काठमाडौं । वैदेशिक रोजगार विभागमा सेवाग्राहीको घुइँचो । वैदेशिक रोजगारीमा ठगीमा परेका, पीडा झेलेकाहरू न्यायका निम्ति धाउने थलो नै हो त्यो । त्यहाँ अनेक दुःख, कष्ट खेपेका मानिस भेटिन्छन् ।
त्यही भिडमा भेटिइन्, पर्वतकी जेनिसा न्यौपाने । उनको साथमा डेढ वर्षको काखे-शिशु पनि थियो । अनुहारमा कारुणिक पीडा ।
एक वर्षअघि पनि उनको अनुहारमा त्यस्तै पीडा थियो । तर, पीडाको प्रकृति बेग्लै थियो । वैदेशिक रोजगारीको बाटो तताए दुःखबाट पार पाउने सपना देखेर उनले श्रीमान् जगतलाई वैदेशिक रोजगारीको बाटो देखाइदिएकी थिइन् ।
दुःखबाट त्राण पाउनु त कहाँ हो कहाँ, झनै दुःख थपियो । र, विभागमा त्यही दुःखको पयो फुकाइरहेकी थिइन् । आफैँ मात्रै विभागमा आए, धाए पीडा कसैले नसुन्ने देखेर, बुझेर हुनुपर्छ उनले केही अभियन्ताहरूसँग गुहार मागेकी रहिछन् । उनको पीडालाई साथ दिँदै ज्वाला संग्रौला, सरिन तामाङ, पुण्य गौतम, हेमराज थापा पनि विभागमा आएका थिए ।
वैदेशिक रोजगारीमा जानुअघि जगतले किराना पसल गर्थे । सानो लगानीमा खोलेको किराना पसल उनीहरूको जीवन गुजाराका लागि पर्याप्त हुने कुरा थिएन । त्यसैले उनले वैकल्पिक आय-आर्जनको बाटो खोजिरहेका थिए । तर, काठमाडौंको ठाउँमा भनेकै समयमा आम्दानीको अर्को बाटो कहाँ भेटिन्थ्यो र ! त्यसैको विकल्प बनेको थियो वैदेशिक रोजगारी ।
त्यति नै बेला उनीहरू तीनजुरे मेनपावरको सम्पर्कमा पुगे । मेनपावरकी सञ्चालिका सिर्जना अधिकारीले मासिक अढाइ लाख कमाइ हुने बताइन् । व्यापारबाट जेनतेन जीविका चलेको उक्त परिवारलाई त्यो पैसा निकै धेरै थियो ।
विदेशमा केही वर्ष काम गर्दा छोरीको लालनपालन मात्र हैन, नेपाल फर्किएर राम्रो व्यवसाय सुरु गर्ने सपना देखे । तर, विदेश जान नै नौ लाख रुपैयाँ चाहिने मेनपावरले बतायो ।
त्यही सपना पूरा गर्न न्यौपाने दम्पतीले पसल बेचे र सरसापट गरेर मेनपावरले भनेजति पैसा बुझाए । अहिले त्यही पैसा फिर्ता हुन्छ कि भनेर उनी विभाग र प्रहरी कार्यालय धाइरहेकी छन् । यसरी धाउने उनी एक्ली होइन । उनका श्रीमान् जगतसँगै गएका अरु ६३ जना पनि उनको साथमा छन् । जगतसँगै गएकामध्ये धेरै घर फर्किइसके । केही भने दुबईमै छन् ।
नेपालदेखि दुबईसम्म दलालको सेटिङ
गत वर्षको पुसमा जगत दुबई पुग्दा विमानस्थलमा लिन श्याम थापा आए । नेपालबाट गएका सबैलाई श्यामले एकै ठाउँमा राखे । सबै एकै ठाउँमा बस्न पाएपछि जगतले घरमा फोन गरेर खुसी मनाएका थिए । तर, त्यो खुसी केही साता पनि टिकेन । कारण, उनीहरूको काम नै सुरु भएन ।
हप्तौँसम्म काम नहुँदा उनको मनमा चिसो पस्न थाल्यो । ‘ल आज ट्रेनिङ छ’ भनेर लुगा लगाउन लगाउँदा भने उनको मनमा खुसी छाउँथ्यो । त्यही खुसी जगत आफ्नी श्रीमतीलाई सुनाउँथे । तर, हप्तौँसम्म पनि काम सुरु भएन ।
समय बित्दै गयो । आशा मर्दै गयो । अनि, उनीहरूले पाउने सुविधा पनि कम हुँदै गयो । एक दिन त उनीहरूले खानासमेत पाएनन् । श्रीमान्ले विदेशमा पाएको दुःख फोनमा सुनाएको उनले सम्झिइन्, “खाना नै पाइएन, जसरी हुन्छ नेपालबाट पैसा पठाइदेऊ ।”
उनलाई एक मन त लागेको थियो, श्रीमान्लाई खान मात्रै होइन, नेपाल फर्कनसमेत पैसा पठाउँ । तर, उनीसँग श्रीमान्लाई नेपाल फर्काउन सक्ने पैसा थिएन । कोरोनाले सताएका बेला उनले श्रीमान् घर फर्काउन ऋण पाउने त कुरै भएन । जसोतसो खानाका लागि जेनिसाले पैसा पठाइन् ।
त्यही बेलादेखि नै कोरोनाको पर्वाह नगरी उनी मेनपावर धाउन थालिन् । मेनपारमा बारम्बार धाएपछि नेपालबाट सम्झौता गरेको तलबको २५ प्रतिशत मात्र पाएको उनी बताउँछिन् । मेनपावरमा धाएरै उनले श्रीमान्लाई दुबईमै अर्को कम्पनीमा पठाउन लगाइन् ।
भिसा नै नक्कली
उनले अर्को काम त पाए । तर, उनको भिसा नै नक्कली रहेछ । त्यो कुरा त्यहाँको प्रशासनले थाहा पायो । प्रशासनले २० हजार दिराम जरिवाना तिर्नुपर्ने वा नेपाल फर्कनुपर्ने बतायो ।
“यसै त समस्यामा थियौँ । दलालले झन ठूलो भुमरीमा पुर्याए । जरिवाना तिरेर त्यहाँ बस्नुभन्दा त नेपाल नै फर्किनु बेस भनेर श्रीमान्लाई ऋण गरेरै नेपाल झिकाएँ,” उनले भनिन् ।
नेपालबाट नौ लाख तिरेर दुबई गएका जगत रित्तै फर्किए । झन्डै १० महिनापछि तिहारको लक्ष्मीपूजाको दिन घर पुगे । अहिले उनीहरूसँग न पसल छ न पसल बेचेको पैसा । छ त साहुको ऋण मात्र । ब्याज बढ्दो छ । ठूलो कमाइको सपना देखाएर नेपालबाट पठाएको तीनजुरे मेनपावरले पैसा फिर्ता गर्ला र ऋणको बोझ कम गरौँला भनेर सरकारी कार्यालय धाएको उनी बताउँछिन् ।
“कमाइको बाटो बन्द छ । तर, साहुले कराउन छाड्ने कुरै भएन,” उनी भन्छिन्, “दलालबाट पैसा फिर्ता हुन्छ कि भनेर यता आएको खै कैले पाउने हो ?”
चेक त्यो पनि खाली...
विभाग र प्रहरीचौकीको शरणमा पुगेपछि तीनजुरे मेनपावरका सञ्चालकले चेक दिए । “त्यो चेक पनि तीनपटक बाउन्स भइसक्यो । मुद्दा पनि गर्यौँ,” उनले बताइन् ।
“अहिले श्रीमान्सँग मोटो रकम लिएर विदेश पठाउने दलाल सम्पर्कमा छैन । केहीपहिले टेकु प्रहरी कार्यालयमा पुगेको थियो । तर, पुलिसले छाडिदियो,” उनले भनिन्, “न्यायका लागि जानुपर्ने ठाउँ गएँ । तर, न्याय पाइएन ।”
प्रहरीले चाहे ठग्नेहरू समाउन सक्ने उनी बताउँछिन् । “सरकारले हाम्रो कुरै सुनेन । जनताको सेवाका लागि भनेर बसेका प्रहरीले विभागले पक्राउ पुर्जी जारी गर्दासमेत दलाललाई समातेनन्,’’ उनले भनिन् । सरकारी निकायले बेवास्ता गर्दा अभियन्ताको शरणमा पुगेको उनको भनाइ छ
‘धरौटीबाट पैसा काटेर दिन्छौँ’
विभागले तीनजुरे मेनपावरलाई चार महिनापहिले नै कारबाहीको प्रक्रिया अगाडि बढाएको वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दहाल बताउँछन् ।
“विभागले मेनपावरका सञ्चालक र दलालहरूलाई पक्राउ पुर्जी जारी गरिसकेका छौँ । यत्रो समयसम्म उनीहरू प्रहरीको सम्पर्कमा आएनन् । अब धरौटीमा रहेको पैसा कटेर पीडितलाई दिन्छौँ,” उनले भने ।