
काठमाडौं । सार्वजनिक यातायात व्यवसायीले सहज रूपमा गाडी सञ्चालन गर्ने अवस्था नबने आन्दोलन गर्ने चेतावनी दिएका छन् । विभिन्न आन्दोलनका कारण यातायात सञ्चालन गर्न कठिनाइ भएको उनीहरूले बताएका छन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका पदाधिकारीले मंगलबार (वैशाख ९) यातायात व्यवस्था विभागमा ध्यानाकर्षणपत्र बुझाउँदै सहज रूपमा गाडी सञ्चालन गर्ने अवस्था नबने आन्दोलन गर्ने चेतावनी दिएका हुन् । आन्दोलनका कारण यातायात क्षेत्र नै धराशायी भएको भन्दै उनीहरूले सरकारले गम्भीर भएर यो विषयमा विचार गर्नुपर्नेमा जोड दिएका छन् ।
माइतीघर–बानेश्वर क्षेत्रकेन्द्रित आन्दोलनका कारण यातायात सञ्चालनमा अवरोध हुँदा बैंक किस्ता तिर्न समस्या भएको उनीहरूले बताएका छन् । मजदुरलगायत व्यक्तिमाथि समेत समस्या भएको र यात्रुको अधिकारको हनन भएको महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले बताए ।
उनले आफ्नो माग गर्दा अरूको अधिकार हनन भएको विषयमा ख्याल गर्न आग्रह गरे । आफूहरूको अधिकार हनन भएकाले समयमा नै यातायात सञ्चालनको अवरोध नहटाए बाध्य भएर आन्दोलन गर्ने उनले बताए ।
यस्तै, महासंघले मोटर बिमा दर निर्देशिका, २०७३ संशोधन, कानुनविपरीत सञ्चालित यातायात कम्पनीलाई कानुनी दायरामा ल्याउनुपर्ने, व्यवसायीको सुझावका आधारमा सवारी ऐन संशोधनलगायत विषयमा समेत विभागको ध्यानाकर्षण गराएको छ । हिमालयन टेली भ्वाइस