site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
लयमा फर्कन नपाउँदै अन्योल, हल सञ्चालक भन्छन्– बर्बादै भयो

काठमाडौं । लयमा नफर्कँदै नेपाली चलचित्र क्षेत्र पुनः अन्योलमा पुगेको छ । ५० प्रतिशत अकुपेन्सीमा हल खुले पनि ठूलो ब्यानरका नयाँ चलचित्र रिलिज नहुँदै पुनः यो क्षेत्र अन्योलको अवस्थामा धकेलिएको हो ।

भारतमा कोरोनाको दोस्रो लहर सुरु भएसँगै विस्तारै त्यसको प्रभाव नेपालमा पनि पर्न सुरु भएको छ । यसको प्रत्यक्ष असर एक वर्षबाट हलमा परिरहेको अवस्थामा निर्माता तथा हल सञ्चालकहरु झन् अन्योलको अवस्थामा पुगेका छन् ।

भारतमा कोरोनाको दोस्रो लहर सुरु भएसँगै हल रिलिजका लागि तयारी अवस्थाामा रहेका चलचित्र पछि हटेपछि नेपाली निर्माताहरु पनि ‘ब्याक’ भएको वितरक तथा हल सञ्चालक गोपालकाजी कायस्थ बताउँछन् ।

“लप्पन छप्पन–२ पछि हटिसक्यो । नयाँ वर्षका लागि तयारीमा रहेका अरु चलचित्र पनि पछि हट्ने अवस्थामा पुगेका छन् । हलहरुले केही राहत दिने हो भने मात्रै रिलिज गर्ने अन्यथा ब्याक हुने निर्माताहरुले बताएका छन्,” वितरक तथा हल सञ्चालक कायस्थ भन्छन्, “भारतमा कोरोना फैलिएका कारण अब अझै कति समय अवस्था सहज नहुने हो टुंगो छैन । भारतबाट चलचित्र नआएसम्म नेपाली चलचित्र रिलिज हुँदैनन् । हलहरु बन्द भएको वर्ष बितिसक्यो । अवस्था कहिले सहज हुने, कहिले चलचित्र रिलिज हुने हो, थाहा छैन । हलहरु बन्द छन्, बर्बाद भयो, खत्तमै भयो ।”

केही समयअगाडि कोरोना संक्रमणको दर घटेसँगै केही सक्रिय हुन थालेको चलचित्र क्षेत्रमा पुनः काम गर्न सोच्नुपर्ने अवस्था आएको निर्देशक प्रदीप भट्टराई बताउँछन् ।

कोरोनाको त्रास पुनः बढेसँगै चलचित्रकर्मीमा काम गर्ने जाँगर नै हराएको प्रदीप बताउँछन् । कोरोना संक्रमण कम हुँदै जाँदा काम गर्ने जाँगर पलाउँदै गए पनि पछिल्लो समय संक्रमण पुनः फैलँदै जाँदा काम गर्न जाँगर पनि हराउँदै गएको उनको भनाइ छ ।

“लामो समय लागेको कालो बादल हटेर आकाश निलो हुँदै थियो । तर, आकाश निलो हुन नपाउँदै पुनः कालो बादल मडारिन थालेपछि काम गर्न सुरु गर्ने कि नगर्ने अन्योल भयो,” प्रदीप भन्छन् ।

निर्देशक विशाल सापकोटा आफूले निर्देशन गर्न लागेको चलचित्र खिच्न पाउने हो कि होइन भन्ने शंका मनमा रहेको बताउँछन् । समग्रमा आफूमा जस्तै शंका अन्य चलचित्रकर्मीमा पनि रहेको उनी बताउँछन् । तर पनि सरकारले सिनेमा नखिच्न निर्देशन नदिएसम्म काम गर्न नछोड्ने उनले बताए ।

“कोरोनाकै कारण काम नगरेको एक वर्ष भइसकेको छ । अझै पनि ढुक्कले काम गर्न सक्ने अवस्था सिर्जना भएन,” विशाल भन्छन्, “अफ्ठ्यारो अवस्थामा पास हुन सक्नु चाहिँ महत्त्वपूर्ण हो । कठिन छ भनेर चलचित्र नै नबनाई बस्नु हुँदैन ।”

यद्यपि, निर्माण गरेर चलचित्र रिलिज गर्न नपाउँदा लगानीकर्ता ठूलो मारमा पर्ने उनी बताउँछन् । अब नेपालमा भारतमा जस्तै ठूलो लगानीमा डिजिटल प्लेटफर्म निर्माण तथा विस्तार गर्नुपर्नेमा उनको जोड छ । 

विशाल चलचित्र ‘अर्जुन रेड्डी’को नेपाली भर्सन निर्देशनको तयारीमा छन् । यसका लागि आवश्यक कलाकार चयनका लागि उनी अडिसन लिइरहेका छन् ।

कोरोनाका कारण रिलिज हुन नपाउँदा तीन दर्जनभन्दा धेरै चलचित्र थन्किएका छन् । ठूलो संख्यामा चलचित्र रिलिज हुन नपाउँदा करोडौँ रकम फ्रिज भएको छ ।

ठूलो लगानी गरेर निर्माता सन्तोष सेनले ‘प्रेम गीत’ निर्माण गरेको लामो समय भइसक्यो । गत वर्ष नै रिलिजको तयारी गरे पनि लकडाउनका कारण प्रदर्शन हुन नसकेको उक्त चलचित्र अझै रिलिज हुन सकेको छैन । “निर्माण सम्पन्न गरेर लामो समयदेखि सहज अवस्था कुरेर बसेका निर्माताहरुलाई झन् कठिन भएको छ । अहिले कोरोना संक्रमण पुनः बढ्ने अवस्था देखिँदा थप अन्योल सिर्जना भयो,” सन्तोष भन्छन् ।

उनी अहिलेकै अवस्थामा तत्काल चलचित्र रिलिज गर्न सक्ने अवस्था नरहेको बताउँछन् । चलचित्र विकास बोर्ड तथा हलहरुले लगानीको केही प्रतिशत सुनिश्चित नगरेसम्म चलचित्र रिलिज गर्न नसकिने उनले बताउँदै आएका छन् ।

पुसबाट सिनेमा हल ५० प्रतिशत अकुपेन्सीमा खोल्ने अनुमति हल सञ्चालकले पाए पनि भारतीय ठूला चलचित्र रिलिज नहुँदा नेपाली निर्माताले पनि चलचित्र रिलिज गरेनन् । चलचित्र रिलिज नहुँदा करिब दुई सयको संख्यामा रहेका चलचित्र घरहरु बन्द प्रायः छन् । एक वर्षबाट हल बन्द हुँदा हल व्यवसायीले ठूलो परिमाणमा घाटा व्यहोर्नु परिरहेको हल सञ्चालक गोपालकाजी गुनासो गर्छन् ।

चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल भारतमा कोरोना संक्रमणको त्रास बढेसँगै त्यसको असर नेपाली चलचित्र क्षेत्रमा पनि देखिएको बताउँछन् । भारतमा चलचित्र रिलिज नहुँदा नेपालमा अन्योल सिर्जना भएको उनी बताउँछन् । अन्योल हटाउन अर्थ र सञ्चार मन्त्रालयमा विशेष राहत प्याकेजका लागि आग्रह गरेको उनले जानकारी दिए ।

“अहिलेको अवस्थामा हामीले निर्मातालाई चलचित्र लगाउनुस्  भनेर फोर्स गर्न पनि सक्तैनौँ,” अध्यक्ष दाहाल भन्छन्, “अब शतप्रतिशत अकुपेन्सीमा चलचित्र चलाउनुपर्छ भनेर यसका लागि पहल गरिरहेका बेला भारतमा चलचित्र रिलिज नहुँदा नेपालमा पनि अन्योल देखियो ।”

मल्टिप्लेक्स र सिंगल थिएटरमा करिब १२ अर्ब रुपैयाँ लगानी रहेको छ । लामो समय हल बन्द हुँदा डेढ दर्जनभन्दा धेरै सिनेमा घरहरु बन्द भइसकेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत १७, २०७७  १२:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro