
काठमाडौँ । कक्षा–७ मा पढ्ने १४ वर्षीया सरीता चेपाङ विद्यालय आइनन् । चितवनको टाँडीस्थित कालिका नगरपालिका वडा नम्बर–१० मा बस्ने सरीता धुलिखेलस्थित पञ्चकन्या आधारभूत विद्यालयमा पढ्छिन् ।
सरकार र स्थानीय तहले विद्यालय खोल्न अनुमति दिएपछि १५ मंसिरदेखि सबै विद्यार्थी विद्यालय आउँदै थिए । तर, सरीता नआएपछि प्रधानाध्यापक दामोदर गौतम सरीताको खोजीमा लागे ।
पढाइमा अब्बल सरीता कक्षाकी प्रथम छात्रा हुुन् । उनी कक्षा–१ देखि नै सोही विद्यालयमा पढ्दै आएकी हुन् । १४ वर्षीया सरीताले विवाह गर्न लागेको सुनेपछि प्रधानाध्यापक गौतम हेल्प नेपाल नेटवर्कका प्रतिनिधिलाई लिई १९ माघमा चितवन गए । सरीता हेल्प नेपाल नामक संस्थामा बस्दै आएकी थिइन् । संस्थामा २२ जना बालिका तथा किशोरी बस्छन् । जसमा नौजना चेपाङ जातिका छन् ।
चितवन जानुुअघि उनले बालिका खोजतलास गरिपाऊँ भनी चितवन प्रहरीमा निवेदन दिएका थिए । प्रहरीले किशोरी भेटेको खबर गरेपछि त्यहाँ गएको उनले बाह्रखरीलाई सुनाए ।
यस्तै, हेल्प नेपाल नेटवर्कका जिल्ला संयोजक पूर्णबहादुर कार्कीले किशोरीले ‘म त जान्नँ, यही बस्छु’ भनेको पुष्टि गरे । उनी भन्छन्, “हामीले लकडाउनको बेला फोन गर्दा किशोरीले म त यही बस्छु, त्यहाँ आउँदिनँ । टाढा भयो भन्ने गरेकी थिइन् ।” किशोरीले फुुपू र मामाको दबाब र प्रभावमा परी पढाइ छाडेर चितवन बसेको गौतम र कार्कीको आरोप छ ।
सरीताको बुुवा बितिसकेका छन् भने आमाले दोस्रो बिहे गरेर छुट्टै बस्छिन् । गाउँमा हजुरआमासँग रहेकी सरीता ०७१ देखि नै धुलिखेलस्थित हेल्प नेपाल नेटवर्कमा बस्दै आएकी हुन् । चितवनमा सरीता ‘नक्कली’ फुपू र मामासँग बसेको गौतमको दाबी छ । उनी भन्छन्, “किशोरीका हात फुटेका र ठेला उठेका थिए । झन्डै श्रमिकको रुपमा बेचिन पनि सक्थिन् ।”
यस्तै, कालिका नगरपालिकाका वडा सदस्य नरजंग चेपाङले किशोरीलाई जानबाट रोकेको गौतमको भनाइ छ । ‘यो नानी जान्नँ भन्छे, यसलाई पढ्न मन छैन । उता गएर आत्महत्या गरी भने को जिम्मेवार हुने ?’ जस्ता प्रश्न गरेको गौतमले सुनाए । जवाफमा “बिरामी छोराछोरीले औषधि खान मानेनन् भने के गर्नुहुुन्छ ? मर्न दिनुहुन्छ कि औषधि खुुवाउनुहुन्छ ?” जस्ता प्रश्न गरेपछि बल्ल सबैले मानेको प्रधानाध्यापक गौतम सम्झिन्छन् ।
जालीमाया चेपाङ किशोरीकी आफ्नै फुुपूू होइनन् । यस्तै, जालिमाया र नरजंग चेपाङबीच ज्वाइँ–बैनीको सम्बन्ध छ । जालीमायाले कक्षा–९ मा पढ्ने १८ वर्षीय छोरासँग बिहे गराउन खोजेको प्रधानाध्यापक गौतमको आरोप छ । सो विवाहमा वडा सदस्य नरजंग र अन्य चेपाङ समुदायका मानिसले सहमति दिएको उनको आरोप छ । सरीतालाई खान, बस्न र विद्यालयमा पढ्न कुनै समस्या नभएको संस्थाले जनाएको छ ।
बाह्रखरीले सरीतासँग टेलिफोनमा कुराकानी गर्दा पढ्न मन नलागेर फर्किन नचाहेको बताइन् । “तर, अब भने म राम्ररी पढ्छु,” उनले सुनाइन् । सरीता शिक्षिका बन्न चाहन्छिन् । अंग्रेजी उनको मनपर्ने विषय हो । उनले फुपूूसँग अहिले पनि कुरा हुने गरेको भन्दै अबदेखि राम्ररी पढ्नु भनेर फुपूले सम्झाएको बताइन् ।
गौतमले किशोरीलाई उच्च शिक्षा लिन प्रेरित गर्ने बताए । उनले बालविवाहले बालबालिकाको भविष्यमाथि खेलबाड हुने भन्दै समयमै उजुुरी गरेकाले किशोरी जोगिएको उनको भनाइ छ ।
यज्ञप्रसाद चेपाङ सरीताकै गाउँको मानिस भएकाले उनले नै सरीतालाई दसैंमा र अन्य बिदामा घर लैजाने र ल्याउने गरेका थिए । उनको छोरी पनि सोही विद्यालयमा पढ्छिन् । १९ माघमा टाँडी गई किशोरीलाई प्रहरी, पत्रकार र गाउँपालिकाका प्रतिनिधि सबैको सामु विद्यालय पढ्न फर्केर आऊ भनेपछि भोलिपल्ट बल्ल सरीता फर्किन राजी भएकी थिइन् ।
पछिल्लो तथ्यांकअनुसार ६० हजार बालबालिका विद्यालयबाहिर छन् भने लकडाउनमा आठ महिनासम्म विद्यालय बन्द हुँदा धेरै बालबालिकाले विद्यालय छाड्ने गरेका छन् ।