र सरकारको सहजीकरणमा रिलिज हुनेछन् ।
२. चलचित्रको हल रिलिजको विकल्पका रुपमा डिजिटल प्लेटफर्मको विकास गरेर चलचित्र प्रदर्शनको वैकल्पिक माध्यमको विकास हुनेछ ।
३. सानो–सानो बजेटमा कम्तीमा माहिनाको एउटा सिर्जनात्मक चलचित्रको निर्माण तथा प्रदर्शन हुनेछ ।
४. फिल्म मेकहरुबीच स्वस्थ डिस्कोर्स हुने परिस्थिति निर्माण हुनेछ ।
५. चलचित्रविना पैसा हेर्ने चलन हटाएर व्यवस्थित र सर्वसुलभ मूल्यमा हेर्ने वातावरणको विकास हुनेछ ।
६. राज्यले चलचित्र क्षेत्रलाई कोरोना अतिप्रभावित क्षेत्रमा राखेर विशेष सुविधाको व्यवस्था हुनेछ ।
७. राज्यले नीतिगत सुधार गर्दै चलचित्र क्षेत्रमा वैदेशिक लगानी भित्र्याउने चलचित्रर्मीहरुको माग सम्बोधन गर्दै उनीहरुको मनोबल उच्च बनाइनेछ ।
८. चलचित्र विकास बोर्डले अन्तर्राष्ट्रियस्तरको चलचित्र महोत्सव आयोजना गरेर अन्तर्राष्ट्रिय फिल्म मेकरहरुलाई आमन्त्रण गरी नेपाली फिल्ममेकरसँग अन्तरक्रिया गराइनेछ ।
९. टेलिभिजनहरुमा चलचित्र प्रदर्शनको विशेष व्यवस्था गरी चलचित्रकर्मीहरुलाई आर्थिक सुरक्षाको न्यूनतम आधार तयार गरिनेछ ।
१०. राज्यले कम्तीमा दुईवटा चलचित्रलाई विशेष प्रतिस्पर्धाबाट छनोट गरी पूर्ण रुपले लगानी गरिनेछ ।
११. चलचित्र विकास बोर्डको आयस्रोत विदेशी चलचित्रबाट आएको करबाट होइन, सरकारले बजेट उपलब्ध गराएर आर्थिक रुपमा बोर्डलाई स्रोत–साधनसम्पन्न गराइनेछ ।
१२. बक्स अफिस पूर्ण रुपमा कार्यान्वयन गरिनेछ । र, चलचित्र निर्माताको बैंक खातामा चलचित्र प्रदर्शन भएकै दिन आफूले पाउने सेयरको रकम जम्मा हुने व्यवस्था हुनेछ ।
१३. सरकारले चलचित्र अध्ययनका लागि सिनेमा अध्ययन केन्द्रको स्थापना गरिनेछ ।
१४. नेपालमा पनि इटालीमा जस्तै सेन्सरसिपबाट नेपाली चलचित्र क्षेत्र मुक्त भएर सिर्जनशीलतामा लाग्दै आएको अंकुशको अन्त्य हुनेछ ।
१५. एनएफडीसीलाई पुनः रिभाइभ गरी त्यसलाई नै चलचित्र छायांकन स्टुडियोमा परिणत गरिनेछ ।
१६. प्राविधिक र कलाकारहरुका लागि बिमा व्यवस्थित बनाइनेछ ।
१७. चलचित्र क्षेत्रमा हुने आर्थिक लेनदेन डिजिटल प्रणालीमार्फत गरिनेछ । र, करको दायरामा निर्मातादेखि कलाकारसम्मलाई समेटिनेछ । चलचित्र उद्योग पनि राजस्व संकलनको मुख्य क्षेत्र बनाइनेछ ।
१८. चलचित्र क्षेत्रसँग सम्बन्धित पेसागत संगठनहरु आफ्नो उद्देश्यमा क्रियाशील र जुझारु हुनेछन् । संयोजनकारी भूमिकामा अब्बल रहँदै आबद्ध सदस्यहरुको सेवा–सुविधामा समर्पित गरिनेछ ।
१९. भारतलगायत छिमिकी देशमा नेपाली चलचित्र प्रदर्शन गर्न नेपाली वितरहरुले पहलकदमी अगाडि बढाउनेछन् ।
२०. अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा छनोट भएका चलचित्रलाई सरकारले प्रोत्साहन स्वरुप उनीहरुको सम्पूर्ण खर्च बेहोर्दै मेकरको मनोबल उच्च पार्ने काम हुनेछ ।
२१. कलाकार तथा निर्देशकहरु आफ्नो ‘क्राफ्ट’ सुधार्न थप गम्भीरताका साथ लागेको हेर्न तथा सुन्न पाइनेछ ।
२२. नयाँ र भिन्न ‘आइडिया’हरुमा निर्देकशकरु चलचित्र बनाउन अग्रसर हुनेछन् । यसका लागि लेखकहरुलाई चुनौतीपूर्ण वातावरण सिर्जना हुनेछ ।
२३. कर्पोरेट हाउसहरुले व्यावहारिक चलचित्र निर्माणको लागि लगानी गर्न सुरु गर्नेछन् । उनीहरुले आधा दर्जनभन्दा धेरै चलचित्रमा लगानी गर्नेछन् ।
२४. गैरआवासीय तथा नेपाली मूलका व्यक्तिहरुले नेपाली भाषामा चलचित्र बनाउनेछन् र अन्तर्राष्ट्रिय बजारमा आफ्नो चलचित्र रिलिज गर्नेछन् ।
२५. यो वर्ष नेटफ्लिक्स, अमेजन प्राइमजस्ता डिजिटल प्लेटफर्ममा नेपाली चलचित्र प्रदर्शनका लागि मेकरहरुले अधिकतम प्रयास गर्नेछन् । र, सफलता हात परेको खबरहरु आउनेछन् ।
२६. अन्तर्राष्ट्रियस्तरको चलचित्र पत्रकारितासम्बन्धी सेमिनार हुनेछ, जसमा पेसागत मर्म, धर्म र मान्यताका विषयमा छलफल हुनेछ ।