site stats
बाह्रखरी :: Baahrakhari
विशेष
नेपालबाट एकै वर्षमा ३३२ विदेशी निकाला, सबैभन्दा बढी चिनियाँ 

काठमाडौं । सन् २०२० मा दुई लाख ३० हजार ८५ विदेशी नेपाल आए । विभिन्न भिसामार्फत नेपाल आएकामध्ये ३३२ विदेशीलाई अध्यागमन विभागले निष्कासन गर्‍यो । 

विभागका अनुसार सन् २०१९ मा ५७५ जना विदेशीलाई देश निकाला गरिएको थियो । सन् २०१८ मा ११४ जना विदेशीलाई अध्यागमन विभागले देश निकाला गरेको विभागका निर्देशक टेकनारायण पौडेलले जानकारी दिएका छन् ।

विभागका अनुसार सबैभन्दा धेरै चिनियाँ नागरिक निष्कासनमा परेका छन् । २०२० मा मात्रै अध्यागमनले २२६ चिनियाँलाई देश निकाला गरेको थियो । देश निकाला गरिनेमा दोस्रो नम्बरमा बंगलादेशका नागरिक छन् । २०२० मा १८ बंगलादेशी नागरिकलाई अध्यागमनले देश निकाला गरेको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यस्तै, सन् २०२० मा नै अमेरिकाका आठ, इरानका सात, भियतनामका सात, पाकिस्तानका ६, भुटानका ६, रिपब्लिक कोट डिभरेका पाँच, जर्मनीका दुई, गिनीका तीन, जोर्डनका दुई, नाइजेरियाका तीन, रोमानियाका दुई, रसियाका दुई, सोमालियाका दुई, स्वीट्जरल्यान्डका दुई, बेलायतका दुई, थाइल्यान्डका दुई, यमनका पाँच र अन्य देशका २२ जना निष्कासित भएका छन् ।

के कसुरमा देश निकाला हुन्छ ?
देश निकालाको मुख्य कसुर ‘ओभर स्टे’ हो । निश्चित उद्देश्यले निश्चित समयको लागि भनेर नेपाल आएका विदेशीहरु तोकिएभन्दा धेरै समय नेपालमा बसेको पाइएपछि ओभर स्टेको कसुरमा देश निकाला गर्ने गरिएको विभागले जनाएको छ ।

विभागले भिसाविपरीतको काम गर्ने विदेशीलाई पनि देश निकाला गर्ने गरेको छ । भिजिट भिसामा नेपाल आएर यहाँ रोजगारीमा संलग्न हुनेहरुलाई भिसाविपरीतको काम गरेको भनी निकाला गर्ने गरिएको छ ।

यस्तै, जाली राहदानी, जाली भिसा भएका, बिनाभिसा नेपाल प्रवेश गरेका, नेपालमा भएका आन्दोलनमा सहभागी भएका, लागुऔषध कारोबार, मानव बेचबिखन, चोरीलगायत अपराधमा संलग्न विदेशीलाई समेत विभागले देश निकाला गर्ने गरेको जनाएको छ ।

विभागका अनुसार सन् २०२० मा ओभर स्टेमा ४८ चिनियाँ नागरिकलाई देश निकाला गरिएको थियो । यस्तै, भिसाविपरीत रहेका विभिन्न देशका १६ जनालाई निकाला गरियो ।

लागुऔषध कारोबारमा संलग्न विभिन्न देशका नौजना, जाली राहदानीमा विभिन्न देशका आठजना, बिनाभिसा नेपाल प्रवेश गर्ने विभिन्न देशका सातजना, आन्दोलनमा सहभागी तीनजना, नक्कली मुद्दा कारोबारमा संलग्न तीनजना, जाली भिसामा दुईजना, चोरीमा संलग्न दुईजना, सुन निकासीमा दुईजना, अन्य कसुरमा १८ जनालाई देश निकाला गरिएको थियो ।

अध्यागमन ऐन, २०४९ को दफा ९ मा विदेशी नागरिकले कानुनविपरीत कार्य गरेमा निष्कासन गर्ने व्यवस्था रहेको छ । विभागले अपराध मानेका विभिन्न कसुरमा सरकारको स्वीकृतिमा महानिर्देशकले निष्कासन गर्न पाउने व्यवस्था छ । 

अध्यागमनको कार्यविधि २०६५ को बुँदा नम्बर ६३ मा विदेशीलाई एक वर्षदेखि १० सम्म नेपाल आउन नपाउने गरी निष्कासन गर्न सकिने व्यवस्था छ ।

सजाय उल्लंघन गरे के हुन्छ ?
जाली राहदानी वा भिसा प्रयोग गरेमा वा गराएमा निजलाई ५० हजार रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था रहेको छ ।

निष्कासन गरिएको विदेशीले निष्कासन गरिएको अवधिसम्म नेपालभित्र पुनः प्रवेश गर्न पाउने छैन । यदि, उक्त अवधिमा पुनः प्रवेश गरेमा गरे/गराएमा पहिलोपटक २५ हजार रुपैयाँसम्म जरिवाना वा दुई वर्षसम्म कैद वा त्यसपछि पुनः उल्लंघन गरेमा पटकैपिच्छे ५० हजार रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुनेछ ।

जाली जाहदानी प्रयोग गर्ने वा निष्कासन गरिएको विदेशीलाई पुनः नेपाल ल्याउने मतियारलाई त्यस्तो अपराध गर्ने व्यक्तिलाई हुने सजायको आधा सजाय हुने अध्यागमन ऐन २०४९ मा उल्लेख छ ।

प्रकाशित मिति: शुक्रबार, चैत २०, २०७७  १२:०४
प्रतिक्रिया दिनुहोस्