काठमाडौं । व्यवस्थापिका संसदमा २७ राजनीतिक दल प्रतिनिधित्व गर्छन् । तर, स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा १२ राजनीतिक दलले मात्र उपस्थिति जनाए । अझ पहिलो चरणको निर्वाचनमा त १० पार्टीले मात्रै स्थानीय तहमा विजय हासिल गरेका थिए ।
संसदमा भूमिका खेलिरहेको र पहिलो चरणको निर्वाचनमा भक्तपुर नगरपालिकाको मेयरसहित ९९ स्थानमा विजयी हासिल गरेको नेपाल मजदुर किसान पार्टीले दोस्रो चरणमा शून्य तहमा चित्त बुझाउनु पर्यो । त्यस्तै, पहिलो निर्वाचनमा एक सिट दलित महिला सदस्य जितेको नेपाल परिवार दलको दोस्रो चरणको निर्वाचनमा हात खाली भयो ।
आफैँलाई भोट नहाल्ने उमेदवार !
चुरे भावर लोकतान्त्रिक पार्टीबाट इटहरी नगरपालिकाको उपप्रमुखमा उठिन रुजा घिमिरे । तर, उनको एक भोट पनि आएन । यसको अर्थ उनले आफूले आफैंलाई पनि भोट हालिनन् । चुरेभावरले स्थानीय तह निर्वाचनमा खातै खोल्न सकेन । एक ठाउँमा उमेदवार उठाएको चुरेभावरले जम्मा २ मत पायो ।
क्षेत्रीय पार्टीहरूको पनि विजोग
आन्दोलनताका क्षेत्रीय पार्टीहरूले आँधी ल्याउँथे । पूर्वतिरको खुम्बुवान, लिम्बूवान होस् या अखण्ड नेपाल पार्टी नै किन नहोस् । यहाँसम्म कि संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरूहटले पनि खातै खोलेन । २४ पदमा उमेदवारी दिएको उसले एक पद पनि पोल्टामा पार्न सकेन । त्यस्तै, ८६ पदमा उठेको परिवार दल, रेसुंगा नगरपालिकामा उमेदवारी दिएको अखण्ड पार्टी र १ सय ६ स्थानमा उठेको खुम्बुवान राष्ट्रिय मञ्चले शून्य पद पाए ।
देशभक्त समाज, लोक दल, बहुदल समाज पार्टी, नेपाल जनता पार्टी, नेपाल समावेशी पार्टी, राष्ट्रिय मुक्ति आन्दोलन नेपाल, जनजागरण पार्टी नेपालले त शून्य सिट ल्याए नै, संसदमा प्रतिनिधित्व गर्ने नेपाल कम्युनिष्ट पार्टी संयुक्तसमेत स्थानीय तहमा रित्तो बन्यो । त्यस्तै, नेपाल कम्युनिष्ट पार्टीसमेत एक तहमा समेत विजयी हुन सकेन ।
दोहोरो अंकमा सीमित विवेकशील
पहिलो चरणको निर्वाचनमा चर्चा बटुलेको विवेकशील दल दोश्रो चरणको निर्वाचनमा गुमनामजस्तै बन्यो । झापाको केराबारी–९मा वडाध्यक्ष, शुक्लाफाँटा नगरपालिका प्रमुख र शुक्लाफाँटा–११ मै वडाध्यक्षमा उमेदवारी दिएको विवेकशीलले ५० मतसमेत कटाउन सकेन । केराबारीमा ३६, शुक्लाफाँटा प्रमुखमा २५ र त्यहीँको वडाध्यक्षमा २९ मतमै चित्त बुझाउनुप¥यो । त्यस्तै, २ स्थानमा उमेदवारी दिएको नेपाल लोकतान्त्रिक जनता कांग्रेस पार्टी, २१ स्थानमा उमेदवारी दिएको नेपाल पूर्वराष्ट्रसेवक लोकतान्त्रिक पार्टी र ४ स्थानमा उठेको समाजवादी जनता पार्टी सबै ‘निल’ भए ।