site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
भागरथी हत्या अनुसन्धानमा निर्मला प्रकरणले तर्सियो प्रहरी
फाइल तस्बिर ।

काठमाडौं । बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या अनुसन्धान पेचिलो बन्दै गएको छ । अभियुक्तसम्म पुग्ने भरपर्दो सूचना नपाउँदा अनुसन्धान पेचिलो बन्दै गएको हो ।

आफन्तले भागरथी मृत फेला परेको १२ दिन बितिसक्दा पनि शव बुझेका छैनन् । स्थानीय सनातन धर्म माध्यमिक विद्यालयको कक्षा–१२ मा अध्ययनरत् भागरथी माघ २१ गते साँझसम्म विद्यालयबाट घर फर्किएकी थिइनन् । उनी २१ गते बिहान कच्ची सडकको ५० मिटर भित्री क्षेत्रमा मृत अवस्थामा फेला परेकी थिइन् । अपराधी पक्राउ नपरेसम्म शव नबुझ्ने आफन्तको अडान छ ।

Dabur Nepal
NIC Asia

केही दिनअघि प्रहरीले अनुसन्धान सकारात्मक पाटोमा अगाडि बढीरहेको बताएको थियो । पछिल्ला केही दिनयता अनुसन्धानमा केही जटिलता थपिँदै आएको अनुसन्धानमा खटिएका प्रहरीहरुले बताउन थालेका छन् । केही शंकास्पद व्यक्तिहरु प्रहरी घेरामा रहे पनि उपयुक्त प्रमाणको अभावमा उनीहरुलाई नियन्त्रणमा लिन नसकिएको प्रहरी अधिकारीहरुको दाबी छ ।

खासगरी अनुसन्धानमा संलग्न अधिकारीहरु निर्मला पन्त प्रकरणबाट तर्सिएका हुन् । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया किशोरी निर्मला पन्त २०७५ साउन ११ गते घरभन्दा केही पर रहेको उखुबारीमा मृत फेला परेकी थिइन् । अनुसन्धानबाट उनको बलात्कारपछि हत्या भएको खुलेको थियो । निर्मला हत्यामा संलग्नको समेत अझै पहिचान हुन सकेको छैन । प्रहरीले निर्मला हत्यामा संलग्न रहेको भन्दै ३९ वर्षीय दिलीपसिंह विष्टलाई २०७५ भदौ ४ मा सार्वजनिक गरेको थियो । तर, निर्मलाको शरीरबाट निकालिएको स्वाबसँग दिलीपको डीएनए नमिलेपछि उनी छुटेका थिए । नक्कली अभियुक्तलाई फसाउन खोजीएको भन्दै तत्कालीन उच्च प्रहरी अधिकारीहरु कारबाहीमा समेत परे । अहिले भने ती प्रहरी अधिकारीले अदालतबाट सफाइ पाइसकेका छन् ।

प्रमाणको अभावमा कसैलाई पक्राउ र म्याद थप गर्दा कारबाहीमा परिने डरले अनुसन्धानमा संलग्न अधिकारीहरु निर्मला प्रकरणजस्तै बन्न सक्ने भन्दै तर्सिएका हुन् । अनुसन्धानमा संलग्नहरु भन्छन्, “निर्मला प्रकरणजस्तो भागरथी प्रकरण नबनोस् भन्नेमा हामी सचेत छौँ । तर, अनुसन्धान जटिल बन्दै गएको छ । कतिपय अवस्थामा स्थानीयले पनि असहयोग गरेको पाएका छौँ ।”

भागरथीको बलात्कारपछि घाँटी थिचेर हत्या गरिएको पोस्टमार्टम रिपोर्टमा उल्लेख छ । अनुसन्धान टोलीको नेतृत्व गर्न सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी उत्तमराज सुवेदी आफैँ बैतडीमा छन् । अनुसन्धानमा केन्द्रीय अनुसन्धान ब्युरो, प्रदेश प्रहरी, जिल्ला प्रहरी कार्यालय बैतडीको विशेष टोली खटिएको छ । प्रहरीले सम्भावित संदिग्ध व्यक्तिहरुको सूची तयार गरेको छ । प्रहरीले संदिग्धको सूचीमा सरकारी कर्मचारी, शिक्षक, चिनजानका अन्य व्यक्तिलाई राखेको छ ।

प्रहरीले भागरथीले प्रयोग गर्दै आएको मोबाइललगायत अन्य केही सामग्रीको फरेन्सिक ल्याबबाट अनुसन्धान गरिरहेको छ । प्रहरीले योबीचमा दर्जन बढी व्यक्तिसँग सोधपुछ गरेको छ । प्रहरी स्रोतका अनुसार भागरथी प्रकरणको अनुसन्धानका लागि उनको शरीरबाट भेजिनल स्वाब लिइएको छ । जसलाई विकास गर्नका लागि काठमाडौंस्थित विधिविज्ञान प्रयोगशाला पठाइएको छ । स्वाब विकसित गर्न सकिए शंकास्पदहरुको डीएनए परीक्षणसमेत गर्ने तयारी छ । यद्यपि, अन्य प्रमाणले अपराधीको पहिचान हुन सके डीएनए परीक्षण गर्नुनपर्ने अवस्था आउनसक्ने प्रहरी अधिकारी बताउँछन् ।

भागरथीको मोबाइल घटनास्थलमा भेटिएको थियो । प्रहरीले कल डिटेल, भागरथीको फेसबुकलगायतको पनि अनुसन्धान अघि बढाएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन ४, २०७७  १०:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro