कामाडौं । सामान्यतया एकल कला प्रदर्शनी, सिनियर–जुनियर कलाकारको संयुक्त कला प्रदर्शनी, कलाकार जोडीको कला प्रदर्शनी, दुई वा दुईभन्दा बढी देशका कलाकारहरुको संयुक्त अन्तर्राष्ट्रिय कला प्रदर्शनी हुने गरेको पाइन्छ । तर, बबरमहलस्थित आर्ट काउन्सिलमा जारी कला प्रदर्शनी भने यी सबै प्रदर्शनीभन्दा फरक छ । त्यहाँ एकै परिवारका तीन पुस्ताको कला हेर्न पाइन्छ ।
कलाको विधामध्ये ललितकला एउटा उपेक्षामा परेको विधा हो । यही पेसालाई अंगालेर जीवनयापन गर्न मुस्किल छ भनेर कलाकारहरु गुनासो पोख्ने गर्छन् । जशेन्द्रविक्रम राणाको परिवारका तीन पुस्ता यही क्षेत्रमा छन् ।
जशेन्द्र, उनका छोरा–बुहारी सुदर्शनविक्रम र सुनीता राणा मात्रै नभई उनकी ठूली नातिनी प्रधी राणा पनि चित्रकलामा रामाइरहेकी छिन् । यो राणा परिवारको तीन पुस्ताका कलाकार र कलालाई एकै ठाउँमा ल्याउने श्रेय एमबी श्रेष्ठ मेमोरियल फाउन्डेसनलाई जान्छ । यस फाउन्डेसनले ‘लिगेसी’ शीर्षकमा यी तीन पुस्ताको कलालाई एकै थलोमा एकै समयमा प्रदर्शनीमा राखेको छ ।
०००
राणा परिवारलाई सम्पन्न परिवारको रूपमा हेरिन्छ । यस परिवारका सन्तान सेना, चिकित्सक, इन्जिनियर वा कुनै ठूलो व्यापार–व्यवसायमा जानुपर्छ र जान्छन् भन्ने सोच राखिन्छ । तर, राणा परिवारमा जन्मिए पनि जशेन्द्रविक्रमको भने सानैदेखि चित्रकलामा लगाव थियो । तर, पारिवारिक र सामाजिक दबाबले सेनामा भर्ना भए । उनी लामो समय मिलिटरी इन्जिनियरिङ सर्भिस (एमईएस)मा जागिरे रहे । अहिले उनी ब्रस र क्यानभासमा रमाउन थालेका छन् । सेनाको जागिरबाट अवकाशपछिका दिनहरुमा उनले आफ्नो शोखलाई निरन्तरता दिइरहेका छन् ।
जशेन्द्रका छोरा सुदर्शनको पनि सानैदेखि चित्रकलामा लगाव थियो । “म स्कुलमा हुने चित्रकला प्रतियोगितामा बुवाले कोर्नुभएका चित्रकलाहरुलाई कपि गरेर लग्थे र म सधैँ विजेता हुन्थेँ । त्यसले मलाई थप उत्साहित बनाउथ्यो,” उनी विगत सम्झिन्छन् । उनले यही विधामा ललितकलाबाट शैक्षिक योग्यता हासिल गरी विगत तीन दशकभन्दा लामो समयदेखि चित्रकलालाई नै पेसा बनाएर अघि बढिरहेका छन् । ललितकलामै पढ्नेक्रममा उनको भेट सुनीतासँग भयो । उनीहरुको प्रेमसम्बन्ध विवाहमा परिणत भयो ।
सुनीता र सुदर्शनले इन्स्टलेसन, पफर्मेन्स आर्ट, कार्टुन, चित्रकलादेखि हरेक विधामा काम गरेका छन् । उनी आफूलाई ‘लक्की’ पिँढी मान्छन् । किनभने, उनीहरुले हरेक विधामा काम गर्ने मौका पाएका छन् । हरेक दिन जशेन्द्रले आफ्नो छोरा–बुहारीले कलेजमा के चित्र कोरे भनेर चेक गर्थे ।
सुदर्शनको चित्रकलाभन्दा पनि मूर्तिकलामा बढी झुकाव छ । जारी प्रदर्शनीमा पनि मूर्तिकलाहरु पनि देख्न सकिन्छ । सन् २००६ तिर अन्य कलाकार सहकर्मीहरुसँग मिलेर उनीहरुले ‘आरम्भ’ नामक मूर्तिकलाको संस्था खोलेका थिए । तर, अहिले उनी त्यस संस्थाबाट अलग भइसकेका छन् ।
पेसाको रूपमा ढुक्क हुन सकिन्न
विगत तीन दशकदेखि कला विधामा करियर बनाइरहेका सुदर्शनले ढुक्क हुने गरी कमाउन नसकेको बताउँछन् । “यति लामो समय यही पेसामा लागियो र बाँकी जिन्दगी पनि यही पेसामै बिताइन्छ । तर, आजसम्म कहिले पनि मैले यो क्षेत्रबाट ढुक्क हुने गरी कमाएको छु भन्ने दिन आएन । दालभात खानका लागि एनिमेसन, इलुस्ट्रेसन, कार्टुन, पेन्टिङदेखि सबै कुरामा हात हालियो,” उनी अगाडि थप्प्छन्, “आर्थिक रूपमा ढुक्क हुन नसके पनि म आफ्नो कामप्रति निकै सन्तुष्ट छु ।”
थरकै कारण संघर्ष !
सुदर्शनको चित्रकलाको सुरुवात निकै संघर्षपूर्ण रहयो । क्षमता नभएर होइन, नामको पछाडि झुन्डिएको जात अर्थात् ‘राणा’ थरले गर्दा । शिक्षकहरुले ‘तिमी राणाहरु पनि यो क्षेत्रमा आउने हो र ? तिमीहरु त आर्मीमा जानुपर्छ । तिमीहरु सम्पन्न परिवार जति पनि सम्पत्ति छ किन यो पेसामा आउनुपर्यो ?’ भन्थे । तर, सुदर्शन भने योबाहेक अरु क्षेत्रमा लाग्ने सोचमै थिएनन् । यति मात्र होइन, आफन्तहरुले पनि चित्रकलाभन्दा अरु नै पेसा रोजोस् भन्ने गर्थे ।
उनी भन्छन्, “हामीमा थट प्रोसेस नै गलत छ । नेवारहरु आज कलामा किन यति धेरै माथि छ भन्दा उनीहरु सम्पन्न छन् । सम्पन्न भएपछि नै आर्ट आउने हो । आर्ट भनेको पैसा नहुनेहरुले मात्रै गर्छन् भन्ने सोच्नु गलत हो ।”
तेस्रो पुस्तामा निरन्तरता
राणा परिवारकी तेस्रो पुस्ता प्रधी राणाले पनि ललितकलाबाट फाइन आर्टमा स्नातक सकाएर अहिले म्युजियोलोजीमा स्नातकोत्तर पढिरहेकी छिन् । जारी प्रदर्शनीमा उनको पनि चित्रकलाहरु हेर्न सकिन्छ । प्रधीको बाल्यकाल कलाकैबीच हुर्कियो । “प्रधी जन्मिएको १५ दिनको मात्रै हुँदा उसलाई बोकेर यही आर्ट काउन्सिलमा कला प्रदर्शनी हेर्न आएको छु । प्रधी स्टुडियो, ग्यालरी र कलाको कार्यशालाहरुमा हुर्किएको हो,” कलाकार सुनीता राणाले सुनाइन् ।
सुदर्शन र सुनीताको हाल (नाफा) नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान रहेको स्थानमा स्टुडियो थियो । उनीहरु छोरी प्रधीलाई पनि आफूसँगै स्टुडियोमा लग्थे । प्रधी अलि बुझ्ने भएदेखि नै ब्रस लिएर पेपरमा चित्रहरु कोर्ने गर्थिन् । उनलाई राणा दम्पतीले कहिले पनि यो पेसा रोज्न दबाब दिएनन् र रोकेनन् पनि । मुख फोरेर भन्न नसके पनि सुदर्शनलाई भने छोरीले यही पेसा राजोस् भन्ने इच्छा भने थियो । अन्ततः प्रधीले यही पेसा नै रोजिन् ।
सुदर्शनका अनुसार चित्रकलाको नेपाली मार्केट निकै साँघुरो छ । यदि, छिमेकी राष्ट्र भारत र चीनले मात्रै पनि नेपाली कला किन्ने हो भने नेपाली कलाकारको आर्थिक पक्ष बलियो हुने सुदर्शनको भनाइ छ ।
उमेरको प्रभाव कलामा
जसरी यी तीन पुस्ताको उमेर अन्तर छ, त्यसैगरी उनीहरुको काममा पनि त्यो फरकपन देख्न पाइन्छ । राणा परिवारको जेठो पुस्ताको प्रतिनिधि जशेन्द्रको काममा धर्म, विचार, आध्यात्म र दर्शनको झलक देख्न सकिन्छ ।
त्यस्तै, दोस्रो पुस्ताको प्रतिनिधित्व गरिरहेका छोरा–बुहारी सुदर्शन पेन्टिङ र मूर्तिकलामा विशेष लगाव राख्छन् । परम्परागतदेखि अहिलेको २१औँ शताब्दीको प्राविधिक प्रगतिको साक्षी बनेका सुदर्शनको काममा यी सबैको समिश्रण देख्न सकिन्छ । उनी विशेषगरी मानव भावना, मनोविज्ञानका कुराहरुलाई कलामा उतार्ने गर्दछन् ।
यस्तै, कलाकार सुनीताको काममा प्रकृतिको झलक देख्न सकिन्छ । नेचर भनेर हामीले देख्ने प्राकृतिक नेचर मात्रै नभई ह्युमेन नेचरलाई पनि उनी चित्रकलामा उतार्ने गर्छिन् । राणा परिवारको तेस्रो पुस्ताको प्रतिनिधित्व गरिरहेकी नातिनी प्रधीको काममा भने अहिलेको पुस्ताले महसुस गर्ने र अहिलेको पुस्तालाई प्रतिनिधित्व गर्ने काम देख्न सकिन्छ । उनको चित्रकलामा स्वतन्त्रता, मन र दिमागको उथलपुथल, डिप्रेसनका कुराहरुलगायत देख्न सकिन्छ ।
०००
क्यानसरपीडितहरुप्रति समर्पित यस च्यारिटी कला प्रदर्शनीमा राणा परिवारका तीनै पुस्ताका २० वटाभदा धेरै कला एकै थलोमा हेर्न सकिन्छ । एक्रिलिक र ओइलको प्रयोग गरी क्यानभास र पेपरमा उतारेका सुन्दर चित्रला र मूर्तिकलाहरु प्रदर्शनीमा राखिएका छन् । क्यान्सर सर्भाइभर डली गुरुङबाट कार्यशालाको उद्घाटन गरिएको थियो । प्रदर्शनीबाट आएको जम्मा रकमको ५० प्रतिशत क्यान्सरपीडितहरुका लागि जान्छ । १९ फेब्रअरीदेखि २८ फेब्रअरीसम्म जारी भनिएको प्रदर्शनी केही दिन अझै बढ्न सक्ने कलाकार सुनीताले बताए ।
प्रदर्शनीमा आयोजक श्रेष्ठ फाउन्डेसनको आफ्नो पर्सनल कलेक्सन पनि राखिएको छ । जसमा दिग्गज चित्रकारहरु केके कर्माचार्य, किरण मानन्धरलगायतका कलाकारहरुको चित्रकला सामेल छन् ।