पोखरा । बागलुङमा होली खेल्नेक्रममा आवेगमा आउँदा दुईजना युवा भीरबाट खसालेर मारिए । घटनाको झन्डै ४८ घण्टा पुग्न लागिसक्दा कोही पक्राउ परेका छैनन् भने मृतक युवाको शव बुर्तिवाङ स्वास्थ्य केन्द्रमा नै छ । मृतकका आफन्तले दोषी पक्राउ नपरेसम्म शव नबुझ्ने अडान लिएका छन् ।
होलीलाई उल्लासको पर्व पनि मानिन्छ । त्यही उल्लास आवेगमा परिणत हुँदा प्रकाश कुँवर र दीपक परियारले ज्यान गुमाउन पुगे । झन्डै ७०० जना मान्छे भेला भएर होली मनाइरहँदा रङको पर्व रगतमा परिणत भयो ।
बडिगाड गाउँपालिका–१० स्थित बल्देधुरी बागलुङसहित गुल्मी र प्युठानको पनि सिमाना हो । यसअघि पनि त्यहाँ हरेक वर्ष होली पर्व मनाउन यी तीन जिल्लाका मानिस पुग्थे । यसअघि पनि छिटफुट घटना भने नभएका होइनन् । त्यहाँका स्थानीयका अनुसार बल्देधुरीमा होली त हुन्थ्यो नै झै–झगडा पनि हुन्थ्यो । तर, मानवीय क्षति भएको कारण यस वर्षको घटना सार्वजनिक भएको हो ।
मृतक कुँवर (३६ वर्ष) र परियार (२९) दुवै निसिखोला गाउँपालिका–७ का हुन । बडिगाड–१०, दर्लिङ र निसिखोला–७, राजकुटका युवाहरुबीच भएको झडपमा उनीहरुले ज्यान गुमाएका हुन् ।
बल्देधुरी सडकको सिधा पहुँचमा छैन । सालझण्डी –ढोरपाटन जोड्ने सडकखण्डबाट आधा घण्टा पैदल माथि जंगलमा उक्लिनुपर्छ । त्यहाँ स्थानीय घाँस–दाउरा गर्न जाने गर्छन् । त्यही भिरालो जमिनमा सानो चौर पनि छ । त्यही चौरमा मानिस यस वर्ष पनि होली मनाउन पुगेका थिए ।
उक्त घटनामा दुईजनाको मृत्यु हुँदा अरु केही व्यक्ति भएका घाइते छन् । घाइतेमध्ये एकजना हुन्, निसिखोला–७ का मिठु परियार । टाउको, अनुहार, पिठ्युँमा चोट लागेका कारण उनी अहिले बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचाररत् छन् ।
परियारले बाह्रखरीसँग उक्त दिनको घटना सुनाए-
म अहिले यर्हीँ (स्वास्थ्य केन्द्रमा) उपचार गराइरहेको छु । मृतक प्रकाश र दीपकको शव पनि यहीँ छ । घाइते अर्को भाइ ज्ञानु परियारलाई उपचारको लागि पाल्पास्थित मिसन अस्पतालमा लगिएको छ । ज्ञानु चाहिँ भीरमा अड्केर बाँचेको हो ।
मैले पनि भागेर ज्यान जोगाएँ । अनुहार, टाउको, पिठ्युँसम्म चोट छ । बिहान खाना खाइवरी हामीहरु त्यहाँ रमाइलो हुन्छ रे भन्ने सुनेका आधारमा रमाइलो हेर्न गएका हौँ । हामी पनि पहिलोपटक गएका हौँ । नचगान, रमाइलो चलिरहेको थियो । सौहार्द वातावरण नै थियो ।
रङ त दुवैतर्फकाले लगाइरहेका थिए । एकजना बहिनीको आँखामा परेछ, उनले मेरो आँखामा प¥यो भनिन् । त्यसपछि उताका मान्छे आएर यस्तो गर्ने ? भनेर कुटपिट थालिहाले । हामीले गल्ती भएको भए सजाय भोगौँला, झै–झगडा नगरौँ, भाइहरुले गल्ती गरे भनेर माफी पनि माग्यौँ ।
तर, उनीहरुको ग्याङ रहेछ । हामीले भो–भो गल्ती भयो, भाइहरुले गल्ती गरे होलान्, उनीहरुले कारबाही भोग्छन् भन्दाभन्दै उनीहरु हातमा लाठी, ढुंगा लिएर आए । कुटपिट सुरु गरिहाले ।
कुटपिट नै थालेपछि हामी ज्यान बचाउन भाग्न थाल्यौँ । म पनि भीरनजिकै थिएँ, धन्न आडमा रुख थियो र म भाग्न पाएँ । अर्को हाम्रै एकजना भाइ ज्ञानु भीरमा अड्केर बाँच्यो । उसलाई उपचारको लागि पाल्पास्थित मिसन अस्पताल लगिएको छ ।
झगडा भएपछि प्रकाश कुँवर घटना मिलाउन जानुभएको थियो । यस्तो नगरौँ, भाइहरुले गल्ती गरे सोअनुसारको प्रक्रियामा जाऔँ भन्दै हुनुहुन्थ्यो । तर, आवेगी भीडले कहाँ सुन्छ र !
त्यस्तै साढे ३/४ बजेको घटना हो, ज्यान जोगाउन हामी भाग्यौँ, सबै गाउँ नै लागेका थिए । हामीले पनि पछि मात्र थाहा पायौँ, प्रकाश कुँवर र दीपक परियारलाई भीरबाट खसालेछन् ।
सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा प्रकाशित सामग्रीमा पनि दुई युवालाई भीरबाट फालेको देख्न सकिन्छ । घाइते परियारका अनुसार भीरबाट फालिएका प्रकाश समन्वयकारी भूमिकामा झगडा रोक्न लागिपरेका थिए । उनको साथमा दीपक पनि थिए । तर, ती दुवैलाई भीरबाट खसालेछन् ।
साढे ३ बजेदेखि सुरु भएको झडपको अन्त्य दुई युवाको शरीर भीरबाट खसेसँगै अन्त्य भयो । त्यहाँ उपस्थित सयौँ मानिस ज्यान जोगाउन तितरबितर भएका थिए । वातावरण शान्त भएपछि मात्रै प्रहरी प्रशासनलाई खबर पुग्यो ।
विभिन्न सामाजिक सञ्जालमा पनि बागलुङमा भएको उक्त दिनको भिडियो भाइरल भइरहेको छ । तीमध्ये एउटा घटना हुनुपूर्वको भिडियो छ । उक्त भिडियोमा प्रकाश कुँवर बल्देधुरीको घाँसेभूमिमा साथीहरुसँगै बसेको देखिन्छ । हँसिलो अनुहार रातो रङले रंगिएको छ । साथीभाइलाई नाचगानमा सहभागी हुन उनले हात समातेर तानिरहेका छन् । अनि, उनको जमातले गाइरहेको छ, विष्णु खत्रीको गीत ‘गल्कोटमा बग्यो दरम...।’ यही गीत गाएको केही समयमै उनको शरीर भीरबाट खस्यो । निर्जीव शरीर अहिले बुर्तिवाङ अस्पतालमा छ ।