काठमाडौं । कलंकीपछि राजधानीको बढी ट्राफिक जाम हुने क्षेत्र हो कोटेश्वर । कोटेश्वरको जाम हटाउन विभिन्न प्रयास गरिए पनि अहिलेसम्मको अवस्था उस्तै छ ।
सडक डिभिजन कार्यालयका प्रमुख कुवेर नेपालीका अनुसार दुई वर्षदेखि कोटेश्वरको सवारी व्यवस्थापन गर्न विभिन्न कार्यक्रम राखिएका छन् । ‘‘ट्राफिक जाम व्यवस्थापन गर्न विदेशी संस्थाले काम गर्दै आएका छन् । यतिखेर कोटेश्वरको ट्राफिक जाम हटाउन सरकारको ध्यान गएको देखिन्छ," उनले भने, "सरकारले यसअघि जडीबुटी कोटेश्वर खण्डको जाम कम गर्ने भन्दै वैकल्पिक मनोहरा करिडोको निर्माण सुरु गरेको थियो । अहिले निर्माण सकिएको छ ।" उनका अनुसार अब लोकन्थली-नरेफाँट जोड्ने बेलिब्रिजदेखि बालकुमारी पुलसम्मको वैकल्पिक सडक बनेको छ । योसँगै कोटेश्वर-जडीबुटीको जामको सामना नगरेरै सवारीसाधन गन्तव्यमा जान पाएको उनी बताउँछन् । "मनहरा करिडोरको निर्माण भएको छ । अब यहाँ गुड्ने सवारीसाधनको चाप कम हुने देखिन्छ । दुईलेनको बैकल्पिक सडक बनेको छ,” उनले भने ।
यो खण्डको ठेक्का २०७२ असार ३१ मा सम्झौता भएको थियो । उक्क्त ठेक्का एसएमएनएस जय बाबा एलसीएसपीएएल जेभीले पाएको थियो । यसको लागत रकम १९ करोड १६ लाख रुपैयाँ रहेको छ ।
‘‘वैकल्पिक सडक तयार हुँदा सवारीचालकले राहत पाएका छन् । यो सडक निर्माण भएको झन्डै आधा दशक बितेको छ । अहिले बल्ल निर्माण सकिएको हो," डिभिजन प्रमुख नेपालीले थपे । सरकारले पछिल्लो समय वाग्मती करिडोर, हनुमन्ते करिडोर, नक्खु, विष्णुमती, मनोहरालगायत नदीको करिडोर निर्माण गरेको छ । "यसको मुख्य उद्देश्य हो, ट्राफिक जाम कम गर्नु,” उनले भने ।
तीन लेन सडक विस्तार धमाधम
डिभिजन कार्यालयले कोटेश्वर जडीबुटीमा तीन लेनको सडक विस्तारको काम थालिसकेको छ । लेन विस्तार गर्न पुसमै ठेक्का सम्झौता भएको थियो । अहिले यो खण्डमा पर्खाल लगाउने काम भइरहेको छ । कोटेश्वर-जडीबुटी खण्डको ट्रयाक खुला भइसकेको छ । कार्यालयका अनुसार ठेकेदार कम्पनीले छिटै काम थाल्नेछ ।
तीनलेन सडक विस्तारको कामको ठेक्का टुन्डी सुसन जेभीले पाएको छ । २०७७ पुस २१ गते निर्माण व्यवसायी कम्पनी र सडक डिभिजन कार्यालय काठमाडौंबीच सम्झौता भएको थियो । उक्त निर्माणको लागत ७ करोड ८१ लाख छ । सम्झौताअनुसार आगामी असारसम्ममा निर्माण सम्पन्न गरिसक्नुपर्नेछ । कोटेश्वरबाट जडीबुटीतर्फ जाँदा दुई लेन र बायाँ एक लेन सडक थप गर्न लागिएको कार्यालयले जनाएको छ ।
पुलमुनिबाट अन्डरपासको व्यवस्था
पेप्सीकोलाबाट आएका सवारीसाधनलाई जडीबुटीको कार्यालयतर्फ मोडेर मनहरा पुलमुनिबाट सीधै बालकुमारीतर्फ अन्डरपास गरेर सवारीसाधन पास गराउने योजना अघि सारेको डिभिजन कार्यालयले जनाएको छ ।
पाँच करोडको लागतमा पुलमुनिबाट अन्डरपार निर्माण गर्न लागिएको हो । मनहरा अन्डरपास खोल्नेबित्तिकै जाम कम हुनेछ । यो अन्डरपास एक वर्षभित्रै खोलिने गरी तयारीमा छौं । भक्तपुरबाट आएर पेप्सीकोलातिर जानेलाई पनि पुलबाटै पास गर्न सकिन्छ ।
ट्राफिक इन्जिनियर आशिष गजुरेलका अनुसार पुलकै माध्यमबाट धेरै हदसम्म सवारी जाम कम गर्न सकिन्छ । ‘‘पुलमुनिबाट सवारीसाधन गुडाएर सवारी जाम कम गर्न सकिन्छ । मुख्य सडकमा यस्ता किसिमका पुल निर्माण गर्न सके १० प्रतिशत ट्राफिक जाम कम हुन्छ । यसका लागि सरोकारवालाले तत्कालै करिडोर खोलेर स्थायी रुपमा सञ्चालनमा ल्याउनुपर्नेछ । अर्कातिर अरनिको राजमार्गमा जाने सवारी कोटेश्वर हुँदै जान्छन् । कोटेश्वर चोक अहिले सवारी चापले गर्दा बसपार्कजस्तै छ,” गजुरेल थप्छन्, ‘‘कतिपय बाहिरी जिल्लामा जाने सवारीसाधन पनि कोटेश्वरबाटै छुट्छन् । कोटेश्वर चोकमै बस स्टप छ । लामो दूरीका सवारीसाधन दिनभरजस्तै पार्किङ गरेर राखिन्छन् । सडकबाटै ओराल्ने र झार्ने काम भइरहेको छ । कोटेश्वर चोकमा अन्डरपास तथा फ्लाइओभरको विकल्प छैन, अझ अहिले त कोटेश्वरमा तिनैतर्फ घुमेको आकाशेपुलको खाँचो छ ।”
महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएसपी जनक भट्टराई कोटेश्वरको जाम कम गर्न महाशाखाले पनि विभिन्न गतिविधि गर्दै आएको बताए । उनले भने, ‘‘कोटेश्वर खण्डको आकाशेपुलका ठेक्का पनि अलपत्र छन् । आकासेपुल बनाउँदा धेरै हदसम्म सवारी जाम हट्छ । अर्कातिर अत्याधुनिक प्रविधिका ट्राफिक लाइटको व्यवस्था पनि छैन । अत्याधुनिक प्रविधिका ट्राफिक लाइट जडानको योजना अघि सारेका छौं ।”
-फाइल तस्बिर