site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
‘आलुचा’मा आलुका अनेक स्वाद ! (भिडियोसहित)
भिडियो/तस्बिर : सुनील प्रधान/बाह्रखरी ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । तपाईंले आलुदम, आलु फ्राइ, आलु साँधेको, आलु उसिनेकोलगायत आलुका परिकारहरु त पक्कै खानुभएको होला । तर, नेपाली र विदेशी स्वादको समिश्रणमा बनेका आलुका परिकारहरु खानुभएको छ ? छैन र खान चाहनुहुन्छ भने ‘आलुचा’मा गएर त्यसको स्वाद लिन सक्नुहुनेछ ।

भक्तपुर दरबार स्क्वायरस्थित ५५ झ्याले दरबारको सामुन्नेमा छ, आलुचा । यहाँ अरु रेस्टुरेन्टमा पाइनेभन्दा भिन्न र विशेषगरी आलुका परिकारहरु मात्रै पाइन्छ ।

Prabhu Bank
Agni Group
NIC Asia

तीनजना युवाहरुको सहकार्यमा तीन वर्षभन्दा बढी समयदेखि आलुचा सञ्चालनमा छ । सिल्भर माउन्टेन स्कुल अफ होटेल म्यानेजमेन्टमा हस्पिटालिटी संकायमा स्नातक पढेका पंकज श्रेष्ठ, दुर्गेश हाडा र आयुष्मा श्रेष्ठ मिलेर आलुचा खोलेका हुन् । ब्याचलरको इन्टर्नका लागि आयुष्मा र दुर्गेश ओमान गए । इन्टर्न गर्नेक्रममा उनीहरुले उतै काम पनि पाए । पछिल्लो समय विदेशमा पढ्न जाने र उतै सेटल हुने ट्रेन्ड बढेको छ । आयुष्मा र दुर्गेशलाई पनि उतै सेटल हुने राम्रो मौका थियो । तर, आफ्नै देशमा फर्केर केही गर्नुपर्छ भन्ने सोचे । यता, पंकज नेपालमै इन्टर्न गरिरहेका थिए । यी तीन साथीहरुको कुरा मिल्यो र ‘फ्राइज’ राख्ने निष्कर्षमा पुगे ।

Global Ime bank

साधारणतया फ्राइज भन्नाले फ्रेन्च फ्राइज भन्ने बुझिन्छ । आलुलाई तारेर फ्राइज बनाइन्छ । आलुचाको मुख्य आकर्षण भनेकै फ्राइजमा चिजलगायत टपिङ र ससहरु हुन् ।

आलुचा नामबारे सञ्चालकमध्येका एक आयुष्मा भन्छिन्, “चा भनेको नेवारी स्ल्याङ शब्द हो । बाउचा, मैचा, मःमचा भनेको जस्तै आलुको पछाडि चा शब्द थपेको हो ।” 
०००
उनीहरुले ४५ रुपैयाँमा १० इन्चको ‘टोर्नेडो फ्राइज’बाट सेवा सुरु गरेका थिए । टोर्नेडो बनाउँदा आलुलाई निकै पातलो र गोलो–गोलो गरी काटिन्छ र सिन्कामा राखेर तारिन्छ । त्यसपछि त्यसमा थोरै मसालासहित सस राखेर सर्भ गरिन्छ । अहिले यही टोर्नेडो १८ इन्चको सय रुपैयाँमा अर्डर गर्न सकिन्छ ।

टोर्नेडोपछि उनीहरुले जम्बो क्लासिक फ्राइज र क्यानडाको परिकार पुटिनलाई नेपालीपन दिएर ‘बटर चिकेन पुटिन’ तयार पारे । यो परिकारको स्वाद लिन तपाईंसँग २५० रुपैयाँ भए पुग्दछ ।

विदेशी पर्यटक तथा मासु खाने र नखाने दुवैलाई ध्यानमा राखेर उनीहरुले १८० रुपैयाँमा चिकेन रोल र पनिर रोल पनि ल्याए ।

आयुष्माको आमाले घरमै बनाउने सुकुटी राखेको ‘होममेड सुकुटी फ्राइज’ र ‘छोइला फ्राइज विथ चिकेन ससेज एन्ड एग’ पनि यहाँ समूहमा जानेहरुको रोजाइमा पर्ने परिकार हो । तपाईंले ३०० र २५० रुपैयाँमा यी दुई परिकारको स्वाद लिन सक्नुहुनेछ ।

त्यसपछि उनीहरुले २८० रुपैयाँमा ‘फ्राइज विथ प्रिमियम चिजी बेकन’ आफ्नो मेनुमा समावेश गरे । फ्राइजमा चिज र अन्डा राखेर यसलाई सर्भ गर्न थाले ।


०००
अरुभन्दा भिन्न गर्ने सोचका साथ स्थापना भए पनि केही समय भने उनीहरुले मःम पनि राखेका थिए । तर, पछि त्यसलाई मेनुबाट हटाए । अहिले उनीहरुले फ्राइज मात्रै सर्भ गरिरहेका छन् ।

आलुका परिकारका साथै यहाँको ‘चिज टी’ पनि चाख्न आयुष्मा ग्राहकलाई सुझाउँछिन् । चिज टी (चिया) यहाँको लोकप्रिय ड्रिंक हो । चियामा चिजको समिश्रण गरिएको हो ।


०००
प्रतिव्यक्ति तीन लाख जम्मा गरी नौ लाख रुपैयाँ लगानीमा खोलिएको आलुचाको अहिले पाटनको मंगलबजारमा शाखा पनि सञ्चालनमा आइसकेको छ । लकडाउन हुनु आठ महिनाअघि मात्रै शाखा सुरु भएको थियो । “लकडाउनले धेरै असर प¥यो । यता तीन महिना ठप्पै बन्द गर्नुपर्‍यो । पाटनमा शाखा खोलेको पनि धेरै भएको थिएन । बन्द भए पनि कर्मचारीहरुलाई तलब र भाडा तिर्नैपर्ने थियो,” सञ्चालकमध्ये एक पंकजले भने, “हामी यता भक्तपुरमा नाम बनाइसकेका थियौं । पाटन हाम्रो लागि नयाँ ठाउँ थियो । त्यसैले हामीलाई मार्केट लिन समय लाग्ने थियो । त्यसमाथि लकडाउन भइदियो ।” आलुचामा अहिले २० जनाभन्दा धेरै कर्मचारी छन् ।

०००
“आलु मात्रै भनेर हुँदैन । हामीलाई मोइस्चर भएको र स्टार्च कम भएको आलु चाहिन्छ । पहाडतिर पानी कम भएको स्थानबाट ल्याएको आलु हामीलाई हुँदैन । त्यो फ्राइ गर्दा कालो हुन्छ । पैसा तिरेर खाने आलु कालो भयो भने पक्कै कसैलाई पनि मन पर्दैन नि,” आयुष्मा भन्छिन्, “पहिले हामी हल्यान्ड आलु ल्याउथ्यौँ । यस्तै, पन्जाबी आलुहरु पनि हामीले ल्याउने हो । तर, त्यही आलु भए पनि हरेकपटक ल्याउँदा हामीले छान्नुपर्छ ।”

आलुचामा पेपरको प्लेटमा आलुका परिकारको स्वाद लिन सकिन्छ । सकेसम्म बायोडिग्रेडेबल सामानहरुको मात्रै प्रयोग गर्ने उनीहरुको योजना छ । चम्चा पनि बाँसको राख्ने सोच उनीहरुले बनाएका छन् । काठमाडौंका खानाप्रेमीहरुका लागि अब चाँडै नै वसन्तपुरमा यसको फ्रेन्चाइज सञ्चालनमा आउन लागेको उनीहरुले बताए ।

भिडियो हेर्नोस्

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत १, २०७७  १५:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement